+
+
Shares

सरकारलाई अर्थविद्को सुझाव– रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याऊ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १७:३८

२१ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद्हरूले कोरोनाबाट प्रभावित बनेको अर्थतन्त्रलाई जोगाउन रोजगारी सिर्जना गर्ने कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

शुक्रबार कोरोना संकटबारे अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना गरेको छलफलमा सहभागी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । पूर्वउपाध्यक्ष तथा विज्ञहरूले दैनिक ज्यालादारी काम गर्ने श्रमिकका लागि राहत ल्याउन पनि सुझाएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. स्वर्णीम वाग्ले र डा. मीनबहादुर श्रेष्ठ, स्वास्थ्य विज्ञ डा. अर्जुन कार्कीलगायत उपस्थित थिए ।

उनीहरूले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि थालेका प्रयास र उचित निर्णयले मुलुकलाई थप जोखिमबाट बचाउन सहज बनेको बताए ।

पूर्वउपाध्यक्षहरूले स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने, न्यून आय भएका र दैनिक ज्यालादारीमा काम गर्ने मानिसलाई खानपानको लागि समयमै राहत पुर्‍याउन ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे ।

सामाजिक सुरक्षामा ध्यान दिँदै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिको मनोबल बढाउनुपर्ने उनीहरूको सुझाव छ । आगामी बजेटमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बढी जोड दिन विज्ञहरुले सुझाव दिएका छन्।

उक्त अवसरमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताएका थिए ।

अर्थमन्त्री डा. खतिवडाले साझा समस्यालाई साझा रूपमै समाधान गर्नुपर्ने समय आएको उल्लेख गर्दै सबै जनाले आ-आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने धारणा राखे ।

मन्त्री डा. खतिवडाले राष्ट्रिय सोच र दृष्टिकोणलाई एकताबद्ध गर्दै संघीय सरकारले सबै राजनीतिक दल, सबै तहका सरकार र निजी क्षेत्रसँग छलफल र समन्वय गरी कोरोनाको सक्रमण रोकथाम तथा लक्षित वर्गसम्म राहत पुर्‍याउने कामलाई प्राथमिकतामा राखेको बताए ।

सरकारले समयमा नै चालेको कदमका कारण हालसम्म संक्रमित व्यक्तिको संख्या सानो रहेको र यसलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सह्राना गरिएको सन्दर्भ उल्लेख गरे । संघीय संरचनाअनुरूप जनप्रतिनिधिको उपस्थितिले अहिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज भएको बताए ।

अन्तर्राष्ट्रिय सीमा नाकाबाट थप जोखिम हुन नदिन सीमा बन्द गरिएको उनको भनाइ छ । नेपालमा भएका विदेशी नागरिकलाई नेपालले सुरक्षा दिने र बिदेशमा रहेका नेपाली नागरिकलाई ती देशले सुरक्षाका साथ बस्ने व्यवस्था मिलाउन कूटनीतिक तहमा पहल भएकोे समेत उनले स्पष्ट पारे । अहिले कोरोना संक्रमण रोक्न जो जहाँ छौं, त्यही बस्ने नै सबैभन्दा उत्तम उपाय भएको समेत बताए ।

मन्त्री डा. खतिवडाले विश्वभर मानव जातिको सुरक्षा पहिलो प्राथमिकता भएकाले सबै पक्षले बिना स्वार्थ कोरोना न्यूनीकरण तथा रोकथाममा लाग्नुपर्ने बताए ।

कोरोना संक्रमण थामिएपछि अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञसमेत संलग्न गरी अध्ययन समिति गठन गरिने जानकारी अर्थमन्त्रीले गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?