Comments Add Comment

स्टेफेन केनी आयरल्याण्डको प्रशिक्षक नियुक्त

२३ चैत, काठमाडौं । स्टेफेन केनी रिपब्लिक अफ आयरल्याण्डको राष्ट्रिय फुटबल टिमको नयाँ मुख्य प्रशिक्षक चयन भएका छन् । युरोकप छनोटको नजिक रहेको आयरल्याण्ड टिमले मिक म्याकार्थीको स्थानमा केनीलाई जिम्मेवारी दिएको हो ।

४८ वर्षका केनी युरोकप २०२० लगत्तै मुख्य प्रशिक्षकको जिम्मेवारी पाउने तय थियो । तर कोरोना भाइरस महामारीको कारण युरो कप एक वर्ष पछि सरेको र प्लेअफको खेल समेत प्रभावित भएकाले आयरल्याण्डको फुटबल संघले केनीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

‘म्याकार्थीको उत्तराधिकारीको रुपमा स्टेफेन केनी टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको आयरल्याण्ड फुटबल संघ घोषणा गर्दछ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

म्याकार्थी सन् २०१८ मा दोस्रो पटक आइरिस टिमको प्रशिक्षक बनेका थिए । त्यसअघि उनले सन् १९९६ देखि २००२ सम्म आयरल्याण्डको टिमको नेतृत्व गरेका थिए ।

म्याकार्थीको सम्झौता जुलाई ३१ मा युरोकपको फाइनलसँगै सकिदै थियो । त्यसपछि यू२१ टिमको प्रशिक्षक रहेका केनीले नै टिमको नेतृत्व लिने तय थियो । तर अहिले संघले तत्काल लागु हुने गरी केनीलाई सिनियर टिमको प्रशिक्षक चयन गरेको हो ।

अब आयरल्याण्डले केनीको नेतृत्वमा प्लेअफ सहित युरोकप खेल्ने लक्ष्यमा अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment