
९ वैशाख, काठमाडौं । लकडाउनको समयमा बैङ्किङ क्षेत्र सम्बन्धी जिज्ञासा वा सुझाव लिनका लागि नेपाल राष्ट्र बैङ्कले तीन जना अधिकारीको टेलिफोन नम्बर सार्वजनिक गरेको थियो ।
लकडाउनको सुरुवाती दिनमा धेरै टेलिफोन आए पनि पछिल्लो समय घटेको राष्ट्र बैङ्कले बताएको छ । सर्वसाधारणले समस्यामा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न सक्ने राष्ट्र बैङ्कले बताएको थियो ।
सुरुवाती दिनमा फोन उठाउन समेत भ्याइनभ्याइ भएको कार्यकारी निर्देशक ढकालले बताए । पछिल्ला दिनमा भने फोन आउने क्रम केही घटेको छ। कस्ता जिज्ञासाहरू आए त भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘कसैले प्रहरीले रोक्यो भनेर फोन गर्छन् त कसैले के समस्या सुनाउन फोन गर्छन् ।’
ढकालका अनुसार आएका धेरै फोनहरू राष्ट्र बैङ्कसँग असम्बन्धित थिए । सर्वसाधारणले जे समस्या पनि समाधान भइहाल्छ भन्ने सोचेर फोन गर्ने गरेको उनले सुनाए ।
अर्का कार्यकारी निर्देशक मिश्र पनि बाहिर हिँड्ने पास छैन भनेर समेत गुनासा आएको बताउँछन् । उनको अनुभवमा पनि धेरै जिज्ञासाहरू राष्ट्र बैङ्कले सम्बोधन गर्न नसक्ने खालका थिए ।
बैङ्कमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा ब्याज तिर्नेलगायत बैङ्किङ कारोबार सम्बन्धी विषयमा कुनै समस्या वा जिज्ञासा भए बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुख ढकाललाई सम्पर्क गर्न राष्ट्र बैङ्कले भनेको छ ।
विप्रेषण, विदेशी मुद्रा सटही, टीटी, प्रतीतपत्र (एलसी) तथा विदेशी विनिमय सम्बन्धी कारोबारका विषयमा विदेशी विनिमय विभागका प्रमुख मिश्र र मोबाइल तथा इन्टरनेट बैङ्किङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल कारोबार सम्बन्धमा बुझ्नुपर्ने वा कुनै सुझाव दिनुपर्ने भए भुक्तानी प्रणाली विभागका प्रमुख नेपाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।
प्रतिक्रिया 4