Comments Add Comment

कोरोनाको जोखिममा क्यान्सरका बिरामीलाई सुझाव

खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई कोरोनाले सताउने गर्छ । त्यसैले कोरोना भाइरसको जोखिम वर्गमा पर्छन्, क्यान्सरका रोगीहरु ।

क्यान्सर रोगीहरु कति उपचारका क्रममा होलान्, कति अस्पताल धाइरहेका होलान् । उनीहरुले कोरोना भाइरसको सम्भावित जोखिमबाट कसरी बच्ने ? यो प्रश्नसँगै उनीहरुमा केही द्विविधा पनि हुनसक्छ । यहाँ उनीहरुको द्विविधा र त्यसको जवाफ प्रस्तुत गरिएको छ ।

मलाई  भर्खर मात्र क्यान्सर डाइग्नोसिस भएको छ । यस्तो समयमा के गर्ने होला ?

तपाईंले रोग विशेषज्ञसँग भेटेर यो क्यान्सरको जोखिमको बारेमा, स्टेजको बारेमा, उपचारको विधिको बारेमा र निर्मूल पार्न सकिन्छ कि सकिँदैन भन्ने कुरो बुझ्नु जरुरी छ ।

यसको उपचारको लागि तत्कालै जरुरी छैन भने केही समय वा कोरोनाको प्रकोप कम भएपछि जचाउनु उपयुक्त हुन्छ ।

यदि उपचार अत्यावश्यक रुपमा गर्नुपर्छ भने सरल तरिकाले घरमा गर्न सकिने विधि गर्नु राम्रो हुन्छ ।

म अहिले केमोथेरापी गरिरहेको छु । के यसलाई यस्तो समयमा निरन्तरता दिनुपर्छ ?

यो बिरामीको स्वस्थ्य अवस्थामा भर पर्छ । यदि केमोथेरापी दिएर रोग निर्मूल हुन्छ भने निरन्तरता दिनु राम्रो हुन्छ । अन्यथा अहिलेको प्रकोप कम भएपछि जानु राम्रो हुन्छ ।

डा. अरुण शाही

केमोथेरापी लिनु नपर्ने भए लामो दुरी यात्रा गरी जानु भने हुँदैन । आफ्नो नजिकको अस्पताल रोज्नु आवश्यक छ ।

म अहिले फलोअपमा छु । र अर्को हप्तामा केही जाँचहरुसहित चेकअपमा जानु पर्नेछ । यस्तो अवस्थामा के गर्न सकिन्छ ?

यदि कुनै लक्षणहरु तपाईंलाई छैैन भने विल्कुल तपाई सुरक्षित हुनुहुन्छ । तपाई‌ं नआत्तिनुस, समय अनुकूल भएपछि फलोअप गर्नु राम्रो हुन्छ । र, आफ्नो चिकित्सक सम्पर्कमा रहनुहोला । तर, यदि क्यान्सर सम्बन्धी लक्षणहरु भएमा चिकित्सकसँग सल्लाह गरेर निर्णय लिनु होला ।

मेरो क्यान्सरको उपचारको लागि अपरेशन गर्नु पर्नेछ, अब म के गरुँ ?

यदि ट्युमर छिटो बढ्ने वा यसले समस्या निम्त्याउने खतरा वा अहिले समस्या भइसकेमा कृपया अपरेशनको लागि आफ्नो चिकित्सकसँग सल्लाह गरेर जान सक्नुहुन्छ ।

म अहिले हर्मोन थेरापी लिइरहेको छु । यस्तो अवस्थामा यो थेरापी लिने नलिने बारेमा बताइदिनुहोस् ।

हर्मोन थेरापीले रोग प्रतिरोधात्मक क्षमता घटाउँदैन त्यसैले यो सुरक्षित छ । यसलाई निरन्तरता दिनुहोस् ।

मेरो अर्को हप्ता पेटस्‍क्यान गर्नु पर्नेछ । अहिलेको अवस्थामा के गर्न सकिन्छ ?

यो सुरक्षित छ । तर, यदि उक्त सेन्टरले आफ्नो यन्त्रहरुलाई पूर्ण रुपमा संक्रमण मुक्त बनाएको हुनुपर्छ । यदि यसले तपाईंको पछिको उपचारको निर्णय लिनुमा सघाउ पुर्‍‍याउँछ भने गर्नुहोला।

मलाई पहिला क्यान्सर रोग थियो । अहिले पूर्णरुपमा निको भएको छु । यस्तो मानिसलाई कोरोनाको जोखिम कस्तो हुन्छ ?

यदि तपाईंको उपचार पूरा भएर तपाईं फलोअपमा हुनुहुन्छ र तपाईंलाई क्यान्सरको कुनैपनि लक्षण छैन भने तपाईं सामान्य मानिस जतिको मात्र जोखिममा हुनुहुन्छ ।

नेपाल सरकार र चिकित्सकको सल्लाह बमोजिम संक्रमणबाट बच्न सावधानी अपनाउनुहोस् ।

म क्यान्सर बिरामीको साथ मधुमेह, तथा अन्य समस्याहरुबाट ग्रस्त छु । अब यस्तो समयमा के गर्नु राम्रो हुन्छ ?

यस्तो समयमा सम्पूर्ण औषधि निरन्तर रुपमा सेवन गर्नुहोला । साथै, तपाईंको सुगर, प्रेसर र अन्य जाँचहरु भने नियन्त्रणमा हुनुपर्छ। चिकित्सकसँग सल्लाह लिई राख्नु होला ।

म क्यान्सर रोगी  । मैले यस्तो अवस्थामा अन्य कुनै सावधानी अपनाउनु जरुरी छ ?

तपाईंले घर भित्र बसेर गर्ने व्यायाम दैनिक गर्नु होला । दैनिक रुपमा ध्यान, योग, प्राणायामलाई पनि वैकल्पिक उपायको रुपमा गर्न सक्नुहुन्छ । पर्याप्त मात्रामा निदाउनु, खानपानमा ध्यान दिनुहोला ।

मैले सुनेको छु मेरो छिमेकमा कसैलाई कोरोनामा संक्रमण छ । अब मैले के गर्नुपर्छ ?

यस्तो अवस्थामा तपाईंले अलि धेरै नै सतर्कता अपनाउनु राम्रो हुन्छ । उनीहरुसँग भेटघाट नगर्ने, टाढै बस्ने, आफू घरमै आइसोलेसनमा बसेर आफू र अरुलाई संक्रमण हुनबाट बचाउनुहोस्

अन्त्यमा, तपाईंहरु नआत्तिनुहोला । सामाजिक दुरी कायम राख्नुहोस्, घरमै बस्नुहोस् । केही समस्या परेमा क्यान्सर रोग विशेषज्ञलाई फोन गरेर सल्लाह लिनु होला ।

(शाही पाटन अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment