News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेपछि नेपाललाई विश्वकप छनोटमा चुनौती थपिएको छ ।
- नयाँ प्रावधान अनुसार नेपालले टी-२० विश्वकप पुग्न एसिया क्षेत्रको छनोट पार गरेर ग्लोबल छनोट पनि खेल्नुपर्नेछ ।
- पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ग्लोबल छनोटमा बलिया देशहरू आउने भएकाले अबको यात्रा पहिलेभन्दा कठिन हुने बताए ।
२० जेठ, काठमाडौं । सन् २०१४ मा पहिलोपटक आईसीसी टी–२० विश्वकप खेलेको नेपाललाई दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लाग्यो ।
पहिलोपटक ग्लोबल छनोट पार गर्दै नेपाल सन् २०१४ को विश्वकपमा छनोट भएको थियो । त्यसपछि छनोट हुन नेपाललाई ग्लोबल छनोट बाधक बन्दैगयो । ग्लोबल छनोटमा नेपाल पटकपटक असफल हुन पुग्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२४ को विश्वकपका लागि ग्लोबल छनोटको प्रावधान हटायो । एसिया, अफ्रिका र युरोपका २–२ तथा अमेरिका र इष्ट एशिया प्यासिफिकको क्षेत्रीय छनोटबाट १–१ टिमले टी–२० विश्वकपमा स्थान बनाउने व्यवस्था आईसीसीले गर्यो । जसको फाइदा नेपालले उठायो ।
पहिलोपटक ग्लोबल छनोट पार गरेर विश्वकप खेलेको नेपाललाई दोस्रो पटक विश्वकप खेल्न ग्लोबल छनोटको प्रावधान हट्नुपर्यो । नेपालले पहिलोपटक सन् २०११/१२ मा ग्लोबल छनोट खेलेको थियो । जसमा नेपाल ग्रुप ‘ए’ को पाँचौं स्थानमा रहँदा विश्वकपमा छनोट हुन असफल भएको थियो ।
दोस्रोपटकमा ग्लोबल छनोट पार गर्दै २०१४ को विश्वकप खेलेको नेपाल २०१५ मा भएको छनोटमा ग्रुप ‘ए’को अंकतालिकाको पुछारमा रहँदै विश्वकप खेल्नबाट वञ्चित भएको थियो ।

सन् २०२१ मा भएको ग्लोबल क्वालिफायरमा यूएईसँग पराजित हुँदा नेपालले विश्वकप खेल्नबाट फेरि वञ्चित हुनपुग्यो । सन् २०१९ मा त नेपाल क्वालिफायरमै पुग्न सकेको थिएन । त्यो बेला सिंगापुरसँग पराजित हुँदा नेपाल विश्वकपको एसिया क्षेत्र छनोटमै रोकिएको थियो ।
सन् २०२४ मा आईसीसीले ल्याएको नयाँ प्रावधानले मात्रै नेपाललाई विश्वकप खेल्न राहत मिलेको थियो । एसिया क्षेत्रबाट शीर्ष दुई टोली विश्वकप छनोट हुने प्रावधान भएसँगै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पाइला टेक्न सफल भयो । त्यसबेला घरेलु मैदानमा भएको छनोटमा यूएईलाई स्तब्ध बनाएर नेपाल एक दशकपछि विश्वकपमा छनोट भएको हो ।
सन् २०२६ को टी–२० विश्वकप छनोट झनै सहज बन्यो । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रलाई गाभेर संयुक्त रूपमा छनोट प्रतियोगिता गर्दै शीर्ष ३ देश विश्वकपमा सहभागी हुने प्रावधान आईसीसीले ल्यायो । जसमा नेपाल शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक विश्वकपमा छनोट भयो ।
तर, आईसीसीको बोर्ड बैठकबाट टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको छ । जसले नेपाललाई टी–२० विश्वकपको आउँदो संस्करणमा छनोट हुन चुनौती थपिने देखिन्छ । कुन विश्वकपबाट लागु हुने भन्नेबारे एकिन निर्णय गरिसकेको छैन ।
लागु भएमा नेपालले टी–२० विश्वकप छनोट हुन एसिया क्षेत्र छनोटसँगै ग्लोबल छनोट पनि पार गर्नुपर्नेछ । एसिया, अफ्रिका, युरोप र अमेरिकासहितका क्षेत्रका शीर्ष टोलीहरू ग्लोबल छनोट खेल्नेछन् ।
ग्लोबल छनोटमा कति टोली सहभागी हुने र कति टोली विश्वकपमा छनोट हुने भन्नेबारे आईसीसीले अहिले नै निर्णय गरिसकेको छैन । आईसीसी व्यवस्थापनलाई १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको प्रतियोगिता संरचना र छनोट प्रक्रिया अन्तिम रूप दिन निर्देशन दिइएको छ ।
ग्लोबल छनोट लागु हुँदा क्षेत्रीय छनोटबाट आउने टोलीहरूले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नुपर्नेछ । ग्लोबल छनोट खेलेपछि मात्रै विश्वकपमा छनोट हुनेछन् । राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ग्लोबल छनोट हुँदा अहिलेजस्तो सहज नहुने बताउँछन् ।
‘ग्लोबलमा गएपछि चुनौती भइहाल्छ । आ–आफ्नो क्षेत्रबाट बलियो टिमहरू आएर खेलिराखेको हुन्छन् । त्यसले गर्दा पक्कै पनि अहिलेजस्तो सहज हिसाबले त हुँदैन,’ उनी भन्छन् ।
ग्लोबल छनोटबाट विश्वकप खेल्ने टोलीको संख्याले पनि निर्भर हुने मल्लको बुझाइ छ । उनी भन्छन्, ‘ग्लोबल छनोट खेल्दा राम्रै पनि हो । एसोसिएटमा उत्कृष्ट टिम हो भनेपछि खासै डराउनुपर्ने त होइन । तर, सहज चाहिँ छैन ।’

सन् २०२४ को विश्वकप छनोटका लागि ग्लोबल छनोट नहुँदा नेपाललाई छनोट खेल्नेमध्ये एसियाका बलियो मानिएका ओमन र यूएईमध्ये एक देशलाई हराउँदा विश्वकपको ढोका खुल्थ्यो । नेपालले यूएईलाई हराउँदै विश्वकपमा पुगेको थियो ।
सन् २०२६ मा एसिया क्षेत्रबाट ३ देश छनोट हुने व्यवस्था हुँदा नेपालसहित ओमन र यूएईले सहजै विश्वकपमा स्थान बनाएका थिए । तर, ग्लोबल क्वालिफायर हुँदा नेपालले ओमन र यूएईसँग उत्कृष्ट एसोसिएट राष्ट्रहरूसँग पनि प्रतिष्पर्धा गर्नुपर्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरी नेपाल ग्लोबल छनोट पार गर्न सक्षम रहेको बताउँछन् । ‘चुनौती अलि थपिन्छ । पछिल्लोपटक युरोपियन टिम जस्तो कि स्कटल्यान्ड छनोट भएको थिएन । उनीहरू आउनसक्छन् । तर, हाम्रो टिम ग्लोबल क्वालिफायर पार गर्न सक्षम छ,’ उनी भन्छन् ।
ग्लोबल क्वालिफायर ब्युँतिदा नेपाललाइ थप च्यालेन्जिङ हुने चौधरीको अनुभव छ । ‘पछिल्लो पटक जापान, सामोआसँग खेलेका थियौं । त्यो सजिलो प्रतिस्पर्धी थिए । तर, यसमा सबै राम्रो प्रतिस्पर्धीहरू आउँछन् । एसियाबाट पनि छानेर जान्छन् । युरोपबाट आउँछ । अरू क्षेत्रबाट आउँछन्,’ उनी भन्छन्, ‘त्यो हिसाबले गर्दा च्यालेन्जिङ हुनसक्छ ।’
प्रतिक्रिया 4