Comments Add Comment

स्यानिटाइज नगरी आयात हुन्छ अत्यावश्यक सामान

२६ चैत, पर्सा । वीरगञ्जमा तीन वटा भन्सार नाका छन् । वीरगञ्जकै पुरानो भन्सार, एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सिर्सिया सुख्खा बन्दरगाह । अत्यावश्यक वस्तुहरु यी तीनवटै भन्सार नाकाबाट नेपाल भित्रिन्छन् ।

लकडाउनपछि पुरानो भन्सार वीरगञ्जबाट सवारी आवागमन लगभग ठप्प जस्तै छ । इन्धन ट्याङ्कर, औषधिजन्य समान र बिरामी बोकेका एम्बुलेन्स मात्रै वीरगञ्जबाट छिटपुट आउँछन् । ट्याङ्करहरुले भारतीय आयल निगमको रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ भरेर ल्याउँछन् ।

तर, त्यस्ता गाडीहरु कोरोना भाइरस मार्ने औषधि नछिर्किइकन नेपाल प्रवेश गर्छन् । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सनिउल्लाह हवारीका अनुसार थर्मल गनबाट चालक र सहचालकको तापक्रम जाँचेर प्रवेश गर्न दिइन्छ ।

‘थर्मल गनले तापक्रम नाप्ने र उनीहरुमा थप अन्य स्वास्थ्य समस्या भए-नभएको यकिन भएपछि मात्रै सवारी साधन छिर्न दिने गरिएको छ,’ हवारीले भने ।

तेस्रो मुलुकबाट कन्टेनरमा रेलमार्गमार्फत समान आयात गरिने सिर्सिया सुख्खा बन्दरगाहमा पनि स्यानिटाइजेसनको कुनै पनि व्यवस्था छैन ।

एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा पनि स्यानिटाइजेसनको प्रक्रिया अपनाइँदैन । आईसीपीमा कार्यरत कर्मचारीहरुका अनुसार नाकाबाट भित्रिने सामान र सवारी साधनको स्यानिटाइजेसन नगरिए पनि गाडीका टायरमा क्लोरिन पानीको झोल भने छर्कने गरिएको छ ।

भन्सार अधिकृत जगदीश पुर्वेले भने, ‘तेस्रो मुलुकबाट समान आउँदा डेढ–दुई महिना बाटोमै लाग्छ । त्यतिबेलासम्म भाइरस बाँच्दैन भनेर डिसइन्फेक्टेड गरेका छैनौँ ।’

आइसीपीमा तेस्रो मुलुकबाट आयातित सामान रेलमार्ग हुँदै आइपुग्छ । त्यस्ता सामानमा नेपालमा स्यानिटेसनको प्रक्रिया नअपनाइँदा कर्मचारीहरु जोखिमपूर्वक काम गरिरहेका छन् ।

भन्सार अधिकृत पूर्वेले सामान झार्दा र ओसार्दा कोरोना भाइरस नसरोस् भनेर कर्मचारीहरुले आफैँले सुरक्षा सतर्कता अपनाउने गरेको बताए ।

वीरगञ्ज भन्सारबाट के-कति आयात भयो ?

वीरगञ्ज भन्सार नाका हुँदै अत्यावश्यक वस्तुहरु नियमित आयात भइरहेको छ । औषधि, तरकारी तथा फलफूल, खाद्यान्न, इन्धनलगायतका सामग्री आयात भइरहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो १५ दिनमा सबैभन्दा बढी धान २४ लाख २९ हजार छ सय ८५ किलो र चामल ११ लाख ८१ हजार चार सय ५० किलो आयात भएको छ ।

यसैगरी, आलु एक लाख ९१ हजार किलो, टमाटर र खुर्सानी दुई लाख ५० हजार तीन सय ५८ किलो, प्याज दुई लाख २८ हजार नौ सय किलो र अन्य तरकारी दुई लाख ६४ हजार नौ सय ७४ किलो आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक छ ।

फलफूल ५५ हजार छ सय ९६ किलो, गहुँ एक लाख ३२ हजार ९० किलो, मकै नौ लाख ३५ हजार ८ सय ९० किलो, आयात भएको छ । यी मालवस्तु सामान्यभन्दा केही कम मात्रै आयात भएको तथ्यांक देखिन्छ ।

त्यस्तै, १ लाख ८९ हजार ६ सय ५२ किलो औषधि र औषधिजन्य कच्चा पदार्थ आयात भएका छन्।

डिजल, पेट्रोल र ग्यास आयात घट्यो

लकडाउनका कारण खपत घटेकाले वीरगञ्ज भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थको आयात भने घटेको छ । १५ दिनमा पेट्रोल एक हजार पाँच सय ६८ किलोलिटर र डिजल दुई हजार सात सय किलोलिटर आयात भएको छ ।

यो अघिल्लो १५ दिनको तुलनामा कम हो । फागुन २६ देखि चैत १० गतेसम्मको अवधिमा २० हजार चार सय ४४ किलोलिटर डिजल र ७५ हजार एक सय ३२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

बजारमा अभाव देखिएको ग्यासको आयात भने केही घटेको छ । पछिल्लो १५ दिनमा एक करोड छ लाख ४७ हजार नौ सय ४० किलोलिटर ग्यास आयात भएको छ । अघिल्लो १५ दिनमा एक करोड २७ लाख ७३ हजार दुई सय ९० किलो ग्यास आयात भएको थियो ।

लकडाउनमा आयात घट्नु स्वाभाविक : भन्सार अधिकृत

वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले लकडाउनको बेलामा पनि अत्यावश्यक मालवस्तुको आयात नरोकिएको जानकारी दिए ।

‘विगतको तुलनामा अत्यावश्यक मालसामानको आयात कम छ । तर पनि नियमित आयात भइरहेको छ,’ उनले भने, ‘मजदुर बढी भारतीय छन्, कोरोनाले गर्दा उनीहरु उतै फसेका छन् । मालसामान आयात गर्ने टोली पनि काठमाडौंमा छन् । सामान आयात निर्यातमा लकडाउनको प्रभाव देखिनु स्वाभाविक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment