Comments Add Comment

पार्टी फुटाउन अध्यादेश ल्याइयो, एक ढिक्का बनौं : राजपा

अध्यादेशले राजनीति कलंकित बनाएको विश्लेषण

९ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले आम नेपाली जनताको म्यान्डेटविपरीत दल विभाजन गर्न अध्यादेश ल्याइएको भन्दै आक्रोस पोखेको छ । साथै उसले एक ढिक्का भएर कोरोनालगायत महामारीविरुद्ध लड्न पनि पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गराएको भोलिपल्ट राजपाले विज्ञप्ति जारी गर्दै अध्यादेशबारे औपचारिक धारणा सार्वजनिक गरेको हो ।

राजपा संयोजक शरतसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा जनताले दिएको म्यान्डेटविपरीत दलसम्बन्धी कानून संशोधन गरेर राजनीति र देशको स्थायित्वप्रति बेइमानी गरिएको उल्लेख छ ।

‘विश्व नै कोरोना भाइरसको महामारीबाट थलिएको बेला गरिएको असमायिक र संवेदनहीन निर्णयले समग्र राजनीति नै कलंकित भएको छ,’ राजपा संयोजक भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दल विभाजनसम्बन्धी कानूनमा गरिएको संशोधनको शिकार राजपा बन्न सक्ने आकलन भइरहेका छन् । तर, राजपाले दल विभाजनसम्बन्धी कानूनमा गरिएको संशोधनले आफ्नो पार्टीलाई कुनै असर नपार्ने प्रष्ट पारेको छ ।

पार्टीका नेता तथा कार्यकर्तालाई एक ढिक्का हुन आग्रह गर्दै राजपाले भनेको छ–‘सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन । निर्णयबाट कुनै भ्रममा नपरी कोरोना महामारीको यस घडीमा पूरै पार्टी पंक्तिलाई एक ढिक्का भई दत्तचित्त भई आफ्नो भूमिका निर्वाह गर्न आह्वान गर्दछौं ।’

संवैधानिक परिषदमा विपक्षी दलका नेताको भूमिका संकुचित गराइएकोप्रति पनि राजपाले असन्तोष जनाएको छ । यसले विधिको शासनको हुर्मत लिने र लोकतन्त्र कमजोर हुने विश्लेषण राजपाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment