+

फिफा विश्वकप २०२६ मा चम्किन सक्ने ५ युवा खेलाडी

२०८३ जेठ  २१ गते १४:५० २०८३ जेठ २१ गते १४:५०
फिफा विश्वकप २०२६ मा चम्किन सक्ने ५ युवा खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी फुटबल विश्वकपमा मेक्सिकोका गिल्बर्टो मोरा र ब्राजिलका एन्ड्रिकसहित पाँच युवा खेलाडीमाथि सबैको विशेष नजर रहने भएको छ ।
  • मेक्सिकोका १७ वर्षीय मिडफिल्डर गिल्बर्टो मोरा आफ्नो देशबाट विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्ने सम्भावना छ ।
  • ब्राजिलका १९ वर्षीय फरवार्ड एन्ड्रिक प्रशिक्षक कार्लो एन्सेलोटीको विश्वकप टोलीमा समावेश भई नेयमारसँगै मैदानमा देखिनेछन् ।

२१ जेठ, काठमाडौं । फुटबल विश्वकप युवा प्रतिभा उदाउने सबैभन्दा ठूलो मञ्च मानिन्छ । पेले १७ वर्षको उमेरमा ब्राजिललाई १९५८ को विश्वकप जिताएका थिए भने किलियन एम्बाप्पेले २०१८ मा १९ वर्षको उमेरमा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

पहिले नै युरोपेली फुटबलमा स्थापित भएका लामिन यामल, पाउ कुबार्सी र जर्मनीका लेनार्ट कार्ल जस्ता खेलाडीमाथि धेरैको नजर रहनेछ । यद्यपी केही नयाँ अनुहारले पनि विश्वकपमा ठूलो प्रभाव पार्न सक्छन् ।

गिल्बर्टाे मोरा (मेक्सिको)

गिल्बर्टाे मेक्सिकन फुटबलका सबैभन्दा आशालाग्दा प्रतिभामध्ये एक मानिन्छन् । १७ वर्षीय मिडफिल्डर विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरका मेक्सिकन खेलाडी बन्न सक्ने सम्भावना छ ।

टिजुआनाबाट खेलिरहेका मोराले १५ वर्षकै उमेरमा मेक्सिकोको शीर्ष डिभिजनमा गोल गर्ने कीर्तिमान बनाएका थिए । १६ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनीमाथि रियल मड्रिड, बार्सिलोना लगायतका ठूला क्लबको नजर छ ।

यान डियोमान्डे (आइभरी कोस्ट)

१९ वर्षीय विङ्गर यानले जर्मन क्लब आरबी लाइपजिगबाट उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप टोलीमा स्थान बनाएका छन् ।

बाल्यकालमा अमेरिकामा हुर्किएका डियोमान्डेले फ्लोरिडामा विद्यालयस्तरको फुटबल खेलेका थिए । पछि स्पेनको लेगानेस हुँदै उनी लाइपजिग पुगे ।

गत वर्ष राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनी आइभरी कोस्टका भविष्यका स्टार मानिन्छन् ।

एन्ड्रिक (ब्राजिल)

एन्ड्रिकलाई ब्राजिलको अर्को ठूलो स्टारका रूपमा हेरिन्छ । १९ वर्षीय फरवार्डले ब्राजिलको पाल्मिरासबाट चम्किएपछि रियल मड्रिड पुगेका थिए ।

रियलमा अपेक्षित अवसर नपाएपछि लोनमा फ्रान्सेली क्लब लियोन पुगेका एन्ड्रिकले उत्कृष्ट सिजन बिताए ।

त्यसैले नयाँ प्रशिक्षक कार्लाे एन्सेलोटीले उनलाई विश्वकप टोलीमा समावेश गरेका छन् । उनी नेयमार, भिनिसियस जुनियर र राफिनहासँगै ब्राजिलको आक्रमणमा देखिनेछन् ।

इब्राहिम म्बाये (सेनेगल)

१८ वर्षीय इब्राहिम यस वर्ष अफ्रिका कप अफ नेसन्समा गोल गर्दै प्रतियोगिताको इतिहासमा सबैभन्दा कान्छा सेनेगाली गोलकर्ता बनेका थिए ।

पीएसजीको एकेडेमीबाट हुर्किएका इब्राहिमले १६ वर्षकै उमेरमा फ्रेन्च लिगमा डेब्यु गरेका थिए । पछिल्लो सिजन उनले च्याम्पियन्स लिगसहित विभिन्न प्रतियोगितामा थप अवसर पाए र आफ्नो क्षमता प्रमाणित गरे ।

केन्ड्री पाएज (इक्वेडर)

केन्ड्री १९ वर्षकै उमेरमा इक्वेडरको राष्ट्रिय टोलीका नियमित सदस्य बनिसकेका छन् । चेल्सीले २०२३ मै उनको सम्झौता गरेको थियो । त्यसपछि उनी फ्रान्सको स्ट्रासबर्ग र हाल अर्जेन्टिनाको रिभर प्लेटमा ऋण सम्झौतामा खेलिरहेका छन् ।

उत्कृष्ट ड्रिब्लिङ र तीव्र गतिका कारण चर्चित पाएजले विश्वकपमा राम्रो प्रदर्शन गरेमा युरोपको शीर्ष फुटबलमा पुनः फर्किने सम्भावना बलियो छ ।

विश्वकपले नयाँ स्टार जन्माउने इतिहास बोकेको छ । यसपटक पनि मोरा, डियोमान्डे, एन्ड्रिक, म्बाये र पाएजमध्ये कुनै एक खेलाडीले विश्व फुटबलमा आफ्नो नाम स्थापित गर्न सक्ने सम्भावना छ ।

उनीहरूको प्रदर्शनले आगामी दशकको फुटबलको दिशा निर्धारण गर्न सक्छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय