News Summary
Generated by OK AI. Editorially reviewed.- छैटौँ अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् ।
- अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६औँ वर्षगाँठका अवसरमा बुधबार यो दौड आयोजना गरेको हो ।
- विजेता दुवै खेलाडीले जनही १ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
२१ जेठ, काठमाडौं । छैटौँ अन्नपूर्ण म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् ।
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी आठ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्वकै पहिलो कीर्तिमान बनाएको ७६औँ वर्षगाँठको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले बुधबार प्रतियोगिता आयोजना गरेको म्याराथनमा दलबहादुर पुरुषतर्फ र मञ्जु महिलातर्फ च्याम्पियन बने ।
अन्नपूर्ण आधार शिविरबाट सुरु भई घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी दलबहादुरले ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा पूरा गरे । नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो तथा सचिन गुरुङ ४ घण्टा ४९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए ।
यस्तै सोमिन गुरुङ चौथो र रोजन सिपाली पाँचौँ स्थानमा रहे ।
महिलातर्फ जुम्लाकी मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा दूरी पूरा गरिन् । जुम्लाकै राज्यलक्ष्मी रावल दोस्रो तथा कल्पना बुढा तेस्रो भइन् । राज्यलक्ष्मीले ६ घण्टा ५६ मिनेट २५ सेकेण्ड र कल्पनाले ६ घण्टा ५६ सेकेण्डमा दूरी पूरा गरिन् ।
महिला र पुरुष दुवैतर्फका विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित आयोजित म्याराथन समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, सिनुवा, बम्बु, छुमरुङ, तौलु, घुर्जुङ, चुहिले, मेलाञ्चे, कोम्रोङडाँडा हुँदै घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर समापन भएको थियो ।
प्रतिक्रिया 4