Comments Add Comment

कथा : मिससँगको त्यो १५ मिनेट !

सदाझैँ उही स्कुलको ड्रेस पहिरेर, झोलामा केही किताब, मार्कर र  डटपेन राखेर मोटरसाइकल स्टार्ट गर्दै स्कुलतर्फ निस्किएँ । दश बज्न केही मिनेटमात्रै बाँकी थियो । मोटरसाइकल को गति अलिक बढी नै थियो ।

स्कुल र म बस्ने घरको दुरी १५ मिनेटको भए तापनि मोटरसाइकलमा ४/५ मिनेट जति लाग्थ्यो । ट्राफिक चोकमै ट्राफिकले मोटरसाइकल रोकिहाल्यो ।

लौ बर्बाद, मसँग त लाइसेन्स पनि थिएन । शिक्षकमा नियुक्ति भएको छ महिना बितिसकेको थियो । तर, लाइसेन्स बनाउने माहोल मिलेको थिएन । अघिल्लो पट्क ट्रायलमा फालिएको थिएँ ।

प्रेमराज लामिछाने

अब ट्राफिकले चिट काट्ने भो भन्ने भय सुरु भयो । यति सोच्दा नसोच्दै ट्राफिक प्रहरीले मोटरसाइकल रोक्न इसारा गरे ।

मोटरसाइकल रोकेपछि उनले ‘शिक्षक जस्तो मान्छेले पनि अल्लारे केटा जस्तै स्पिड हाक्नुहुन्छ ? अलि कन्ट्रोलमा चलाउने गर्नुहोस् ।’ भन्दै सुझाव व्यक्त गरे ।

मैले पनि दस बजिसकेकोले हतार गरेर मोटरसाइकल चलाएको उत्तर दिएँ । ट्राफिक प्रहरीले बिस्तारै जान अनुमति दिएकामात्रै थिए मैले मोटरसाइकल हुइँकाइ हालेँ ।

त्यहाँबाट फुत्किएपछि लामो सास फेर्दै सोचेँ ‘धन्न यो स्कुल ड्रेसले काम दिएको छ र लाइसेन्स मागिहाल्ने आँट गर्न सक्दैनन् ट्राफिकले ।

स्कुल पुग्दा सबै विद्यार्थीहरु लाइन लागि सकेर कक्षा कोठातर्फ जाँदै  थिए । म पनि झटपट बाइक पार्क गरेर अफिस तिर हाजिर लाउन गएँ । त्यतिबेलासम्म सबै शिक्षक शिक्षिका आ-आफ्नो कक्षाकोठातिर गइसकेका थिए ।

मेरो पहिलो घण्टी आठ कक्षामा थियो । म पनि उतै तिर गएँ । आज मलाई विद्यार्थीलाई पढाइहाल्न मन चाहिँ थिएन । त्यसैले बिजगणितको दुई/चारवटा  हिसाब ह्वाइट बोर्डमा लेखेर ‘हल गर’ भन्दै उनीहरुलाई त्यतै भुलाइदिएँ ।

मेरो ध्यान अब ३ कक्षाका केटाकेटीलाई पढाउँदै गरेकी श्रीया मिसतर्फ गयो । ‘आज त जसरी भएपनि छिनोफानो गर्छु’ भन्दै पूरै तयारीका साथ त्यसतर्फ गएको थिएँ । मिसले स्वीकारे पछि त मास्टरको जागिरसागिर छोडेरै काठमाडौं जान्थेँ । आखिर यो करारको मास्टर दीर्घकालीन हुने पक्कै होइन ।

आफ्नो र श्रीया मिसको भविष्य त सोच्नुपर्यो नि होइन ? तर, मिसले मेरो प्रेम स्वीकार गर्ने हो कि होइन यो दुबिधा हटाउन पाए ढुक्क हुन्थेँ ।

यताउता गर्दा एक घण्टी बितेको पत्तै पाइन । अर्को घन्टी मिसको लेजर छ र त्यो समय मिस स्टाफ रुममा हुन्छिन । भलै आज कोही शिक्षक अनुपस्थित नहुन भन्ने मेरो कामना थियो । अन्यथा हेड सरले खाली कक्षा भएको खण्डमा त्यता पठाइहाल्थे ।

यसो मिस कता जान्छिन् भनेर आँखा तन्काइरहेँ । क्लास सकिएपछि सबै शिक्षक स्टाफ रुममा गएर अर्को क्लासको पाठ्यक्रम लिन जान्थे । म पनि बिस्तारै त्यतैतर्फ गएँ । ताकि कसैले चाल नपाऊन् ।

स्टाफ रुममा पुग्दा शिक्षकहरु आ–आफ्नो घर्राबाट किताब लिँदै थिए । मैले पनि आफ्नो घर्राबाट किताब निकाले जस्तै गरेँ । नभेटिए जस्तो गरेर अलमलिरहेको पनि थिएँ । ठ्याक्कै श्रीया मिसको आगमन भयो, मन प्रफुल्ल भयो ।

अरु शिक्षक आ–आफ्नो कक्षा तिर गए । तर, त्यो खडुस नैतिक पढाउने विष्णे मास्टर यहीँ छ । अझ पत्रिका पल्टाएर पढ्न थाल्छ । म तिर पुलक्क  हेरर भन्न थाल्यो ऋषि सर तपाईंको कलास छैन अहिले ?

मैले पनि छ भन्दै मुन्टो हल्लाएँ ।

साले भातेले भाँड्ने भयो त्यत्रो प्लान । श्रीया मिसतर्फ हेर्दै स्टाफ रुमबाट निस्किएँ । मनमा झन् कुरा खेल्न थाल्यो । एकमनले भन्छ गएर अहिले नै भन्दिउँ । तर, अर्को मनले हैट ! त्यो खडुसेले थाहा पायो भने स्कुल भरी हल्ला गर्छ ।

मेरो घन्टी अब ६ कक्षाको थियो । जहाँबाट स्टाफ रुमको आवात–जावात प्रष्ट देखिन्थ्यो । कक्षाको ढोकानिरै कुर्सी राखेर स्टाफ रुमतिर त्यो विष्णे कतिबेला जान्छ भनेर विद्यार्थीको गृहकार्य जाँच्न थालेँ । लगभग ५/७ मिनेटपछि विष्णे मास्टर त्यहाँबाट निस्कियो ।

मेरोपालो मौका यहीँ हो भनेर विद्यार्थीलाई हल्ला नगर भन्दै मनिटरलाई ‘हल्ला गर्नेको नाम टिप है’ भन्दै बाहिर निस्किएँ । त्यहाँबाट अरु शिक्षकको आँखा छल्दै म सिधै स्टाफ रुममा गएँ ।

बेन्चमा बसेर मोबाइल चलाइरहेकी श्रीया मिसलाई देखेँ । मन तरङ्गित भयो । कसरी खोलु मनको कुरा ? आज खोलिन भने म अधुरै हुनेछु ।

किनकी मुस्किलले धेरैपछि श्रीया मिसलाई एक्लै भेटाएको छु । म गएर जारमा रहेको पानी बोतलमा सारेँ र पिउन थालेँ । अनि मिसतर्फ हेर्दै भनेँ ‘मिस पानी पिउनुहुन्छ ?’

मिसले ‘हुन्छ’ भनेर मुन्टो हल्लाइन् । अनि मिसलाई बोतल थमाएँ, बोतल दिँदा मिसको हातको स्पर्स मेरो हातले गर्न पायो, आङ नै सिरिङ्ग भएर आयो ।

श्रीया मिसले पानी पिएको हेरिरहेँ । अरु दिनझैँ आज पनि श्रीया औधी राम्री देखिएकी छिन् ।

फेसबुकमा अपलोड गरेका फोटाहरूबाहेक मैले मिसलाई साडीबाहेक अरु कुनै पहिरनमा देखेकै छैन । स्कुल ड्रेस साडी, सधैँ एउटै लुगामा हुन्छिन्, श्रीया मिस ।

आँखामा हल्का गाजल, ओठमा थोरै चिबिस्टिक अनि त्यो रातो टिकामा पातली श्रीया मिस, मलाई गज्जब लाग्थ्यो । अझ भनौँ न म स्कुलमा नियुक्ति भएकै दिनदेखि उनीसँग फिदा भएको थिएँ । त्यसैले त आजसम्म पनि मिसलाई पाउने आशामा यो स्कुलमा छु ।

आफ्ना अन्य साथीहरु मास्टर पढ्न कताकता गइसके आफू भने मास्टर भएर बसेको छु ।

केहीछिन नबोलिकन बसेको देखेर मिसले ओठ खोलिन्, किन सर क्लास जानू पर्दैन र ? आज मिसलाई आफ्नो मनको कुरा खोल्नु छ अलिक साहस बटुलेर मिसको अपोजिट साइडतर्फ कुर्सी घुमाएर भने कलास त छ ।

तर, हजुरलाई यहाँ एक्लै देखेर केहीबेर यतै बस्न मन लाग्यो । त्यतिन्जेलसम्म मिसले पानीको बोतल मलाई फर्काइसकेकी थिइन् ।

मेरो त्यस्तो जवाफ र आफ्नो अगाडि आएर मलाई बसेको देखेर हडबडाइन् । अनुहार नीलो भयो । मैले भन्न लागेको कुरा श्रीयाले पत्तो पाइन् होला, त्यसैले अरु केही बोलिनन्  ।

आफैँ कुरा सुरु गरेँ । मिस एउटा कुरा भन्नु थियो । के कुरा ऋषि सर ? फ्याटै मुखबाट शब्द निस्कियो, मैले मन पराको कुरा ? मिसको ओठबाट अर्को शब्द आयो कसलाई ? मैले पनि एउटै शब्दमा भनेँ हजुरलाई ।

मिस अलमलमा परिन । मैले एकनास उनको अनुहारमा हेरिरहेँ । उनी पनि एकतरहले मेरै मुखमा हेरिरहिन् । मानौं, अब दुई जनासँग कुनै शब्द नै छैन केही बोल्नलाई ।

केही सेकेन्ड लगातार यसरी नै हेराहेर चल्यो । मनमा उनले स्वीकार गर्दिनन् होला भन्ने भान भइसक्यो । बर्बाद भयो बेकार भनेछु उनको खाली चित्त दुखाउने काम मात्र भयो ।

तैपनि मनको कुनै कुनामा उनले हुन्छ भनिन् भने झ्याम्मै अँगालो हालेर त्यहीँनिर उनको  निधारमा माया गर्न सकुँ भन्ने कुराहरू खेलिरहेका छन् ।

मिसले आफ्नो मोबाइलबाट एउटा फोटो मतिर देखाउँदै भनिन्

बिहे हुँदैछ, अमेरिकी ग्रीन कार्ड होल्डर फ्यामिली हो । स्कुल छोड्दैछु । तपाईंको प्रेमलाई म सम्मान गर्छु, सर । तर, हजुरको प्रेमलाई स्वीकार गर्न सक्दिन ।

हजुरले मलाई मन पराउनुहुन्छ भन्ने कुरा मलाई पहिले नै थाहा थियो । मलाई पनि हजुर राम्रो लाग्छ । भोलि गएर हजुर ठूलो मान्छे बन्नुहुनेछ यो पनि मलाई विश्वास छ ।

हजुरलाई पाउने मान्छे पनि भाग्यमानी हुनेछ । मैले अमेरिका जाने लोभले हुन्छ भनेकी भने होइन । दुवै परिवारबाट सहमति भएर उताबाट कुरा चल्यो, उनीहरु माग्न पनि आए ।

मेरो परिवारको सहमतिमा मैले पनि परिवारको खुसीको लागि हुन्छ भनेकी हुँ । तर, आशा छ मैले बिहे गर्ने केटा पनि हजुर जस्तै राम्रो हुनेछ ।

मिससँगको त्यो लगभग १५ मिनेटको बसाइँपछि म मुसुक्क हाँस्दै केही नबोली स्टाफ रुमबाट निस्किएँ । त्यसपछि मिसको बिहे पनि भयो । मैले पनि स्कुल छोडेँ ।

मिस अमेरिका गएको फेसबुकबाटै थाहा पाएँ । उनको श्रीमान पनि राम्रा थिए । खुसी थिए उनीहरू । म पनि त्यसपछि काठमाडौं गएँ र उतै आयोगको तयारीमा जुटेँ ।

आज ठिक १२ वर्षपछि मिससँग गरेको त्यो १५ मिनेटको कुरा याद आयो । जब उनी फेसबुक लाइभमा आइन्, यता म जिल्लाको सिडिओ भएर गाउँगाउँमा राहत वितरणदेखि लिएर बाहिरबाट आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखेर जिल्लामा कोरोनाविरुद्ध लकडाउन सफल पार्न हिँडिरहेको छु ।

उता, उनी विश्व महामारीमा फैलिएको कोरोनाविरुद्ध अस्पतालमा आइसोलेसन वार्डमा लडिरहेकी छिन् ।

गड ब्लेस हर … स्टे हेल्दी.. स्टे सेफ …।

घरमै बसौँ ।

–दाङ , तुलसीपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment