Comments Add Comment

बिग्रिएको ल्यारिङस्कोपबाट वीरका डाक्टरले बनाएर कोरोनाबाट जोगिने उपकरण

३० चैत, काठमाडौं । कोभिड १९ को संक्रमणबाट जोगिनको लागि वीर अस्पतालका चिकित्सकहरुले आफैंले ल्यारिङस्कोप उपकरण बनाएका छन् । यसको सहायताले बिरामीहरुलाई भेण्टिलेटरमा राख्नु पहिले फोक्सोमा पाइप (ट्युब) हाल्न सहयोग पुर्‍याउने डा. रोशन भगत चौरासिया बताउँछन् ।

चौरासिया ल्यारिङस्कोप बनाउने मध्येका एक हुन् । उनकाअनुसार यसको सहायताले कोरोना संक्रमित बिरामीको नजिक नगई उपचार गर्न सकिन्छ । यसो गर्दा चिकित्सकलाई जोखिम कम हुन्छ ।

यो यन्त्र बनाउने टिमका अर्का डाक्टर पवन हमालकाअनुसार यो बिग्रिएको ल्यारिङस्कोपबाट बनाइएको हो । ल्यारिङस्कोपको बजार मूल्य १ लाख भन्दा बढी पर्छ । तर यो आफैले बनाउँदा १५ सयदेखि २५ सय रूपैयाँसम्म खर्चमा बन्छ । उनले भने, ‘यो बनाउन सजिलो छ । हामीले मा होइन, सबै चिकित्सकले बनाउन सक्छन् ।’

यो यन्त्र बनाउने टिमका डाक्टर नविन पोखरेलकाअनुसार यसमा गोरोस्कोप क्यामेरा जडान गरिएको हुन्छ । उक्त क्यामेराले मोबाइलमै सुक्ष्म दृश्यहरु देखाउँछ, जसको माध्यमबाट पर बसेर चिकित्सकहरुले उपचार गर्न सक्छन् ।

उनी भन्छन्, ‘मोबाइलमै हेरेर चिकित्सकहरूले उपचार गर्न सक्ने भएकाले डाक्टरहरलाई संक्रमण हुने जोखिम कम हुन्छ, बिरामीलाई पनि सहज हुन्छ ।’

टिमका अर्का डाक्टर दीपेन्द्र पाण्डेकाअनुसार यो यन्त्र भएन भने भेण्टिलेटरमा राख्नु पहिले बिरामीको नजिक गएर पाइप छिराउनुपर्छ । यसक्रममा घाउ हुने खतरा हुन्छ । तर यन्त्र हुँदा क्यामेराबाट हेर्न मिल्ने भएकाले सजिलो र छिटो हुन्छ । उनी भन्छन्, ‘ यो भेण्टिलेटर होइन तर भेण्टिलेटर सहयोगी सामग्री हो ।’

यो यन्त्र बनाउने चिकित्सहरुको अनुसार यो यन्त्रबारे स्वास्थ्यकर्मीहरुलाई तालिम दिनु उपयोगी हुन्छ । उनीहरु भन्छन्, ‘केही दिनमा हामी यो यन्त्र अरु थप सङ्ख्यामा बनाउँछौं, अरु अस्पतालका चिकित्सकहरुलाई पनि बनाउन सिकाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment