+

साफ महिला च्याम्पियनसिप : नेपालको यात्रामा फेरि बंगलादेश बाधक

२०८३ जेठ  २१ गते ११:५० २०८३ जेठ २१ गते ११:५०

साफ महिला च्याम्पियनसिपमा नेपाल दोस्रो पटक फाइनल पुग्न असफल हुँदा फेरि बंगलादेश बाधक बन्यो । अर्को संयोग के रह्यो भने भारतमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनल पुग्न सकेको छैन ।

साफ महिला च्याम्पियनसिप : नेपालको यात्रामा फेरि बंगलादेश बाधक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको गोवामा भइरहेको आठौं साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग २-१ गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
  • साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल बंगलादेशसँग लगातार तेस्रो पटक पराजित भएको हो ।
  • चोटका कारण टोलीमा प्रमुख स्ट्राइकर सावित्रा भण्डारी नहुँदा नेपालले फिनिसिङमा ठूलो समस्या भोग्नुपर्‍यो ।

२१ जेठ, काठमाडौं । साफ महिला महिला च्याम्पियनसिपमको उपाधि जित्ने नेपालको लक्ष्य फेरि एक पटक अधुरै रह्यो । अझ यस पटक त नेपाली महिला टोली फाइनलमा पुग्न समेत सकेन ।

अनि यस पटक नेपाली टिममा विगतमा जस्तो गोलमेसिन अर्थात सावित्रा भण्डारी ‘साम्बा’ पनि थिइनन् । र अर्को दुर्भाग्य वा संयोग साफ महिला च्याम्पियनसिपको १६ वर्षे इतिहासमा भारतमा भएको दुवै संस्करणमा नेपाल फाइनल पुग्न सकेन ।

भारतको गोवामा चलिरहेको आठौं संस्करणको साफ महिला च्याम्पियनको सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग २-१ ले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल बन्यो ।

पण्डित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले सुरुमा अग्रता लिएर पनि जोगाउन सकेन । दुवै हाफको इन्जुरी टाइममा बंगलादेशले गोल गर्दै शानदार जित निकाल्यो । विगतमा जस्तै नेपालले उही गल्ती दोहोर्‍यायो अन्तिम समयमा सम्हालिन नसक्ने अनि सामान्य गोल बेहोर्ने ।

डिफेन्डर गीता रानाले २२औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफमै रितु पोर्ना चक्माको शानदार गोलमार्फत बंगलादेशले खेलमा पुनरागमन गर्‍यो । पहिलो हाफको इन्जुरी टाइममा रितुले कर्नरबाट सिधै ओलम्पिको गोल गरिन् । नेपालकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले त्यसलाई रोक्ने कुनै अवसर पाइनन् ।

दोस्रो हाफको पनि इन्जुरी टाइममा बंगलादेशले विजयी गोल गर्‍यो । नेपाली दुई खेलाडी कोलिजन भएकोले बेला खेल सञ्चालन हुँदा सगोरिकाले बंगलादेशका लागि गोल गर्दै खेल जिताइन् । नेपालका मुख्य प्रशिक्षक नविन न्यौपानेले त्यो समयमा खेल नरोकी चलाउने रेफ्रीको निर्णयमा असन्तुष्ट व्यक्त गरेका थिए ।

प्रशिक्षक न्यौपानेले अन्तिम समयमा खेल कन्ट्रोल गर्न नसक्नु र इन्जुरीको समयमा पनि खेल निरन्तर जारी राख्दा नेपाल अभागी भएको बताए । ‘पहिलो हाफको अन्तिम पाँच मिनेट बंगलादेशले हाई स्पीड गेम खेल्यो र हामीले त्यो पाँच मिनेट कन्ट्रोल गर्न सकेनौं’ न्यौपानेले भने, ‘दोस्रो हाफमा पनि हामीले धेरै अवसर बनायौं । तर अन्तिम समयमा त्यो सिचुएसन (इन्जुरी) भयो । हाम्रो टिमले शतप्रतिशत दिएको थियो । तर हामी फेरि अनलक्की भयौं ।’

अन्तिम समयमा खेल रोक्नुपर्ने बेला रेफ्रीले बंगलादेशलाई एडभान्टेज दिएको उनले बताए । ‘त्यो कन्कसनको केस हो । बलको सिनारियो अनुसार रेफ्रीले एड्भन्टेज दियो । तर त्यो सिचुएसन लाइफसँग जोडिएको थियो । त्यसमा मैले बुझे अनुसार एडभान्टेज भन्दा पनि तत्कालै खेल स्टप गर्नुपर्ने हुन्छ’ उनले भने ।

नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्व खेलाडी नविन न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टोलीले पनि विगतकै जस्तो नतिजामा सिमित हुन बाध्य भयो । खेलाडीको रुपमा साफ जित्न नपाएका प्रशिक्षक न्यौपानेले भारत जानुअघि प्रशिक्षकको रुपमा त्यो सपना पूरा गर्ने र यो नेपालको लागि ठूलो प्रतियोगिता भएको बताएका थिए । तर उनीसहित नेपाली टोलीको त्यो लक्ष्य पूरा हुन सकेन ।

बंगलादेश विरुद्ध लगातार तेस्रो हार

बंगलादेश विरुद्ध नेपाली महिला फुटबल टोलीको विगत निकै राम्रो छ । सन् २०१० देखि साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा पनि फुटबल समावेश भएपछि नेपालले सुरुको दशक बंगलादेशलाई आरामले पराजित गर्दै आएको थियो ।

तर पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्ने भने नेपालले बंगलादेशलाई हराउन सकेको छैन र साफ च्याम्पियनसिपमै नेपाल बंगालदेशसँग लगातार तीन खेलमा पराजित भएको छ । संयोगवश त्यो तीन हार नकआउट चरणमा छ ।

सन् २०२२ र २०२४ मा काठमाडौंमै भएको प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो भने २०२६ मा सेमिफाइनलमै फेरि बंगलादेशसँग पराजित भयो ।

बंगलादेशसँग नेपालले अहिलेसम्म १४ खेल खेल्दा नेपाल हावी छ । नेपालले ६ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । तर बंगलादेशले जम्मा ३ खेल जितेको छ । र त्यो तीन जित नै महत्वपूर्ण समयमा आएको छ ।

बंगलादेशसँगको यो तीनै हार नेपालको लागि निकै पिडादायी बनेको छ । सन् २०२१ मा काठमाडौंमै भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पछिल्लो पटक २-१ ले पराजित गरेको थियो ।

त्यसयता बंगलादेशले धेरै सुधार गरेको छ । दुई पटक त साफ महिला च्याम्पियनसिपकै उपाधि जित्यो र अहिले फाइनल पुग्दै लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । तर नेपाल भने लक्ष्य बनाउँदै चुक्दै गरेको छ ।

साम्बा मिस भयो

यस पटक नेपालको लागि केही राम्रो रहेन । साफ महिला च्याम्पियनसिप नै खेल्ने नखेल्ने अन्योल स्थिती थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई २०८२ चैत ११ गते तीन महिनाको लागि निलम्बन गरेपछि नेपालको फुटबल गतिविधि नै प्रभावित बनेको थियो । जसले गर्दा तोकिएको समयमा तयारी सुरु हुन सकेन ।

बल्ल तयारी सुरु भयो तर अझै नेपालको सहभागिता अन्योलमा थियो । मन्त्रीस्तरीय निर्णयपछि राखेपले २०८३ जेठ पहिलो साता एन्फामाथि लगाएको निलम्बन फुकुवा गरेपछि महिला टोलीको सहभागिता पक्का भयो, तर यति बेला सम्म धेरै कुरा बिग्रिसकेको थियो ।

हुन त नेपालले जहिले पनि यस्तै बेला केही न केही जित्नै आएको थियो । यस पटक पनि समस्याका बावजुत खेल्न गएको नेपालले झिनो आशा भने राखेको थियो । तर तेस्रो खेलमा पुग्दा नै त्यो निराशामा परिणत भयो ।

अर्को महत्वपूर्ण कुरा यस पटक नेपालको कप्तान तथा गोलमेसिन सावित्रा भण्डारी साम्बा नेपाली टोलीमा थिइनन् । उनलाई नेपालले धेरै मिस गर्‍यो । अस्ट्रेलियन लिग खेल्ने क्रममा घाइते भएकी उनी घुँडाको शल्यक्रियापछि रिह्याबमा छिन् । उनले मैदान बाहिरबाट नेपाली टोलीलाई शुभकामाना दिएपछि उनी स्वयं उपस्थित भए जस्तो शुभकामनाले कुनै काम गरेन ।

नेपालले प्रतियोगितामा तीन खेल खेल्दा २ खेल जित्यो १ खेलमा पराजित भयो । कुल ४ गोल गर्‍यो । २ गोल बेहोर्‍यो । नेपालले दुई खेलमा क्लिनसिट राख्यो । तर एउटै खेलमा पराजित हुँदा फाइनल पुग्न सकेन ।

नेपालको मात्र नभएर दक्षिण एसिया देखि एसियाकै उत्कृष्ट गोल स्कोररको रुपमा रहेकी साम्बा नहुँदा नेपालको अभाव नेपालले पूरा गर्न सकेन । नेपाली टिमले साम्बालाई धेरै मिस गर्‍यो । साम्बाले नेपालका लागि सर्वाधिक ६७ गोल गरिसकेकी छिन् ।

‘हामीले भुटानसँग भन्दा श्रीलंका विरुद्ध राम्रो खेल्यौं । त्यो भन्दा बंगलादेश विरुद्ध पनि राम्रो खेल्यौं । हामीले आज (बंगलादेश विरुद्ध) विनिङ गेम खेल्यौं तर हामीले पाएको अवसर सदुपयोग गर्न सकेनौं । हाम्रो टिममा फिनसिङ टचको कमी देखियो’ प्रशिक्षक न्यौपानेले भने ।

बंगलादेश विरुद्ध नेपालका रेखा पौडेल, रश्मि घिसिङ, सरु लिम्बुले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

साफ महिला च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय