Comments Add Comment

मनोज गजुरेल योग, ध्यान र अध्यात्मबाट कसरी सुखानुभूत गर्छन् ?

सात्विक जीवनशैली, सम्यक चिन्तन

तपाईं झुक्किनुहोला, ‘मनोज गजुरेल खुब रंगीला मान्छे’ भनेर । तपाईंलाई के पनि लाग्न सक्छ भने, उनको जीवनशैली ‘तामसिक’ होला । तर, उनी शत्–प्रतिशत सात्विक हुन् ।

मदिरा पिउँदैनन् । मासु खादैनन् । तडकभडक गर्दैनन् ।

शाकाहारी भोजन गर्छन् । नियमित व्यायाम गर्छन् । योग र ध्यान गर्छन् । प्राणायाम गर्छन् । आध्यत्मिक चिन्तन गर्छन् । प्रकृतिसँग जीवनको लय मिलाउन खोज्छन् । त्यसैले त उनको जीवनशैली, सात्विक ।

उनका घरमा मदिरालय छैन । बरु दर्शनका ठूल–ठूला ठेली छन् । ओशो लगयतका पुस्तक छ । फुर्सदमा होइन, फुर्सद निकालेर यी पुस्तकहरु चाख मानीमानी पढ्छन् । अक्सर अरुलाई हँसाउँदै हिँड्ने, अरुको लागि हाँसोको खुराक खोज्दै हिँड्ने मनोज गजुरेलले बिहानको समय भने नितान्त आफैलाई दिन्छन् ।

बिहानको सुरुवात योगबाट

बिहान सूर्योदयअघि उठ्छन् । उनलाई थाहा छ, त्यो ब्रम्हा मुर्हूतको समय हो । त्यसबेला वायुमण्डमा अति शुद्ध वायु हुन्छ । त्यसलाई हाम्रा पूर्खाहरुले ‘प्राण वायु’ भने । बिहानै उठेर ताजा हावाले फोक्सो भरेपछि बेग्लै उर्जा र ताजापन महसुष हुन्छ । मनोज गजुरेलले यसको अनुभव गरेका छन् ।

उनले ओछ्यान छाड्दा बिहानको चार बजेको हुन्छ । उठ्नसाथ मनतातो पानी पिउँछन् । नित्या कर्म फत्ते गर्छन् । त्यसपछि पालो आउँछ जगिङको । यसका लागि छुटै कोठा छ । कोठामा फास्ट बिटको भजन घन्काएर जगिङ गर्छन् । भजनको तालसँगै ज्यानको चाल मिलाउँछन् ।

त्यसपछि सुरु हुन्छ योग, व्यायाम, ध्यान, प्राणायाम । शीर्षासन, मन्डुकासन, बृक्षासन सबै गर्छन् ।

मस्त यौगिक क्रिया गर्छन् । अब खलखली पसिना निस्कन थाल्छ । त्यसपछि सूर्य नमस्कार गर्छन् । सूर्य नमस्कारको १२ वटा आसन छ । र, यो १२ पटक नै दोहो¥याउनु पर्छ । उनले त्यसै गर्छन् ।

सूर्य नमस्कार पछि केहि आसन गर्छन् । जस्तो मन्डुकासन, वृक्षासन, शीर्षासन । अब प्राणायमको पालो । कपलभाँती गर्छन् । पेट खुम्चाउने र फैलाउँदै सास लिने एवं फ्याल्ने क्रिया । त्यसपछि अनुलोम विलोम । त्यसपछि भास्रिका । यस्तै केहि प्राणायाम दोहो¥याउँछन्, १५ मिनेटको दरले ।

प्राणायम सकेपछि ध्यानमा लिन हुन्छन् ।

ध्यानमा लीन

ध्यान आफैमा एक विशिष्ठ साधना हो । ध्यानबाट कसरी मनलाई चेतन शून्य अवस्थामा पु¥याउन सकिन्छ ? मनोज गजुरेलले अभ्यास गरेका छन् । ध्यानका विभिन्न चरण हुन्छन् । अहिले उनी त्यही चरणमा छन्, जहाँ सांसरिक सुखबाट प्राप्त हुनेभन्दा गुणस्तरिय सुखबोध आफैभित्र गर्न सकिन्छ ।

‘मदिरा, मस्ती, सम्पतिबाट पाइने आनन्दभन्दा बेग्लै किसिमको उन्नत आनन्द लिन सकिन्छ’ मनोज गजुरेलको अनुभवले भन्छ, ‘यो अरु किसिमले लिने आनन्दभन्दा धेरै विशिष्ठ आनन्द हो ।’

ध्यानमा उनको ४५ मिनेट व्यतित हुन्छ, कम्तिमा । उनले अलि अमूर्त शैलीमा अनलाइनखबरसँग यसो भने, ‘जे जे घट्नुपर्ने हो, त्यो ४५ मिनेटमा घट्छ ।’

त्यसबारे हामीले खोतल्न खोज्यौं । तर, उनले यतिमात्र भने, ‘अब त्यसलाई शब्दमा भन्न असमर्थ छु । यदि मैले भनिहाले पनि त्यो मेरो मुर्खता हुनेछ ।’

योग, प्राणायम, ध्यान र समाधी यहि प्रक्रिया उनले बुझेका छन् । र, त्यहि अनुरुप आफुलाई डोहो¥याइरहेका छन् । ‘योग र प्राणायम भनेको ध्यानको चरणमा पुग्ने बाटा हुन्’ यसो भनिरहँदा उनी कुनै सन्त झै देखिए, ‘ध्यान आफैमा जटिल साधना हो । तर, यो चरणसम्म पुग्नु ठूलो उपलब्धी हो ।’ जब मानिस ध्यानमा लिन हुन्छन्, उनमा अलौकिक उर्जा अनुभूत हुन्छ । भौतिक देह र मनलाई एकाकार गर्ने माध्याम हो यो ।

‘भन्न मिल्ला कि नमिल्ला’ उनले रहस्यमयी ढंगले भने, ‘तर, ध्यान गर्न थालेदेखि ममा अनौठो–अनौठो अनुभूत हुन थालेको छ । ध्यान साधनापछि मैले साँचो अर्थमा आफुलाई, आफ्नो अस्तित्वलाई महसुष गर्न थालेको छु ।’

विपश्यनामा जे भयो

तामासिक जीवनलाई चटक्कै छाडेर उनी विपश्यना गए । ‘सुरुको तीन दिन त मेरो यति विजोग भयो कि, कहाँ आएर फसे भन्ने लाग्यो’ उनले सुनाए, ‘यसो वरीपरी पर्खाल हेर्थे, भाग्ने ठाउँ खोज्दै ।’ तर, चौथो दिन त्यो बेचैनी गायब भयो । पाँचौ दिन, मनमा वेग्लै तरंग पैदा भयो । छैठौ, सातौ, आठौं दिन हुँदै उनी क्रमस ध्यानमा डुब्न थाले । अलौकिक आनन्द भयो ।

एकदिन ध्यानमग्न अवस्थामा मेरुदण्डको सबैभन्दा तलको भागमा असह्य पीडा भयो । त्यो बेस्सरी चर्किएर दुख्यो । उनले सोचें, ‘अब नसा च्यापियो । बर्वाद भयो ।’

त्यो दुखाई बिस्तारै शरीरका माथिल्लो भागतिर सर्दै गयो । र, मांसपेशीमा केहि पसेर सल्बलाए जस्तो भयो । सर्प पसेको जस्तो भयो । उनी हडबडाए । पछि त्यो पीडा विस्तारै स्पर्श जस्तै हुन थाल्यो । पीडा हराउँदै गयो र त्यसमा आनन्दनुभूत पो भयो ।

अध्यत्म–यात्रा

उनी ‘अध्यात्म’ शब्द उच्चाहरण गर्न अलि हच्किए । किनभने यो शब्दावलीसँग समाजले ढोंग, आडम्बर, अन्धविश्वासलाई जोडेका छन् ।

तर, हामीले अध्यात्म–विज्ञानमा प्रवेश ग¥यो । योग, ध्यान, प्राणायम सबै विज्ञान हो । कम्युनिज्मको टेकोमा युवावय घिसारेका उनलाई पाखन्ड पच्ने कुरै भएन ।

एकदिन यस्तो भयो, उनी विद्यार्थी राजनीतिमै थिए । पुतलीसडकमा पुस्तक पसल थापेर बसेका थिए । त्यसताका मार्क्स, लेलिनका ठेली पल्टाउन जाँगर चल्थ्यो । रंगिला उपन्यासको आवरणले ध्यान खिच्थ्यो । अध्यात्मका मोटा पुस्तकमा रुची थिएन । चासो थिएन ।

तनाव थियो । मनमा नानाभाँती कुरा पिङ खेल्दै थिए । औडाह लागिरहेथ्यो । त्यसदिन कसो–कसो अध्यात्मको मोटो कितावमा पुग्यो । उनले पाना पल्टाए । संयोगले यस्तो वाक्य पढ्न पुगे, ‘यावत जीवेत, सुखम जीवेत । ऋणम कृत्व, घृतम पीवेत ।’

ऋण गरेर भएपनि बाँचुञ्जेल घिउँ खाऊँ । उनलाई गजब लाग्यो । यहि वाक्य दोहो¥याएपछि उनको बेचैनी हट्यो । उनी त्यसपछि कितावमा घोत्लिन थाले । त्यही किताव पढेपछि हो, उनी अध्यात्मिक चिन्तनमा डुब्न थालेको छ ।

सात्विक जीवन

उनले पूर्णत त्यागे, तामासिक जीवनशैलीे । र, सात्विकमा रुपान्तरण भए । खानपान बद्लियो । दिनचर्या बद्लियो । सोंच–चिन्तन बद्लियो । आखिर नश्वर चोलामा किन कसैप्रति द्वेष राख्ने, किन कसैलाई घृणा गर्ने, केका लागि दम्भ पाल्ने, कसका लागि लोभ गर्ने ?

‘हामीभित्र थुप्रै विकार हुन्छ’ उनले बोध गरेका छन्, ‘ति बिकारहरुले नै हो, चिन्तित बनाउने । चिन्ताले रोगी बनाउँछ । जब बिकार त्याग्छौ, स्वस्थ्य हुन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment