Comments Add Comment

निजी क्षेत्रलाई तलब र ब्याजको चिन्ता, आर्थिक प्याकेजको अपेक्षा

४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले क्षति पुर्‍याएको निजी क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा प्रभाव र आगामी कदमहरु’ विषयमा भिडियो कन्फ्रेन्समार्फत निजी क्षेत्रका सरोकारवालाहरुले यस्तो माग गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई परेको क्षतिको आकलन गरी राहत प्याकेज ल्याउनुपर्ने बताइन् । ‘सरकारले आफ्नो क्षमताअनुसार राहत प्याकेज ल्याओस्,’ अध्यक्ष राणाले भनिन् ।

अहिले हरेक क्षेत्रलाई असर परेको र सो असर सरकारलाई पनि परेको भन्दै सरकारले क्षमताअनुसारको राहत ल्याउन माग गरेकी हुन् । यदि सरकारले राहत प्याकेजको व्यवस्था नगर्ने हो भने उद्योग तथा व्यवसाय क्षेत्र पूर्ण रुपमा शिथिल बन्ने अध्यक्ष राणाको भनाइ थियो ।

उद्योग, पर्यटन, उत्पादन लगायतका उद्योगहरुमा कोरोना भाइरसका कारण निकै क्षति भएको भन्दै अध्यक्ष राणाले क्षेत्रगत रुपमा क्षतिको विवरण हेरेर प्याकेजको व्यवस्था गर्नुपर्ने बताइन् । अहिले सरकारले निजी क्षेत्रलाई खासै राहत नल्याएको बताइन् ।

अहिले निजी क्षेत्रलाई कामदारलाई कसरी तलब दिने र ब्याज तिर्ने भन्ने अप्ठेरो भएको उनले बताइन् । ब्याज तिर्ने समय राष्ट्र बैङ्कले असारसम्म सारेको स्मरण गर्दै खास गरी रुग्ण उद्योगहरु निकै शिथिल भएको अध्यक्ष राणाको भनाइ थियो ।

यस्ता क्षेत्रहरुलाई कसरी राहत दिन सकिन्छ भनेर सरकारले राहत दिनुपर्ने उनको भनाइ थियो । सरकारसँग राहत माग्ने मात्रै होइन, कारोरोनासँग लड्न निजी क्षेत्र एक भएर लागेको उनको भनाइ थियो ।

अहिले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर्स अफ कमर्स लगायत निजी क्षेत्र मिलेर अगाडि बढेको उनले बताइन् । अहिलेको असहज परिस्थितिमा पनि निजी क्षेत्रले नाफाको मतलब नगरेर कसरी मानव जीवनलाई बचाउन सकिन्छ भनेर लागि परको बताइन् ।

अहिले खाद्यान्न लगायतका अतिआवश्यकीय वस्तुको सहज आपूर्ति निजी क्षेत्रकै कारण भएको अध्यक्ष राणाको भनाई थियो । हरेक गाउँ-गाउँका जनता र शहरका सबै जनतामा खाद्यान्न र औषधीजन्य अति आवश्कीय सामानहरुको आपूर्ति निजी क्षेत्रकै सक्रियतामा सम्भव भएको उनको भनाइ थियो । त्यसका साथै सरकारको कोषमा पनि रकम जम्मा गरेको बताइन् । आफ्नो नोक्सानलाई एकातिर राखेर मुलुकका लागि काम गरिरहेको बताइन् ।

त्यसका साथै कोरोनाका कारण अर्थतन्त्र शिथिल बन्दै गइरहेकाले यसलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा पनि सरकार तथा संबन्धीत सरोकारवालाहरुसँग छलफल गरिरहेको उनको भनाइ थियो । त्यसैगरी,मुलुक लकडाउनको अवस्थामा रहेकाले आपूर्तिमा कुनै समस्या नहोस भन्ने उद्देश्यले उद्योग तथा वाािणज्य लगायतका मन्त्रालयसँग छलफल गरी काम गरिरहेको उनले बताइन् ।

त्यसैगरी,उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले कोरोनाका कारण उद्योग तथा व्यवसायमा परेको क्षतिलाई रहत दिन सरकारले ऋणमा सहुलियत दिनुपर्ने बताए । त्यसका लागि राष्ट्र बैंक तथा अर्थमन्त्रालयलाई जानकारी समेत गराएको अध्यक्ष मोरको भनाइ थियो । त्यस्तै अहिलेको अवस्थामा ब्याजलाई कम्तीमा ५ प्रतिशतले घटाउनुपर्छ भन्ने माग गरेका छन् । यसले अर्थतन्त्रलाई माथि उकास्न थोरै भएपनि सहयोग हुने अध्यक्ष मोरको भनाई थियो ।

राहत दिने काम सरकारले मात्रै होइन,आफनो जिम्मेवारी निजी क्षेत्रले पनि पूरा गर्नुपर्ने उनले बताए । ‘निजी क्षेत्रले पनि केही न केही जिम्मेवारी लिनुपर्छ,’ अध्यक्ष मोरले भने ।

अहिलेको संकटकालीन अवस्थामा निजी क्षेत्रले आपूर्ति व्यवस्थालाई कसरी सहज बनाउने र सीएसआरलाई पनि कसरी प्रयोग गर्ने भन्ने सोच्नुपर्ने उनले बताए ।

सहज आपूर्तिका लागि उत्पादनसँग संबन्धी उद्योगहरु खोल्नुपर्ने अवस्था भएपनि एकातिर कच्चा पदार्थको अभाव अर्कातिर कामदारहरु आउन नमान्ने भएकाले समस्या भएको बताए । कामदारहरुलाई काम आउन आफूहरुले बोलाएको र कामदारहरु स्वतस्फूर्त रुपमा पनि आउनुपर्ने बताए । कामदारको स्वास्थ्यको पूर्ण जिम्मेजारी कम्पनीले लिने भन्दै अति आवश्यकीय उद्योगहरु चलाउने काम भइरहेको उनले बताए ।

साथै उनले बजारमा खाद्यान्नको तत्काल अभाव नभएको समेत बताए । नाकाबन्दीले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै संकट टार्ने विकल्प पनि नेपालीसँग भएको बताए । त्यसैगरी, संकटको यस घडीमा आँफूहरु पनि सरकारसँग हातेमालो गर्दै राहतका काममा जुटेको अध्यक्ष मोरले बताए ।

अहिले १०/१२ केजीका खाद्यान्नका प्याकेट बनाएर परिसंघले सातै प्रदेशमा पठाएको र सरकारलाई पनि ७५ हजार मास्क तथा पिपिइ वितरण गरेको छ । नेपालका उद्योग क्षेत्रमा कतिको असर गरेको छ भन्ने विस्तृत अध्ययन सुरु गरेको उनको भनाइ थियो ।

निजी क्षेत्रको सहयोग सरकारलाई भएको छैन नि भन्ने प्रश्नको जवाफामा चाहे जस्तो सहयोग गर्न नसकेको स्वीकार गरे । तर सहयोग चाँही गरिरहेको बताए ।

त्यसैगरी,नेपाल चेम्बर्स अफ कमर्शका वरिष्ठ उपाक्ष्यक्ष राजेन्द्र मल्लले अहिलेको परिस्थितिमा सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताए । तर तत्काल आर्थिक पाटोलाई छोडेर रोगबाट कसरी उन्मुक्ति पाइन्छ भन्ने कुरामा केन्दि्रत रहनुपर्ने बताए । त्यसका लागि आम नेपाली एक भएर लाग्नुपर्ने उपाध्यक्ष मल्लले बताए ।

उनले खास गरी सरकारले कृषि र औषधी जन्य सामानमा आत्मनिर्भर बन्ने खालका प्याकेज ल्याउनुपर्ने माग गरे । व्यवसायीहरुले कमाउने धन्दा मात्रै नभई सेवा गर्ने हिसावले पनि काम गर्नुपर्ने बताए । आर्थिक पाटोको कुरामा कसरी माथि उकास्न सकिन्छ भन्नेमा  सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बरिष्ठ उपाध्यक्ष मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment