Comments Add Comment

राहत वितरण पारदर्शी रहेको काठमाडौं महानगरको दाबी (भिडियोसहित)

२० चैत, काठमाडौं । ‘अब यसले कम्तीमा पनि एकहप्ता त पुगिहाल्छ, ढुक्क भयो’ हातमा राहतको पोको बोकेकी एक महिलाले सुनाइन् । उनी निकै हर्षित देखिन्थिन् । काठमाडौं महानगरपालिकाको टोली बिहीबार बिहान उनकै घरमा राहत लिएर पुग्यो ।

अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरहरु समस्यामा परेको भन्दै काठमाडौं महानगरले राहत बाँडेको हो । यसअघि वडा कार्यालयमा राहत बाँड्दा भिड लागेको थियो । बिहीबार महानगरका कर्मचारी राहत वितरणका लागि घरदैलो अभियानमा खटिए।

अनामनगरको धोबीखोला किनारामा घर भएका विजयकुमार खड्गी राहत सामग्री पाएपछि खुशी देखिए । दुईजनाको उनको परिवारलाई महानगरपालिकाको २९ नम्बर वडा कार्यालयको टोलीले पाँच किलो चामल, एक किलो दाल, एक किलो नुन र आधा लिटर खानेतेल दिएको छ ।

धोबीखोला किनारामै डेरा गरेर बस्ने ललिता श्रेष्ठको तीनजनाको परिवार छ । सिन्धुली स्थायी घर भएकी उनी अर्काको घरमा मजदुरी गर्थिन् । लकडाउनपछि त उनलाई साहुले काम गर्न बोलाएका छैनन् । महानगरका कर्मचारीले उनलाई पनि राहत सामग्री बाँड्यो ।

महानगरको राहत सामग्री वितरणका लागि नेपाली कांग्रेसका नेता तथा यस क्षेत्रका सांसद प्रकाशमान सिंह पनि महानगरको टोलीसँगै फिल्ड पुगेका थिए ।

अनानगरको सामुदायिक सेवा केन्द्र नजिकै घर भएका ८/९ परिवारले राहतका पोका लिएर घरमा थन्काए । ‘सबैलाई दिँदा हामीले चाहिँ लिनुहुँदैन र’ अनानगरमा घर भएकी एक महिला बोलिन्, ‘ काठमाडौंमा घर भएर मात्रै हुन्छ, मेरा छोरा बुहारी छुट्टिएका छन्, उनीहरुलाई दिनुपर्दैन ।’

वडा नम्बर २९ का अध्यक्ष कुश ढकाल राजधानीका डेरावालहरुलाई मात्र नभएर घर भएर पनि समस्यामा रहेकालाई राहत सामग्री दिइएको बताउँछन् । राहत पारदर्शी तरिकारले वितरण भइरहेको वडाध्यक्ष ढकालले बताए ।

‘पहिले भूकम्प जाँदा लगायतका बेलामा बाँडिएको राहतका विषयमा धेरै आलोचना भयो । यसपालि भने पारदर्शी बनाएका छौं’ उनले भने, ‘यसपालि हामीले जनप्रतिनिधिमात्रै होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपी साहेब, नेपाली सेनाका कर्नेलसहितको कमिटी बनाएका छौं, एकदमै पारदर्शी छ ।’

असहाय, अतिविपन्न र मजदुरलाई मात्र राहत लिन आग्रह

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सकेसम्म पहिचान गरेर नै वडा कार्यालयहरु ले राहत बाँडेको बताए । झुक्याएर कसैले राहत लिन सक्ने भन्दै मेयर शाक्यले असहाय, अतिविपन्न र मजदुरलाई मात्रै राहत लिइदिन आग्रह गरे ।

‘नेपाल सरकारले लकडाउन अवधिभर सम्पूर्ण असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरूलाई राहत प्रदान गर्ने निर्णय गरेको र त्यसको लागि स्थानीय निकायले लगत संकलन कार्य अघि बढाइएको छ,’ मेयर शाक्यले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कामपा कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ ।’

उनले अभिभावक नभएका, आयश्रोत तथा जायजेथा नभएका, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी श्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण सुरु गरेको जानकारी दिए ।

उनले महानगरभित्र दैनिक ज्याला मजदुरी गर्दै आएका कामदार तथा मजदुरलाई पनि राहत वितरणका लागि ३२ वटै वडाका जनप्रतिनिधि खटिरहेको बताउँदै महानगरपालिकाले संकटमा परेका असहाय, अतिविपन्न र दैनिक ज्याला मजदुरी गर्दै आएका कामदार तथा मजदुरलाई मात्रै राहत उपलब्ध गराउने भएकाले अन्य व्यक्तिले राहत सामग्री लान नहुने उनलाई बताए ।

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment