Comments Add Comment

कतारले नेपाली कामदारलाई स्वेच्छाचारी ढंगले देशनिकाला गरेको एमनेस्टीको ठहर

Photo Credit : महेश्‍वर नेपाल

३ वैशाख, काठमाडौं । एमनेस्टी इन्टरनेसनलले कतार सरकारले दर्जनौं आप्रवासी कामदारलाई स्वेच्छाचारी र अन्यायपूर्ण तरिकाले देशनिकाला (डिपोर्ट) गरेको निश्कर्ष निकालेको छ । कामदारलाई परीक्षणका लागि जम्मा गरेर विभिन्न आरोप लगाएर देश निकाला गरिएको एमनेस्टीको अध्ययनले देखाएको छ ।

कतारले चैत २ र ६ गते ४ सयभन्दा बढी नेपाली कामदारलाई डिपोर्ट गरेको थियो । पहिलो लटमा २५० र दोस्रोमा १५० भन्दा बढी कामदार कतारी सरकारको धरपकडपछि देशनिकालामा परेका थिए ।

कतारी पुलिसले अधिकांश कामदारलाई कोरोनाको परीक्षणको लागि भनेर लिएर गएको थियो । उनीहरुलाई परीक्षणपछि आवासमा फर्काउने भनिएपनि हिरासतमा थुनेर राखिएको थियो ।

एमनेस्टीले डिपोर्ट भएका २० जना नेपाली कामदारसँग कुराकानी गरेको थियो । उनीहरुलाई कतारी प्रहरी र अधिकारीहरुले आफूलाई किन डिपोर्ट गरिएको भनेर कुनै जानकारी नदिइएको बताएका छन् ।

एमनेस्टी इन्टरनेशनलका ग्लोबल मामिला उपनिर्देशक स्टिभ ककर्बानले ती कामदारलाई किन नियन्त्रणमा लिएर किन नजरबन्दमा राखियो भन्नेबारे थाहा हुन नसकेको बताए । उनीहरुलाई केही दिनसम्म अमानवीय तरिकाले हिरासतमा राखेर आफ्नो समान ल्याउन पनि नदिई विमान राखेर डिपोर्ट गरेको पाइएको छ ।

‘यो निकै दुखको कुरा हो कि कतारी अधिकारीले प्रवासी श्रमिकलाई महामारीको बहाना बनाएर दुःख दिएका छन्,’ उनले भनेका छन् ।

एमनेस्टीले यस्तो अमानवीय हर्कत गरेको कतारले यसमा पुर्नविचार गर्नुपर्ने उल्लख गरेको छ । उनीहरुले फर्किन चाहे अनुमति दिनुपर्ने र रोजगारदाताबाट उनीहरुले पाउन बाँकी सेवा सुविधा र पारिश्रमिक पनि दिलाइनुपर्ने भनाइ संस्थाको छ ।

मार्च १२ र १३ तारिकमा औद्योगिक क्षेत्र बरवा सिटी र दोहाका विभिन्न क्षेत्रमा प्रहरीले घेरा हालेर थुप्रै कादारलाई नियन्त्रणमा लिएको थियो । ती कामदारलाई कतै उजुरी गर्न पनि नदिई डिपोर्ट गरिएकोमा एमनेस्टीले आपत्ति जनाएको छ ।

एमनेस्टीका अनुसार किनमेलका गएका कामदारलाई त्यसरी नियन्त्रणमा लिइएको थियो । प्रहरीले अरवी भाषामा मात्रै कुरा गरेको र ‘कोरोना’ भनेको मात्रै बुझेको उनीहरुले बताएका छन् ।

एक कामदारले भनेका छन्,’हामीलाई भाइरसको जाँच गर्नका लागि भनियो, पुलिसले भन्यो कि डाक्टर आउँछन्, तर उनीहरुले हामीसँग झुट बोले ।’

प्रहरीले उनीहरुको फोन र कागजात जफत गरेर फोटो खिचेर कागजमा औठाछाप गर्न लगाएका थिए । उनीहरुलाई भीडभाडयुक्त कारागारमा अमानवीय तरिकाले राखिएको थियो ।

खाना पनि फोहोर फाल्ने प्लाष्टिकमा दिएको गुनासो डिपोर्ट भएका कामदारले गरेका छन् । एमनेस्टीले अन्तरवार्ता लिएका २० मध्ये ३ जना कामदारको मात्रै शरीरको तापक्रम नापिएको थियो ।

हिरासतबाट एयरपोर्ट लग्दासम्म धेरै कामदारलाई आफू डिपोर्टमा परेको जानकारी पाएका थिएनन् । केहीलाई सीधै एयरपोर्ट पुर्‍याइएको थियो भने कतिलाई प्रहरीले कोठाबाट समान निकाल्न थोरै मात्रै समय दिएको थियो ।

दुबै हातमा हातकडी लगाइएकाले समानको प्याकिङ पनि राम्रोसँग गर्न नपाएको उनीहरुले बताएका छन् । चैत २ र ६ गते डिपोर्ट गरिकाहरुलाई नेपाल ल्याएर छाडिएको थियो । कतारी प्रहरीले यो विषयमा कहीँ कतै बोलेमा  फौजजारी अभियोग लगाउने धम्की दिएका थिए ।

अन्तरवार्तामा सहभागीमध्ये २ जना कामदारलाई मात्रै नेपाल फर्किएपछि कतारी कम्पनीले बाँकी पारिश्रमिक दिने आश्वासन दिएका छन् । धेरै जसो भने पारिश्रमिकविहीन भएर नेपाल फर्किएको पाइएको छ ।

कतार सरकारले भने औद्योगिक क्षेत्रमा गैरकानूनी र अनैतिक गतिविधि गर्नेलाई देशनिकाला गरिएको दावी गरेको छ । प्रतिवन्धित तथा स्वास्थ्यलाई गम्भीर असर गर्ने खाद्यवस्तु उत्पादन र बेचविखनमा संलग्नहरुलाई फर्काइएको कतारले बताएको छ ।

तर, एमनेस्टीले अन्तरवार्ता लिएका २० मध्ये १८ जनाले आफू यस विषयमा जानकार नरहेको बताएका छन् । तर, दुई जनाले भने जेलमा अरबी बुझ्नेहरुबाट रक्सी किनबेचको आरोपमा थुनिएको जानकारी पाएको बताएका थिए ।

हिरासतमा लिइएका कामदारलाई गलत गर्नुको कारण खुलाउन र आरोपको प्रतिवाद गर्न  अवसर पनि दिइनुपर्नेमा त्यसो नभएको एमनेस्टीले बताएको छ । संस्थाले विदेशमा रोजगारीका लागि भारी ऋण लिएर गएका कामदारहरु अहिले उच्च दरको ब्याज र सावाँ तिर्न नसक्ने अवस्थामा रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment