
२१ चैत, रामेछाप । रामेछापमा विदेशबाट फर्किएकाहरूले क्वारेन्टाइनमा बस्न आनाकानी गर्ने गरेका छन् । विदेशबाट आयात भएकाहरुलाई लक्षित गरिएकाहरु नै क्वारेन्टाइनमा नबसेपछि सबैजसो क्वारेन्टाइन खाली बनेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णका अनुसार, रामेछापमा दुई सय ६४ शैय्या क्वारेन्टाइन स्थापना गरिएकोमा त्यसमा जम्मा आठ जना मात्रै बसेका छन् ।
६८ जना भने होम क्वारेन्टाइनमा बसेका छन् । यद्यपि, यीमध्ये अधिकांशले होम क्वारेन्टाइनको नियम पालना नगरेको स्थानीयहरूको भनाइ छ । स्थानीयका अनुसार, अनुशासनपूर्वक क्वारेन्टाइनमा बस्नुपर्नेहरू गाउँ डुल्दै हिँडिरहेका छन् ।
विदेशबाट फर्किएकाहरू अनुशासनको दायरामा नबस्दा कोरोनाको जोखिम बढेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए ।
देशभर लकडाउन घोषणा गरिएपनि जिल्ला बाहिरबाट मानिसहरू भित्रिने क्रम रोकिएको छैन । यीमध्ये कतिपय भारतलगायतका राष्ट्रबाट आएकाहरु रहेको बताइएको छ ।
प्रतिक्रिया 4