+

जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट : पुलिस, जेम्स, त्रियोग, रेडियन्ट, केएमसी र एन्जल्स हार्ट विजयी

२०८३ जेठ  २० गते २१:३२ २०८३ जेठ २० गते २१:३२
जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट : पुलिस, जेम्स, त्रियोग, रेडियन्ट, केएमसी र एन्जल्स हार्ट विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यु–१६ अन्तर विद्यालय क्रिकेट अन्तर्गत एन्जल्स हार्टका कप्तान सन्दीप साउदले अविजित १२६ रन बनाएपछि ज्ञान मन्दिरमाथि १४७ रनको जित दर्ता भएको छ ।
  • प्रतियोगिताको अर्को खेलमा अनिल गुरुङको अविजित १०० रनको मद्दतमा रेडियन्ट रिडर्स स्कुलले नेक्सस इन्टरनेसनल स्कुललाई ४८ रनले पराजित गरेको छ ।
  • जेठ २५ सम्म चल्ने प्रतियोगिताको दोस्रो दिन नेपाल पुलिस, जेम्स, त्रियोग, रेडियन्ट, केएमसी र एन्जल्स हार्ट स्कुल विजयी भएका छन् ।

२० जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’को दोस्रो दिन बुधबार ६ खेल सम्पन्न भएका छन् ।

माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदान तथा त्रिवि क्रिकेट मैदानमा भएका खेलमा नेपाल पुलिस स्कुल, जेम्स स्कुल, त्रियोग उच्च माध्यमिक विद्यालय, रेडियन्ट रिडर्स स्कुल, केएमसी स्कुल र एन्जल्स हार्ट नेसनल स्कुल विजयी भए ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस स्कुलले द सेलिब्रेसन सहशिक्षा विद्यालयलाई ६४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्यो । १३८ रनको लक्ष्य पछ्याएको द सेलिब्रेसन १४.५ ओभरमा ७३ रनमै अलआउट भयो । पुलिसका सुनिल ठाकुर र सागर सिंहले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस १८ ओभरमा १३७ रनमा समेटिएको थियो । सुनिल ठाकुरले सर्वाधिक ३९ रन बनाए। द सेलिब्रेसनका कृष्ण हमालले ४ विकेट लिए । जितसँगै समूह ‘जी’मा रहेको पुलिसले पहिलो खेलबाट दुई अंक जोडेको छ ।

सोही मैदानमा जेम्स स्कुलले अक्षारिका स्कुललाई १२५ रनले पराजित गर्‍यो । जेम्सले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । कप्तान सुदिश पौडेलले सर्वाधिक ३६ रन बनाए ।

जवाफमा १५० रनको लक्ष्य पछ्याएको अक्षारिका १०.५ ओभरमा २४ रनमै समेटियो । जेम्सका प्रचेत नाखोटिया र स्वराज चौलागाईंले समान ३–३ विकेट लिए । यो जितसँगै जेम्सले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

तल्लो मूलपानीमा त्रियोग उच्च माध्यमिक विद्यालयले क्रियटिभ एकेडेमीलाई रोमाञ्चक खेलमा २ रनले हरायो । ११९ रनको लक्ष्य पछ्याएको क्रियटिभ १९.१ ओभरमा ११६ रनमा अलआउट भयो । संयोग अर्यालले ४३ र पियुष राज भट्टले ४१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्रियोगका आर्यन नेपालले ४ तथा साइमन्ड भण्डारीले ३ विकेट लिए । यसअघि त्रियोग १८.३ ओभरमा ११८ रनमा समेटिएको थियो । दीप गुरुङले सर्वाधिक २६ रन बनाएका थिए । समूह ‘बी’मा रहेको त्रियोगको यो पहिलो जित हो ।

अर्को खेलमा रेडियन्ट रिडर्स स्कुलले नेक्सस इन्टरनेसनल स्कुललाई ४८ रनले पराजित गर्‍यो । रेडियन्टले अनिल गुरुङको अविजित शतकको मद्दतमा २० ओभरमा १ विकेट गुमाएर १७४ रन बनाएको थियो । अनिलले ७३ बलमा १३ चौका र १ छक्कासहित अविजित १०० रन बनाए ।

जवाफमा नेक्सस २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमा सीमित भयो । रेडियन्टका समीर चौधरीले ३ विकेट लिए। लगातार दोस्रो हारसँगै नेक्सस समूह चरणबाट बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा केएमसी स्कुलले हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कूललाई ६ विकेटले पराजित गर्‍यो । ९० रनको लक्ष्य केएमसीले १३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान विधान सापकोटा ४८ रनमा अविजित रहे भने अमित कुमार दासले अविजित ३२ रन जोडे ।

यसअघि हिमालयन ह्वाइटहाउसले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो। केएमसीका अमित कुमार दासले ३ विकेट लिए । लगातार दोस्रो हारसँगै हिमालयन ह्वाइटहाउस प्रतियोगिताबाट बाहिरिएको छ ।

अर्को खेलमा एन्जल्स हार्ट नेसनल स्कुलले ज्ञान मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुलमाथि १४७ रनको फराकिलो जित निकाल्यो । एन्जल्स हार्टले १४ ओभरमा २ विकेट गुमाएर १७३ रन बनाएको थियो । कप्तान सन्दीप साउदले ६० बलमा १४ चौका र ४ छक्कासहित अविजित १२६ रनको विस्फोटक इनिङ्स खेले ।

जवाफमा ज्ञान मन्दिर ७.५ ओभरमै २६ रनमा अलआउट भयो। सन्दीप साउद र निरव गर्बुजाले समान २–२ विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप एन्जल्स हार्टको जितका प्रमुख नायक बने ।

आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ ।

जयकुमारनाथ शाह मेमोरियल यू–१६ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय