Comments Add Comment

प्रधानमन्त्रीले गरे स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने निर्णयको बचाउ

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णयको बचाउ गरेका छन् । अहिले सबैभन्दा चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्ति भएको उनले बताएका छन् ।

ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा सेनालाई दिएको छ । तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रै र बाहिरबाट पनि सरकारको निर्णयको आलोचना भएको छ ।

मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन नसक्ने बताएका छन् ।

स्वास्थ्य सामग्री आपूर्ति सबैभन्दा ठूलो चुनौती भएको भन्दै उनले भने, ‘सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो ।’

यद्यपि सरकारका कामकारबाहीहरू विधिसम्मत हुनुपर्ने र संवैधानिक अङ्गहरुले गर्ने अध्ययन र फैसलाका लागि सरकार तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्नेमा सबैले ध्यान दिनुपर्छ भन्ने मेरो आग्रह छ ।’

समाजमा उठ्ने गरेका तथा मिडिया र सामाजिक सञ्जालमा आएका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको यनले बताएका छन् ।

तर, सरकारलाई असफल देखाउन र आफ्ना निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा भएको भन्दै उनले भने, ‘यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।’ उनले केही अनियमितता र भ्रष्टाचार भएको देखिए निर्ममतापूर्वक कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment