Comments Add Comment

वीरगञ्जमा कोरोना उपचारको व्यवस्था मिलाउन माग

एक साताभित्र सबै व्यवस्था मिलाउने मुख्यमन्त्रीको आश्वासन

२४ चैत, वीरगञ्ज । वीरगञ्जमा कारोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि आवश्यक व्यवस्थापन मिलाउन सरोकारवालाले माग गरेका छन् । वीरगञ्जबाट सोमबार जनकपुर पुगेको एक टोेलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई भेटेर सो माग गरेको हो ।

नारायणी अस्पतालमा पीसीआर ल्याब, स्वास्थ्यकर्मीहरुको सुरक्षा उपकरण (पीपीई) लगायत अन्य आवश्यक सामग्री र छुटै कोभिड अस्पताल सन्चालन हुनुपर्ने माग सरोकारवालाले राखेका छन् ।

पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्याय लगायतको टोली मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन जनकपुर पुगेको थियो ।

कारोना भाइरस संक्रमणको उच्च जोखिम रहेको र प्रदेश नम्बर २ का ४ जिल्लाका विरामीको चाप हुने वीरगञ्जको नारायणी अस्पतालमा परीक्षण तथा उपचारको व्यवस्था हुनुपर्ने माग उनीहरुको छ । प्रदेश सरकारले वीरगञ्जमा कोरोना परीक्षणको व्यवस्था मिलाउने घोषणा गरेपनि मेशिन उपकरण उपलब्ध गराई सकेको छैन ।

टोलीले कारोना भाइरस संक्रमण नियन्त्रणको लागि नारायणीमा भएको तयारी र आवश्यकताका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएको थियो ।

भेटमा मुख्यमन्त्री राउतले जनकपुर तथा वीरगञ्जमा कोराना भाइरस संक्रमण नियन्त्रणका लागि पिसिआर मशिन सहितको परिक्षण ल्याब र कोभिड अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको बताए । ४० थान पीपीई, मास्क र ग्लोभ्स लगायतका सामग्री छिट्टै पठाइने पनि उनले जानकारी दिए ।

वीरगञ्जबाट गएको जनप्रतिनिधी तथा अस्पताल प्रमुख सहितको टोलीले आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादव, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवसँग समेत भेटघाट गरेको छ ।

मनोबल घटाउने अभिव्यक्ति नदिन चिकित्सकको आग्रह

संघ र प्रदेश सरकारका अधिकारीहरुले चिकित्सकको मनोबल घटाउने अभिव्यक्ति दिएको भन्दै चिकित्सक संघ नारायणी शाखाले विरोध जनाएको छ । नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा. उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै सरकारको अभिव्यक्तिप्रति संघको ध्यानाकर्षण भएको बताएका छन् ।

‘विषम परिस्थितिमा चिकित्सकहरुले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय छ । न्युन स्रोत साधनका बाबजुद आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र मानव सेवामा समर्पित छन् । यस्तो अवस्थामा चिकित्सकहरुको मनोबल बढाउनुको साटो केन्द्रीय तथा प्रादेशिक सरकारले क्रमिक रुपमा हतोत्साहित हुने अभिव्यक्ति दिइरहेकोप्रति नेपाल चिकित्सक संघ घोर आपत्ती प्रकट गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ । ।

यसअघि प्रदेश नं. २ का मुख्यमन्त्री राउतले कोरोनाको उपचार नगर्ने चिकित्सकको लाइसेन्स खारेज गर्ने धम्की दिएको खबर सार्वजनिक भएको थियो ।

चिकित्सक संघले बैज्ञानिक हिसाबले क्वारेन्टाइन र आइसोलेसन बेडहरुको मूल्यांकन गरी छुट्टै कोरोना अस्पताल बनाउनुपर्ने, कोरोना हब अस्पतालको अवस्था पहिचान गरी आवश्यक स्तरोन्नतीका लागि पहल गर्ने, आवश्यकता र चापका आधारमा यथाशीघ्र प्रदेश २ को सबभन्दा ठूलो सरकारी अस्पताल नारायणीमा कोरोना परीक्षणको आवश्यक व्यवस्था मिलाउनुपर्ने, स्तरीय व्यक्तिगत सुरक्षा सामाग्री पीपीईको व्यवस्था तथा त्यसको निरन्तर पूर्ति हुनुपर्ने लगायतका माग पनि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment