Comments Add Comment

सप्तरीमा कोरोनाको द्रुत परीक्षण सुरु, ३८ जनाको रिपोर्ट नेगेटिभ

१ वैशाख, सप्तरी । सप्तरीमा कोरोनाभाइरस जाँचका लागि (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) (आरडीटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ ।

क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

राजविराज नगरपालिकामा चार जना, कञ्चनरूप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमूना परीक्षण गरिएकामा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

आज आठ जना स्वास्थ्यकर्मीको चार वटा टोली बनाई विभिन्न क्वारेन्टाइनमा पठाइएको सो कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वारेन्टाइनमा निगरानीमा बसेका व्यक्तिको परीक्षण गरिनेछ ।

हाल जिल्लाको विभिन्न ३२ वटा क्वारेन्टाइनमा पाँच महिलासहित २४७ जना छन् । सो अवधिमा क्वारेन्टाइनबाट घर फर्किसकेका २११ जनाकोसमेत सम्बन्धित स्थानीय तहमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने उनले जानकारी दिए ।

सरकारले र्‍यापिड टेष्ट विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेसँगै कीट उपलब्ध गराएपछि सो विधिबाट परीक्षण सुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’मा जचाउँन आएका व्यक्तिमा र्‍यापिड टेस्ट विधिको प्रयोग सुरु गरिएको छ ।

अस्पताललाई १६०, स्वास्थ्य कार्यालयलाई ६०० र कञ्चनरूप स्वास्थ्य चौकीलाई १०० थान कीट उपलब्ध भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कीट उपलब्ध हुनासाथ परीक्षण सुरु भएको जनाउँदै डा. दासले मलेरियाको परीक्षण पनि सँगै गरिने बताए ।

उनका अनुसार, क्वारेन्टाइनमा निगरानीमा रहेकाको १४ औं दिन परीक्षण गरिनेछ । रिपोर्ट नेगेटिभ आएमा थप सात दिन क्वारेन्टाइनमा राखिनेछ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखी पिसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment