Comments Add Comment

लकडाउनले चिनियाँ अर्थतन्त्रमा ठूलो संकुचन

५ चैत, काठमाडौं । सन् २०२० को पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्रमा तीव्र गिरावट देखिएको छ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको लकडाउनको कारण चिनियाँ अर्थतन्त्र सन् १९९२ पछि पहिलोपटक खुम्चिएको हो ।

शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्यांक अनुसार वर्षको सुरुवाती तीन महिनामा चिनियाँ अर्थतन्त्र ६ दशमलव ८ प्रतिशत घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा चीनको आर्थिक वृद्धिदर ६ दशमलव ८ प्रतिशत थियो ।

विगत दुई दशकयता चीनको आर्थिक वृद्धिदर औसतमा वार्षिक नौ प्रतिशतले बढेको छ । तर, यस वर्षको सुरुवातमा भने कोभिड-१९ को महामारीले चिनियाँ अर्थतन्त्र प्रभावित बनेको हो । चीनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि मुलुकभरका लकडाउनको निर्णय गरेको थियो । यो निर्णयको कारण उक्त अवधिमा अधिकांश व्यवसायहरु बन्द थिए ।

यसै साताको सुरुवातमा चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले चीनले ल्याएको आर्थिक सहायता कार्यक्रमले मुलुकको आन्तरिक माग बढाउने बताएको थियो । तर, विश्वभर लगाइएको लकडाउनको कारण चीनको निर्यात क्षेत्र भने अझै पनि प्रभावित हुनेछ । चीनको अर्थतन्त्रको वृद्धिमा वैदेशिक व्यापारले पनि ठूलो भूमिका खेल्ने गरेको छ । त्यसैले चिनियाँ अर्थतन्त्रमा छिटै सुधार आउने सम्भावना कम रहेको विश्लेषकहरुको भनाइ छ ।

बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चिनियाँ अर्थतन्त्र यस वर्ष नखुम्चिने तर केवल एक दशमलव २ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरेको थियो । गत मार्चदेखि चीनले कारखानाको उत्पादन र व्यवसाय सञ्चालन खुला गर्दै आएको छ। तर, लकडाउनभन्दा पहिलाको अवस्थामा आउन भने अझै लामो समय लाग्ने अनुमान छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment