Comments Add Comment

कोरोना, आयुर्वेद र भ्रमहरु

कोरोना महामारीले पुरै विश्व आक्रान्त छ । महामारी नियन्त्रण गर्न आधुनिक स्वास्थ्य विज्ञान सफल भइरहेको छैन । त्यसैले मानिसहरु उपचारका अनेक उपायबारे खोज, चर्चा र बहस गरिरहेका छन् । यसै सन्दर्भमा आयुर्वेदीय चिकित्सा पद्दतिबाट पो यो महामारी समाधान हुन्थ्यो कि भन्ने प्रश्नले स्थान पाएको छ ।

आयुर्वेदलाई कतिपय समस्याका सन्दर्भमा पाश्चात्य चिकित्सा पद्दति (बायो मेडिकल मोडेल) को जिकल्प मानिएकोे पनि हो । त्यसैले कोराना महामारी कतै आयुर्वेदले पो समाधान गर्छ कि भनेर अपेक्षा गरिनु अस्वभाविक होइन ।

जब स्वास्थ्य क्षेत्रमा ‘पाश्चात्य चिकित्सा कि आयुर्वेद’ ? भन्ने प्रश्न उठ्छ, यो बिल्कुलै चिन्तनगत प्रश्न हुन्छ । किनकि उपचारका यी दुई पद्दतिहरु बिल्कुलै अलग विश्वदृष्टिकोणमा आधारित छन् ।

अर्कोतिर, कोरोना महामारी, प्राकृतिक संकट नभएर मानव सिर्जित संकट हो । यो प्रकृति र जीवनप्रतिका हाम्रा यान्त्रिक र अप्राकृतिक चिन्तन र व्यवहारको परिणाम हो । यस्तो गलत व्यवहार हामीले सामाजिक/आर्थिक क्षेत्रमा मात्र गरेका छैनांै, स्वास्थ्य चिन्तनको क्षेत्रमा पनि हामीले यस्तै गल्ती गरेका छौं । जसका कारण आज स्वास्थ्य संकटलगायतका वैश्विक संकट पैदा भएका छन् ।

अर्थात, कोरोना महामारी लगायत आजको बैश्विक संकट पैदा हुनुमा हाम्रो यान्त्रिक र अप्राकृतिक स्वास्थ्य दृष्टिकोण पनि जिम्मेवार छ । त्यसैले यतिबेलाको छलफल र बहसमा स्वास्थ्य चिन्तनको विषय पनि समावेश हुन जरुरी छ । तर, कोरोना महामारीका सन्दर्भमा सामाजिक÷आर्थिक विषयमा जति बहस र छलफल भइरहेको छ, त्यति हाम्रो स्वास्थ्य चिन्तनका विषयमा भइरहेको छैन ।

आयुर्वेदका विषयमा हामी जसरी सोच्छौं, यो त्यस्तो नहुन सक्छ ।

आयुर्वेदले कोरोना निको पार्छ ? भनेर यदि कसैले प्रश्न गर्छ भने, प्रश्न नै गलत हुन सक्छ । किनकि रोग र निरोगसम्बन्धी हाम्रो बुझाइ र आयुर्वेदको बुझाइ फरक हुन सक्छ । पाश्चात्य शैलीमा सोच्ने बानी परेका हामीलाई ‘रेडिमेड’ उत्तर चाहिएको छ । ‘रेडिमेड’ समाधान चाहिएको छ । तर, आयुर्वेदले ‘रेडिमेड’ उत्तर वा समाधान नदिन सक्छ । किनकि आयुर्वेद सामान्य ‘जडिबुटी विद्या’ मात्र होइन, यो त अलग्गै विश्व दृष्टिकोण हो ।

आयुर्वेद केवल अलग विश्वदृष्टिकोण मात्र होइन, यो आजको स्वास्थ्य संकट समाधानको एकमात्र र अन्तिम विकल्प पनि हो । अर्थात स्वास्थ्य क्षेत्रमा वैकल्पिक चिन्तन वा पद्दति भनेको आयुर्वेदले अपनाउने पद्दति नै हो, जसलाई आजको अत्याधुनिक स्वास्थ्य विज्ञानले पनि अनुशरण गरिरहेको छ । तर, आज हामी धेरैजसोलाई आयुर्वेद भनेको प्राचीन ‘जडिबुटी विद्या’ मात्रै हो भन्ने भ्रम छ । साथै, हामीमा यो पनि भ्रम छ कि, स्वास्थ्य चिन्तन भनेको प्राविधिकहरुको काम हो । यो सामाजिक चिन्तकहरुको विषय नै होइन । यस्तै भ्रमका कारण स्वास्थ्य क्षेत्रमा बैकल्पिक चिन्तनको बहस पछि परेको छ ।

आज हामीलाई महामारीले छोपेको छ । यो परिवेशमा एकातिर हामीमा एलोपेथिक औषधि खाने बानी परिसकेको छ । अर्कोतिर संक्रमण डरलाग्दो तरिकाले फैलिरहेको छ । यो अवस्थामा हामीलाई शिघ्र समाधानवाला औषधि चाहिएको छ । तर, के आयुर्वेदिक पद्दतिले हाम्रो यो अपेक्षा पूरा गर्छ त ?

आजको स्वास्थ्य संकट, सामाजिक संकटकै एक अंग हो । त्यसैले स्वास्थ्य चिन्तनको बिषय सामाजिक चिन्तकहरुको पनि विषय बन्नुपर्छ । यहाँ कोरोना महामारी, यान्त्रिक स्वास्थ दृष्टिकोण, आयुर्वेद र अत्याधुनिक स्वास्थ्य विज्ञानका मान्यताहरुबारे छलफलको प्रयास गरिएको छ ।

संयोग कि बोध ?

जब कोरोना भाइरसको संक्रमण पाश्चात्य सभ्यतासम्म पुग्यो, तब ‘हात मिलाउने’ परम्परा संकटमा पर्‍यो । त्यहाँ पूर्वको ‘नमस्कार’ काममा आयो । यो परिघटनासँगै मानिसहरुले पूर्वका जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराहरुको स्मरण गर्न थाले । जसले प्राचीन कालमै हाम्रो दैनिक जीवनलाई सुस्पष्ट मार्ग दर्शन गर्दथे ।

यद्दपि आयुर्वेदलगायत पूर्वीय समाजका प्राचीन परम्परालाई बुझ्ने सवालमा पहिलेदेखि नै तीनखाले भ्रमहरु थिए । जसका कारण पूर्वीय संस्कार र आयुर्वेदजस्तो बिषय विवादरहित रहन सक्दैथ्यो । कोरोना विमर्शमा पनि यो देखियो ।

पहिलो भ्रम ईश्वरवादीहरुले सिर्जना गरेका छन्, जो आयुर्वेद र पूर्वीय संस्कारजस्तो विषयलाई ‘ईश्वर प्रदत्त’ देखाउने प्रयास गर्छन् । दोस्रो भ्रम भौतिकवादीहरुले सिर्जना गरेका छन्, जो यस्ता परम्परालाई रुढीवाद भन्छन् । तेस्रो भ्रम खडा गर्ने पनि भौतिकवादीहरु नै छन् जो योग, आयुर्वेद लगायत पूर्वका संस्कारलाई उपयोगी नै मान्छन्, तर यसको मूलभूत विश्वदृष्टिकोणलाई इन्कार गर्छन् ।

आयुर्वेद तथा पूर्वीय संस्कारलाई हेर्ने यी तीनैखाले दृष्टिकोण भ्रमपूर्ण छन् । आयुर्वेद र पूर्वीय संस्कारहरु केवल ‘परम्पराका लागि परम्परा’ थिएनन् । यी संस्कार र ज्ञान पद्दति ‘ईश्वर प्रदत्त’ पनि होइनन् र कुनै सम्प्रदायभिरुले स्थापित गरेको पनि होइन । यो बिल्कुलै प्राविधिक विषय पनि होइन । साथै यो प्राचीनकालका केही फुर्सदिला मानिसले मनोगत कल्पनाका आधारमा तयार गरेको र आज आएर संयोगवश हाम्रा लागि उपयोगी सावित भएको पनि होइन ।

आयुर्वेद मूलतः प्राचीन मौलिक विज्ञानको एक महत्वपूर्ण अंग हो । जसको अलग्गै पद्दति र मौलिक विश्वदृष्टिकोण छ । जसलाई पूर्वीय सभ्यतामा पैदा भएका तत्वदर्शी (तपस्वी)हरुले खोजेर स्थापित गरेका थिए । तर, यो पाश्चात्य विज्ञानजस्तो वस्तुगत अवलोकनको विधिमा आधारित थिएन । बरु आत्मिक खोजको विधिमा आधारित थियो ।

जव आत्मिक खोज र तपस्वीबारे कुरा गरिन्छ, तब फेरि अरु भ्रमहरु प्रकट हुन्छन् । यस सम्बन्धमा पनि तीनैखाले भ्रम छन् । ईश्वरवादीहरु तपस्वीहरुलाई अमूक ‘श्रृष्टिकर्ता ईश्वर’ को बरदानप्राप्त मानिस मान्छन् । भौतिकवादीहरु मध्धे एकथरी तपस्वीहरुलाई नीतिशास्त्री मान्दछन् जसले तत्कालीन शासक वर्गलाई छुवाछुत र भेदभावमा आधारित समाज निर्माणमा बैचारिक योगदान गरे । केही यस्ता भौतिकवादी पनि छन्, जो तपस्वीहरुलाई प्रतिभासम्पन्न वा बुद्धिमान मानिस मान्छन् । तपस्वी ज्ञान सम्पदालाई उपयोगी पनि मान्छन् । तर, उनीहरुको मौलिक विश्वदृष्टिकोणलाई इन्कार गर्छन् वा तपस्वी दृष्टिकोणलाई आदर्शवादी मान्छन् ।

तपस्वीहरुका सम्बन्धमा प्रचलित यी तीनैखाले बुझाइहरु पनि भ्रम नै हुन् । वास्तविकतामा तपस्वीहरु ‘श्रृष्टिकर्ता ईश्वर’ मा विश्वास गर्दैनन् । उनीहरु कुनै शासकलाई शोषणको जाल फैलाउन सघाउने नीतिशास्त्री पनि होइनन् । साथै उनीहरुको विषय केवल प्रविधि वा व्यवहारिक ज्ञानमात्र पनि होइन ।

तपस्वीहरु मूलतः विशुद्ध विज्ञानका खोजकर्ताहरु हुन् । अर्थात तपस्वी भन्नाले प्राचीनकालमा आत्मीक अवलोकनका माध्यमबाट भौतिकशास्त्र, जीवशास्त्र, मनोविज्ञान, समाजशास्त्र, स्वास्थ्य विज्ञानजस्ता विषयमा गहन नियमहरुको खोज गर्ने पात्रहरु हुन् । यस्तै पात्रहरुले नै पूर्वमा आयुर्वेदको चिकित्सा परम्परा र अनेकन संस्कारहरु स्थापित गरेका थिए ।

अत्याधुनिक विज्ञानका प्राय सबै विधाहरुमा आज जति पनि निश्कर्षहरु छन्, ती सबैले प्राचीन तपस्वी निश्कर्षलाई नै दोहोर्‍याएका छन् । स्वास्थ्य विज्ञानका सम्बन्धमा पनि अत्याधुनिक विज्ञान आज जहाँ आएको छ, त्यो पुरापुर तपस्वी निश्कर्षकै अनुसरण हो । खास रोगको उपचारका लागि खास वनस्पतिको उपयोगका सम्बन्धमा तपस्वीहरुले जे–जे निश्कर्ष दिएका थिए, ती आजको आधुनिक विज्ञानको प्रयोगशालाबाट खण्डन हुन सकेको छैन । यसको कारण यति नै हो कि प्राचीन आयुर्वेद वा संस्कारहरु मौलिक विज्ञानकै उपज थिए ।

भलै आज प्राचीन विज्ञानको त्यो महल खण्डहरमा परिणत भएको छ । र, हामीसँग केवल त्यसका साना–साना अवशेष मात्र बचेका छन् । यद्दपि आयुर्वेद र जन्मदेखि मृत्युसम्मका हाम्रा संस्कारहरु, सबै मौलिक विज्ञानकै परिणाम थिए । त्यसैले यो महामारीका बेला यी संस्कार तथा परम्पराहरुको मर्मलाई बुझेर अपनाउन सक्दा हामीलाई बेफाइदा हुँदैन । तर, यी परम्पराको मर्म बुझ्न, यससँग जोडिएको समग्र विज्ञान वा विश्वदृष्टिकोण नै बुझ्न जरुरी हुन्छ ।

पाश्चात्य मान्यता

एरिस्टोटलदेखि डेकार्ट हुँदै डार्विनसम्म आउँदा पाश्चात्य जीव विज्ञान पूरै यान्त्रिक जगमा खडा भयो । यसले भन्यो, जीवन भन्नु नै ‘शरीर–यन्त्र’ हो । ‘शरीर–यन्त्र’ भन्दा बाहिर जीवनको खोज गर्नु जरुरी छैन । अर्थात जीवन भनेको शरीरमा सीमित ‘स्थानिय तत्व’ हो । यो ‘प्रकृतिसँगको संघर्ष’ बाट अस्तित्ववान हुन्छ । साथै, यसले भन्यो, ‘शरीर’ र ‘मन’ विपरीत तत्व हुन् । यिनीहरुका अलग नियम छन् । शरीरलाई व्याख्या गर्न यान्त्रिक नियम उपयोगी हुन्छ । मनको व्याख्या गर्न अरु नै उपाय जरुरी हुन्छ ।

लकडाउनको यो समयमा उपचारको आयुर्वेदीय पद्दति पनि उपयोगी नै देखिन्छ । यो बेला सरकारले आधुनिक उपचार पद्दतिका साथसाथै आयुर्वेद विज्ञसँगको परामर्शमा विभिन्न उमेर समूहहरुका लागि अलग–अलग आयुर्वेदिक उपचार प्याकेज (औषधि, योग, प्राणायाम र ध्यान) निर्माण गर्न सक्छ ।

जीवनको यो यान्त्रिक परिभाषाले रोगको पनि यान्त्रिक परिभाषा दियो । यसले भन्यो, ‘शरीर–यन्त्र’ मा आउने संरचनागत गडबडी नै रोग हो । ‘शरीर–यन्त्र’ बिग्रँदा वा शरीर बिरोधी किटाणुका कारणले रोग लाग्छ । रोग निको पार्न ‘शरीर–यन्त्र’ मा संरचनागत हस्तक्षेप गर्नुपर्छ । अर्थात डाक्टरले बिग्रेको ‘शरीर–यन्त्र’ लाई ‘ठोकठाक’ गरेर वा किटाणु मार्ने औषधि खुवाएर रोग निको पार्न सक्छन् ।

यही मान्यताका आधारमा सारा पाश्चात्य चिकित्सा (बायो मेडिकल मोडेल) तयार भयो । ‘एलोपेथिक’ औषधि तयार भए । जसले रोगलाई शरीरमै सीमित ‘स्थानीय परिघटना’ (लोकल फेनोमेना) का रुपमा परिभाषित गर्‍यो र समाधानका प्रतिरोधी उपाय बतायो । आज कोरोनाको ‘रेडिमेड’ औषधि खोज्ने हाम्रो आदत, स्वास्थ्यसम्बन्धी यही यान्त्रिक दृष्टिकोणको उपज हो । कोरोना महामारीलाई ‘दुश्मन’ का रुपमा चित्रित गर्ने र समाधानको प्रक्रियालाई ‘संघर्ष’ वा ‘लडाइँ’ का रुपमा व्याख्या गर्ने सोच पनि यस्तै यान्त्रिक चिन्तनको उपज हो । यसले जीवनको द्वैततालाई तोड्दा वा दमन गर्दा समस्या समाधान हुन्छ भनेर सोच्छ ।

रोगसम्बन्धी यस प्रकारको यान्त्रिक दृष्टिकोण यतिमा सीमित छैन । पाश्चात्य समाजमा बिसौं शताव्दीको शुरुवातसम्म पनि मानसिक रोगलाई ‘संरचनागत गडबडी’ नै मानिन्थ्यो । त्यसैले मानसिक रोगलाई शरीर–कृया बिज्ञान (फिजियोलोजी) कै अंगभित्र राखिएको थियो । पाश्चात्य समाजको इतिहासमा सर्वप्रथम सिग्मण्ड फ्रायडले मानसिक रोगको अलग शाखा स्थापित गरेर यो दृष्टिकोणमा क्रमभंग गरेका थिए । यद्दपि उनको मनोउपचारको विधि पनि मनलाई ‘ठोकठाक गर्ने’ विधि, अर्थात यान्त्रिक विधिमै आधारित थियो ।

बिसौं शताव्दीयता विकसित जीवनसम्बन्धी ‘प्रणाली सिद्धान्त’ हरुले मात्र यस प्रकारका यान्त्रिक धारणालाई खण्डन गरे । प्रणाली सिद्धान्तले जीवनलाई ‘वस्तु’ (यन्त्र) होइन, ‘प्रक्रिया’ मान्दछ । ‘स्थानीय तत्व’ (लोकल प्रोपर्टी) होइन, ‘अस्थानीय प्रक्रिया’ (ननलोकल प्रोसेस) मान्दछ । जीवन ‘प्रकृतिसँगको संघर्ष’ बाट होइन, ‘प्रकृतिसँगको सहकार्य’बाट अस्तित्ववान हुने मान्छ । ‘मन’ र ‘शरीर’लाई विपरीत तत्व होइन, परिपूरक तत्व मान्छ । त्यसैले पाश्चात्य स्वास्थ्य विज्ञानमा हिजोआज ‘मनोशरीर’ (साइकोसोमेटिक) को अवधारणाले स्थान पाएको छ । सारमा ‘प्रणाली सिद्धान्त’ ले जीवनको द्वैततालाई तोड्ने वा दमन गर्ने होइन, जोड्ने र सन्तुलित बनाउनुपर्ने सोच राख्छ ।

प्रणाली सिद्धान्तले जीवनलाई मूलत त्रिआयामवीचको परिपूरक सम्बन्ध मान्दछ ः शरीर, मन र आत्मा (कग्निसन) । प्रणालीगत दृष्टिले जीवनमा स्वसञ्चालनको प्रणाली, वातावरणीय प्रणाली र आत्मीक (कग्निटिभ) प्रणाली अस्तित्ववान रहेको मान्छ । यिनीहरु स्वायत्त पनि छन् र परिपूरक पनि छन् । तर, अलग–थलग छैनन् भन्ने मानिन्छ । त्यसैले यो सिद्धान्तले रोगलाई ‘स्थानीय परिघटना’ अर्थात शरीरको यान्त्रिक गडबडी वा किटाणुको आक्रमणका कारण पैदा हुने परिघटना मात्र मान्दैन, बरु समग्र शारीरिक, मानसिक, सामाजिक र पर्यावरणीय कारण मान्छ । रोगको उपचारका लागि शारीरिक उपचार (हेल्थ) र मनोउपचार (हिलिंग) लाई परिपूरक मान्छ । यद्दपि यी मान्यता आज सामाजिक नीति निर्माणको ‘मूलधार’ बनिसकेका छैनन् । प्राज्ञिक क्षेत्रमै सीमित छन् ।

आयुर्वेदिक मान्यता :

आयुर्वेदको मौलिक र महत्वपूर्ण दृष्टिकोण यो हो कि यसले हरेक अस्तित्वको निरपेक्ष आयामलाई मात्र सास्वत मान्छ । निरपेक्ष तत्व निर्णायक हो, सापेक्ष तत्व, निरपेक्षको छायाँ मात्र हो । शरीर र मन, जीवनका सापेक्ष तत्व हुन्, अभौतिक आत्मा (शुन्य) नै जीवनका लागि निरपेक्ष वा सास्वत हो । अर्थात, अभौतिक आत्मा नै जीवन वा स्वास्थ्यको निर्णायक चिज हो । यो आयुर्वेदको आधारभूत प्रस्थापना हो ।

त्यसैले आयुर्वेदको दृष्टिमा जो व्यक्ति आफ्नो आत्मतत्वसँग निकट छ, उसैको स्वास्थ्य राम्रो हुन्छ । यसरी आयुर्वेदले स्वास्थ्यलाई मन र शरीरमा सीमित हुने ‘स्थानीय प्रक्रिया’ होइन, आत्मारुपी अभौतिक तत्वसँग एकाकार हुने अस्थानीय (ब्रम्हाण्डीय) प्रक्रिया मान्छ । चरक संहितामा भनिएको छ :

निर्विकारः परस्त्वात्मा सत्वभुतगुणेन्द्रियै :

चैतन्ये कारणं नित्यो द्रष्टा पश्यति हि क्रिया :

(चरक संहिता अध्याय १ श्लोक ५६)

अर्थात् निर्विकार र सुक्ष्म आत्मा, मन शब्द र इन्द्रीयद्वारा पैदा हुने चैतन्यको कारण हो । यो नित्य छ, साक्षी छ, किनकि यसले सबै कृयालाई हेर्छ । अचेतन शरीर र मनको चैतन्यमा यो आत्मा नै कारण हो ।

आयुर्वेदको दोस्रो महत्वपूर्ण प्रस्थापना यो हो कि प्रकृति वा जीवन दुवै द्वैत स्वभावमा प्रकट हुन्छन् । प्रकृति र जीवनमा प्रकट हुने द्वैत अवयवहरु ‘विपरीत तत्व’ होइनन्, परिपूरक तत्व हुन् । यिनीहरु स्वायत्त छन्, तर अन्तरसम्बन्धित छन् । प्रकट हुँदा संयुक्तरुपमा प्रकट हुन्छन् र मेटिँदा संयुक्तरुपमा मेटिन्छन् । यही द्वैत स्वभावका कारण प्रकृति वा जीवन गतिशील रहन्छ । यिनीहरु आपसमा कहिल्यै निषेध हुँदैनन् ।

चरक संहितामा अगाडि भनिएको छ :

सर्वदा सर्वभावानां सामान्यं बृद्धिकारणम् ।

ह्रासहेतुर्बिशेषश्च प्रबृत्तिरुभयस्य तु । ४४

सामान्यमेकत्वकरं बिषेषस्तु पृथक्त्वकृत

तुल्यार्थता हि सामान्यं बिषशस्तु बिपर्ययः । ४५ ।

(चरक संहिता सुत्रस्थानम, प्रथमोध्याय)

अर्थात सबै पदार्थमा सबै समयमा हुने सामान्य (समान धर्म) नै उक्त पदार्थको बृद्धिको कारण हो र बिशेष (बिपरित धर्म) नै त्यसको ह्रासको कारण हो । पदार्थको यही गुणधर्म शरीरमा पनि हुन्छ । त्यसैले शरीरमा पनि श्रृजन–बिसर्जन, (जन्म मृत्यु) दुवै कृया हर समय भइरहेको हुन्छ । एकत्वको स्वभाव देखाउने गुण ‘सामान्य’ र पृथकभाव देखाउने गुण ‘बिषेश’ हो । किनकि, समान गुण हुनु सामान्य र यसको विपरीत हुनु विशेष हो ।

त्यसैगरी आयुर्वेदले जीवनलाई शरीर, मन र आत्माको त्रिआयाममा हेर्छ । यसलाई क्रमशः स्थूल, सूक्ष्म र कारण (शून्य) शरीर पनि भनिएको छ । यी तीन तत्वको गतिशील सन्तुलन नै स्वास्थ्यको आधार मानिन्छ । यी त्रितत्वहरुको सम्बन्धको अध्ययन नै आयुर्वेदको विषय मानिन्छ । चरक संहितामा भनिएको छ ः

सत्वमात्मा शरीरं च त्रयमेतत्त्रिदण्डवत ।

लोकस्तिष्ठति संयोगात्तत्र सर्वं प्रतिष्ठितम् ।। ४६ ।।

स पुमाँश्चेतनं तश्च तश्चाधिकरणं स्मृतम् ।

वेदस्यास्य तदर्थं हि वेदोऽयं संप्रकाशितः ।। ४७ ।।

(चरक संहिता सुत्रस्थानम, प्रथमोध्याय)

अर्थात मन, आत्मा र शरीर, यी तीन चिज मिलेर बनेकोलाई लोक भनिन्छ । यी तीन तत्वले तिकन्टी वा तिपाई जसरी नै लोकलाई धारण गरेका छन् । यो संयोगबाट बनेको पुरुष (जीव) मा जन्म मरण आदि स्थित छ । यही मनसहितको चेतन द्रव्य नै आयुर्वेदको विषय हो । त्यसैका लागि यो आयुर्वेद रचना गरिएको हो ।

रोग के हो ? मानिसलाई किन र कसरी रोग लाग्छ ? रोग कति प्रकारका छन् र कहाँबाट पैदा हुन्छन् ? आरोग्य वा निरोग भनेको के हो ? यस सम्बन्धमा सुश्रुत संहिता भन्छ– तद्दुःखंसंयोगा व्याधय उच्चयन्ते ।

अर्थात, जसको संयोगबाट मनुश्यलाई दुःख हुन्छ, त्यसैलाई रोग भनिन्छ ।

ते चतुर्बिद्या– आगन्तव, शारिराः, मानसा, स्वाभाविकाश्चेती ।

अर्थात् रोग चार प्रकारका हुन्छन् : आगन्तुक, शारीरिक, मानसिक र स्वाभाविक ।

श्लोक ३३ मा यी सबैको अर्थ पनि खुलाइएको छ । जसअनुसार आगन्तुक रोग भन्नाले शस्त्र वा हतियारको घात वा चोटपटकबाट पैदा हुने रोग हो । शारीरिक रोग भन्नाले थोरै वा धेरै खाँदा वा गलत तरिकाले खाँदा कुपोषण वा बिषम पोषण भएर पित्त, कफ, रगत वा यिनीहरुको समूहबाट उत्पन्न हुने रोग हो । मानसिक रोग भन्नाले क्रोध, शोक, भय, हर्ष, विषाद, इष्र्या, अभ्यसुया, मनोदैन्य, मात्सर्य, काम, लोभ तथा इच्छा तथा द्वेषका कारणले पैदा हुने रोग हो । स्वाभाविक रोग भन्नाले भोक, प्यास, वृद्धावस्था, मृत्यु र निद्रा हो ।

त एते मनःशरीराधिष्ठाना । अर्थात् माथि उल्लेखित चार प्रकारका रोग मन र शरीरबाट उत्पन्न हुन्छन् ।

रोगकै विषयमा चरक संहितामा उल्लेखित परिभाषा हेरौं :

कालबुद्धिन्द्रियार्थानां योगो मिथ्या न चाति च ।

द्वयाश्रयाणा व्याधीनां त्रिविधो हेतुसंग्रह :

अर्थात् काल (मौसम परिवर्तन, हावापानी, वातावरण) बुद्धि (मन र सामाजिक चेतना) र इन्द्रीय (शव्द, स्पर्श, रुप, रश गन्ध) यी तीन चिजको अतियोग, अयोग र मिथ्यायोग हुँदा शारीरिक वा मानसिक दुवै प्रकारको रोग पैदा हुन्छ ।

शरीर सत्वसंज्ञं च व्याधिनामश्रयो मतः ।

तथा सुखानां योगस्तु सुखानां कारणं समः ।।

अर्थात् शरीर र मन यी दुवै रोग पैदा हुने क्षेत्र हुन् । जुन प्रकारले यी रोगका आश्रयस्थल हुन्, त्यसैगरी यी सुखको (निरोग) पनि आश्रयस्थल हुन् । काल, बुद्धि र इन्द्रीय विषयको उचित स्थिति (योग, सन्तुलन) हुनु नै आरोग्यको कारण हो ।

उपचार विधि :

सुश्रुत संहितामा आयुर्वेदका आठ भाग बताइएको छ । त्यसैले आयुर्वेदलाई अष्टाङ्ग पनि भनिन्छ । यी आठ भाग यसका उपचार पद्दति पनि हुन् । सुश्रुत संहितामा उल्लेख भएअनुसार आयुर्वेदका आठ भागहरु, शल्य, शालाक्य, कायचिकित्सा, भुतविद्या, कौमारभृत्य, अगदतन्त्र, रसायनतन्त्र र बाजीकरणतन्त्र हुन् । (श्लोक ८)

शल्य चिकित्सा भन्नाले बिरामीको शरीर चिरफार गरेर गरिने उपचारविधि । सालक्य भन्नाले नाक, कान, घाँटी जन्य रोगको उपचार विधि । कायचिकित्सा भन्नाले सर्वशरीरगत रोगको उपचार विधि । भुतविद्या भन्नाले मनोरोगको उपचार विधि । कौमारभृत्य भन्नाले बालरोगको उपचार विधि । अगधतन्त्र भन्नाले बिषादीबाट पैदा हुने रोगको उपचार विधि । रसायन तन्त्र भन्नाले सौन्दर्य, आयु र रोग प्रतिरोधक क्षमता वृद्धि गर्ने तरिका । बाजीकरणतन्त्र भन्नाले कामकला तथा प्रजनन अंगसँग सम्बन्धित रोगको उपचार विधि ।

त्यस्तै चरक संहिताले पनि निम्नानुसारका उपचार विधिहरु बताएको छ ः

प्रशाम्यत्यौषधैः पुर्वो दैवयुक्ति व्यपाश्रयैः ।

मानसो ज्ञानबिज्ञानधैर्यस्मृतिसमाधिभि: ।।

अर्थात् शारीरिक दोष दैवव्यपाश्रय र युक्तिव्यपाश्रय जस्ता औषधिबाट शान्त हुन्छ । मानसिक रोग शास्त्रज्ञान (धैर्य) मनको स्थिरता (स्मृति) अनुभूत पदार्थको स्मरण (समाधि) र विसंगतिबाट मनलाई हटाएर आत्मामा केन्द्रित गर्दा शान्त हुन्छ ।

दैवव्यापाश्रय भन्नाले मणि, मन्त्र, औषधि, वलि, उपहार, होम, नियम, प्रायश्चित आदिलाई जनाइएको छ । युक्तिव्यपाश्रय भन्नाले योजना, उपायद्वारा गरिने संशोधन संशमन कर्म भनिएको छ ।

माथि उल्लेख गरिएका दुबै संहिताले अनेक प्रकारका रोगहरु उल्लेख गर्दै रोगपिच्छेका औषधिहरु पनि तोकेका छन् ।

आयुर्वेदमा प्राचीन ऋषिहरुका भौतिकशास्त्रीय, मनोवैज्ञानिक र समाजशास्त्रीय निश्कर्षहरु पनि अन्तरसम्बन्धित भएर देखा पर्छन् । जस्तो कि आयुर्वेदले ब्रम्हाण्डीय लय अनि ग्रह, नक्षत्र र ताराहरुको गति र स्वास्थ्यमा त्यसको असर बारेमा पनि विचार गर्छ । प्रकृति, वनस्पति, जीव जनावर र मनुश्य, सबैका वीचमा परिपूरक सम्बन्ध रहेको मानिन्छ । ‘प्रकृतिसँग संघर्ष’ होइन, सहकार्य र सहअस्तित्वमा जोड दिइन्छ । शारीरिक रोग र मनोरोगहरुलाई अन्तरसम्बन्धित मानिन्छ । साथै मानिसको चिन्तन तथा सामाजिक मूल्यलाई पनि स्वास्थ्यको कारक मानिन्छ ।

यसरी आयुर्वेद एक अलग तथा मौलिक बिश्वदृष्टिकोणमा खडा भएको स्पष्ट देख्न सकिन्छ ।

कोरोना र आयुर्वेद

आज हामीलाई महामारीले छोपेको छ । यो परिवेशमा एकातिर हामीमा एलोपेथिक औषधि खाने बानी परिसकेको छ । अर्कोतिर संक्रमण डरलाग्दो तरिकाले फैलिरहेको छ । यो अवस्थामा हामीलाई शिघ्र समाधानवाला औषधि चाहिएको छ । तर, के आयुर्वेदिक पद्दतिले हाम्रो यो अपेक्षा पूरा गर्छ त ?

यस सम्बन्धमा ओशो भन्दछन् :

‘आयुर्वेद, एलोपेथी भन्दा भिन्न छ । एलोपेथी रोग प्रतिदमनात्मक हुन्छ । एलोपेथी इशाइयत सँगसँगै विकसित भयो । यो एक उप–उत्पति हो । किनकि इशाईयत दमनात्मक छ । यदि तिमी बिरामी छौं भने तुरुन्त एलोपेथीले रोगको दमन गर्छ । तब रोगले अरु कमजोर छिद्र खोज्छ, जहाँबाट फेरि फैलन सकियोस् । फेरि अर्को ठाउँबाट यो प्रकट हुन्छ । तब तिमी फेरि त्यसलाई दबाउँछौं । फेरि यो अर्को ठाउँबाट प्रकट हुन्छ । एलोपेथीका साथ तिमी एक रोगबाट दोश्रो रोगसम्म पुग्छांै । दोस्रोबाट तेस्रोसम्म र यो एउटा अन्त्यहीन प्रक्रिया बन्छ ।

आयुर्वेदको धारणा पूर्णत अलग हुन्छ । अस्वस्थतालाई दबाउनुहुँदैन । यसलाई मुक्त गराउनुपर्छ । रेचन जरुरी हुन्छ । बिरामी मानिसलाई आयुर्वेदको औषधि दिइन्छ, ता कि रोग बाहिर आओस् र फ्याँक्न सकियोस् । यो एक किसिमको रेचन हुन्छ । त्यसैले हुन सक्छ, आयुर्वेदको औषधिको पहिलो मात्राले तिमीलाई अरु बिरामी बनाउन सक्छ । यसमा लामो समय लाग्न सक्छ । किनकि यो कुनै दमन होइन । यसले तुरुन्तै काम गर्न सक्दैन । यो एक लामो प्रक्रिया हुन्छ । रोगलाई फाल्नुपर्ने हुन्छ र तिम्रो आन्तरिक उर्जाले एक समस्वरता बन्नुपर्ने हुन्छ, ता कि स्वस्थता भित्रबाट पैदा होस् ।’ (ओशो, पतञ्जली योग सुत्र भाग १)

यसको अर्थ हो, यदि हामी कुनै रोगको हठात समाधान खोजिरहेका छौं र त्यसमा पनि आयुर्वेदसँग यो अपेक्षा गरिरहेका छौं भने, हाम्रो सोच्ने तरिका नै गलत छ । कुनै रोग हठात प्रकट भएको हुँदैन । यसमा शारीरिक, मानसिक, सामाजिक र पर्यावरणीय तत्वहरुको लामोे प्रक्रिया लागेको हुन्छ । त्यसैले, रोगको समाधानमा पनि यी चारै तत्वको लामो प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ । यसो गर्दा मात्र दिगो समाधान हुन्छ । आयुर्वेदले यो तथ्यमा जोड दिन्छ ।

दोस्रो कुरा, विषेशज्ञहरुको भनाइअनुसार, हाल देखा परेको कोरोना भाइरस प्रकृतिको पछिल्लो उद्विकासको परिणाम हो । त्यसैले आयुर्वेदले प्राचीनकालमै यस सम्बन्धमा औषधिहरु सिफारिस गरेको थियो भनेर दाबी गर्नुको कुनै आधार देखिँदैन । तर, यसको अर्थ यो होइन कि आयुर्वेदसँग यसको कुनै उपचारविधि नै छैन ।

मूलतः आयुर्वेदले समग्र समाधानमा जोड गर्छ । शारीरिक उपचार (हेल्थ) र मनोसामाजिक उपचार (हिलिंग) दुवैलाई सँगसँगै अभ्यासमा लैजान्छ । बिरामीसँग लामो समय सुनिश्चित चिन्तन, आचरण तथा अनुशासनको माग गर्छ । अर्थात आयुर्वेदले यान्त्रिक विधि होइन, जैविक विधिबाट समाधान खोज्छ ।

तेस्रो, कोरोना भाइरस, मानव जातिको ‘दुश्मन’ भएका कारण महामारी फैलिएको होइन । बरु प्रकृति र जीवनमा हुने सकार र नकार तत्वहरुको असन्तुलनका कारण यो र यस्ता महामारीहरु देखा परेका हुन् । जीवन भन्नु नै सकार र नकार तत्वहरुको योग हो । कोरोना भाइरस जीवनको नकार आयाम हो । यस्ता नकार आयाम पनि जीवनका लागि जरुरी छन् ।

अर्थात, कोरोना भाइरसलाई मारेर मात्र स्वस्थ भइने वा समस्या समाधान हुने होइन । जीवनका द्वैत आयामहरु वीच गतिशील सन्तुलन कायम गरेर चाहिँ स्वस्थ्य बन्न सकिन्छ । त्यसैले यो कुनै ‘लडाइँ’ होइन र हामीले कुनै किटाणुलाई पराजीत गर्नु छैन । बरु जीवनको सकार र नकार आयामवीच सहअस्तित्व, सहकार्य र सन्तुलन कायम गर्नचाहिँ जरुरी छ । आयुर्वेदिक पद्दतिले सायद यसरी सोच्छ ।

यसरी आयुर्वेदको सोच्ने ढंग नै अलग छ । रोगको परिभाषा र समाधानको पद्दति नै अलग छ । त्यसैले, आयुर्वेदले कोरोना महामारीको उपचारमा काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा आयुर्वेदको पद्दतिले होइन, हाम्रै सोच र दृष्टिकोणले निर्धारण गर्ने कुरा हो । यदि हामी रोग र उपचारबारे आयुर्वेदिक (जैविक) दृष्टिले सोच्छौं भने यसले समाधान दिन सक्छ । यान्त्रिक दृष्टिले सोच्छौं भने समाधान दिन सक्दैन ।

तर, आज हामीसँग कुन रोज्ने भन्ने विकल्प नै छैन । आजको स्वास्थ्य संकट लगायत समग्र बैश्विक संकट समाधानको एक मात्र र अन्तिम विकल्प आयुर्वेदिक (जैविक) दृष्टि नै हो । तैपनि पाश्चात्य चिकित्सा र आयुर्वेद दुवैका सवल र दुर्बल पक्षहरु छन् । पाश्चात्य चिकित्सा पद्दतिसँग आधुनिक उपकरण छन् । तर, स्वास्थ्य चिन्तन यान्त्रिक छ । आयुर्वेदको स्वास्थ्य चिन्तन उपयोगी छ । तर, यसमा अनुसन्धान र प्रविधिकरणको काम पछि परेको छ ।

यद्दपि लकडाउनको यो समयमा उपचारको आयुर्वेदीय पद्दति पनि उपयोगी नै देखिन्छ । यो बेला सरकारले आधुनिक उपचार पद्दतिका साथसाथै आयुर्वेद विज्ञसँगको परामर्शमा विभिन्न उमेर समूहहरुका लागि अलग–अलग आयुर्वेदिक उपचार प्याकेज (औषधि, योग, प्राणायाम र ध्यान) निर्माण गर्न सक्छ । जसले एकातिर संक्रमण रोकथाम गर्न मद्दत गछ भने अर्कोतिर संक्रमितहरुको आरोग्य क्षमता बृद्धि गर्न पनि मद्दत गर्छ ।

सायद यही तथ्यलाई महत्व दिएर नै हुन सक्छ, विश्व स्वास्थ्य संगठनले केही दिनअघि विश्व समुदायलाई नाचगान गर्न, संगीत सुन्न र रोग प्रतिरोधी औषधिको सेवन गर्न आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment