काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा पनि वाग्मती सफाइ महाअभियानलाई केही अभियानकर्मीले निरन्तरता दिएका छन् ।
महाअभियानको ३६२औँ हप्तामा पशुपति क्षेत्रको वाग्मतीमा पाँच जना र शङ्खमूल क्षेत्रको नदी किनारमा पनि पाँच जनाले सफाइ गरेका छन् । पशुपतिमा अभियानकर्मी एवम् अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेल र शङ्खमूलमा अभियानकर्मी लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ अभियान गरिएको हो ।
दुवै स्थानमा भएको सफाइको बारेमा अभियानकर्मी किशोरसिँह शाहीले सामाजिक सञ्जालमा तस्विरसहित जानकारी दिइन् । दुवैतिर करिब एक घण्टा सफाइ भएको अभियानकर्मी खरेलले बताइन् ।
०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको सक्रियतामा शुरु भएको महाअभियान बन्दाबन्दी अघि प्रत्येक हप्ताको शनिबार बिहान सात बजेखि नौ बजेसम्म दुई घण्टा जस्तोसुकै कठिन परिस्थितिमा पनि जारी थियो । चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू भएपछि चैत १५ गते शनिबार ३५९औँ हप्ताको सफाइ अवरुद्ध भयो ।
त्यसदिन सबै अभियानकर्मीले आ, आफ्नो घरअघि सफाइ गर्न पूर्वसचिव एवम् अभियानकर्मी किशोर थापाले आह्वान गरेबमोजिम सञ्चालन गरिएको थियो । यसबाहेक चिसो, गर्मी, झरी, चाडपर्व जस्तोसुकै अवस्थामा पनि राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा नाराले अभियान निरन्तर जारी छ । ३६०औँ हप्तादेखि भने वाग्मती किनारमा घर भएका केही अभियानकर्मीले नदीमै प्रवेश गरेर सफाइ गरी निरन्तरता दिएका हुन् ।
प्रतिक्रिया 4