Comments Add Comment

२०७६ मा नेपाली खेलकुद : सागले बढाएको साख

क्रिकेट, फुटबल र भलिबलले चर्चा पाएको वर्ष

३० चैत काठमाडौं । कोरोना भाइरसको सन्त्राश नफैलिएको भए नेपाली खेलकुद यतिबेला छुट्टै उमङ्गमा हुने थियो होला । क्रिकेटदेखि फुटबलसम्मका खेलाडीहरु राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त हुन्थे ।

क्रिस गेल जस्ता अन्तर्राष्ट्रिय स्टार नेपाल आएर ईपीएल क्रिकेट खेल्ने तय भएको थियो । फुटबलको विश्वकप छनोट अन्तर्गत नेपालले अष्ट्रेलियासँग घरेलु मैदानमै खेल्थ्यो । विश्वकप लिग–२ अन्तर्गत नेपाली टिम अहिले नामिबिया भ्रमणमा हुन्थ्यो । अनि टोकियो ओलम्पिक २०२० को लागि छनोट खेल्ने नेपाली खेलाडी वाइल्ड कार्ड पाउन लविङमा हुन्थे होलान् ।

तर कोरोनाको विश्वव्यापी प्रकोपसँगै खेलकुद क्षेत्र सुनसान छ । सबै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताहरु स्थगित भएका छन् । फुटबल र क्रिकेट कहिले हुन्छ थाहा छैन । टोकियो ओलम्पिक एक वर्ष पछि सरेको छ । त्यसको लागि छनोट २०२१ जुन २९ सम्म जारी रहनेछ ।

यतिबेला नेपाल नयाँ वर्ष प्रवेश गर्ने संघारमा छ । भोलिबाट २०७६ साललाई विदा गरेर २०७७ सालमा प्रवेश गर्दैछौं हामी । कोरोनालाई बिर्सँदा यो वर्ष नेपालको खेलकुद क्षेत्र कस्तो रह्यो त ? एकपटक पछाडि फर्केर हेरौैं ।

यस वर्ष नेपाली खेलकुदमा के भएन ?  रंगशालमा फुटबल फर्कियो । टियू मैदानमा पहिलोपटक ओडिआई क्रिकेट भयो । नेपालले एभिसी सेन्ट्रल जोन च्याम्पियनसीप जस्तो अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोििगता पहिलोपटक आयोजना गर्‍यो ।

सबैभन्दा ठूलो कुरा त, नेपालले दुई दशकपछि दक्षिण एसियाली खेलकुद सागको आयोजना गर्‍यो । आयोजना र प्रदर्शन दुवै हिसाबले साग नेपालका लागि सफल रह्यो । नेपालले सागमा अहिलेसम्मकै सर्वाधिक ५१ स्वर्ण जितेर ऐतिहासिक उपलब्धी हासिल ग‍रेको छ । गौरिका सिंहले पौडीमा ४ स्वर्ण जित्दै कीर्तिमान रचेकी छन् ।

मिश्रित परिणामको वर्ष

फुटबल र क्रिकेट अहिले नेपालका चर्चित खेल हुन् । २०७६ सालमा यी दुवै खेलले कुनै न कुनै रुपमा चर्चा कमाइरहे । त्यसमा यस वर्ष भलिबल थपियो ।

फुटबलमा नेपालले विश्वकप छनोटका ५ खेल यसै वर्ष खेल्यो । साफ यू १८ च्याम्पियनसीप घरेलु मैदानमा भयो तर नतिजा नेपालको पक्षमा आएन । यस्तै एक टिम रेलिगेसन गराएर ए डिभिजन लिग सम्पन्न भयो ।

क्रिकेटमा उताचढावहरु आइरहे । नेपालले महत्वपूर्ण खेलहरु गुमाउँदा ठूलो अवसरबाट चुक्यो । आइसीसीको नयाँ संरचना विश्वकप लिग २ मा घरेलु मैदानमा खेल्दै नेपालले डेब्यु ग‍यो । तर टी२० विश्वकप छनवट र एसिया कप टी२० छनोटमा नेपालले निराशाजनक प्रदर्शन गर्‍यो ।

भलिबलको कुरा गर्दा महिला भलिबल टिमले पहिलो सेन्ट्रल जोनको उपाधि जित्दै ऐतिहासिक उपलब्धी हात पार्‍यो । घरेलु कोर्टमा पुरुष भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता भयो, नेपालले सफलता हात परेन । १३ औं सागमा महिला भलिबल टिम फाइनलमा पुग्यो । फाइनलमा भारतलाई टक्कर दादै ५ सेट खेल्यो, तर रजतमै रोकियो ।

यस वर्ष ब्याडमिन्टनमा पनि नेपालमा सिनियर र जुनियर गरी ३ अन्तर्राष्ट्रिय इभेन्टहरु भए । युवा खेलाडी प्रिन्स दाहाल नेपाली ब्याडमिन्टनमा नयाँ स्टार बनेर उदायका छन् । दुबई जुनियर इन्टरनेशनल सिरिजमा लगातार दुई वर्ष स्वर्ण जित्दै उनले कीर्तिमान बनाए ।

मैदानबाहिरको हलचल

मैदान बाहिर पनि यो वर्ष खेल क्षेत्रमा ठूलै हलचल भयो । नेपाली खेलकुदको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)मा रमेशकुमार सिलवाल नयाँ सदस्य सचिव नियुक्त भए । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा जीवनराम श्रेष्ठले अर्को चार वर्षको लागि आफ्नो पद सुरक्षित बनाउन सफल भए ।

तीन वर्षदेखि आइसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघले सशर्त फूकूवा पायो । १३औं सागले गर्दा भौतिक पूर्वाधारमा पनि यस वर्ष काम भयो । फलस्वरुप दशरथ रंगशाला र पोखराको रंगशालाले नयाँ स्वरुप पाए । पहिलो ओडीआई हुँदा कीर्तिपुरको टीयू मैदानको पनि स्तरोन्नतिको प्रयास भयो । टीयू मैदानले ओडीआईका लागि मान्यता पायो ।

एक दशक नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारस खड्काको राजीनामाले पनि ठूलो तरंग ल्यायो । क्यानको निलम्बन शर्शत फुकूवा भएको भोलिपल्टै अलराउण्डर पारसले कप्तान छाड्ने निर्णय गरेका थिए । अहिले ज्ञानेन्द्र मल्ल क्रिकेट कप्तान बनेका छन् ।

विश्वकप फुटबलको छनोट खेल्न भुटान जानुअघि चार प्रमुख खेलाडीको डिस्को काण्डले पनि निकै चर्चा पायो । अनुशासन तोडेको भन्दै विमल घर्ती मगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई एन्फा अनुशासनको कारवाही समेत गर्‍यो । विमल, अन्जन र दिनेशले १३औं साग पनि खेल्न पाएनन् । भुटान जाने अघिल्लो रात उनीहरुले डिस्कोमा बिताएको खुलासा भएको थियो ।

वर्षको अन्त्यतिर आएपछि भने अन्य क्षेत्र जस्तै खेलकुदलाई पनि कोरोनाले प्रहार गर्‍यो । एन्फाले आयोजना गरिरहेको बी डिभिजन लिग स्थगित भयो । चैत महिनामा तय भएको एभरेष्ट प्रिमियर लिग इपीएल टी२० पनि हुन सकेन । चैत १३ र १८ गते विश्वकप छनोट खेल स्थगित भयो । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने तय भएको ट्राई सिरिज रोकियो ।

एन्फाले पहिलोपटक महिला फुटबलमा डबल लिग आयोजना गर्ने तयारी गरेको थियो । त्यो पनि स्थगित भयो । नेपाल भलिबल संघले चैतमा क्लब भलिबल लिग च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेको थियो, त्यो पनि भएन । मोफसलमा आयोजना भइरहेका दर्जन बढी गोल्डकप अनिश्चित बनेका छन् ।

अन्य धेरै घरेलु खेलकुद प्रतियोगिताहरु रोकिए । यतिबेला खेलकुद क्षेत्र ठप्पप्राय बनेको छ । नेपालमा मात्र होइन, विश्व खेलकुद नै सुनसान अवस्थामा छ ।

आठौं बृहत राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन र समापनसँगै वर्ष २०७६ को खेलकुद गतिविधि शुरु भएको थियो । यो वर्ष नेपालले खेलेको अन्तिम खेलकुद प्रतियोगिता थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी२० क्रिकेट बन्न पुग्यो ।

१३ औं सागले बढाएको साख

नेपालले गत मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा साग आयोजना गर्‍यो । मुख्य आयोजनास्थल दशरथ रंगशाला, पोखरा रंगशाला र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसर तयार बनाएर साग आयोजना भयो ।

पदकका हिसाबले सागमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले ५१ स्वर्णसहित २०७ पदक जित्यो । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले सर्वाधिक ३२ स्वर्ण जितेको थियो ।

पौडीकी गौरिका सिंह एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनिन् । दिपक विष्टले कुल सागमा ४ स्वर्ण जित्दै बनाएको कीर्तिमान उनले एउटै सागमा बराबरी गरिन् ।

सागअघि राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले ५० स्वर्ण जित्ने नेपालको लक्ष्य सुनाएका थिए । नेपालले लक्ष्यभन्दा एउटा स्वर्ण बढि जित्यो । नेपालको यू२३ पुरुष फुटबल टिमले दशरथ रंगशालामा भुटानलाई हराउदै स्वर्ण हात पार्‍यो ।

तेक्वान्दो र करातेमा नेपालले पुरानो साख फर्काउन केही सफल भयो । बक्सिङमा दुई दशकपछि स्वर्ण जित्दा साइक्लिङ, गल्फ, ट्रायथलन, कुस्ती जस्ता खेलमा नेपालले पहिलो पटक स्वर्ण जित्यो ।

महिला भलिबलले पहिलोपटक सागमा रजत जित्दा पुरुष टिमको पदक छुने लक्ष्य भने पूरा हुन सकेन । यस्तै महिला फुटबल टिम पनि फेरि एकपटक भारतसंग पराजित भएर रजतमै रोकियो । यस बाहेक अन्य समूह खेलहरुमा नेपालले सुधारिएको प्रदर्शन ग‍र्‍यो ।

रंगशालामा फुटबल फर्कँदा

नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला २०७२ को भूकम्पले भत्काएपछि तीन वर्षसम्म खेलाउन लायक थिएन । १३औं सागले गर्दा रंगशालामा फुटबल फर्कियो । त्यही रंगशालमा नेपालले फुटबलमा स्वर्ण जित्यो ।

यस वर्ष नेपाली फुटबलको ठूलो उपलब्धी नै यही रह्यो । त्यसअघि दशरथ रंगशाला पूर्णरुपमा तयार नहुँदा नेपालले विश्वकप छनोटको खेल घरेलु मैदानमा खेल्न पाएन । मंसिर ३ गते दशरथ रंगशालमा तय भएको खेल भुटानमा लगेर खेलाइयो ।

त्यसअघि विश्वकप छनोटमा नेपालले चार अवे खेल खेलिसकेको थियो । जसमा नेपालले एक खेल जित्दा ३ खेलमा पराजित भयो । कुवेत विरुद्ध ७–० को फराकिलो हार बेहोर्दै छनोट यात्रा शुरु गरेको नेपालले लगत्तै चाइनिज ताइपेईलाई २–० ले हरायो । तर त्यसपछि अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भयो । कुवेत विरुद्ध नेपालले होम म्याच घरेलु मैदानमा खेल्न पाएन ।

महिलातर्फ पनि नेपालले यस वर्ष धेरै खेलहरु खेल्यो । १३औं सागअन्तर्गत पोखरामा भएको फुटबलमा नेपाल उपविजेता बन्यो । यस्तै टोकियो ओलम्पिकको छनोटमा पहिलो चरण पार गरेर नेपाल दोस्रो चरणसम्म पुग्न सफल भयो । कीर्गिस्तानमा भएको नादेज्दा कपमा पनि नेपाल फाइनलसम्म पुगेको थियो ।

यस वर्ष नेपालले उमेर समूहमा राम्रो प्रदर्शन गर्न सकेन । दुई पटक च्याम्पियन रहेको नेपालको यू१८ टोली घरेलु मैदानमै भएको साफ यू१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो । उपाधि ह्याट्रिक गर्ने नेपालको लक्ष्य अधुरै रह्यो ।

यस्तै एएफसी यू १९ च्याम्पियन छनोट र एएफसी यू १५ च्याम्पियनसिप छनोटमा पनि नेपालको प्रदर्शन राम्रो हुन सकेन । साफ यू–१५ च्याम्पियनसीपमा भने नेपाल फाइनलसम्म पुगेको थियो ।

यस्तै शहीद स्मारक ए डिभिजन लिगले नयाँ च्याम्पियनको रुपमा मछिन्द्र क्लबलाई पायो । मछिन्द्रले अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै पहिलोपटल ए डिभिजन लिगको उपाधि जितेको हो । सन्तोष साहुखलले ए डिभिजन लिगमा १०० गोल पूरा गर्ने कीर्तिमान यसै वर्ष बनाए । च्यासल युथ क्लबबाट खेलेका खेलेका सन्तोषले दशरथ रंगशालमा नेपाल पुलिस विरुद्धको खेलमा गोल गर्दै उक्त कोषेढुंगा पूरा गरेका हुन् ।

वर्षको अन्त्यतिर नेपालले विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेईसंग घरेलु मैदानमा खेल्ने तय थियो । यसपटक रंगशालमा तयार भए पनि कोरोना भाइरसल गर्दा खेल रोकिएको छ ।

क्रिकेटमा घामछायाँ

क्रिकेटमा यो वर्ष नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेन । पुसमा पहिलोपटक घरेलु मैदानमा ओडिआई क्रिकेट खेल्नु नै ठूलो उपलब्धी बन्यो ।

सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकपको रोडम्यापको रुपमा रहेको आइसीसीको नयाँ क्रिकेट साइकल अन्तर्गत क्रिकेट विश्वकप लिग २ मा नेपालले घरेलु मैदानमा खेल्दै डेब्यु ग‍र्‍यो । नेपाल, ओमान र अमेरिका सम्मिलित ट्राई सिरिजमा नेपालले मिश्रित नतिजा हात पा‍र्‍यो । अमेरिकालाई दुवै खेलमा हराएको नेपाल ओमानसंग भने दुवै खेलमा पराजित भयो । घरेलु मैदानमा नेपालले सम्भावित ८ मध्ये ४ अंक जोड्दै लिग २ को शुरुवात गरेको छ ।

अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले ३६ रनमै विपक्षी टिमलाई अलआउट गर्दै विश्व कीर्तिमान बराबरी गर्‍यो । उक्त खेलमा सन्दीप लामिछानेले ६ विकेट लिएर किर्तिमान रचे । यस्तै अमेरिकाविरुद्ध पहिलो खेलमा कुशल मल्लले डेब्यु गर्दै सबैभन्दा कम उमेर ओडीआई अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाए ।

यस वर्ष नेपालले टी२० विश्वकप र एसिया कप छनोट खेलेको थियो । तर दुवैमा खराब प्रदर्शन गर्‍यो । साउनमा सिंगापुरमा भएको टी२० विश्वकपको एसिया फाइनल राउण्डमा सिंगापुर र कतारसँग पराजित हुँदा नेपाल ग्लोबल क्वालिफायरमा पुग्न सकेन । पाँच टिम सहभागी उक्त छनोटमा नेपाल तेस्रो भयो । सिंगापुर विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्न सफल भयो । नेपालले त्यहाँ मलेसिया र कुवेतलाई मात्र हराउन सक्यो ।

त्यसअघि नेपालले मलेसियाविरुद्ध २ खेलको टी २० सिरिज खेलेको थियो । दुवै खेल जित्दै नेपालले पहिलो पटक टी २० सिरिज क्लिन स्वीप गरेर कीर्तिमान बनाएको थियो ।

नेपालले असोजमा सिंगापुरमा टी २० ट्राई सिरिजमा र कात्तिकमा ओमानमा पेन्टागुलर सिरिज खेल्यो । दुवैमा नेपालको प्रदर्शन मिश्रित रह्यो । सिंगापुरमा नेपालले एक खेल जित्दा जिम्बाव्वे विरुद्ध खुवै खेलमा हार बेहोर्‍यो । सिंगापुरविरुद्ध अर्को खेल वर्षाले रद्ध भयो । सिंगापुर विरुद्धको पहिलो खेलमा पारस खड्काले शतक प्रहार गर्दै टी२०आई मा नेपालबाट शतक बनाउने पहिलो खेलाडी बने । पारस टी२० मा लक्ष्य पछ्याउँदै शतक बनाउने विश्वकै पहिलो कप्तानसमेत बने ।

ओमानमा भएको सिरिजमा नेपालले हङकङ र नेदरल्याण्ड्सलाई पराजित गर्‍यो भने आयरल्याण्ड र ओमानसंग हार बेहोर्‍यो । बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स कपमा नेपाल समूह चरणबाटै बाहिरियो । यस्तै बेलायतको पुरानो क्लब एमसीसीले नेपाल भ्रमण गर्दा नेपाली टिमले फस्ट क्लास क्रिकेट खेल्ने अवसर पायो ।

माघमा टीयू मैदानमा भएको ट्राई सिरिजपछि नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले सम्झौता बाँकी रहँदै राजीनामा दिए । त्यसपछि क्यान अर्को विदेशी प्रशिक्षकको खोजीमा छ । पटवाल गएपछि इस्टर्न रिजनमा जगत टमाटाले अन्तरिम प्रशिक्षण सम्हालेका थिए ।

मंसिरमा नेपालमै भएको १३औं सागमा नेपालको पुरुष र महिला दुवै क्रिकेट टिमले कास्य पदक जिते । भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता जनाएका थिएनन् ।

महिलातर्फ नेपालले टी–२० र ओडिआईको विश्वकप संयुक्त छनोट खेल्यो । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा थाइल्याण्डसँग पराजित हुँदा विश्वकपको ढोका बन्द भएको थियो । यस्तै थाइल्याण्डमै भएको टी२० स्म्यासमा पनि नेपाल घरेलु टोलीसँग फाइनलमै पराजित भएको थियो ।

घरेलु क्रिकेटमा भने महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता पिएम कपमै सिमित भयो । तीन फ्रेन्चाइज लिगमध्ये यस वर्ष पोखरामा पीपीएल मात्र सम्भव भयो ।

महिला भलिबलको चर्चा

भलिबल नेपालको राष्ट्रिय खेल हो । यो वर्ष नेपालको पुरुष र महिला दुवै भलिबल टिमले एभिसी सेन्ट्रल जोन च्याम्पियनसीप खेले । तर महिलाले उपाधि जित्दा पुरुष टिम भने समूह चरणबाटै बाहिरियो ।

भदौमा घरेलु कोर्टमै भएको पाँचौ एभिसी मेन्स सेन्ट्रल जोनमा नेपालको पुरुष टिम कीर्गिस्तान र माल्दिभ्ससंग पराजित हुँदै समूह चरणबाट बाहिरियो । पहिलो पटक यस्तो खाले अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्न सफल भए पनि नेपालले नतिजामा भने राम्रो गर्न सकेन । समूह चरणमा दुवै खेल हारेको नेपालले पाचौ स्थानको प्लेअफमा अफगानिस्तानलाई मात्र पराजित गर्न सक्यो ।

उता असोजमा भएको महिलातर्फको प्रतियोगितामा भने नेपालले अब्बल प्रदर्शन गर्‍यो । बंगलादेशमा पहिलो पटक आयोजना भएको एभिसी वुमन्स सेन्ट्रल जोनमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो । महिला भलिबलमा नेपालको यो अहिलेसम्मकै ठूलो उपलब्धी हो । पाँच राष्ट्र सहभागी सो च्याम्पियनसिपमा नेपालले कुनै सेट गुमाएन । नेपालले माल्दिभ्सलाई फाइनलसहित दुईपटक हराउँदा बंगलादेश अफगानिस्तान र कीर्गिस्तानलाई पनि हरायो ।

त्यसपछि मंसिरमा दुवै टोलीले घरेलु मैदानमा १३औं साग खेले । जसमा महिला टोलीले अहिलेसम्मकै ठूलो उपलब्धीसहित रजत पदक जित्यो । पुरुष टोली भने समूह चरणबाटै बाहिरियो ।

महिलाले समूह चरणमा भारतसँग पराजित भए पनि सेमिफाइनलमा अर्को बलियो टिम श्रीलंकालाई पराजित गर्दै भारतसंग नै फाइनल भेट पक्का गरेको थियो । पाँच सेटसम्म चलेको खेलममा नेपालले कडा टक्कर दियो । तर, अन्तिममा सम्हालिन नसक्दा भारतसंग ३–२ को सेटमा हार बेहोर्‍यो । उता पुरुष टिम समूह चरणमा बंगलादेश र भारतसंग पराजित हुँदै बाहिरियो ।

भलिबलमा खेलाडीको अनुशासन र टिम छनोटको विवादले पनि चर्चा पायो । आठौं राष्ट्रिय खेलकुद नखेलेको भन्दै मान बहादुरले घरेलु कोर्टमै सेन्ट्रल जोन खेल्न पाएनन् । सागमा पनि उनले इन्डोर नभई बिच भलिबल खेले ।

यस्तै महिलातर्फ तत्कालिन कप्तान विनिता बुढाथोकी, उपकप्तान मन्जु गुरुङ लगायत सिनियर खेलाडीहरु नपर्दा भलिबल संघको आलोचना समेत भएको थियो । तर नयाँ खेलाडीहरु भए पनि थाइल्याण्डमा करिब तीन साताको तयारीले बढेको आत्मविश्वास अनि सेन्ट्रल जोन र १३औं सागको सफलताले त्यो सबै छायामा परिदियो ।

नेपाल भलिबल संघले आयोजना गरेको आरबीबी एनभिए क्लब भलिबल लिगको उपाधि पुरुषमा हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा एपीएफले जित्यो । यसबाहेक ढोपाटन महिला डबल भलिबल लिग, न्यूडायमण्ड कप भलिबल लगायत महिला भलिबल प्रतियोगिता भए ।

र, अन्त्यमा कोरोना

विश्वभर अहिले कोरोना भाइरसको त्रास छ । दैनिक हजारौँ मानिसको मृत्यु भइरहेको छ । विश्व खेलकुद नै प्रभावित बन्दा नेपाली खेलकुद पनि ठप्प छ ।

कोरोनाले गर्दा नेपाल अहिले लकडाउनमा छ । मैदानमा खेल्ने खेलाडीहरु घरभित्र बन्दाबन्दीमा छन् । कोरोनाको संक्रमण फैलिँदै गएपछि राखेपले चैत ४ गते सम्पूर्ण खेल गतिविधि रोक्ने निर्णय गरेको थियो ।

अहिले सबैको चासो कोरोना कहिले अन्त्य हुन्छ र खेलकुद पुरानै गतिमा फर्कनेछ भन्नेमा रहेको छ । नयाँ वर्षको आगमनपछि नेपाली खेलकुदले पनि नयाँ उत्साहको आशा राखेको छ । तर कोरोनाको त्रास कहिले सकिएला भनेर अनुमान गर्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment