Comments Add Comment

केरेनको कथा

म कथा खोज्दै थिएँ । पाइरहेको थिइनँ । आज अचानक भेट भयो कथाका पात्रहरूसँग । अब कथा बनाउने मेरो जिम्मा । राम्रो बन्यो वा नराम्रो, पाठकको दृष्टिकोणबाट थाहा लाग्ने छ ।

पात्र परिचय गरौँ– केरेन, मार्क, ब्राउन, मेडी र म स्वयं ।

मैले भेटेका पात्र यिनै हुन् । हुन सक्छ कथाले पूर्णता पाउने क्रममा केही पात्र थपिएलान् ।

झ्यालबाट बाहिर हेरें ।

मौसम ठीक थियो । मार्निङवाकका लागि निस्कें । रेड्ल्किफ चौर पुग्दा अचानक मौसम बिग्रियो र आकाश कालो–नीलो भयो । साधारण पानीका बाछिटा पर्दा म एउटा बुटोको ओत लिएर बसें । तत्कालै बाछिटा पर्न बन्द भयो । सधैं चौर तीन चक्कर लगाउँथे, यसपटक मात्र एक लगाएर फर्कें । घर नजिक पुग्दै थिएँ विपरीत दिशाबाट दुई जना महिला आउँदै गरेको देखें ।

केही पाइलाको हिँडाइपछि हामी तीनैजना एउटै दिशातर्फ मोडियौं । ठोक्किने सम्भावना थिएन । बाटो चाक्लो थियो । हामी नजिँकिँदै गर्दा एकजना महिलाले मलाई ‘गूड मोर्निङ’ प्रस्ताव गरिन् । मैले दुवैलाई ‘गूड मोर्निङ’ फर्काएँ ।

‘यु लिव हियर ?’ (तिमी यहाँ बस्छ्यौ ?) मुस्कानसहित उनले सोधिन् ।

‘हो हामी केहि दिनअघि आएको हो,’ मैले शालीनताका साथ उत्तर फर्काएँ ।

‘अनि निरज ?’ उनले सोधिन् ।

‘मेरो छोरा हो ।’ मैले भन्नासाथ उनले आएर मलाई अँगालो हालिन् । ‘म केरेन । मेरो नाम केरेन हो ।’ दुईपटक उनले आफ्नो नाम दोहोर्‍याइन् । ‘निरज धेरै जाती छ । धेरै प्यारो मान्छे । धेरै मद्दतकारी ।’ उनले मेरो कान्छो छोराको प्रशंसामा भनिन् । म मख्ख परें ।

‘हुनै पर्छ । ऊ बाउ गोता गएको छ ।’ मैले भन्दा हामी तीनै जना हास्यौं । केरेनको हाँसो चर्को थियो । अट्टहासपूर्ण ।

हाम्रो घरको ढोका खुल्यो र म्याडम बाहिर निस्कनुभयो । मैले भनेँ–

‘मेरी धर्मपत्नी मीना छेत्री ।’

‘हेलो ।’ केरेनले भनिन्

‘हेलो’ म्याडमले भन्नुभयो । दुवैले हात मिलाए ।

हाम्रो आडको घर उनको रहेछ । उनीसँगै हिँडेकी उनकी बहिनी रहिछन् । उनीहरू आफ्नो घरभित्र पसे हामी आफ्नो । जाडो थियो, बाहिर घाममा चिया खाँदै गर्दा मेरो म्याडमले भन्नुभयो, ‘त्यो केरेन भन्नेको त कपाल काटे जस्तो छ नि ?’

‘कसरी थाहा पायौ ?’ मेरो म्याडमका तीक्ष्ण आँखाले कति चाँडो हेर्न भ्याएछन् ।

‘देख्नु भएन । टाउकोलाई ठुलो रुमालले छोपेकी थिई । अनि माथिबाट टोपी लगाएकी थिई ।’

मेरो मनमा शंका पस्यो । देख्नमा ठीकै छ । गोरी छ । अनि कपाल किन काटी त ? एकछिनमा कान्छो छोराको फोन आयो– बुबा एकजना बासु भन्ने भाइ आउँछन् ममी र तपाईं डायनेला घर आउनुहोस् । खाना यतै खाने हो ।

म पनि डायनेला जान चाहन्थें । ग्यारेजमा मेरा लागि किनेको जागौर गाडी थियो । मलाई त्यसमा हिँड्ने रहर पनि थियो साथै सोध्न चाहन्थें केरेन बारे ।

लन्च खाँदै गर्दा निरजले भन्यो– ‘बुबा, उसलाई त ब्रेन क्यान्सर छ । अनि अर्को कुरा उसको डिवोर्स पनि भईसकेको छ । केहिक्षणका लागि म मौन भएँ । छोरासँग केरेनबारे थप सोध्न मन लागेन । म छिटो भन्दा छिटो केरेनबाट नै उसको कथा सुन्न चाहन्थें । म कथाको खोजीमा त थिएँ नै, लाग्यो मैले कथा पाएँ ।

०००

ब्रेनमा क्यान्सर, उफ ! एउटा कहालीलाग्दो तथ्य । एउटा अभिशप्त रोग । क्यान्सरको रोग लाग्दा जो कोही पनि जीवनमा ग्रहण लागेको अनुभव गर्न सक्छ र त्यही अनुभूतिसँग बाँच्न बाध्य हुन्छ । जीवन सबैलाई प्यारो हुन्छ र ऊ तत्काल इश्वरसँग सोध्न चाहन्छ– ‘यो रोगमलाई नै किन ?’ यो रोग लागेपछि मृत्यु निश्चितप्रायः हुन्छ । अनि सम्झेँ केरेनको अट्टहासपूर्ण हाँसो ? लाग्यो ऊ मृत्युलाई जित्न खोजिरहेकी छ । मेरो मनमा प्रश्न खेल्यो–सम्भव छ ?

अर्को दिन म रनिङबाट फर्केर हाम्रो घरअघि ‘नो थ्रु रोड’को गोलार्धमा व्यायाम गर्दै थिएँ । केरेनको घरअघिको सानो चौरमा एक व्यक्ति बेल्चाले फूल लगाउने ठाउँ गोडिरहेका थिए भने दुई बच्चा खेलिरहेका थिए । केटि साइकल चलाउँदै थिई, केटा घरि घाँसमा दगुर्दै घरि त्यो मान्छसँगै खनेझैँ गर्दै थियो ।

केरेनलाई मर्निंग वाकबाट फर्कदै गरेको देखें । उनी एक्लै थिइन् ।

अलिक नजिक आएपछि गूड मर्निङ पहिला म भनुँला भनेको उनले नै हतार गरेर टाढैबाट भनिन्– ‘गूड मर्निङ लाल’

‘गूड मर्निङ केरेन’ मैले भनेँ ।

‘तिम्रो स्वास्थ्य कस्तो छ ?’

‘अहिले पर्फेक्ट । अर्को हप्ता मैले केमो लिन जानु छ ।’ सजिलै उनले भनिन् ।

हाम्रो घरअघिका गुलाबका बुटाहरू लटरम्म फुलेका थिए ।

‘नीरज फूलको निकै सोखिन छ ।’ उनले भनिन । ‘कति राम्रा सेता–राता फुलेका गुलाबका फूल, हगि ?’

केहि बेर हामी फुलकै बारे कुरा गरिरह्यौं । एक पटक नीरज रेड्क्लिफ घर आएको बेला उनले भनेकी रहिछन्, ‘मलाई गुलाफका फूल निकै मन पर्छन् ।’

अर्को हप्ता केमो उपचारपछि उनी घर आएको बेला नीरजले आठ/दशवटा फूल टिपेर एउटा ट्रेमा राखी गिफ्ट कार्डमा ‘शिघ्र स्वास्थ्य लाभको कामना लेखेर’ पठाएको रहेछ । त्यसैबारे केही बेर कुरा गरिन् र फेरि दोहोर्‍याइन्– ‘हि इज अ वन्डरफूल ब्योई ।’

‘लाइक हिज फादर’ मैले भनेँ र हामी हास्यौं । चर्को गरी । केरेनको हाँसोमा कुनै बनावटीपन थिएन ।

‘तिमीलाई कफी मनपर्छ ?’ एकछिन पछि मैले सोधें । उनीसँग समय माग्ने इच्छा पलायो ।

‘हो, मलाई मन पर्छ ।’ निर्धक्क उनले भनिन् ।

‘तिमीले गाडी चलाउन सक्छ्यौं ?’

‘अफकोर्स, किन न सक्ने ?’

‘किन सोध्यौ ?’ उनले नै सोधिन् ।

‘कुनै दिन, तिमी मलाई, एउटा कफीसपमा लिएर हिँड्नु । सँगै कफी पिउने ।’ प्रस्ताव मैले राखें ।

०००

साँझ हामी रेड्क्लिफ आवासदेखि नजिकै एप्सन डेलीको कफिसपमा थियौं ।

‘भन के जान्न चाहन्छौ ?’ केरेनले नै आरम्भ गरिन् ।

‘सबै । तिमी मलाई सबै भन मैले जान्न चाहेको सबै । म धेरै जान्न चाहन्छु ।’

‘मेरो रोगबारे ?’

‘होइन, पीडाबारे । रोगबारे त मलाई थाहा भइसक्यो । म सम्बन्धबारे जान्न चाहन्छु । मार्क र तिम्रो । तिम्रा बच्चा र मार्क । तिमी दुवैको पारचुके भइसकेको रहेछ । तर तिमीले अर्को बिहे गरिनौ । उसले पनि अर्को बिहे गरेको छैन । ऊ तिम्लाई भेट्न आइरहन्छ र मद्दत गर्छ । विश्वास गर म तिम्रा घाउ र तिम्रा पीडाहरू कोतर्न चाहन्नँ । तर, ती कारणहरू जसले तिमीलाई पच्छ्याइरहेछन् तीसँगै तिमीले सँगालेर राखेका तिम्रा कथाका पाटाहरू सुन्न मन छ ।’

‘मेरो कथा धेरै सानो छ लाल ।’ केरेनले भन्न थालिन्, त्यति धेरै पाटाहरूमा अल्झिएको छैन मेरो कथा । यो कफी खाउन्जेलमै सकिन्छ । म एउटा गरिब परिवारको केटी हो । मेरो आमा र बा ‘लिभ इन सम्बन्ध’ मा बस्दा म मेरो आमाको गर्भमा रहन पुगेछु । मेरा बा अबोर्सन गराउन चाहन्थे तर आमा मान्नु भएन छ । मेरा बाले एउटी अर्कै महिलालाई प्रेम गर्न थालेछन् र मेरो आमालाई छोडेर ती अर्की महिलासँग बस्न थाले ।

मेरो जन्म भयो र आमाले बडो दुःखसाथ मलाई हुर्काइन् । आमाले अन्य कसैसंग सम्बन्ध पनि बनाउनु भएनछ । म हुर्कंदै गएँ र पढ्नमा राम्री थिएँ । उच्च शिक्षाका लागि मेलबोर्न विश्वविद्यालयबाट स्कलरसिप प्राप्त गरें । कलेज पढ्ने ताका मार्क र मेरो मित्रता भयो । मार्कले लिभ इन सम्बन्धमा बस्न प्रस्ताव गर्यो तर मैले सोझै विवाहको प्रस्ताव राखें । मार्क सम्पन्न परिवारको एक्लो छोरो थियो र उसका मातापिता हाम्रो विवाहको पक्षमा भएनन् । अतः हामी स्वेक्षाले लिभइन सम्बन्धमा बस्न थाल्यौं । हाम्रो पहिलो छोरो गर्भमा रहन जाँदा मार्कले तत्काल प्रस्ताव गर्यो र हामीले बिहे गर्यौं । मार्कका मातापिता हाम्रो सम्बन्धबाट प्रशन्न थिएनन् नै ।

उनीहरू अस्पतालमा आफ्नो नाति ब्राउनलाई हेर्न समेत आएनन् । दुई वर्षपछि हाम्रो अर्को सन्तान भयो– यसपटक छोरी, मेडी । छोरो अहिले पाँच वर्षको छ र छोरी तीन भई । मेडी दुई वर्षकी हुँदा मैले मार्कलाई प्रस्ताव राखें– ‘मलाई डिवोर्स चाहियो ।’

ऊ चकित र निकै चिन्तित भयो । ‘यो कसरि हुन सक्छ ? किन भनेको यस्तो ?’ उसले धेरै प्रश्न गर्यो । मबाट अनपेक्षित प्रस्ताव पाएर ऊ आँत्तिएको थियो ।

‘शान्त हुने प्रयास गर मार्क ।’ मैले भनेँ, ‘कारण नसोध मलाई । तर, खुशीखुशी मलाई डिवोर्स देऊ ।’

अदालतमा डिवोर्स कागत पठाएलगत्तै हामी छुट्टिएर बस्न थाल्यौं । म मेलबोर्नबाट पर्थ आएँ । अहिले म बसेको घर मेरो आमाको घर हो, म आमासँगै बस्छु । अब तिमी जान्न उत्सुक हौला मैले किन डिवोर्स मागँे ।

हाम्रो डिवोर्स नहुँदै म केही दिनका लागि मेरो आमाको घर बस्न आएको बेला एकदिन म चक्कर लागेर बाथरूममै लडेँ । मलाई अस्पताल लगियो र चेक गर्दा मलाई ब्रेन ट्युमर भएको जानकारी भयो । मेरो ब्रेन ट्युमर सितिमिति निको नहुनेखालको थियो । मैले मेरो घातक रोगको कुरा मार्कसँग लुकाएँ । मेलबोर्न फर्केर डिवोर्स मागेँ ।

‘तिम्रा माता पिता तिमीलाई धेरै मिस गर्छन्, तिमीले अर्को बिहे गरेर आफ्नो जीवन सुखी बनाउनु मार्क ।’ मैले भनेर आएकी थिएँ ।

‘मेरो मस्तिष्कको क्यान्सर दोस्रो स्टेजमा छ । केमो उपचार चल्दै छ तर गारो छ । म बाँच्ने संयोग धेरै कम छ, लाल ।’

केहि दिनअघि मेरो र मार्कको भेट भएको थियो । तिमी भित्र थियौ सायद । तिम्रो घर बाहिर आफ्ना बच्चाहरूसंग खेल्दै तिम्रो बगैंचा बनाउँदै थियो । केरेन केहीबेरका लागि मौन हुँदा मैले भनेको थिएँ । उनले पुनः भनिन् ।

एक दिन केमो लिएर म फर्कन लागेको बेला पछिबाट ‘केरेन’ भनेर बोलाएको सुनेँ । आवाज मैले चिनेँ । मार्क थियो । मलाई ल्याएको कार मेरी आमाले लगिन म मार्कको गाडीमा बसेँ । मार्कलाई थाहा लागेछ मलाई ब्रेन क्यान्सर छ भनेर । बाटोमा उसले सोध्यो– ‘यो कुरा मबाट लुकाउन नै तिमीले मसँग डिभोर्स लिएकी हौ ?’

‘म थोरै दिनको पाहुना हो मार्क । तिमी मेरो पीर नगर । तिमी अर्को बिहे गरेर आफ्नो जीवन सुखमय बनाऊ ।’

नजिकैको मलमा उसले कार पार्क गरेर निकै बेर रोयो ।

‘केरेन, तिमीले यस्तो किन गर्यौ मैले बुझ्न सकिनँ । ब्राउन र मेडी मेरा रगत हुन् । तिमीले मलाई विश्वास किन गरिनौ ? हामी दुवै भएर यो संघर्षसँग लड्न सक्छौं ।

‘म तिमीलाई धेरै माया गर्छु मार्क । तिमी धेरै ठूलो खानदानका छोरा हौ । तिमी अर्को बिहे गरेर आफ्नो जीवन सुखी बनाऊ ।’

‘म अर्को बिहे गर्दिन केरेन ।’

त्यसपछि मार्क पनि पर्थ मै बस्छ । प्रत्येक दिन मलाई भेट्न आउँछ । घरभित्र र बाहिर सबै काम गर्छ । मेरो क्यान्सर दोस्रो स्टेजमा पुगिसकेको छ र मेरो केमो उपचार चल्दै छ । यो निकै पीडादायी उपचार हो । के गर्ने २१ औं शताब्दीमा पनि अस्ट्रेलिया जस्तो देशमा क्यान्सरको गतिलो उपचार छैन । एकछिन उनी मौन बसिन र कफीको अन्तिम शिप लिएर म तिर हेरिन । हामी छुट्टिनुअघि उनले आन्तिम वाक्य भनिन्– ‘म मरे भने मार्ककै काखमा मर्ने छु । मलाई यस कुराको धेरै खुशी छ ।’

अक्टोबर ०१, २०१९

साँझ मैले डायरीको पानामा लेखें–

जिन्दगी अनेक हन्डर खाँदै हिँड्ने एउटा अनवरत यात्रा त हो । यसले मिलन र विछोड, हर्ष र विषादजस्ता कथाका पाटाहरूको चाङ बनाउँदै आफ्नो परिभाषाको बखान गर्छ ।

विगत तीन दिनदेखि मौसम ठीक थिएन ।

चिसो बढेको थियो । घरिघरि आउने पानीले कतै जान दिएको थिएन । तर आज मौसम विभागको पूर्वघोषणा विपरीत बिहानैदेखि घाम लागेको थियो ।

म र म्याडम बेलमोंट बजारतिर जान लाग्दा घरअघिनै मार्क भेटियो । ऊ आफ्नो नीलो गाडी घर अघिको नो थ्रु रोडमा घुमाएर उल्टो (रिवर्स) फर्काउँदै केरेनको घरतिर लाँदै थियो । हामीलाई देखेर उसले गाडी रोक्यो र ‘हाई लाल’ भन्यो ।

‘केरेनलाई कस्तो छ ?’

‘अहिले अलिक बिसेक छ ।’ ऊ खुशी देखिन्थ्यो ।

‘धेरै खुशी लाग्यो ।’ मैले भनेँ, ‘उनलाई भन्नु मैले सम्झेको थिएँ भनेर । हामी केहि दिनपछि नेपाल फर्कदै छौं ।’

‘अब नआउने ?’ उसले सोध्यो ।

‘केहि महिनापछि हामी आउँछौं ।’

‘हामी पनि केहि दिनपछि अमेरिका जाँदै छौं । बच्चाहरूको स्कुल विदा भएको छ ।’

‘कोको जाँदै छ ?’ मैले उत्सुकता देखाउँदै सोधें ।

‘म, केरेन, केरेनको आमा र बच्चाहरू ।’

‘यो त धेरै खुशीको कुरा हो मार्क । तिमीहरूको बसाई सुखद रहोस् । केरेन निकै खुशी हुनेछिन्।’

‘अर्को पनि एउटा राम्रो खबर छ ।’ उसले भन्यो ।

‘के होला ?’

एकछिन ऊ रोकियो । उसको आँखामा गहिरो भाव मिसिएको प्रशन्नता थियो ।

‘यो सम्पूर्ण खर्च मेरा आमाबुबाले नै गर्दैछन् । उनीहरू पनि अर्को साता अमेरिका पुग्दैछन् ।’ एकछिन ऊ रोक्कियो र भावुक हुँदै भन्यो ‘हामी पुनः बिहे गर्दैछौं र अब केरेनको उपचार अमेरिकामा नै हुनेछ ।’

मैले मेरो डायरीमा अन्तिम वाक्य लेखेको थिएँ– भगवान केरेनलाई नयाँ जीवन दिनू !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment