News Summary
Generated by OK AI. Editorially reviewed.- मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोरा सन् २०२६ को फिफा विश्वकपमा सहभागी १ हजार २४८ खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
- दक्षिण अफ्रिकाविरुद्ध मैदान प्रवेश गर्दै मोरा विश्वकप खेल्ने सबैभन्दा कम उमेरका मेक्सिकन र उत्तर अमेरिका महादेशकै कान्छा खेलाडी बनेका छन् ।
- उनले १५ वर्षको उमेरमा मेक्सिकन शीर्ष डिभिजन लिगमा गोल गर्दै इतिहास बनाएका थिए भने १६ वर्षमा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
काठमाडौं । फिफा विश्वकपमा सामान्यतया कसले उपाधि जित्छ? कसले अन्तिम विश्वकप खेल्दैछ ? कसले इतिहास बनाउनेछ ? गोल्डेन बुट कसको हातमा जाला ? यस्तै चर्चा हुन्छ ।
तर उत्तर अमेरिकाको तीन राष्ट्रमा भइरहेको विश्वकप यसपटक विभिन्न कारणले चर्चा भइरहेको छ ।
त्यसमा चर्चाको एउटा विष हुन्छ युवा र पाका खेलाडीको । त्यसमा पनि सानो उमेरमै विश्वकप जस्तो ठूलो मञ्चका लागि छनोट भएर खेल्दा त्यसको चर्चा झन् धेरै हुन्छ ।
यस्तै चर्चा मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोराको पनि छ । २३औं संस्करणको विश्वकपमा १ हजार २४८ खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन, उनी ।
तर आत्मविश्वास र खेल बुझाइका हिसाबले सबैभन्दा परिपक्वमध्ये एक । उनको खेल हेर्नेहरु यसै भन्छन् ।
तर आखिर विश्वकप सुरुवातसँगै उनी विश्व फुटबलको आकर्षणको केन्द्र किन बने ? किन युरोपका ठूला क्लबहरू उनको प्रत्येक प्रदर्शनमाथि नजर राखिरहेका छन् ?
यसको उत्तर खोज्न धेरै पछाडि फर्किनु पर्दैन । केवल गत साता भएको विश्वकप २०२६ को उद्घाटन खेल सम्झिए पुग्छ ।
त्यो खेल, जसले विश्व फुटबललाई एउटा नयाँ नामसँग अझ नजिकबाट परिचित गरायो ।
जुन ११ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फेरि सुरु हुँदै थियो ।
तीन देशले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उद्घाटन खेलमा खेल हुँदै थियो ।
स्टेडियम भरिएको थियो । हरियो जर्सीको समुद्र मैदान वरिपरि फैलिएको थियो । झन्डाहरू हावामा फर्फराइरहेका थिए । हजारौं मोबाइलको प्रकाश रातको आकाशमा ताराझैँ चम्किरहेको थियो । ढोलको ताल र समर्थकहरूको गर्जनले वातावरणलाई तरंगित बनाइरहेको थियो ।
अनि त्यसमाथि लगातार एउटा नारा गुञ्जिरहेको थियो, मेक्सिको…मेक्सिको… मेक्सिको..
घरेलु टोली मेक्सिको र प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको खेल संचालन भइरहेको थियो । जुलियन क्विनोनेसको गोलमा मेक्सिकोले सुरुवाती अग्रता लिइसकेको थियो ।
दक्षिण अफ्रिका रातो कार्डका कारण दबाबमा थियो ।
समय हुँदै थियो, ६६औँ मिनेट । खेल मेक्सिकोकै नियन्त्रणमा थियो । फोर्थ अफिसियल जुलियनले सब्स्टिच्युट बोर्ड उठाए ।
यस्तो अवस्थामा धेरै प्रशिक्षकहरू अनुभवी खेलाडी रोज्छन् । तर कोच अगिरेले फरक निर्णय लिए । उनले अल्भारो फिदाल्गोकोको स्थानमा जर्सी नम्बर १६ गिल्बर्टोलाई मैदानमा पठाए ।
हजारौं समर्थकको ध्यान मैदानबाट सिधै साइडलाइनतर्फ मोडियो । त्यहाँ उभिएको थियो एउटा किशोर, जसको अनुहारमा अझै बालापनको झल्को थियो, तर डेब्यु खेलमा पनि आँखामा असाधारण आत्मविश्वास देखिन्थ्यो ।
मोराले मैदानमा पाइला राखेसँगै इतिहास बनेको थियो । उनी विश्वकप खेल्ने सबैभन्दा कम उमेरका मेक्सिकन खेलाडी बने र उत्तर अमेरिका महादेशकै पनि कान्छा खेलाडी ।
त्यो क्षण केवल व्यक्तिगत उपलब्धि थिएन, मेक्सिकन फुटबलको नयाँ पुस्ताको आगमनको संकेत पनि थियो । १७ वर्षमै विश्वकपको मञ्चमा उभिनु आफैंमा असाधारण उपलब्धि मानिन्छ ।
त्यो आफैंमा एउटा इतिहास थियो । तर वास्तविक प्रभाव त्यसपछि देखियो ।
रेकर्ड बनाउनु एउटा कुरा हो, तर मैदानमा आफ्नो क्षमता प्रमाणित गर्नु अर्को ।
मोराले छोटो समयमै आफ्नो खेल शैली र आत्मविश्वासले सबैको ध्यान आकर्षित गरे ।
२४ मिनेटको खेलले संसारको ध्यान खिचियो
मोराले मैदानमा बिताएको समय धेरै लामो थिएन । उनी खेलबाट लुकेनन्, हराएनन् । बरु सक्रिय रूपमा प्रत्येक मिनेटको सही उपयोग गरे । मैदानमा जोशले छिरेका उनले पहिला बल मागे । पास खेले ।
उनका पासहरू केवल सुरक्षित विकल्प मात्र थिएनन । उनले खेलको लय कायम राख्दै टोलीलाई व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गरे । स्थान परिवर्तन गरे ।
मोराले निरन्तर चलायमान रहँदै खाली स्थान खोजे । यसले विपक्षीलाई दबाबमा राख्नुका साथै आफ्ना सहकर्मीलाई थप विकल्प पनि प्रदान गर्यो । र, खेलको लयमा आफूलाई सहज रूपमा मिसाए ।

विश्वकप डेब्यु खेलिरहेको खेलाडीभन्दा उनी टोलीको नियमित सदस्यजस्तै देखिए । यही सहजताले उनको प्रदर्शनलाई अझ प्रभावशाली बनायो ।
राउल जिमेनेजले दोस्रो गोल थपे र खेल लगभग समाप्त भयो । तर त्यसपछि भएको चर्चा गोलबारे भन्दा धेरै मोराको प्रदर्शनबारे थियो ।
मोराले गोल गरेनन् । असिस्ट पनि दिएनन् । खेल सकिँदा स्कोरबोर्डमा उनको नाम थिएन । तर कहिलेकाहीँ फुटबलमा सबैभन्दा ठूलो प्रभाव गोलले होइन, उपस्थितिले पारको खेल समाप्तिपछि आएका तथ्याङ्कले उनको प्रदर्शनको पुष्टि गरे । आँकडाले मैदानमा देखिएको आत्मविश्वास र प्रभावलाई अझ स्पष्ट बनायो ।
मैदानमा बिताएका केही मिनेटमै उनले १४ पास खेले । खेलेका सबै पास सफल हुनु असाधारण उपलब्धि मानिन्छ ।
उनले केवल रेकर्ड बनाएनन्, अवसर पाएपछि त्यसलाई प्रभावशाली प्रदर्शनमा रूपान्तरण गरे । यही कारण विश्व फुटबलको नजर अहिले मोरामाथि केन्द्रित हुन थालेको छ ।
खेलपछि उनले के भने ?
खेल समाप्त भएपछि पत्रकारहरूले उनलाई घेरे । यो उनको जीवनको सबैभन्दा ठूलो दिन थियो । र उनले त्यसलाई लुकाएनन्, पनि ।
उनले यो दिनलाई आफ्नो ‘छोटो जीवनकै सबैभन्दा राम्रो दिन’ भने । त्यो वाक्य धेरै मानिसहरूलाई मन पर्यो । किनकि, त्यो तयार पारिएको उत्तर थिएन ।
त्यो एउटा किशोरको वास्तविक भावना थियो । एक सपना पूरा भएको क्षणको प्रतिक्रिया ।
समाजिक संजालमा उनकै चर्चा
विश्वकप डेब्युपछि मोराको नाम सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो । उनको प्रवेशको भिडियो लाखौं पटक हेरियो । विश्लेषकहरूले उनको खेलका क्लिपहरू पोस्ट गरे भने समर्थकहरूले विभिन्न चर्चित खेलाडीसँग तुलना गर्न थाले । कतिपयले उनलाई भविष्यको स्टार भने, कतिपयले धैर्य गर्न आग्रह गरे ।
तर एउटा कुरामा धेरैजसो सहमत थिए, ‘यो खेलाडी विशेष छ ।‘
यसैबीच, फिफामा प्रकाशित एक लेखमा मेक्सिकोका प्रशिक्षक जेभिएर अगिरेले मोराबारे भनेका थिए, ‘केही खेलाडीहरू विश्वकपको विशाल मञ्च र घरेलु दबाबका कारण सुरुवातमा नर्भस देखिएका थिए । तर उनमा डर थिएन, आत्मविश्वास थियो । उनीमा बेन्जामिन गालिन्दो र कुआउतेमोक ब्लान्कोजस्ता दुर्लभ प्रतिभाको श्रेणीमा पर्ने खेलाडी हो । अहिले मेक्सिकोसँग उत्कृष्ट खेलाडी छ ।’
त्यस्तै, टिहुआनाका प्रशिक्षक सेबास्टियन अब्रेउले अझ ठूलो दाबी गर्दै भनेका थिए, ‘उमेर कागजमा १७ वर्ष मात्र होला, तर उसको प्रशिक्षण, व्यवहार र खेल हेर्दा २५–२६ वर्षको अनुभवी खेलाडी जस्तो लाग्छ । पछिल्लो १५–२० वर्षमा मेक्सिकन फुटबलबाट आएको सबैभन्दा ठूलो प्रतिभा हो ।’
कसरी पुगे मोरा विश्वकपको मैदान ? कसरी सुरु भयो, कलिलो उमेरमा यो यात्रा ?
१४ अक्टोबर २००८ मा दक्षिणी मेक्सिकोको टुक्स्टला गुटिएरेजमा जन्मिएका हुन्, मोरा । उनका बुवा गिल्बर्टो मोरा ओलाया पूर्व फुटबल खेलाडी थिए, जो मेक्सिकोको लिगमा चियापासको जगुआरेस क्लबमा खेलेका थिए र अहिले टिजुआना क्लबको युवा प्रशिक्षकको रूपमा काम गरिरहेका छन् । यही कारणले पनि उनमा सानैबाट फुटबलमा आर्कषण भयो ।
ईएसपीएन र याहू स्पोर्ट्समा प्रकिशत समाचारअनुसार मोराले सानैदेखि आफ्ना बुवाको निर्देशनमा फुटबल सिके । राम्रो प्रशिक्षणको लागि परिवार चियापासबाट टिजुआना सरेको थियो । घरमा बलको कमी थिएन, तर भव्य सम्पन्न सुविधा पनि थिएन ।
सानैदेखि उनी अरू बालबालिकाभन्दा फरक थिए । अरू बच्चाहरू बल हान्न र दौडिन व्यस्त हुन्थे, उनी भने मैदानमा खेल बुझ्ने प्रयास गर्थे । कहाँ पास दिने ? कुन खाली स्थान छ ? कसरी टोलीको लय बढाउने र कसलाई जोड्ने भन्ने कुरामा उनको ध्यान रहन्थ्यो ।
ईएसपीएनको रिपोर्ट अनुसार टिजुआना क्लबको प्रशिक्षण केन्द्रमा पुग्दा प्रशिक्षकहरू छक्क परेका थिए । उनी भन्थे, ‘यो केटा उमेरभन्दा निकै परिपक्व छ, उसको निर्णय क्षमता र फुटबल बुझाइ उल्लेखनीय छ ।’
१५ वर्षको उमेरमा पहिलो पटक मैदानमा
अगस्ट २०२४ । धेरै किशोरहरू विद्यालयको कक्षामा बसिरहेका थिए । तर मोरा मेक्सिकोको शीर्ष डिभिजन लिगा एमएक्समा इतिहास लेखिरहेका थिए ।
१५ वर्षको उमेरमा उनले टिहुआनाका लागि डेब्यु मात्र गरेनन्, गोल पनि गरे ।
यससँगै उनी मेक्सिकन शीर्ष डिभिजन इतिहासकै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने । पूरै देश स्तब्ध बन्यो ।
राष्ट्रिय टोलीको ढोका खुल्यो
जनवरी २०२५ मा अर्को ठूलो उपलब्धि आयो । मोराले १६ वर्षको उमेरमा मेक्सिकोको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरे ।
यससँगै उनी राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कान्छा मेक्सिकन खेलाडी बने ।
धेरै खेलाडीलाई त्यो अवसरसम्म पुग्न दशक लाग्छ । मोराले भने किशोरावस्थामै त्यो ढोका खोले ।
तर उनी त्यहाँ केवल अनुभव बटुल्न पुगेका थिएनन् । उनी आफूलाई प्रमाणित गर्न पुगेका थिए ।
गोल्ड कपले बनायो राष्ट्रिय नायक
२०२५ को कोन्काकाफ गोल्ड कप मोराको जीवनको टर्निङ पोइन्ट बन्यो ।
मुख्य प्रशिक्षक हाभियर अगिरेले उनलाई प्रतियोगितामा समावेश गर्दा धेरैले आश्चर्य मानेका थिए । तर अगिरेलाई थाहा थियो, उनीसँग असाधारण प्रतिभा छ । र, त्यो प्रतिभा देखाउने दिनको दुरी धेरै टाढा थिएन ।
साउदी अरेबियाविरुद्धको क्वार्टरफाइनलमा मोराले डेब्यु गरे ।
त्यसपछि होन्डुरसविरुद्धको सेमिफाइनलमा राउल जिमेनेजको निर्णायक गोलका लागि उत्कृष्ट असिस्ट दिए ।
त्यो क्षणपछि उनी केवल प्रतिभाशाली किशोर रहेनन् । उनी राष्ट्रिय टोलीको योजनाको हिस्सा बने ।
यी उपलब्धिले उनलाई प्रशिक्षक हाभियर अगिरेको विश्वकप टोलीमा स्थान दिलायो । विश्वकप अघि नै टिजुआना क्लबले उनलाई नयाँ तीन वर्षको ठूलो सम्झौता दियो र प्रसिद्ध नम्बर १० जर्सी प्रदान गर्यो । रियल मड्रिड, बार्सिलोना, म्यानचेस्टर सिटी जस्ता ठूला क्लबको चासो हुँदाहुँदै पनि उनले टिजुआनामै रहने निर्णय गरे ।
यू–२० विश्वकपमा विश्वको ध्यान
चिलीमा सम्पन्न यू–२० विश्वकप २०२५ मा मोराले आफ्नो प्रतिभा विश्वसामु प्रस्तुत गरे । स्पेनविरुद्ध गोल, ब्राजिलविरुद्ध प्रभावशाली प्रदर्शन । मोरक्कोविरुद्ध उत्कृष्ट खेल नियन्त्रण ।
मेक्सिको क्वार्टरफाइनलसम्म पुग्दा टोलीको आक्रमणको केन्द्रमा मोरा थिए ।
१६ वर्षको किशोरले विश्वका उत्कृष्ट युवा खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै आफूलाई विशेष साबित गरिसकेका थिए ।
हाल मेक्सिकोले दोस्रो खेल पनि जीत हासिल गरि सकिसकेको छ । मेक्सिकोको यात्रा अझै बाँकी छ । मेक्सिकोले पनि विस्तारै उपाधि दाबेदारको रुपमा देखिएको छ ।
‘हामी नै दाबेदार हौँ’
विश्वकप खेल्ने सपना अधिकांश १७ वर्षे खेलाडीको लागि नै ठूलो कुरा हुन्छ ।
तर मोरा फरक सोच राख्छन् । विश्वकपअघि उनले भनेका थिए, ‘म मेक्सिकोलाई यो विश्वकपको प्रमुख दाबेदार देख्छु । हामी घरेलु मैदानमा खेलिरहेका छौँ, त्यसैले हामी बलियो स्थितिमा छौँ ।’
दोस्रो खेलमा बेन्चमै
दक्षिण कोरियाविरुद्धको खेलअघि धेरैले गिल्बर्टो मोराले थप खेल समय पाउने अपेक्षा गरेका थिए । तर मेक्सिकोको १–० जितमा उनी मैदान उत्रिएनन् ।
प्रशिक्षक हाभियर अगिरेले कारण सार्वजनिक गरेका छैनन्, तर विश्वकपजस्तो लामो प्रतियोगितामा युवा खेलाडीलाई सावधानीपूर्वक प्रयोग गर्नु सामान्य मानिन्छ ।
यद्यपि, १७ वर्षको उमेरमै विश्वकप टोलीमा स्थान पाउनु उनीप्रतिको ठूलो विश्वासको संकेत हो । दक्षिण अफ्रिकाविरुद्धको प्रभावशाली डेब्युपछि समूह चरणको अन्तिम खेल वा नकआउट चरणमा मोराले फेरि अवसर पाउन सक्छन् ।
यदि त्यसो भयो भने, विश्व फुटबलको नजर फेरि त्यही किशोरमाथि केन्द्रित हुनेछ ।
पेले, एम्बाप्पे अनि मोरा
विश्वकपले धेरै किशोर प्रतिभालाई विश्व फुटबलको केन्द्रमा पुर्याएको छ । सन् १९५८ मा १७ वर्षीय पेलेले ब्राजिललाई विश्वकप जिताएर इतिहास लेखे । सन् १९९८ मा १८ वर्षीय माइकल ओवेनले अर्जेन्टिनाविरुद्धको गोलबाट विश्वलाई चकित बनाए । सन् २०१८ मा १९ वर्षीय किलियन एमबाप्पेले फ्रान्सलाई विश्वकपको शिखरसम्म पुर्याए ।
अहिले मोरा विश्व फुटबल फेरि उत्सुकता जगाउने उनी अर्को किशोर खेलाडी हुन् ।
अहिले कसैले उनलाई पेले वा एमबाप्पेसँग तुलना गरिरहेको छैन । तर एउटा समानता अवश्य छ, विश्वकप सुरु हुनुअघि नै उनीबारे संसार बोल्न थालेको छ । त्यो आफैंमा असाधारण कुरा हो । विश्वकपअघि नै हेर्न लायक प्रतिभाको सूचीमा उनको नाम समावेश थियो ।
विश्वकप २०२६ मा संसारका धेरै आँखा मेस्सी, एम्बाप्पे, यामाल वा रोनाल्डोतर्फ हुनेछ । तर मेक्सिकोवासीकोको नजर एउटा १७ वर्षीय किशोरमाथि टिकेको छ ।
किनकि, उनीहरू विश्वास गर्न थालेका छन्, सायद विश्वकपले आफ्नो अर्को महान कथा भेट्टाइसकेको छ । र, त्यस कथाको नाम हो, गिल्बर्टो मोरा ।
प्रतिक्रिया 4