Comments Add Comment
ब्लग :

सरकार भावनामा नबगेपछि…

देश लकडाउन भएको आज २४ दिन भयो । आजसम्म आइपुग्दा नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १६ पुगेको छ । जसमा एकजना पहिले नै उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अरु १५ जनाको उपचार चल्दैछ । द्रुत परीक्षणका क्रममा अन्य केही ठाउँमा पनि कोरोना देखिएको भनिएको छ ।

विश्वमा हालसम्म एकलाख २६ हजार भन्दा बढिले ज्यान गुमाइसकेको यो भाइरसका कारण करिब २० लाख मानिस संक्रमित भइसकेका छन् । संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । झन्डै ४ लाख ८० हजार संक्रमित निको भएर घर पनि फर्किएका छन् । कोरोनाले अहिले विश्वलाई नै अप्ठ्यारोमा पारेको छ ।

सम्भवत एकैपटक विश्वभरका मानव जाती उस्तै डर र अनिश्चितताबाट गुज्रिएको यो शताब्दीको पहिलो घटना हो । नेपालको सन्दर्भमा यो अवस्थाको संवेदनशीलता नागरिक तहबाट गम्भीरतापूर्वक लिइएको पाइन्छ ।

सरकारका जिम्मेवार ओहोदामा बसेकाहरूले नेपालीको प्रतिरक्षा प्रणाली बलियो वा कोरोना फ्रि नेपाल वा कोरोनाको एकमात्र घटना देखिएकोले आत्तिन नपर्ने अभिव्यक्ति दिँदै गर्दा समेत नागरिक तहबाट रोकथामको पहलका लागि आवाज उठ्न थालिसकेको थियो ।

यसैको परिणामस्वरुप पूरै देशलाई लकडाउन गर्ने सरकारको निर्णयलाई बहुसंख्यक नेपालीले साथ दिइरहेका छन् ।

महामारीको वर्गीय स्वरुप

भनिन्छ, हरेक महामारीले सबैभन्दा गरिब तप्का वा भनौं सर्वहारा वर्गलाई सबैभन्दा थला पारेर जान्छ । कोरोना भाइरस माहामारीमा पनि पिँधका मानिसहरू बढी मारमा पर्न थालिसकेका छन् । बिहान काम गरेर बेलुका छाक टार्नेहरूको भोको पेटले हरेक अर्को दिन लकडाउनको थप पीडा भोग्दैछ । यसको प्रमाण खोज्न अन्त जान पर्दैन । हरेक दिन राजमार्गमा पैदलै गाउँ फर्कनेहरूको लाइनले अवस्थाको चित्रण गर्छ ।

यसबीचमा राष्ट्रपति र प्रधानमन्त्री दुईजनाको संबोधन आयो, नागरिकको नाममा । तर चुलो बाल्नै समस्या भएकाहरुको भान्सामा दाल चामल अझै आइपुगेको छैन ।

चैत २१ गते देशवासीका नाममा सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन् गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेको कदममा साथ दिन सबै नेपालीलाई आह्वान गर्नुभयो ।

चैत २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्नुभयो । झन्डै २० मिनेटको प्रधानमन्त्रीको त्यो सम्वोधन मन्त्रिपरिषदका निर्णयहरुको संकलन जस्तै सुनियो । नयाँ कुरा केही पनि आएन । उपचारपछि आराम गरिरहनुभएका प्रधानमन्त्री अलि स्वस्थ भएकोजस्तो थाहा पाउनु बाहेक नागरिकले त्यो सम्वोधन हेरेर अरु नयाँ कुरा खासै थाहा पाउन सकेनन् ।

प्रधानमन्त्रीले पनि आफ्नो सम्वोधनमा भावनामा नबग्न भने भन्नुभयो । प्रधानमन्त्रीको सम्वोधन हेर्दै गर्दा मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनले नागरिकमा परेको असहजताका लागि माफी मागेको सम्झिएँ । तर, हाम्रा प्रधानमन्त्री नरम सुनिनुभएन ।

सरकारले देश किन लकडाउन गरेको हो ? भनेर राष्ट्रपतिले आफ्नो सन्देशमा खुलाउनुभयो । तर, नागरिकको अप्ठ्यारोका विषयमा आफू कति जानकार छु र उनीहरुका लागि अहिले के आवश्यकता छ ? भन्ने विषयमा केही पनि खुलाउनुभएन ।

अर्थात् राष्ट्रपति र प्रधानमन्त्रीको सम्वोधनमा नेपाली राज्यका दुईवटा मूलभूत चरित्र बोलेको छ । पहिलो आत्मप्रशंसा वा आत्मरति । र दोश्रो सर्वहाराप्रतिको उदासीनता ।

अधीक आत्मप्रशंसा वा आत्मरति, किनभने जनस्तरबाट नै कोरोनाप्रति संवेदनशील हुन गरिएको माग र सरकारलाई गरिएको अनुरोधलाई दुवै निकायले भुलेको देखियो । सर्वहाराप्रतिको उदासीनता यसकारण कि यसबीचमा समस्यामा परेका नागरिकको लागि खास राहत घोषणा गर्न सकेन । न त अभिभावकका रुपमा राष्ट्रपतिबाट नै त्यो महसुस दिलाइयो ।

कोरोना कहर : रोग ठूलो कि भोक ?

काखे बच्चा च्यापेर काठमाडौंबाट ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको पलम्पु हिँड्दै गरेकी मनिसा मगरको आवाज सुनेपछि झट्ट मैले त्यही प्रदेशको भोजपुर जिल्लाकी विद्या भण्डारीलाई सम्झिएँ ।

कोरोनाको कहरमा काठमाडौंको कोठामा खान्की सकिएपछि, दुई छोरीलाई त्यसरी नै च्यापेर काठमाडौंबाट हिँडेरै भोजपुर फर्कनुपरेको भए, उहाँको मनमा कस्तो भावना उत्पन्न हुन्थ्यो होला ?

लकडाउनको १९ औं दिन काभ्रेको बनेपामा भेटिएकी मनिसा अझै ५/६ दिन हिँडेपछि मात्रै ओखलढुंगा पुगिने बताउँदै थिइन् । ‘सानो बच्चा छ, लकडाउनले सबै बन्द छ, बाटोमा न खानेकुरा पाइयो न त पानी । हिँड्दा हिँड्दा खुट्टा दुखिसक्यो ।’

समाचारको लागि रिपोर्ट सम्पादन गर्दैगर्दा मनिसाको आवाज सुनेर मेरा आँखाबाट तर्लक्क आँसु खस्यो । ओहो ! राष्ट्रपतिले भावनामा नबग्न भन्नुभएको थियो । त्यसमाथि म त, मिडियामा काम गर्ने मान्छे । पत्रकारिता पढाउँदा नै हामीलाई भावनामा नबग्न सिकाइएको हुन्छ । तर, मनै त हो, म भावनामा बगें । अनि आँखाबाट आँसु बग्यो ।
उसैगरी पैदलै काठमाडौंबाट सप्तरी हिँडेका बेचु साहले गुनासो गरे, ‘ठूलाबडालाई पास मिल्यो । तर, हामीलाई घर जाने व्यवस्था भएन ।’ सरकारको लकडाउनलाई काठमाडौंमै बसेर साथ दिन त खोजेका थिए उनले । तर, चालम लिन जाँदा नगरले नागरिकता खोज्यो । त्यसपछि उनले चाहेर पनि सरकारलाई साथ दिन सकेनन् । र, भोको पेट पैदलै हिँडे, गाउँ पुग्नका लागि ।

लकडाउनको २३ औं दिनसम्म आइपुग्दा पनि धेरै स्थानीय सरकारले गाउँमा गरिब छुट्याउन नसकेर राहत वितरण गर्न सकेका छैनन् । ती परिवारमा रहेका दुई जिउका महिला, सुत्केरी भएका र साना बालबालिकाका लागि राष्ट्रपतिले दुई शब्दमात्रै पनि बोलिदिनुभएन । उहाँ आफैंले सम्झिनुभएन वा ‘सन्देश’ लेखिदिने मान्छेले ।

हो, हरेक विपद्मा महिला, बालबालिका र उमेर ढल्किएकाहरु बढी प्रभावित हुन्छन् । मजदुर र श्रमिक वर्ग विपदको चपेटामा पर्ने नै भए । तत्कालै सबैलाई घर फर्काउन नसकिने तर जो जहाँ छन्, उनीहरुलाई त्यहीँ खाने र बस्ने व्यवस्था मिलाउने भनेर सरकारले निर्णय गर्‍यो । तर, सिंहदरबारमा भएको त्यो निर्णय प्रदेश, पालिका र वडा हुँदै विपन्नको कोठासम्म पुगेन । यदि पुग्थ्यो भने ४ दिन लाग्ने बाटो हिँडेर सिन्धुलीका नारायण विश्वकर्मा किन गाउँ फर्किनुपथ्र्यो ?

काठमाडौंमै एक मुठ्ठी चामल र पानी पाएको भए भाले नबास्दै, रातको ३ बजे किन झोला कस्नुपथ्र्यो ? किन रुँदै मिडियामा भोको पेटको कथा सुनाउनु पथ्र्यो ? अनि हामीले किन, सोलुबाट काठमाडौं हुँदै कैलाली हिँडेकाहरुको कथा लेख्नुपथ्र्यो ?

बिनातयारी उच्च गर्जन

कोरोना संकट देशभित्र छिरिसकेपछि एक मन्त्रीले देशभर भण्डै सवा लाख व्यक्तिका लागि क्वारेन्टाइनको व्यवस्थापन गरिने घोषणा गर्नुभयो । कोरोना महामारीले चीनलाई चर्कैसँग गाँज्दा नेपाललाई कोरोना फ्री देश भनेर पर्यटक तान्नुपर्ने उद्घोष गर्नुभएका मन्त्रीको घोषणा आधारहीन भएको भन्दै कतिपयले आलोचनासमेत गरे । तर कतिपयले बचाउ गरे । सरकारले गर्न लागेको राम्रो कामको विरोध गर्नेहरूलाई विपक्षी दलको साइबर गोठको खेतालासम्मको संज्ञा दिए ।

तर, समयक्रममा थाहा भयो, त्यो घोषणा योजनाविहीन रहेछ । लकडाउन भएपछि पनि विशेषतः भारतबाट धेरै नेपाली देश फर्कन थाले । सरकारले उनीहरुलाई सिमानामै रोक्यो । सायद नेपाल आएपछि व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राख्ने तयारी नगरेको भएर । नेपाल आउन नपाएपछि केही मानिस महाकालीमा हेलिए । अरु सयौं उतै रोकिए ।

आइतबार साँझ मोबाइलमा फोन आयो । फोन, बैतडीको पुर्चौडी ४ का दीपक धानुकको रहेछ ।

‘हामीलाई यहाँ स्कुलमा राखिएको छ, एउटै कोठामा ४० जना छौं, हाम्रो अवस्था विजोग छ । लौ न, सरकारलाई भनिदिनुस् ।’

नेपाल फर्कन लागेकाहरुलाई रोकेको भोलिपल्टै गृह प्रवक्ता केदारनाथ शर्माले भनेका थिए, दुई देशबीच नेपाली नागरिकलाई उतै सुरक्षित तरिकाले क्वारेन्टाइनमा राख्ने र भारतीय नागरिकलाई पनि यतै सुरक्षित तरिकाले राख्ने सहमति भएको छ ।

सिमानाका प्रमुख जिल्ला अधिकारीहरुले पनि हामीसँगै यही कुरा भनेका थिए । भारतीय प्रधानमन्त्रीसँग हाम्रा प्रधानमन्त्रीले गरेको संवादमा पनि दुई देशका नागरिकलाई आ आफ्नै देशमा सुरक्षित तरिकाले राख्ने विषयमा कुरा भएको भनिएको थियो । तर, त्यहाँ नेपालीहरूलाई क्वारेन्टाइनमा होइन, क्याम्प जसरी राखिएको रहेछ । अव्यवस्थित त्यो बसाइमा संक्रमणको जोखिम कति छ ? सरकारमा रहेका विज्ञहरुले अनुमान गरेकै होलान् ।

दीपकले भने ‘बरु हामीलाई नेपाल लगेर सुरक्षित तरिकाले राखिदिए हुन्थ्यो, यहाँ साह्रै गाह्रो भयो ।’

प्रधानमन्त्री र राष्ट्रपतिले पटक–पटक विदेशमा रहेका नेपालीहरूका बारेमा चासो राख्नुभयो । तर, सिमापारि रोकिएका नेपालीका बारेमा बोलेको सुनिएन । न त भोकै पेट, खुट्टामा ठेला उठाउँदै कोशौंको यात्रा तय गरेका मजदुरका विषयमा बोलेको सुनियो ।

संघीय मन्त्रालयको सोमबारसम्मको तथ्यांक हेर्दा ७५३ मध्ये २०३ स्थानीय तहले मात्र राहत वितरणको काम सुरु गरेका छन् ।

कसको देश ? कसको सरकार ?

दल कार्यकर्ताको मात्र हुन सक्छ । तर, सरकार सबै नागरिकको हो । सरकाले गर्ने हरेक कामको आर्थिक स्रोत जनता नै हुन् । अतः सरकारलाई नागरिकले प्रश्न गर्न पाउँछन् । र, प्रश्न गर्नु पनि पर्छ ।

तर, यस्तो लाग्छ, सरकारले आफैंले परिचालन गरेका उग्र प्रशंसक बाहेक अरुको कुरामा खासै दिलचस्पी राख्दैन । देश चलाउनेहरूले भूँइ मान्छेका समाचारहरू सुन्छन्, सुन्दैनन् ? पढ्छन् पढ्दैनन् ? देश चलाएर थोरै फुर्सद भए, केही समय मजदुरहरूका पीडा सुनिदिए हुने । खाना नपाएकाहरूको भोक सुनिदिए हुने । खोप लगाउन नपाएका शिशुहरूको अप्ठ्यारो सुनिदिए हुने । दीर्घ रोगी, गर्भवती र सुत्केरीको सकस सुनिदिए हुने । बालुवाटार र शीतलनिवासका रेडियो/टीभीले खबरै नभन्ने त होइन होला ।

भावनामा बग्ने कि महाकालीमा ?

सरकारले भावनामा नबग्न भन्दा भन्दै पनि म थोरै भावनामा बगें । सरकार आफैं भावनामा नबगेपछि यो बाध्यता आइलाग्यो । सरकार, महाकालीमा बग्नुपर्दाको पीडा महसुस गर्न एकैछिन् भावनामा बगौं न । हुन्न ?

वरिपरि बसेका भारदारहरूको प्रशंसामा बग्नुभन्दा गरिबको पीडा सम्झेर भावनामा बग्दा देश अलिकति नजिकबाट चिन्न सकिन्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment