Comments Add Comment

नेपाली खेलकुदको वेग रोकियो, महामारीपछि फेरि उठ्नेछौं

बसेकै स्थानमा निरन्तर प्रशिक्षण गरौं

१३‌‌औं सागमा स्वर्ण विजेता कराँते खेलाडी अनु अधिकारी /अनलाइनखबर फाइल

३ वैशाख, काठमाडौं । नेपाली खेलकुद इतिहासमा वर्ष २०७६ निकै महत्वपूर्ण रह्यो । नेपालले २० वर्षपछि दक्षिण एसियाली खेलकुदको सफल आयोजना मात्र गरेन, घरेलु मैदानमा भएको खेल मेलामा धेरै राष्ट्रिय खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्र र जनतालाई खुशी बनाए । यसका साथै भौतिक पूर्वाधारका कुराहरुमा पनि धेरै काम भए ।

नेपाल सरकार एवं खेलसँग आबद्ध संस्थाहरुले खेलाडीहरुको मनोबल उच्च राख्न चालेका कदमहरु पनि सह्रानीय छन् । अबको दिनमा खेल क्षेत्रमै रहेर आफ्नो जीवन अगाडि बढाउन सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गएको देखिन्छ । यसले गर्दा लामो समय खेलकुदमा योगदान पुर्‍याएर अन्तमा आँसु झार्दै विदेशिनुपर्ने वाध्यता अन्त्य हुन सक्ने आशा पलाएको छ । खेलाडीहरुलाई जीवनभर खेलकुदमै समर्पित भएर लाग्न आत्मबल बढेको छ ।

एक सामान्य व्यक्तिले सक्षम र सफल खेलाडी हुन लामो समय पसिना बगाएको हुन्छ । लामो समयको परिश्रमले मात्र सफलता हात पर्छ । सफलताको ‘पिक आवर’ भने छोटो हुन्छ । खेल जीवनलाई उमेर, स्वास्थ्य, खेलको र्फम, नयाँ पुस्तालगायत कुराले प्रभाव पार्छन् ।

मैले पनि खेल करिअरको एक दशक मिहिनेतपछि १३औं सागमा स्वर्ण प्राप्त गर्न सफल भएँ । त्यो पनि, सेमिफाइनल र फाइनल दुवै खेलमा प्रतिद्वन्द्वीलाई नकआउट पारेर । एसियन गेम्स २०१८, इन्डोनेसियामा कराँतेको ५० केजीतर्फ कास्य पदक नजिक पुगेको थिएँ । एसियन गेम्सको त्यो संस्करणमा नेपालबाट कुनै इभेन्ट्समा दुई चरण जित हासिल गर्ने ममात्र थिएँ । तर पनि पदक जित्न सकिनँ । यसमा एकदमै दुखी छु ।

मैले दुईपटक एसियन गेम्स खेलेँ । सागमा भने २०१० मा बंगलादेशमा भएको ११ औं संस्करणमा १६ वर्षको उमेरमै रजत जितेकी थिएँ । १२औं सागमा कराँते समावेश भएन । यस्तै वल्र्ड च्याम्पियनसीप र एसियन च्याम्पियनसीपमा पनि सहभागिता जनाइसकेको छु ।

ओलम्पिक सपना

नेपाली खेलाडीहरुले सागमा देखाएको प्रदर्शनबाट पुष्टि भएको छ कि राम्रो प्रशिक्षण र खेल सामाग्रीको उपलब्धता भएमा अन्तर्राष्ट्रिय स्तरमा नेपाल पनि कम छैन । सागमा कराँते, तेक्वान्दो, उसुजस्ता मार्सल आर्ट्सको खेलहरुमा नेपाली खेलाडीको पदकमा वर्चस्व रह्यो । अन्य खेलहरुबाट पनि नेपालले अन्तर्राष्ट्रिय पदकको आशा गर्न सकिन्छ जस्तो मलाई लाग्छ ।

पछिल्लो समय यही लक्ष्यका साथ खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) टोकियो ओलम्पिक २०२० को तयारीमा जुटिसकेका थिए । ओलम्पिकमा पुग्ने लक्ष्य लिएर मलगायत विभिन्न बिधाका धेरै खेलाडीहरु ओलम्पिक स्कलरसिप अन्तर्गत प्रशिक्षणको तयारीमा थियौँ ।

तर यतिबेला विश्वभर फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को महामारीले गर्दा सारा खेलकुद प्रभावित बनेको छ । यो महामारी नभएको भए कराँतेलगायत विभिन्न खेलहरुको अन्तिम अन्तर्राष्ट्रिय छनोट तथा वाइल्ड कार्डमार्फत केही नेपाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागिता जनाउने निर्णय भइसक्ने थियो ।

खेलकुदको क्षेत्रमा ओलम्पिक एउटा यस्तो खेल मेला हो जसमा भाग लिने संसारका जुनसुकै खेलाडीको सपना हुन्छ । एउटा खेलाडीले हासिल गर्न सक्ने सबैभन्दा ठूलो उपलब्धि नै ओलम्पिकको पदक हो ।

हुन त अहिलेसम्म नेपाली खेलाडीहरुको लागि ओलम्पिकमा सहभागिता नै ठूलो कुरा हुने गरेको छ । तर अबको दिनमा ओलम्पिकमा समेत सफलता हात पार्न सक्ने आधारहरु देखिँदैछन् । खेलाडीहरुको निरन्तर परिश्रम र उत्कृष्ट प्रदर्शन एवम् सरकारको खेलप्रति लगानी, आवश्यक तयारीले यस्तो सम्भावनाको झिल्को देखिएको हो ।

यो पनि पढ्नुहोस लकडाउन डायरी : यस्तो छ कराँते खेलाडी अनु अधिकारीको दैनिकी

यसरी ‘मिसन ओलम्पिक र एसियन गेम्स’ को योजनाका साथ तयारी अघि बढिरहेको बेला सारा विश्व कोभिड १९ महामारीको चपेटामा पर्‍यो । नेपालसमेत यसबाट अछुतो रहन सकेन । यसले गर्दा आज मानिसहरु आफ्नो घरभित्रै कैद भएर बस्नुपरेको अवस्था छ । यस्तो विषम परिस्थितिमा कुनै पनि प्रकारको खेलकुद गतिविधि हुने कुरै भएन ।

सबै खाले प्रतियोगिता, प्रशिक्षण ठप्प छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजना गर्ने टोकियो ओलम्पिक पनि एक वर्ष पछि सरेको छ । यसले गर्दा वर्षौंदेखि ओलम्पिक सपना लिएर ट्रेनिङ गरिरहेका विश्वभरका ११ हजारभन्दा धेरै खेलाडीहरुलाई असर परेको छ ।

ओलम्पिक आगामी वर्ष आयोजना होला, तर उमेर, खेल फर्म, शारीरिक, मानसिक स्वास्थ्य अवस्थाका कारण धेरै खेलाडीहरु यसबाट बञ्चित हुन सक्छन् । यतिबेला नेपालमा फुटबल, भलिबल, क्रिकेट, मार्सल आर्ट्सलगायत अन्य विभिन्न खेलहरु आयोजना हुने समय हो ।

सारा विश्व नै यस्तो महामारीको अवस्थामा रहेको बेला खेलकुदमा परेको प्रभाव सामान्य लाग्न सक्छ । तर यसले गर्दा एउटा खेलाडी र खेलसँग आबद्ध व्यक्तिको जीवनमा पर्ने असर ऊ आफैंले मात्रै बुझ्न सक्छ

यस्तै प्रतियोगिताबाट नै हो नयाँ प्रतिभावान खेलाडीहरुको उदय हुने । अनि पुराना खेलाडीले पनि नयाँ पुस्तालाई अवसर दिँदै आफू प्रशिक्षकको भूमिकामा आउने अवसर बन्छ ।

तर अहिलेको अवस्थामा सम्पूर्ण खेल जगत ठप्प हुँदा यहाँ पनि असर परेको छ । समग्रमा नेपाल लगायत विश्वमा नै कोभिड १९ गर्दा खेलकुद शून्यमा पुगेको छ । लामो समय खेलकुद नहुँदा पुराना खेलाडीहरु खेल क्षेत्रबाट पलायन हुन सक्ने अवस्था आउँछ । साथै उनीहरु शारीरिक र मानसिकरुपमा फिट नहुने समस्या पनि देखिनेछ ।

यदि लामो समयसम्म देश यसरी नै रहिरहेमा खेल र यसको विकासमा गरेको लगानीबाट अपेक्षित नतिजा हात नपर्न सक्छ वा कठिन हुन सक्छ ।

सारा विश्व नै यस्तो महामारीको अवस्थामा रहेको बेला खेलकुदमा परेको प्रभाव सामान्य लाग्न सक्छ । तर यसले गर्दा एउटा खेलाडी र खेलसँग आबद्ध व्यक्तिको जीवनमा पर्ने असर ऊ आफैंले मात्रै बुझ्न सक्छ ।

कोरोनापछिको खेलकुद

अँध्यारोपछि उज्यालो आउँछ नै । हरेक पल्ट अँध्यारोलाई चिरेर सूर्यले किरण छर्दै जसरी पृथ्वीमा उज्यालो ल्याउँछ, त्यसैगरी पक्कै भोलिको दिनमा विश्व कोभिड १९ को महामारीबाट मुक्त हुनेछ । विस्तारै जनजीवन सहज बन्नेछ । र, सबै कुराहरु पूर्ववत अवस्थामा फर्कनेछन् ।

हाम्रो नेपाली खेलकुद पनि फेरि आफ्नो लयमा फर्किने कुरामा शंका छैन । महामारी अन्त्यपछि खेलाडीहरु खेलमा र्फकने नै छन् । प्रशिक्षकहरु प्रशिक्षणमा व्यस्त हुने नै छन् । नेपाल सरकारलगायत सरोकारवाला निकाय खेलको गुणस्तर बढाउनेमा अघि बढ्ने नै छन् । हामी खेलको माध्यमबाट राष्ट्रलाई विश्वसामु चिनाउन अग्रसर हुने नै छौँ ।

नयाँ वर्ष २०७७ को शुरुवात भइसकेको छ । हरेक नयाँ वर्षले थप जोश-जाँगर र हौसला प्रदान गर्छ । आगामी दिनमा अझै खेलकुदमा सफलता हात पार्नु छ भने सरकारले खेलकुदमा त्यही अनुसारको लगानी गर्नु आवश्यक हुन्छ । खेलाडीलाई उच्चस्तरको प्रशिक्षण व्यवस्था मिलाउने, उनीहरुको डाइट प्लान, खेल सामग्रीको उपलब्धता, स्वास्थ्य उपचार र बीमा व्यवस्था एवम् खेलबाटै जीवन चलाउन सक्ने आर्थिक आधार तयार पारिदिनु पर्दछ । त्यसो भएमा खेलाडीले पनि अन्यत्र नसोची ढुक्क भएर खेलमा लाग्न सक्नेछन् ।

यतिबेला सम्पूर्ण खेल, प्रशिक्षण बन्द रहे पनि म सबै खेलाडीहरुमा आफू जहाँ छौँ त्यहीँ बसेर आफ्नो सामान्य अभ्यासलाई निरन्तरता दिन अनुरोध गर्दछु । खेलाडीहरुलाई आफ्नो खेल र्फम, शारीरिक र मानसिक तन्दुरुस्ती अति महत्वपूर्ण हुन्छ । एकपटक लत्तो छोड्यो भने पहिलेको अवस्थामा र्फकन निकै कठिन पर्छ । त्यसकारण हामी स्वयम् प्रशिक्षण गर्न नछोडौँ ।

अहिले नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकका लागि छनोट खेल्ने र वाइल्ड कार्डका लागि आवेदन दिन छानिएका खेलाडीरुलाई दैनिक एक घण्टा मानसिक स्वास्थ्य सम्बन्धी अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । एनओसीको यो प्रयास पनि एकदमै सह्रानीय हो ।

सरकारले कोभिड-१९ विरुद्ध लड्न गरिरहेको प्रयासलाई हामी सबै नेपालीलेले आफ्नो ठाउँबाट साथ दिऔं । समाजमा गर्नुपर्ने जस्तोसुकै स्वयंसेवाको लागि तयार होऔं । अन्त्यमा नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नववर्ष २०७७ को शुरुवातसँगै नेपाललगायत विश्वभर यो महामारी हटेर जाओस् ।

(कराँते खेलाडी अनुसँग गोविन्दराज नेपालले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment