Comments Add Comment

‘नेपालीहरूमा कोरोना प्रतिरोधी क्षमता उच्च छ भन्ने मूर्खता नगरौं’

२८ चैत, काठमाडौं । मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधि गरेका जीवाणु वैज्ञानिक सुदीप खड्का अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत छन् । उनी संलग्न वैज्ञानिक टोलीले दुई वर्षअघि इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित एन्टी भाइरल जर्नलमा प्रकाशित भएको थियो ।

बागलुङ स्थायी घर भएका ‘भाइरोलोजिस्ट’ खड्कासँग विश्वव्यापी महामारीको रूप धारण गरेको कोरोना भाइरस (कोभिड-१९) को पछिल्लो अवस्था, वैज्ञानिकहरुको अध्यन अनुसन्धान र खोजबारे अनलाइनखबरले गरेको कुराकानी :

कोरोना संक्रमणको संख्यात्मक वितरण कस्तो छ ? स्वास्थ्य संस्थानको आवश्यकता कसरी निर्क्यौल गर्न सकिन्छ ?

यो प्रश्नलाई एउटा उदाहरणको माध्यमबाट हेरौं । मानांै, दश हजार जनसंख्या भएको एउटा सहर छ । जसमा केवल चार प्रतिशत अर्थात् चार सय जनालाई कोरोना संक्रमण हुन्छ । उनीहरुमध्ये एक सय संक्रमितलाई कुनै लक्षण नदेखिने वा अत्यन्तै न्यून देखिनसक्छ । बाँकी तीन सयमध्ये करिब दुई सय ५० लाई सामान्य रुघा लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, स्वाद वा गन्ध थाहा नपाउने जस्ता लक्षण देखिन्छन् ।

बाँकी ५० लाई भने लक्षणका साथसाथै श्वासप्रश्वासमा गम्भीर अवरोध हुने, अक्सिजनको कमी हुने र निमोनियासम्म भएर अस्पताल भर्ना हुनुपर्ने हुन्छ, जसमध्ये १५-२० जनालाई श्वासप्रश्वास पनि भेन्टिलेटरको माध्यमबाट गराउनुपर्ने हुनसक्छ । औसतमा यसमध्ये आठ संक्रमितको मृत्यु हुन्छ भने उमेर समूह अनुसार मृतकको संख्या ६० सम्म पुग्नसक्छ ।

छोटकरीमा भन्नुपर्दा चार प्रतिशत मानिसलाई मात्र संक्रमण भएको खण्डमा १० हजार जनसंख्या भएको सहरमा तीन सयलाई लक्षण देखिन्छ भने एक सयलाई देखिँदैन ।

६० जना अस्पताल भर्ना हुनुपर्ने हुन्छ भने उनीहरुमध्ये २० जनालाई भेन्टिलेटर आवश्यक पर्नसक्छ भने आठको मृत्यु हुनसक्छ । यो सबै औसत संख्या हुन् । समय क्रमसँगै अझै बुझ्दै जाँदा यो संख्यामा तलमाथि हुनसक्छ । स्थान, महामारी फैलिएको गति, जनसंख्याको बनोट इत्यादिले यसमा फरक ल्याउनसक्छ । तर पनि स्वास्थ्य संस्थानले आफूले सेवा उपलब्ध गराउनुपर्ने क्षेत्रको जनसंख्या र त्यसमा संक्रमित हुनसक्ने अधिकतम संख्याको निर्क्यौल गरेर कम्तीमा पनि यही अनुपातमा स्वास्थ्य सेवा उपलब्ध गराउन तयार रहनुपर्छ ।

कोरोना नियन्त्रणको लागि लकडाउन र सामाजिक दुरीको अभ्यास विश्वभर छ, यस्तो गर्नुको वैज्ञानिक कारण के हो ?

लकडाउन र सामाजिक दुरीको अभिप्राय सकेसम्म संक्रमण फैलिन नपाओस् भनेर हो । संक्रमण फैलिएको खण्डमा पनि सामाजिक दुरी र लकडाउनले गर्दा संक्रमण दर सुस्त हुन्छ । संक्रमण फैलिन नपाओस् भन्नुको महत्व त स्पष्ट नै छ । महामारी फैलिए पनि सुस्त फैलियोस् भन्नुको अर्थ बुझ्न फेरि पनि माथिकै उदाहरण हेरौँ ।

दश हजार जनसंख्या भएको सानो सहरमा चार प्रतिशतको न्यून संक्रमण दरमा समेत कम्तिमा ६० शैय्या तथा २० भेन्टिलेटरको आवश्यकता पर्छ । मानौं, त्यहाँको अस्पतालमा जम्मा पाँच भेन्टिलेटर उपलब्ध छन् । अनि कोरोना बिरामीका लागि २० शैय्या उपलब्ध छन् । औसतमा अन्य राष्ट्रमा प्रत्येक भर्ना भएको कोरोना संक्रमित बिरामी १० दिन अस्पताल बस्नुपर्ने देखिएको छ । अब एक हप्ताको समयमै सबै बिरामी अस्पताल आउने हो भने केवल २० बिरामीले उपचार पाउने र केवल पाँच बिरामीले मात्रै भेन्टिलेटर उपभोग गर्न पाउने स्थिति हुन्छ । यस्तो अवस्थामा बाँकी ४० जना बाँच्ने सम्भावना भएका वा बचाउन सकिने बिरामी समेत मृत्युको शिकार हुन पुग्छन् ।

तर, त्यही संक्रमण संख्यालाई सामाजिक दुरी तथा लकडाउनको माध्यमबाट सुस्त चार महिनाको अवधिमा विस्तार गर्न सक्ने हो भने सबैले उपचार पाउने सम्भावना रहन्छ ।

संक्रमण नभएकै राम्रो तर भएकै खण्डमा पनि कुनै एकसाथ थोरैभन्दा थोरैलाई मात्र संक्रमण होस् भन्नु नै अहिलेका कदमको तात्पर्य हो । तसर्थ धेरैभन्दा धेरै जीवन बचाउन पनि अहिलेको लकडाउन र सामाजिक दुरी अत्यन्तै महत्वपुर्ण छ ।

कोरोनामा प्रभावकारी हुने विभिन्न औषधि उपयोगी भएको व्यापक समाचार आइराखेका छन्, के यो सत्य हो ?

संसारभर नै यो महामारीविरुद्ध लड्ने उपायको निम्ति युद्धस्तरमा काम भइराखेको छ । अति प्रारम्भिक नतिजाहरु पनि आइराखेका छन् । यिनै नतिजा देखेर एउटा उत्साह वा आशाको रुपमा औषधि पत्ता लागेको समाचार व्याप्त भएका छन् भने केही कुराहरु कुनै प्रकारको प्रमाणविना हल्ला फैलिएका पनि छन् ।

औषधि अनुसन्धानको निमित्त अति महत्वपूर्ण तर केही समय लाग्ने कारणहरु छन् । पहिलो त औषधि या त नितान्त नयाँ उत्पादन गर्नुपर्छ या त अरु कुनै रोगको उपचारमा प्रयोग भएको औषधिले काम गर्छ कि भनेर परीक्षण गरिन्छ ।

नयाँ उत्पादन गरेर त्यसको परीक्षण गर्नु आफैँमा जटिल प्रक्रिया हो । संसारमा अर्बौं अरब फरक रसायनको उपस्थिति छ । यो सबैको माझमा उपयोगी औषधि पहिचान गर्नु परालको थुप्रोमा तिलको गेडो खोज्नु सरह हुन्छ । तर निश्चित विधि पुर्‍याएर पूर्व ज्ञानका आधारमा अनि एकैपटक लाखौं रसायनको परीक्षण गर्ने प्रविधि प्रयोग गरेर सम्भावित औषधि केही महिनादेखि वर्षभरको अवधिमा पत्ता लाग्न सक्छ ।

तर, रसायन प्राप्त गर्न, त्यसको टिस्यु कल्चरमा परीक्षण गर्न अनि फेरि जैविक मोडलमा परीक्षण गर्न, साइड इफेक्ट, विषाक्तता परीक्षण गर्न केही महिनादेखि केही वर्षसम्म लाग्छ नै ।

टिस्यु कल्चरमा काम गर्ने औषधिले जैविक मोडलमा काम नगर्ने, जैविक मोडेलमा काम गर्नेले मानवमा काम नगर्ने नतिजा देखिनु नौलो होइन । मानवमा काम गरेकै औषधिमा पनि तत्कालीन र दीर्घकालीन साइड इफेक्ट परीक्षण गर्नुपर्ने हुन्छ । आज कोरोना उपचार गर्ने औषधिले भोलि क्यान्सर गराउने हुनुहुँदैन । त्यसैगरी पहिल्यै अन्य रोगमा प्रयोग गरेका औषधि पनि परीक्षण गर्न सकिन्छ । तुलनात्मक रुपमा नयाँभन्दा केही चाँडो भएपनि यो पनि महिनौँ लाग्ने प्रक्रिया हो ।

औषधि तथा खोप प्रमाणित हुने प्रकिया के हुन्छ ?

औषधि वास्तवमा उपयोगी छ कि छैन भनेर थाहा पाउन औषधि खाएका र नखाएका उस्तै तर फरक समूहका संक्रमित मानिसहरुको नतिजा हेर्नुपर्छ । औषधि खाएको समूहको नतिजा औषधि नखाएको समूहकोभन्दा राम्रो देखियो भने मात्रै औषधिले काम गरेको प्रमाणित हुन्छ ।

तर, यस्तो परीक्षण ठूलो समूहमा गर्नुपर्ने हुन्छ । सीमित व्यक्तिमा गरिएको परीक्षण भरपर्दो हुँदैन । यो अध्ययन गर्न तथा प्रमाणित गर्न पनि महिनौंदेखि वर्षौं समय लाग्छ नै ।

अर्को, अफवाह यो वा त्यो औषधि वा जडिबुटीले वा घरेलु पद्दतिले कोरोना बिरामीलाई उपचार गर्‍यो भन्ने छ । पाँच वा १० बिरामीले सेवन गरेकोमा सबै कोरोनाबाट बचेको भन्ने जस्ता समाचारहरु पनि निकै सुनिन्छ । लसुन खाएर वा प्याज सुँघेर कोरोना भगाएका जस्ता बेतुकका कथा पनि निकै सुनिन्छ तर, वास्तविकता अर्कै छ ।

एक सयमा केवल दुई संक्रमितको कोरोनाका कारण मृत्यु हुन्छ । अर्को शब्दमा भन्नुपर्दा ९८५ संक्रमित त ताली बजाए पनि बाँच्छन् । धुप सुँघाए पनि बाँच्छन्, पाचक खाए पनि बाँच्छन् । अर्थात् ९८५ कोरोना संक्रमित व्यक्तिहरु कुनै औषधिको सेवन नगर्दा पनि बाँच्छन् । अब कसैले त्यसै पनि १०/२० जनाको नतिजा देखाएर कुनै पनि उपचार पद्दति सफल भएको भन्छ भने म पनि भन्नसक्छु ९८५ सम्म संक्रमितलाई त ताली बजाएरै उपचार गर्दिन्छु । तर हामीले बुझ्नुपर्छ कि कुनै विधि नपुर्‍याई गरिने उपचार सफलताका कुराहरु समाजलाई दिग्भ्रमित गर्ने माध्यम मात्रै हुन् ।

अनि खोपबारे पनि धैरै कुराहरु आइरहेका छन् नि ?

खोपसम्बन्धी बुझ्नु पर्ने केही कुराहरु छन् । हाम्रो शरीर आफैंले परजीवीको प्रतिरोध गर्नसक्छ । कुनै परजीवीले संक्रमण गरेपछि हाम्रो शरीरले त्यसलाई महसुस गर्न सक्छ ।  त्यसविरुद्ध हाम्रो शरीर आफैँले ‘एन्टिबडी’ भनिने अणुको उत्पादन गर्छ । प्रत्येक परजीवीविरुद्धको ‘एन्टिबडी’ले केवल त्यो परजीवीविरुद्ध मात्रै काम गर्छ ।

अहिले हल्ला आएको जस्तो बीसीजीको खोपले कोरोनाविरुद्ध काम गर्दैन । एउटा अनुसन्धानको रिपोर्टलाई गलत अर्थमा व्याख्या गरिएको हो

यो पहिलो चरणमा ‘एन्टिबडी’ बन्न पनि एक हप्तादेखि महिनासम्मको समय लाग्छ । दोस्रो चरणमा फेरि संक्रमण भयो भने हाम्रो शरीरले अझ द्रुत गतिमा अझ धेरै किफायती एन्टिबडी बनाएर ती परजीवीसँग लड्न सक्छ । जसले गर्दा दोस्रो चरण पश्चात् संक्रमण भएपनि रोग विकास हुन पाउँदैन । अर्थात् प्राकृतिक रुपमा इम्युनिटी प्राप्त गर्न पनि केही हप्तादेखि महिनौंसम्म लाग्नसक्छ ।

खोपले त्यही प्रक्रियालाई उपयोग गरेर परजीवीविरुद्धको एन्टिबडी उत्पादन गराउँछ । खोप लगाएपछि हाम्रो शरीरले जुन परजीवीविरुद्धको खोप हो, त्यही परजीवीविरुद्धको मात्रै एन्टिबडी उत्पादन गर्छ । अर्थात् खोपकै प्रभावकारिता समेत केही महिनापछि मात्र देखिन्छ ।

यो प्रक्रिया द्रुत गराउने कुनै उपाय हुँदैन । कुनै प्राकृतिक वा अप्राकृतिक वस्तुको सेवनले एन्टिबडी चाँडो बनाउने र प्रतिरोध क्षमता बढाउने भन्ने हुँदैन। खोप विकासमा सबैभन्दा ठूलो चुनौती भनेकै परजीवीको त्यो भागको पहिचान गर्नु हो । जसले गर्दा शरीरले परजीवीविरुद्ध एन्टिबडी बनाउन सकोस्। पहिचान गर्ने क्रममा पहिलो त जैविक मोडलमा प्रभावकारिता अध्ययन हुन्छ जुन आफैँमा महिनौं लाग्ने प्रक्रिया हो ।

त्यसपछि मानवमा परीक्षण गर्न सकिन्छ । जुन फेरि महिनौं लाग्ने प्रक्रिया हो । खोप लगाएर त्यसको परिणामको रुपमा एन्टिबडी उत्पादन भएको हुनुपर्छ । खोप हेरी एकभन्दा बढी पटकसम्म केही समयको अन्तरालमा लगाउनुपर्ने हुनसक्छ । तत्पश्चात् भाइरस संक्रमणविरुद्ध काम गर्छ कि गर्दैन अनुसन्धान गर्नुपर्छ । तसर्थ, कुनै पनि खोप विकास गर्न कम्तीमा पनि वर्षौं समय लाग्छ ।

अहिले नै औषधि वा खोपको विकास हुन सम्भव छैन । हो विभिन्न उपायहरु अनुसन्धानका चरणमा छन् र केही आशलाग्दा नतिजा पनि देखिँदैछन् । तर, यति चाँडै केही महिना अगाडि मात्र पत्ता लागेको भाइरसविरुद्ध औषधि वा खोप प्रमाणित तथा उपलब्ध हुने सम्भावना हुँदैन ।

बीसीजी खोपले कोरोनाविरुद्ध काम गर्छ भन्ने हल्लाहरु पनि आइरहेका छन नि ?

अहिले हल्ला आएको जस्तो बीसीजीको खोपले कोरोनाविरुद्ध काम गर्दैन । एउटा अनुसन्धानको रिपोर्टलाई गलत अर्थमा व्याख्या गरिएको हो । बीसीजी वा अन्य कुनै पनि खोपले लगाउनासाथ शरीरमा छोटो समयका लागि प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यस्तो बेला अन्य संक्रमण हुने सम्भावना केही घट्न सक्छ । यही अवस्थालाई कोरोनाविरुद्ध प्रभावकारी हुनसक्छ भन्ने अनुमान गरिएको थियो । तर, यस्तो प्रभाव दीर्घकालीन हुँदैन केवल केही दिन वा हप्ता रहन्छ ।

बाल्यकालमा लगाएको खोपले धेरै पछिसम्म यस्तो प्रभाव देखाउँदैन पनि । तसर्थ, आपतकालीन अवस्थामा खट्नुपर्ने स्वास्थ्यकर्मीलाई यो खोप दिएर केही प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ कि भन्ने अनुमान हो । बीसीजी खोप लगाएको छु भन्दै कोरोना संक्रमण हुँदैन भन्ने ठान्नु हुँदैन । रोगको संक्रमण हुन सक्छ अनि यो अरुलाई सार्न पनि सकिन्छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगाउन किटनाशक तथा डिसइन्फेक्सन स्प्रे छर्किने गरिएको छ । यो कति प्रभावकारी हुन्छ ?

संसारको अन्य कुनै पनि नश्लको समुदायमा यो भाइरसविरुद्ध प्रतिरोध क्षमता देखिएको छैन । तसर्थ सबै नेपालीमा विशिष्ट प्रतिरोध क्षमता हुनु विज्ञानको धरातलमा हेर्दा आफैँमा असम्भव हो

केही निश्चित परिवेशमाबाहेक अन्य परिवेशमा डिसइन्फेक्सन स्प्रे छर्किनु भनेको समय र स्रोतको दुरुपयोग मात्रै होइन, वातावरण तथा जनस्वास्थ्यमाथिकै खेलवाड पनि हो । कोरोनाविरुद्ध किटनाशकको प्रयोग त कुनै पनि परिस्थितिमा उपयुक्त हुँदैन ।

इन्टरनेटमा विदेशका केही स्थानमा डिसइन्फेक्सन स्प्रे प्रयोग भएको देखेर हचुवाको भरमा नेपालमा पनि जतासुकै किटनाशक तथा डिसइन्फेक्सन स्प्रे छर्किने लहर चलेको छ । परिस्थिति नबुझी केवल कोभन्दा को कम भन्ने अभिप्रायले धेरैभन्दा धेरै किटनाशक तथा डिसइन्फेक्सन स्प्रे प्रयोगमा ल्याएको देखिन्छ ।

कोरोना भाइरस हो, यसमाथि किटनाशकको कुनै प्रभाव हुँदैन । हाम्रो समाज अझै पनि महामारीको रुपमा हैजा, टाइफाइड, झाडापखाला जस्ता पानी तथा खाद्यवस्तुबाट सर्ने महामारी वा मलेरिया, डेङ्गु जस्ता लामखुट्टेको माध्यमबाट सर्ने सरुवा रोगसँग अभ्यस्त छ ।

पानीबाट सर्ने रोगसँग लड्न ‘क्लोरिन’ जस्ता डिसइन्फेक्सन स्प्रे र लामखुट्टे अनि झिङ्गा मार्न किटनाशक प्रयोग गर्न सकिन्छ । तर, हावाको माध्यमबाट सोझै श्वासप्रश्वास प्रणालीमा सर्ने भाइरसविरुद्ध लड्न गाउँ सहर टोलमा किटनाशक तथा डिसइन्फेक्सन स्प्रे छर्नुको कुनै अर्थ छैन । डिसइन्फेक्सन स्प्रे केवल धेरै मान्छेहरुको आवतजावत हुने ठाउँ, अस्पताल, सार्वजनिक यातायात वा संक्रमित तथा सम्भाव्य संक्रमितको सम्पर्कमा रहेका सतहहरुबाट भाइरस हटाउन उपयोग हुन्छ ।

डिसइन्फेक्सन स्प्रे केवल सीमित सतहमा प्रयोग गर्नुपर्छ । राजमार्ग, बाटो तथा घर पखाल्नुको कुनै अर्थ छैन । यसरी डिसइन्फेक्सन स्प्रेको दुरुपयोग हुँदा भोलि अतिआवश्यक अस्पताल, सार्वजनिक सवारी, क्वारेन्टाइन स्थल जस्ता ठाउँमा अभाव हुनसक्छ । साथै अनधिकृत प्रयोगले वातावरण तथा जनस्वास्थ्यमा पनि गम्भीर समस्या आउन सक्छ । किटनाशकको प्रयोगले पर्यावरणमा दीर्घकालीन प्रभाव पार्छ भने क्लोरिन जस्ता तत्वहरु पनि मानवस्वास्थ्यको लागि हानिकारक हुन्छन् ।

नेपाल जस्ता न्यूनआय भएको देशमा कोरोनाको संक्रमण युरोपियन देशभन्दा कम छ । त्यही कारण धेरैले वंशानुगत रुपमै अन्य देशकोभन्दा नेपालीहरुको प्रतिरोधी क्षमता बढी छ भनेको पनि सुनिन्छ । त्यस्तो हो र ?

नेपाली समुदायमा यो भाइरसविरुद्ध अरुमाभन्दा ज्यादा प्रतिरोध क्षमता भएको मान्नुपर्ने कुनै वैज्ञानिक आधार छैन । वंशानुगत रुपमा भन्नुपर्दा नेपाल बहुजातीय बसोबास भएको देश हो । नेपालकै जनसंख्यासँग वंशानुगत रुपमा नजिकको सम्बन्ध भएका अनि खानपिन, रहनसहन, बसोबास पनि मिल्दोजुल्दो भारत, पाकिस्तान, इरान, चीन जस्ता मुलुकमा यो भाइरसको महामारी व्यापक भएको छ ।

संसारको अन्य कुनै पनि नश्लको समुदायमा यो भाइरसविरुद्ध प्रतिरोध क्षमता देखिएको छैन । तसर्थ सबै नेपालीमा विशिष्ट प्रतिरोध क्षमता हुनु विज्ञानको धरातलमा हेर्दा आफैँमा असम्भव हो । वंशानुगत वा नश्लीय रुपमा विशिष्टता छ भन्नु अतिवादी सोचबाहेक केही होइन । यस्तै सोचैले गर्दा विगतमा केही अफ्रिकी समाजमा एड्सको महामारी व्यापक भएको थियो । हामीले पनि यस्तो मूर्खता गर्नुहुँदैन ।

म फेरि पनि भन्छु, खानपान तथा जनस्वास्थ्य अनि हाम्रो बसोबास गर्ने भूगोलको विशिष्टताको आधारमा हाम्रो रोग प्रतिरोध क्षमता उच्च छ भन्ने पनि कुनै आधार छैन । यदि त्यस्तो हुँदो हो त हाम्रो औसत आयुमा यो झल्किन्थ्यो । संसारमा सबैभन्दा धेरै बाँच्ने (औसत आयु) अग्र ५ स्थानमा क्रमश जापान, हङकङ, सिंगापुर, इटाली र स्पेन पर्छन् ।  कोरिया दशौं स्थानमा छ भने नेपाल १२४ औं स्थानमा ।

उच्च औसत आयु भएका, तुलनात्मक रुपमा धेरै नै स्वस्थ जनसंख्या भएको अनि स्वास्थ्य सेवाको पनि राम्रो विकास भएका राष्ट्रहरुको त कोरोना महामारीको कारण यो हालत छ भने हामीले लहडकै भरमा अन्यत्रभन्दा ज्यादा सुरक्षित छौं भन्नुभनेको सुतुरमुर्गले बालुवामा टाउको लुकाएको जस्तो मात्र हुनेछ ।

अहिलेसम्म अत्यन्तै सीमित संख्यामा संक्रमित देखिनु ठूलो सौभाग्यको कुरा हो । तर छिमेकी मुलुक भारतमा फैलिएको संक्रमण र अनुगमन रोक्न भएको कमजोरी, विदेशबाट आएका व्यक्तिको लागत राख्न नसक्नु, अत्यन्तै सुक्ष्म गतिमा परिक्षण हुनुले भोलिका दिनहरु सहज नहुने अनुमान गर्न सकिन्छ । तसर्थ समाजमा रहेका भ्रमहरु चिरौं, कुनै आग्रह-पूर्वाग्रहविना सही ज्ञान सम्प्रेषण गरौँ । सामाजिक दुरी कायम गरेर निषेधको पूर्ण पालना गरौँ र महामारीविरुद्ध एक जुट होऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment