
२२ चैत, काठमाडौं । स्वास्थ्य सामग्री आपूर्ति गर्न नेपाली सेनालाई दिने सरकारको निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै असन्तुष्टि देखिएको छ ।
सरकारले हालै मात्र कोरोना भाइरस (कोभिड-१९) को उपचारका लागि चाहिने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), मास्क लगायतका स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिएको थियो । यसको चौतर्फी आलोचना भइरहेको छ ।
सत्तारुढ नेकपाका नेताहरुले समेत सरकारको निर्णयमा असहमति जनाएका छन् ।
नेकपा स्थायी कमिटीका एक सदस्यले भने, ‘औषधि खरिदमा देखिएको विवाद र सेनालाई खरिदको जिम्मा दिने निर्णयले राम्रो सन्देश गएको छैन । योसँगै कोभिड-१९ नियन्त्रणको रणनीतिबारे छलफल गर्न नेताहरुले सचिवालय बैठक माग गर्नुभएको थाहा पाएको छु ।’
नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफूले पनि सचिवालय बैठक मागेको स्वीकार गरेका छन् ।
आवश्यक पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने गरेको भन्दै उनले ट्वीटरमा भनेका छन्, ‘अबको सन्दर्भमा स्वास्थ्यको प्रोटोकल पालना गर्दै सचिवालय बैठक पनि बस्न सक्छ । त्यसैले शीघ्र बैठक बस्ने विश्वास छ, बस्नैपर्छ ।’
स्रोतका अनुसार सचिवालय बैठक बोलाउने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार टेलिफोन संवाद गरेका थिए । तर, शनिबार अपरान्हसम्म बैठक बोलाएको कुनै सूचना छैन ।
पार्टीको बैठक नबोलाइए पनि शनिबार अपरान्ह मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
प्रतिक्रिया 4