Comments Add Comment

कविता : क्वारेन्टाइन क्यालेन्डर

विश्वभरका भित्ताहरुमा

अप्रकाशित एउटा नयाँ क्यालेन्डर छ

सबैको एकैखाले दिनचर्याहरु छन्

न ‘अलार्म’ लगाउनु छ झिसमिसेमा

न त कुनै पुरुषलाई दारी काट्नु छ

न कुनै महिलालाई गर्नु छ ‘मेकअप’ हतार हतार

न त ‘नोटप्याडमा’ ‘रिमाइन्डर सेट’ गर्नु छ

न कुद्नु छ रेलस्टेसनका साइरेनसँगै बिजुलीको गतिमा

न शुक्रबार पर्खनु छ ‘गुडफ्राइडे’ मनाउन

न त शनिबार कामको चाङ र घुमघाम छ

न आउँछ आइतबार ‘विक्लि प्लान’ बोकेर

न कुनै म्यानेजरलाई ‘टारगेट मिट’ गर्ने प्रेसर छ

न ह्वाइट बोर्डमा कोर्नु छ ‘वर्क प्लान’

न गर्नु छ साप्ताहिक समिक्षा बैठक ।

बल्ल आजकल

मानव जस्ता लाग्ने ‘मेकानिकल रोबर्टहरु’

मान्छेमा परिणत भएका छन्

ब्यस्तताले ‘हाई गर्न’ र कन्याउन पनि नभ्याउनेहरु

सजिलोसँग सास फेरिरहेछन्

सुत्न भ्याइएन भन्नेहरुलाई पनि

निद्रा देखि वाक्क लागेको छ

‘रेस्ट’ गर्न पाइएन भन्नेहरु

‘टाईम वेस्ट’ भन्दै दिक्क भएका छन्

बिदा मिलेन भनेर बिद्रोह गर्नेहरु

‘अनपेड हलिडे’ जस्तै बिदा भारी भएको छ

‘होमवर्कको ह्याङओभर’बाट बल्ल

ब्युँझेका छन् बचेराहरु

सारा सिस्टम गोलमाल छ

हो, यतिबेला भूगोल भद्रगोल छ ।

बकिङ्गमदेखि बालुवाटारसम्म

न्युयोर्कदेखि न्युरोडसम्म

पेरिसदेखि प्योनयाङसम्म

लन्डनदेखि लिस्बनसम्म

म्याड्रिडदेखि मस्कोसम्म

सिनेटदेखि सिंहदरबारसम्म

एउटै एजेन्डा छ

‘कोविड-१९’ ।

ट्रम्पदेखि टोपबहादुरसम्म

मार्केलदेखि मोदीसम्म

किमदेखि केपीसम्म

अलिबाबादेखि आलेसम्म

पिङदेखि थिङसम्म

सबैको एउटै नारा छ

‘आइसोलेसन’ ।

न कालो, न गोरो

न नर्थन, न साउदर्न

न युरोपेली, न एसिएन

न अमेरकन, न अफ्रिकन

एउटै थिम छ

‘सोसल डिस्ट्यान्सिङ’ ।

न मुस्लिम, न हिन्दु

न इसाई, न बुद्धिष्ट

न जैन, न सिख

सबैको समान धर्म छ

‘बाँच र बचाऊँ’ ।

या डेमोक्रयाट, या रिपब्लिक

या सोसलिस्ट, या क्यापिटलिस्ट

या जि एट, या जी ट्वान्टी

सबैको साझा ‘मेनिफेस्टो’ छ

‘सेल्फ क्वारेन्टाइन’ ।

हिजो मान्छेले

बिज्ञानको अस्त्रले

पृथ्वीको परिधान खोस्दै गयो

आज प्रकृतिले

जिवाणुको सशस्त्रले

मान्छेलाई परास्त गर्दै छ

सायद मान्छेले बिर्सेको थियो

आफैंबाट प्रतिपादित सिद्धान्त-

”एभ्री एक्सन ह्याज इक्वल एन्ड अपोजिट रिएक्सन”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment