+
+
Shares
इँटाभट्टामा 'लक' भएका मजदुरहरुको कथा–व्यथा :

‘घर फर्किन सकिएन, काम नगरे कसरी पेट पाल्ने ?’

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ चैत २७ गते ११:०९

२७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन देशव्यापी लकडाउन गरिएपछि जनजीवन ठप्प छ । अधिकांश उद्योग–व्यवसाय बन्द छन् । तर, बिहीबार अनलाइनखबरको टोली ललितपुरको गोदावरी पुग्दा फरक अवस्था देखियो । इँटाभट्टामा मजदुरहरु नियमित काममा व्यस्त थिए ।

महिलाहरु भान्सामा खटिएका थिए भने पुरुषहरु इँटा बनाउन। सरकारको लकडाउन र कोरोनाको त्रासले उनीहरुलाई असर नगरेको जस्तो प्रतीत हुन्थ्यो । हामीले एक महिलालाई यो विषयमा जिज्ञासा राख्यौँ।

उनले भनिन्, ‘धेरैजना कामदार त गाउँ गइसके । हामीले गाडी नै पाएनौँ । गाउँ फर्किन नपाएपछि काम नगरेर कसरी पेट पाल्ने ?’

त्यहाँ केही कामदार भारतीय र केही नेपाली थिए । भारतीय कामदारहरु इँटा पोल्ने काममा व्यस्त थिए ।

‘मेरो नाम हस्मद खान हो, धेरै वर्षदेखि यहाँ काम गरिरहेको छु’ एक भारतीय मजदुरले भने, ‘घर मोतिहारीमा पर्छ । घर जान नपाएपछि यहीँ बसिरहेको छु ।’

कोरोनाको त्रास फैलिँदै गर्दा हस्मदलाई घर फर्किन मन नलागेको होइन । परिवारबाट पनि बोलाइरहेका थिए । तर, गाडी बन्द भएपछि उनी घर जान पाएनन् ।

‘काममै खटिइरहेको छु, काम नगरेर पनि दिनभर के गरेर बस्नु ?’ उनी भन्छन् ।

त्यहीँ काम गर्ने काभ्रेकी शर्मिला तामाङको कथा फरक छ । हामी भट्टामा पुग्दा उनी खाना पकाउन व्यस्त थिइन् । बच्चाहरु नजिकै खेलिरहेका थिए । उनका श्रीमान् पनि भट्टामै कार्यरत छन् ।

शर्मिला घरधन्दा गर्छिन् । श्रीमान भट्टाको काममा खटिन्छन् । उनको पाँच जनाको परिवार भट्टामै छन् । घर जान पनि समस्या छ, उनलाई ।

‘तीन जना छोराछोरी छन्, छिमेकी जिल्ला नै भए पनि घर जान सकिएन,’ शर्मिला भन्छिन्, ‘गाडी बन्द भइहाल्यो, बच्चा नभएको भए पनि हिँडेरै जाने थियौँ ।’

रोल्पा घर भएका मोहनलाल खड्का भने अहिले कामविहीन भएका छन् । उमेरले ६१ वर्ष पुगिसकेका उनी काँचो इँटा बनाउने काम गर्थे । तर, अहिले त्यो काम छैन ।

‘मेरो काम काँचो इँटा बनाउने हो, अहिले माटो नै छैन,’ मोहनलाल भन्छन्, ‘इँटा पोल्नेको मात्र काम छ, अरूको छैन ।’

काम नभएपछि आम्दानी पनि नहुँदा दुई छाक खान पनि समस्या परेको उनले सुनाए। खाद्यान्न सकिन लागेपछि केही दिनअघि उनी राहत माग्न वडा कार्यालयमा पुगे । त्यहाँका कर्मचारीले साहुले सिफारिस गरेपछि मात्रै राहत पाउने बताएपछि रित्तो हात फर्किए ।

‘साहुले दुई सय रुपैयाँ दिएको थियो, त्यो अस्ति नै सकियो’ उनी भन्छन्, ‘यहाँ राहत पनि दिएनन्, गाउँमा गए त मकै मात्रै भए पनि खान पाउने थिएँ ।’

इँट्टाभट्टामा सबैको कथा–व्यथा आ–आफ्नै छ । खानै नपाएर समस्यामा परिने हो कि भन्ने चिन्ता उनीहरुमा छ । तर, अहिलेसम्म सरकार राहतको पोका लिएर त्यहाँसम्म पुग्न सकेको छैन ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?