+
+
Shares

काठमाडौं र ललितपुरमा कसरी बाँडिँदैछ राहत ?

ललितपुरमा बस्नेलाई भन्दा काठमाडौंमा बस्नेलाई फाइदा !

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७६ चैत २७ गते ११:१३

२७ चैत, काठमाडौं । अहिले स्थानीय तहहरुले धमाधम कोरोनाबाट प्रभावित विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । काठमाडौं उपत्यकामा पनि राहत वितरणको काम चलिरहेको छ । तर, काठमाडौं र ललितपुर दुबै महानगरपालिकाले विपन्न परिवारमा राहत पुर्‍याउन ढिलाइ गरिरहेका छन् ।

राहत वितरणमा काठमाडौं महानगरपालिका तुलनात्मक रुपमा ललितपुरभन्दा अगाडि देखिएको छ । बुढानीलकण्ठ र चन्द्रागिरी नगरपालिका पनि सक्रिय नै छन् । काठमाडौं जिल्लाका अन्य नगरपालिकाहरुमा राहत पाउने विपन्न घरपरिवार पहिचान गर्न ढिलाइ भएको छ ।

ललितपुर महानगरपालिका भने अझै पनि राहत वितरणको काम गर्ने चाँजोपाँचो मिलाउमै व्यस्त छ ।

काठमाडौंमा २८ हजार परिवारमा राहत

काठमाडौं महानगरले तथ्यांकमा समेटेका परिवारमध्ये ७५ प्रतिशतभन्दा बढीलाई राहत सामग्री दिइसकेको छ भने ललितपुरले भोलिबाट विभिन्न परिवारलाई राहत वितरण थाल्ने योजना बनाएको छ ।

काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी राहत वितरण मापदण्ड-२०७६’ स्वीकृत गरेरै राहत बाँडिरहेको छ ।

महानगरपालिकाको ४३औं कार्यपालिका बैठकले स्वीकृत गरेको मापदण्डअनुरुपका ३५ हजार दुई सय परिवारले राहत बुझ्नुपर्ने देखिएको सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए ।

त्यसमध्ये, बुधबारसम्म महानगरपालिकाले बुधबार २८ हजार परिवारलाई वितरण गरेको बताएको छ । २८ हजारमध्ये छ हजार परिवारलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेका हुन् ।

‘२२ हजार परिवारलाई हाम्रा वडा कार्यालयहरुले राहत बाँडेका हुन्,’ सहसचिव ज्ञवालीले भने,’हामीले सकेसम्म छिटो सबै परिवारकोमा राहत पुर्‍याउन प्रयत्न गरेका छौँ। ‘

काठमाडौंले महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएकालाई राहत वितरण गर्न सकिने मापदण्ड बनाएको छ ।

मापदण्ड अनुसार अभिभावक नभएका, आफ्नो आय स्रोत नभएका, अनाथ आश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदजस्ता आश्रमस्थलमा रहेका, अरुको सहयोग एवं सहारामा बाँचेका असहाय व्यक्तिले राहत पाइरहेका छन् ।

त्यस्तै, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ भएका र सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई राहत वितरण भइरहेको महानगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकाले बुधबारसम्म १९ हजार चार सय ७३ परिवारलाई राहत पाउनेको सूचीमा राखेको छ ।

लकडाउनपछि शहरी क्षेत्रका सडकमा मागेर गुजारा गर्नेहरुलाई खाना खुवाउने प्रवन्ध गरे पनि प्रभावित परिवारलाई राहत वितरण सुरु नभएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

स्थानीय तहमा देखिएको अलमल, फरक-फरक मापदण्ड

सरकारले राहत वितरणमा सम्बन्धित स्थानीय तहलाई नै जिम्मेवार बनाएको छ । तर, काठमाडौंकै स्थानीय तहहरु विपन्न र गरिब परिवारको पहिचान गर्न मात्रै हैन, राहत सामग्री किन्न र वितरण गर्न पनि अल्मलिएका छन् ।

कतिपय स्थानीय तहलाई सरकारी मापदण्ड अनुसार राहतको आर्थिक स्रोत व्यवस्थापन गर्न नै समस्या भएको छ । जसका कारण प्रभावित परिवारलाई पर्याप्त राहत नै दिन नसकिने अवस्था आएको स्थानीय तहहरु बताउँछन् ।

स्थानीय तहलाई आर्थिक समस्या परेपछि सीमा जोडिएका तहहरुमा नै राहतको परिमाण फरक परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव वसन्त अधिकारी स्थानीय तहले सकेसम्म स्थानीय विपद् व्यवस्थापन कोषको रकम खर्चिएर राहत बाँड्नुपर्ने बताउँछन् । उनले हुँदा खाने वर्गलाई जतिसक्दो छिटो राहत पुर्‍याउन स्थानीय तहलाई निर्देशित गरिएको बताए ।

काठमाडौं र ललितपुर महानगरपालिकाले फरक-फरक परिमाणमा राहत वितरण गर्दैछन् । तर, काठमाडौं महानगरले सरकारको मापदण्ड अनुरुपको राहत वितरण गर्दैछ भने ललितपुरले सरकारले भनेअनुसार वितरण गर्न आर्थिक स्रोत अपुग भएको बताएको छ ।

ललितपुरले राहत बाँड्न आफ्नै मापदण्ड नबाएको छैन । तर, अर्थमन्त्रालयले जारी गरेको ‘राहतसम्बन्धी मापदण्ड’ लाई पछ्याइएको प्रवक्ता महर्जनले जानकारी दिए ।

सो मापदण्ड अनुसार ललितपुरमा दैनिक रुपमा कामकाज गरी पटके वा दैनिक ज्याला आम्दानी गर्ने श्रमिक, कामदार र मजदुरलाई राहत वितरण गरिने उनले बताए ।

असहायका रुपमा कसैको लालन-पालनमा नरही, आवासविहीन भई मन्दिर, आश्रम, धर्मशाला, गुम्बा, मस्जिद, गुरुद्वार, चर्च वा वृद्धाश्रममा बस्ने मानिसलाई तोकिएको छ ।

पसलबाट ग्राहकको घरसम्म सामान ओसार पसार गर्ने श्रमिक, पर्यटक भरिया, निर्माण सामग्री भरिया, सवारी साधन बाटोमा अत्यावश्यक वस्तु ओसार पसार गर्ने व्यक्तिले राहत पाउनेछन् ।

ट्रक, टिपर, भ्यानमा सामान लोड अनलोड गर्ने श्रमिक, अन्य व्यक्तिको खेतमा दैनिक ज्याला लिनेगरी काम गर्ने कृषक, मजदुर र आफ्नो नातेदार बाहेक व्यक्तिको परिवारमा दैनिक ज्यालादारीमा सरसफाइ, शिशु, तथा जेष्ठ नागरिक स्याहार जस्ता सेवा गर्ने व्यक्तिले समेत राहत पाउने ललितपुर महानगरपालिकाले जनाएको छ ।

गिटी कुट्ने, बालुवा चाल्ने तथा इँटाभट्टामा काम गर्ने मजदुर र निर्माण कार्यमा दैनिक ज्यालादारीमा काम गर्ने डकर्मी, सिकर्मी, हेल्पर लगायतका मजदुरलाई समेत राहत पाउने सूचीमा राखिएको छ ।

नाङ्लो पसले, दैनिक रुपमा पत्रिका वितरक, साना फुटपाथ पसले, ठेला गाडा तथा साइकलमा सामान बेच्ने व्यक्ति र अन्य व्यक्तिको पसलमा काम गर्ने मजदुरलाई समेत लाभग्राहीको सूचीमा समावेश गरिएको छ ।

मापदण्ड अनुसार अन्य व्यक्तिको मालबाहक सवारी तथा डेलिभरी भ्यान तथा रिक्सा वा ठेला चलाउने चालक र सहचालकलाई सूचीमा समावेश गरिएको छ ।

दैनिक ज्यालामा ट्याक्सी वा टेम्पो चलाउने चालकसमेत यसमा राखिएको छ । सवारी साधनको मर्मत सम्भार गर्ने ग्यारेजमा काम गर्ने मिस्त्री र मजदुरको समेत विवरण राखी राहत वितरण गर्ने भनिएको छ ।

अन्य व्यक्तिको गार्मेन्ट, कार्पेट, टेलरिङ, गलैँचा बुट्टा तथा जर्ती भर्ने र कपडा पसलमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई समेत राहत दिने भएको छ ।

यसरी संकलन भएका विवरणका आधारमा श्रमिक तथा असहाय वर्गलाई राहत वितरण गरिने महानगरपालिकाले जनाएको छ ।

ललितपुरले बिहीबारबाट राहत वितरण सुरु हुने दाबी गरेको छ । साल्ट ट्रेडिङसँग खाद्यान्न किनेको ललितपुरलाई प्याकिङमा समस्या परिरहेको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

‘साल्ट ट्रेडिङले प्याक गरेर दिन ढिलाइ गर्‍यो, अब प्याकिङको काम वडावडामै लगेर स्वयंसेवकमार्फत प्याकिङ गरेर वितरण गर्छौँ,’ उनले भने ।

सरकारले स्थानीय तहहरुलाई प्रतिपरिवार चामल ३० किलो, दाल तीन किलो, नुन दुई प्याकेट, खाने तेल दुई लिटर र चिनी दुई किलो गरी राहत बाँड्न भनेको थियो ।

एक परिवारमा दुई जना मात्र भएमा राहत सामग्रीको आधार र सोभन्दा बढी सदस्य भएमा भने पूरै राहत पाउने गरी मापदण्ड बनाइएको छ ।

काठमाडौं महानगरपालिकाले दुई जनासम्म सदस्य रहेको परिवारलाई १५ केजी चामल, १.५ केजी दाल, एक प्याकेट नुन, एक लिटर खाने तेल, एक केजी चिनी र एउटा साबुन राहत स्वरुप वितरण गर्दैछ । तीन जना वा सोभन्दा बढी सदस्य भएका परिवारलाई काठमाडौं महानगरले ३० केजी चामल, तीन केजी दाल, दुई प्याकेट नुन, दुई लिटर खाने तेल, दुई केजी चिनी र चारवटा साबुन वितरण गर्दैछ ।

ललितपुर महानगरपालिकाले भने सरकारी मापदण्ड अनुरुप वितरण गर्दा ठूलो खर्च हुने देखिएको भन्दै राहतको परिमाण घटाएको छ । दुई जनासम्म सदस्य भएको परिवारलाई पाँच केजी चामल, एक केजी दाल, एक प्याकेट नुन, आधा लिटर खाने तेल, एक केजी चिउरा र दुई वटा साबुन वितरण गर्दैछ ।

तीन वा तीन जनाभन्दा बढी सदस्य भएका परिवारलाई ललितपुरमा १० केजी चामल, दुई केजी दाल, एक प्याकेट नुन, आधा लिटर खाने तेल, १.५ केजी चिउरा र तीन वटा साबुन वितरण गर्ने तयारी गरेको छ ।

‘सरकारले भनेजति राहत बाँड्न त ५० करोड खर्च हुने देखियो,’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘त्यसैले व्यवहारिक हुने गरी राहत प्याक बनाउँदैछौँ ।’

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?