Comments Add Comment

खेलाडीको योजना : पुरस्कारको पैसाले व्यवसाय गर्नेदेखि बाइक किन्नेसम्म

५ वैशाख काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले दिने घोषणा गरेको पुरस्कार बल्ल पाउन थालेका छन् । बुधबारदेखि खेलाडीको खातामा रकम जान थालेको छ, कतिपय खेलाडीले अझै पाउन बाँकी छ ।

आफ्नै बैंक खातामा लाखौं रकम पुरस्कार जम्मा हुँदा खेलाडीहरु खुशी छन् । ढिलै भए पनि सरकारबाट नगद पुरस्कार पाएको र त्यो पनि यस्तो त्रासको समयमा पाउँदा खेलाडी खुशी नहुने कुरै भएन ।

करातेमा २ स्वर्ण जित्दै २२ लाख रुपैयाँ प्राप्त गरेका मन्डेकाजी श्रेष्ठले कोरोना संक्रमणको त्रासमा मुलुक लकडाउन भइरहेको बेलामा पुरस्कार रकम पाउँदा खुश िभएको बताए । ‘ढिला भन्दा पनि यो समयमा पुरस्कार पायौँ स्यालुट गर्न चाहन्छु’ कराते एकल काता र टिम कातामा स्वर्ण जितेका मन्डेले अनलाइनखबरलाई भने ।

गत वर्ष १५ देखि २४ मंसिरमा नेपालको काठमाडौं पोखरा र जनकपुरमा भएको १३ औं सागमा नेपालले ५१ स्वर्णसहित दुई सय सात पदक जित्दै भारतपछि दोस्रो स्थान हात पारेको थियो ।

सागमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले ९ लाख, रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख पाएका छन् । यस्तै टिमतर्फ स्वर्ण जित्नेले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्नेले २ लाख प्राप्त गरेका छन् ।

एक भन्दा बढी स्वर्ण जित्नेले भने ११ लाखका दरले पुरस्कार पाएका छन् । सबैभन्दा धेरै पदक जितेकी पौडीबाज गौरिका सिंहले ६२ लाख पाउनेछिन् । उनले व्यक्तिगतमा ४ स्वर्ण र २ रजत तथा रिले इभेन्टमा ३ कास्य जितेकी थिइन् ।

महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठले यसअघि पनि पुरस्कार घोषणा हुने तर नपाउने गरेको भन्दै यसपटक पनि त्यस्तै हुने अनुमान गरे पनि अन्त्यमा पुरस्कार पाउँदा खुशी लागेको बताइन् ।

सदिनाको नेतृत्वमा नेपालको महिला बास्केटबल टिमले सागमा रजत पदक जितेको थियो ।

सागमा रजत पदक जित्ने महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले अप्ठेरो समयमा पुरस्कार पाएकामा सरकार र सबै सरोकारवालालाई धन्यवाद दिएकी छन् । पैसा पाएपछि उनले अनलाइनखबरसँग भनिन् ‘ अब परिवारको लागि खर्च गर्छु ।’

कराते टिम कातामा स्वर्ण जितेमा प्रविन मानन्धरले कोरोना महामारीका कारण पुरस्कार रोकिने डर लागिरहेको बेलामा पुरस्कार पाउँदा खुशी लागेको बताए ।

युवा तथा खेलकुद मन्त्रालयले पदक जित्ने चार सय ३५ खेलाडीको लागि १९ करोड ५३ लाख रकम मात्र अहिले खातामा पठाएको हो । अब दोस्रो चरणमा प्रशिक्षक र खेल संघको पुरस्कार पठाउने जनाएको छ ।

सागमै पदक जिताउन मद्दत गर्ने प्रशिक्षकले भने सरकारले घोषणा गरेको पुरस्कार पाएका छैनन् । केही प्रशिक्षकको नाममा पेश्की रहेको भन्दै त्यो फर्छ्यौट भएपछि पुरस्कार रकम पठाउने राखेप र मन्त्रालयले जनाएको छ ।

१३ औं सागमा खेलाडीलाई स्वर्ण जिताउन मिहिनेत गर्ने कराते प्रशिक्षक दिपक श्रेष्ठले पुरस्कार लिन पेश्की फर्छ्यौट गरेर आऊ भन्नु त्यति राम्रो नभएको बताए । पुरस्कारको नियम बनाउँदा नै सम्मानित रुपमा बनाउनुपर्ने उनले बताए । ‘पुरस्कार घोषणा गरी सम्मान पनि गर्ने अनी पेश्की फछ्र्यौट गरर पुस्कार लिन आउ भन्दा राम्रो भएन’ दीपकले भने ।

के छ खेलाडीको योजना ?

पुरस्कारमा मोटो रकम पाएपछि खेलाडीहरुले त्यसको उपयोगमा विभिन्न योजना पनि बनाएका छन् । कसैले बचत गर्ने योजना बनाएका छन् भने कसैले व्यवसाय गर्ने ।

तेक्वान्दोमा स्वर्ण जितेकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठले पुरस्कारको रकमले घरको ऋण तिर्ने बताएकी छन् । ‘अब घरको ऋण तिर्नेछु अनि बाँकी रकम सेभिङ गर्नेछु’ उनले भनिन् ।

यस्तै उसुमा रजत जितेकी मीना ग्लान पुरस्कारको रकमले व्यवसाय गर्ने सोचाइमा छिन् । ‘६ लाख पाएँ अब व्यवसाय गर्ने योजना छ, खेलकुदमा मात्रै लागेर लाइफ सेक्युर नहुने देखेर अन्य काम गर्ने तयारी गरेको हो ।’ उनले काठमाडौंमा टर्की फार्म खोल्ने योजना बनाएकी छन् । ‘त्यसमै रिसर्च गरिरहेको छु, अलि (धेरै) रकम जम्मा गरेर खोल्ने हो’ मीनाले भनिन् ।

बक्सिङमा स्वर्ण जितेका सनिल शाही भने मोटरसाइकल किन्ने योजना बनाएका छन् । कोरोनाको त्रास सकिएपछि एउटा मोटरसाइकल किन्ने र बाँकी रकम वचत गर्ने उनको योजना छ ।

पुरुष फुटबलमा नेपाल यू – २३ टिममलाई स्वर्ण जिताउँदाका कप्तान सुजल श्रेष्ठले तत्कालै केही योजना बनाएका छैनन् । त्यसैले कोरोना त्रासको अवधिभर उक्त रकम वचत गरिराख्ने उनी बताउँछन् ।

महिला फुटबलमा रजत जितेकी सावित्रा भण्डारी साम्बाले पनि पुरस्कार रकम के गर्ने भन्ने योजना बनाएकी छैनन् ।

सागका स्वर्ण जितेर ९ लाख रुपैयाँ पाएका कराँतेका नवीन रसाइलीले पनि पुरस्कारको रकम के गर्ने योजना बनाएका छैनन् । ‘पैसा के गर्ने सोचेको छैन तर जे गरेपनि राम्रो काममा सदुपयोग गर्नेछु’ उनले भने ।

पहिलो पटक नेपाललाई कुस्तीमा स्वर्ण जिताउन सफल संगीता धामी लकडाउन सकिएपछि पुरस्कार रकम खर्च गर्ने योजनामा छिन् । ‘के गर्ने भनेर सोध्छु ममीले के भन्नुहुन्छ त्यसैमा खर्च गर्ने हो’ उनले भनिन् ।

एथ्लेटिक्समा स्वर्ण जितेका गोपीचन्द्र पार्कीले भविष्यको योजनाको लागि यो रकम सदुपयोग गर्ने बताए । ‘काठमाडौंमा जग्गा किन्ने योजना छ । त्यसैको लागि सेभिङ गर्नेछु’ उनले भने ।

करातेमा २ स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले अब सही ठाउँमा उपयोग गर्ने बताए । गल्फमा दुई स्वर्ण जितेर २२ लाख पाएका सुवास तामाङले अब पुरस्कार रकम घर बनाउन र परिवारमा खर्च गर्ने बताए ।

ब्याडमिन्टमा कास्य जितेका दिपेश धामीले पुरस्कारको रकम आमाको लागि खर्च गर्ने बताए ।

तेक्वान्दो खेलाडी सञ्जीवकुमार ओझा, कराँतेकी अनु अधिकारीलगायत कतिपय खेलाडीले पुरस्कार के गर्ने योजना बनाउन भ्याएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment