Comments Add Comment

लकडाउनबाट कहिले मुक्ति पाउला विश्वले ?

२९ चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएको छ । यो महामारी नियन्त्रणको लागि अहिलेसम्म कुनै खोप वा औषधि पाइएको छैन ।

त्यसैले विश्वका धेरै मुलुकले सामाजिक दुरी कायम गर्दै भाइरस नियन्त्रण गर्ने नीति लिएका छन् ।सोही नीतिअनुसार अहिले नेपाल, भारतलगायत विश्वका अधिकांश मुलुकमा मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध गरिएको छ ।

कतिपय देशले लकडाउन नगरे पनि सामाजिक दुरी कायम राख्न घुमफिर गर्ने र भेला हुन नदिनेजस्ता कदमहरु चालेका छन् । तर, महामारी भने रोकिएको छैन । यस्तो अवस्थामा धेरैको मनमा कहिले खुल्छ त लकडाउन ? भन्ने प्रश्न उब्जिएको छ ।

कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान सहरको लकडाउन बुधबारबाट खुलेको छ । बुधबार यो सहरमा लकडाउन खुलेसँगै अब वुहान सामान्य अवस्थामा फर्कियो भन्नेजस्ता प्रतिक्रिया पनि आइरहेका छन् । तर, वुहानमा अझै पनि केही सामाजिक गतिविधिहरुमा कडाइ गर्ने र मानिसहरुको ज्वरो नाप्नेलगायतका काम भने भइरहेका छन् । चीनमा पुनः यो भाइरसको महामारी फैलिने खतरा र आशंका भने कायमै छ ।

‘चीनमा कोरोना भाइरस नियन्त्रणमा आएको छ । तर, यो अवस्था अहिलेको लागि मात्र पनि हुन सक्छ’, अमेरिकास्थित काउन्सिल अल फरेन रिलेसन्सका यान्झोङ हुआङ भन्छन् । उनी चीनमा कुनै लक्षण नदेखिएका मानिसबाट र विदेशबाट आएका संक्रमितको माध्यमबाट कोरोना भाइरसको महामारी फैलिने सम्भावना कायम रहेको बताउँछन् ।

उनका अनुसार अझै एक वर्षसम्म यसको खोप बजारमा उपलब्ध हुने गरी आउने सम्भावना छैन । यस्तो अवस्थामा उक्त अवधिसम्ममा समग्र विश्व कोरोना भाइरसविरुद्धको लडाइँ लडिरहेको हुनेछ ।

हुआङ भन्छन्, ‘सबै मुलुकले भाइरस सकिएको घोषणा नगर्दासम्म तपाईं यो महामारी सकियो भनेर दाबी गर्न सक्नुहुन्न ।’

विश्वका धेरै मुलुकहरुले सामाजिक गतिविधिमा कडाइ गरिरहेको अवस्थामा यसको खोप पत्ता नलाग्दासम्म वा यो भाइरस नियन्त्रणमा नआउँदासम्म अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक भने कायमै रहनसक्ने विशेषज्ञहरु बताउँछन् ।

उनीहरुकाअनुसार यस किसिमको महामारी दोस्रो, तेस्रो चरण गरी फर्किएको इतिहास पनि छ । यस्तोमा एक पटक अलि सुस्ताएपछि पुनः यो महामारीको अर्को रुप पनि आउन सक्ने उनीहरुको भनाइ छ ।

बेलायतको इम्पेरियल कलेजका वैज्ञानिकहरु यो भाइरस संक्रमितको संख्यामा कमी आएपछि पनि कडाइका नियमहरु आवश्यक रहेको बताउँछन् । अन्यथा, त्यो अवस्थाबाट बढेर पुनः यसको महामारी बढ्न सक्ने उनीहरुको भनाइ छ ।

उनीहरुको यो भनाइलाई विश्व स्वास्थ्य संगठनले पनि साथ दिएको छ । शुक्रबार डब्लुएचओका महानिर्देशकले जेनेभामा भर्चुअल सम्मेलनमा बोल्दै सामाजिक कडाइका नियम काम राख्न सबै मुलुकलाई सुझाव दिएका थिए । उनले अहिले नै यस किसिमको प्रतिबन्ध फुकुवा गरे यसको महामारी अझै बढ्न सक्ने बताएका थिए ।

पछिल्लो समय एसियाली मुलुकमा देखिएको भाइरसको प्रकृतिले पनि धेरै छिटो सामाजिक प्रतिबन्ध खुला गर्न नहुने देखाउँछ ।

सिंगापुरले सुरुमा कोरोना भाइरस नियन्त्रणमा निकै हदसम्म नियन्त्रणमा राख्न सफल भएको थियो । त्यसका लागि उसले लकडाउन पनि गर्नुपरेन । तर, गत साता संक्रमितको संख्या एक हजार नाघेसँगै उसले विद्यालय र व्यवसायहरु बन्द गर्ने निर्णय गर्‍यो । संक्रमितमध्ये धेरैको सम्बन्ध आप्रवासी कामदारसँग देखिएको थियो ।

हङकङले पनि चीनसँगको सीमानाका बन्द गर्दै आफ्नो मुलुकमा आउने सम्भावित संक्रमणलाई रोक्ने निर्णय गरेको थियो। तर, मार्चको अन्तिममा हङकङले मुलुकमा लगाइएको प्रतिबन्ध केही खुकुलो पार्ने निर्णय गरेको थियो । यो निर्णयपछि पुनः हङकङमा कोरोना भाइरसका संक्रमित बढ्न थाले । त्यसपछि अहिले उसले पुनः प्रतिबन्धको नियम अघि सारेको छ ।

जापानले पनि पाँच हजार संक्रमित कटेसँगै मुलुकमा आपतकालको निर्णय गरिसकेको छ । यस्तो अवस्थामा विश्वको हवाइ उडानमा अझै लामो समयसम्म प्रतिबन्ध लाग्न सक्ने विशेषज्ञहरुले बताएका छन् ।

नेसनल युनिभर्सिटी अफ सिंगापुरका यिक यिङ कम्तीमा तीन महिनासम्म अन्तर्राष्ट्रिय उडानहरू प्रभावित बन्नसक्ने बताउँछन् । पछिल्लो समय अफ्रिका, ल्याटिन अमेरिका, दक्षिणपूर्वी एसियामा पनि भाइरसको महामारी फैलिँदै गएसँगै विश्वभर प्रतिबन्ध अझै कडा बन्नसक्ने वैज्ञानिकहरुको भनाइ छ ।

युनभिर्सिटी अफ हङकङका जोन निकोलस कोरोना भाइरसको संक्रमणका लागि तापक्रम र मौसमले पनि केही हदसम्म प्रभाव पार्ने भएकाले दक्षिणी गोलार्धका मुलुकहरु अझै धेरै प्रभावित बन्न सक्ने बताउँछन् । त्यसैले छिट्टै विश्वभर अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने सम्भावना निकै कम रहेको उनको विश्लेषण छ ।

(अलजाजीरा र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment