Comments Add Comment
दार्चुलापारि अलपत्र नेपालीको पीडा :

‘हामी भोकले, परिवार पिरले मर्ने भए, चाँडै उद्धार होस्’

९ वैशाख, धनगढी । दार्चुलापारि भारतको धार्चुलामा एक हजारभन्दा बढी नेपाली छन् । १० चैतमा सीमा बन्द भएपछि भारतबाट आएका उनीहरू धार्चुलामा नै रोकिएका हुन् ।

१४ दिनका लागि भनेर क्वारेन्टाइनमा राखेको पनि महिना दिन हुन लागिसक्यो । तर, नेपाल ल्याउने कुनै सुरसार देखिएको छैन । ‘एक महिनादेखि हामी यहाँ अलपत्र छौँ । उद्धारका लागि कसैले चासो दिएनन्’ दार्चुला मार्मा गाउँपालिका लटिनाथका दिलेन्द्र महताले टेलिफोनमा अनलाइनखबरसँग भनेका छन् ।

श्रम गरेर ल्याएको पैसा सकिन थालेको र घर परिवारमा समस्या बढ्न थालेको उनको गुनासो छ । ‘२७/२८ दिनदेखि हामी क्वारेन्टाइनमा छौँ’ उनले भने, ‘अब रोगले होइन, हामी भोकले र परिवार पिरले मर्लान् जस्तो लाग्न थालेको छ ।’

आफूहरूलाई उद्दार गरे सरकारले भनेजस्तै होम क्वारेन्टाइनमा बस्न तयार रहेको महताले बताए । ‘सीमापारि अलपत्र हुनुभन्दा घरमै सुरक्षित बन्नु जाति’ उनले भने, ‘एक महिना यहाँ बस्यौँ । घरमा पनि क्वारेन्टाइनमा बस्न तयार छौँ ।’

कहिले घर जाने निश्चित नहुँदा जोखिम मोलेर महाकाली तर्नेको संख्या पनि बढेको छ । महता भन्छन्, आफ्नै भूमि पुग्न ज्यानको बाजी लगाउनु पर्ने हो र ?

डोटी जोरायलका शहदेव बोहराले पनि आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरे । उनले आफूसँग भएको पैसा पनि सकिन थालेको भन्दै उद्धार नभए थप समस्या उत्पन्न हुने गुनासो गरे । ‘ठेकेदारले पूरै पैसा दिएन’ उनले भने, ‘भएको पैसा पनि सकिन थालेको छ । तत्काल उद्धार भएन भने हामी भोकै मर्न सक्छौँ ।’

श्रीमती गर्भवती रहेको र सुत्केरी हुने दिन आएको भन्दै उनले भने ‘बुढा आमाबुबा मात्रै हुनुहुन्छ । पैसा पनि छैन । म यहाँ अलपत्र पर्दा घरमा समस्या भएको छ ।’

अहिले धार्चुलामा रहेको नेपालीहरूलाई मिनी स्टेडियम, बालुवाकोट महाविद्यालय, जौल जिबी, निगलपानी र बरममा राखिएको छ । बसाइँ लम्बिँदा भएको पैसा सकिएको छ । ‘कमाएर ल्याएको पैसा घर नपुग्दै सकिएपछि समस्या भएको छ । कतिले त आफ्नो मोबाइल बेचेर समस्या टारिरहेका छन्’ बोहराले सुनाए ।

दार्चुला ५ मार्मका धानसिंह महताले पनि तत्काल उद्धारको पहल गरिदिन आग्रह गरेका छन् । ‘दुई छाक खाना क्वारेन्टाइनमा दिन्छ तर, त्यसले भोक मर्दैन’ उनले भने, ‘दिउँसो र बिहान आफूले पैसा तिरेर खाजा खाने गरेका छौँ ।’

बझाड बुंगल नगरपालिका ८ कपलखेती वीरेन्द्र कामीलाई पनि ठूलो समस्या परेको छ । मंसिरमा काम गर्न भारत पुगेका उनी काम गर्दागर्दै लकडाउन भएपछि घर फर्किएका थिए । ‘घरमा समस्या थियो त्यसैले हतारमा आए’ उनले भने, ‘ठेकेदारले दिएको पाँच हजार पनि सकियो । अब कसो गर्ने ?’

आफूले कमाउन नपाउँदा घरमा चुलो बलेको छ कि छैन भन्ने चिन्ता लागेको उनले सुनाए ।

सीडीओ भन्छन्-आदेश छैन

सीमापारि रहेका नेपालीहरूले उद्धारमा पहल गर्न आग्रह गरिरहेका बेला दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आफूलाई उनीहरुलाई नेपाल भित्र्याउने अधिकार नभएको बताए । ‘यो अन्तर्राष्ट्रिय सीमाको विषय हो । माथिबाट केही आदेश छैन’ उनले भने ।

देशका अधिकांश नाकामा यस्तै समस्या रहेकाले सरकारले एउटै नीति बनाएर ल्याउनसक्ने उनको भनाइ छ । भारतीय पक्षसँग समन्वय भइरहेको भन्दै उनले सीमापारि रहेका नेपालीहरूलाई कुनै समस्या नरहेको दाबी समेत गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment