Comments Add Comment

समुदायमा छिरेको कोरोना 

फूलमाला नायकले पहिरिने कि खलनायकले ?

गएको हप्ता वीरगञ्ज छपकैयामा-३ भारतीय नागरिकहरूमा कोरोना भाइरस पोजेटिभ देखियो। यो यस्तो समूह थियो कि दिल्लीका १२६७ संक्रमितमध्ये ११३४ (९० प्रतिशत) र भारतभर ४० प्रतिशत मामला यही तबलिगी जमातको भेलाबाट प्रसार भएको थियो (अप्रिल १७ दि प्रिन्ट)।

एक त यस्तो प्रष्ट कारण त्यसमाथि मुसलमान धर्मावलम्बी विरुद्धको हिन्दूवादी सरकार हुनुले रातारात सीमा सिल गर्न भारत राजी भयो। यसको धरो तान्दै यस घटनालाई भारतले कहाँ पुर्‍याउन खोज्दैछ ? हामीले आशंका पनि गरेका छैनौँ।

नेपाल र भारतको सीमामा मच्चाएको त्यो सनसनीखेज घटना सेलाउन नपाउँदै कोरोना महामारीले काठमाडौंका इलाइटहरूको सातो लियो। उनीहरूका मनहरास्थित वानप्रस्थ-मठ सनसिटीमा एकाएक कोलाहल मच्चियो।

यिनीहरूका अलावा एक रौतहटमा भारतको दिल्लीबाट फर्किएको र अर्की वीरगञ्जबाट कैलाली पुगेकी क्वारेन्टाइनमा राखिएकी महिलामा सकारात्मक देखियो। महिलाको संक्रमण स्रोत नखुलेको भनिए पनि १४ भारतीयहरूलाई खाना खुवाएको बयानले अन्तमा उनी आयातित वर्गमा परिन्।

यी घटनाहरूको साया विलुप्त हुन पाएको थिएन, इटालीबाट फर्केकी काठमाडौंकी एक शिक्षित युवतीले यात्रा विवरण ढाँट्दै स्वाब निकाल्न लगाइन्। उनको पीसीआर सकारात्मक आयो। उनकै कारण एक चिकित्सकले क्वारेन्टाइनमा बस्ने अवस्था बन्यो। हङकङबाट फर्किएका चितवनका आमाछोराको नतिजा सकारात्मक भएको खुलासा हुन नपाउँदै उदयपुर र विराटनगरमा पुगेका जमातीहरूको संक्रमणले नेपालको कोभिड-१९ को प्रकोप प्रसारणको चित्र नै बदलिएको छ।

नेपालमा जम्मा फिरन्ते मुस्लिम २९ सहित ४२ जना संक्रमित पुष्टि भएका छन्। यही अवस्थाले नै सरकारलाई हायलकायल पारेका छन्, मिडियालाई फनफनी घुमाएका छन् र थकित चिकित्सकहरू ‘अब जे पनि हुनसक्छ’ भन्दै खुइयः गर्दैछन् भने जनसमुदाय त अज्ञात त्रासमा छटपटिनु कुनै आश्चर्य नै भएन।

यस्तै, अनपेक्षित घटनाहरूले अबका दिनमा पनि हायलकायल पार्न सक्छन्। कहिल्यै महामारी नभोगेको समुदाय, प्रतिरोध कारबाही नगरेको सरकार र महामारीबारे अध्ययन गर्नु नपरेको तर उपचारात्मक जगतमा प्रवीण चिकित्सकहरूलाई पुनः खतरा आएको महसुस हुनु स्वाभाविकै हो।

तर, समाज विज्ञानका विद्यार्थीहरूलाई समुदायको निगरानीले लुकेका आयातित संक्रमितहरू फटाफट निकालेको र विगत केही दिन संक्रमितसँग सम्पर्कमा आएकाको खोजी जाँच गर्ने सरकारको सक्रियताले थप उत्साह जगाएको छ।

जमातिबाट प्रसारण भइरहेको मामला मुसलमान समुदायका लागि चिन्ताजनक हो। यसमा मुसलमान सम्प्रदायको ध्यानाकृष्ट भएको बुझिन्छ। तर, त्यो समुदायबाट अन्य धर्म सम्प्रदायमा कम सम्भावना भएको स्मरण गराउनु सान्दर्भिक हुन्छ। यसका लागि अल बिरुनीले भारत नामक यात्रा विवरणमा प्रस्तुत गरेका “आम हिन्दुहरूका सम्बन्धमा” उल्लेख गरेका पाँच कारणमध्ये मुख्य कारणहरू विचारार्थ प्रस्तुत गर्दछु। ती हुन्- धार्मिक आग्रह, आचारविचार र रीतिरिवाजहरूमा अति नै भिन्नता, एक अर्काप्रति नजानिँदो आशंका (पश्चिमा र भारतीय प्रचारका कारणसमेत), बहुसंख्यक जाति वा धार्मिक समूहको अहं भावका कारणहरू। यी कारणहरूले त्यस जमातका नजिकमा मात्र प्रसारण रहनेछ। जसले प्रकोपको क्षेत्रलाई साँघुरो बनाउँछ र हस्तक्षेपलाई संकेन्द्रित गर्न सकिने छ ।

यो पनि पढ्नुहोस कोरोना संक्रमण समुदायस्तरमा, हटस्पट बन्यो उदयपुरको भुल्के

त्यसमाथि तबलिगीको निगरानीका लागि भारतीय स्वार्थका कारण सीमा व्यवस्थापन गर्नका लागि समुदायको माग र सरकारको सक्रियता सबै सुसंगत छ। सिद्धान्ततः समुदाय संक्रमण भएको भनिएको उदयपुरलाई प्रदेश सरकारले जिल्ला सिलबन्द गरेका कारण थप पहिचान हुन सक्ने र अन्यत्र प्रसारण हुन नसक्ने अवस्था बन्न सक्छ।  यस कुराले भाइरस संक्रमण विस्तार नहुने कुरामा बल पुग्दैछ। यसमा समुदायको दिन प्रतिदिन अपेक्षित गरिएकोभन्दा बढी योगदान रहेको देखिँदैछ।

तर, समुदायका विभिन्न पृष्ठभूमिका पात्रहरूले के कस्ता योगदान दिए ? यसबारे कमै ध्यान दिइएको छ, एक पटक नियालौँ।

समुदायको महामारी रोकथाम संयन्त्र 

समुदाय कुनै अमूर्त र निराकार होइन। यसले देश, काल र परिस्थिति अनुसार आकार ग्रहण गरेको हुन्छ। यहाँ नेपाली समाजमा आमरुपमा देखिने संरचना मैले प्रस्तुत गरेको छु।

यस समुदायको पहिलो घेरामा एक क्षेत्र वा भेग दोस्रोमा खास बस्ती/टोल, तेस्रोमा घरधुरी/परिवार र न्युक्लियसमा घरमुली रहेका हुन्छन्। समुदायको यस्तो संरचना भित्रका सदस्यहरूले स्थानअनुसार स्वतः व्यक्तिगत र सामूहिक भूमिका निर्वाह गरिरहेका हुन्छन्।

अब प्रश्न उठ्न सक्छ, यस महामारीमा यस संरचनाभित्रका सदस्यहरूले के-के गरे ?  यसको लामो फेहरिस्त बन्छ । यसकारण केही उदाहरणहरू-

समुदायको सबभन्दा बाहिरको घेरा भेग वा क्षेत्र (पालिका) हो। यसले सम्भावित वाहकको लगत लियो। जस्तो कि अर्घाखाँचीको मालारानी गाउँपालिकाले २०७६ चैत्र १० देखि १३ सम्म भारत, कतार, दुबई र अन्यबाट जम्मा दुई सय ६४ जना विदेशी रोजगारबाट त्यस पालिकाभित्र प्रवेश गरेको सूचना जारी गरेको थियो । (विष्णु घर्ती, पालिकाका प्रमुख प्रशासकीय अधिकृतले २०७६ चैत्र १३ मा जारी गरेको सूचना)। यसले लकडाउन गरेको तीन दिनभित्र नै निगरानीमा राखिनुपर्ने व्यक्तिहरूको लगत लियो।

गत चैत २२ गते देखि २ वैशाख ५ गतेसम्म चन्द्रागिरि नगरपालिका अन्तर्गत विदेशबाट फर्केका एक सय ८६ जना दर्ता गरिए। जसको परीक्षण नतिजा सबै नेगेटिभ आए (लिशा नकर्मी, उपमेयर चन्द्रागिरि नगरपालिकाको फेसबुक २०२० अप्रिल ३ बाट)। यसले लगत राख्नुका साथै सम्भावितको जाँच गराई नेगेटिभ पुष्टि गराउन सहयोग पुर्‍यायो।

यसरी सबभन्दा बाहिरको (पहिलो) घेराले कुनै पनि अपरिचित वा अवाञ्छित प्रतिनिधिलाई समुदायमा प्रवेश रोक्यो। जुन समुदाय आधारित निगरानीले गर्ने गर्दछ।

अब हेरौँ कसरी पहिलो घेरा नाघ्ने भाइरस वाहकलाई दोस्रो घेराले पक्रन्छ ?

त्यो दोस्रो घेरा भनेको खास टोल/बस्तीको घेरा हो। “झापाका दक्षिण सीमावर्ती क्षेत्रका बासिन्दाले गाउँमा नयाँ मान्छे देख्नेबित्तिकै प्रहरीलाई फोन गरी जानकारी दिन थालेका छन् । यही समाचारले यदि कुनै अपरिचितले समुदायको बाहिरी घेरालाई छक्कायो भने समुदायभित्रका टोल बासिन्दाले नै निगरानी गरिरहेका हुन्छन्। तिनीहरूले प्रहरीलाई मात्र जानकारी दिँदैनन्, मित्रवतरुपमा क्वारेन्टाइनमा बस्न सम्झाएका अनेकन उदाहरण छन्।

वीरगञ्जबाट कैलाली पुगेकी महिला (पछि संक्रमित पुष्टि) लाई टोलबस्तीकै अनुरोधमा क्वारेन्टाइनमा पुर्‍याइएको थियो । जबकि उनी विदेशबाट आएकी थिइनन्।

पहिलो र दोस्रो घेरा नाघेपछि पनि अवाञ्छित प्रतिनिधिले घरभित्र प्रवेश पाउँदैन। कैलालीका भारतको कल्याणपुरबाट गौरीफन्टा हुँदै जुलुस निकालेर नेपाल पसेकाको हकमा तेस्रो घेरा परिवार र चौथो घेरा घरमुलीले नै क्वारेन्टाइन पुर्‍याएका छन्। युवक भन्छन्, ‘आमाले मलाई पानी खान दिनु भयो र नुहाउन भन्नुभयो। त्यसपछि मैले नुहाएँ र आमाले भने बमोजिम म क्वारेन्टाइनमा गएँ।’

यसरी समुदायका विभिन्न घेराहरूका सक्रियताका कारणले निगरानी र संक्रमित पहिचान भएका कैयन उदाहरणहरू छन्।

रोकथाममा समुदायका वर्गहरू 

समुदायभित्र विभिन्न सामाजिक हैसियतमा जिन्दगी गुजारिरहेका वर्गहरू हुन्छन्। प्रकोपहरूको प्रहार समान हुन्छ । तर, त्यसको सामूहिक मुकाबिला गर्न अग्रपङ्तिमा रहनुपर्ने कमजोर हैसियतका हुन्छन्।

कोमल भट्टराई

सीमाबाट भाइरस वाहक रोक्न गन (बन्दुक) बोक्ने सिपाही मात्र होइन, अस्पताल वा कार्यालयहरूमा थर्मल गन (तापक्रम नाप्ने उपकरण) बोक्नेहरू कमजोर सामाजिक आधार भएका प्रतिनिधिहरू हुने गर्छन्। यिनीहरूको जाँचपछि सीमाभित्र प्रवेश पाएकाहरूलाई पनि राज्यले सामाजिक हैसियतका आधारमा व्यवहार गर्दछ र विश्वाससमेत गर्दछ।

यसै महामारीको रोकथाममा अन्तर्राष्ट्रिय हवाइ मार्गबाट भित्रिएका यात्रुहरूलाई सरकारले सत्कारका साथ स्व-क्वारेन्टाइनको सिफारिस गर्‍यो। थलमार्ग हुँदै भारतबाट भित्रिएका श्रमिकहरूलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गर्‍यो।

अझ सरकारले चीनबाट फर्काइएका विद्यार्थीहरूलाई भक्तपुरमा सुविधायुक्त क्वारेन्टाइनमा राख्यो र भारतबाट भित्रिएका मजदुरहरू राखिने क्वारेन्टाइन गृहस्थलहरूका सुविधाहरू समेतमा विभेद भएको देखियो। यतिसम्म कि शौचालयको समेतको पर्याप्त व्यवस्था नहुँदा बाँकेमा आश्रयमा रहेका व्यक्तिहरू पर्खाल तोडेर निस्किन बाध्य हुनु पर्‍यो।

क्वारेन्टाइन छल्ने र छल्न नदिने समुदाय

सुदूरपश्चिममा एकाध क्वारेन्टाइन छल्न खोज्ने केही व्यक्तिहरू खासगरी एक आमा र छोराको भागेको बारेमा केही मिडियाले उछाले । तर, खास जनताले क्वारेन्टाइनका शर्तहरू पालना गरे। आमाले छोरालाई क्वारेन्टाइनमा जान लगाएको घटना, वीरगञ्ज सीमा छेउकी चिया पसले महिलालाई कैलाली प्रतापपुर क्वारेन्टाइन बसाएको घटना, भारतबाट फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षलाई स्थानीयहरूको दबाबपछि गत चैतमा क्वारेन्टाइनमा राखिएका लगायतका अन्य विभिन्न घटनाहरू समुदायको महामारी रोक्न गरिएको निगरानीको उल्लेखनीय उदाहरण हुन्।

सहरी समुदाय आफ्नो घरपरिवारको बचावटका लागि सक्रिय रह्यो र लकडाउनलाई शिरोधार्य गर्‍यो। यसले क्वारेन्टाइनको ब्यारेकमा बस्न नपर्ने सुविधा पनि पाएको थियो। तर, यहाँ केही घटनाहरू प्रकाशमा आए कि जसले सहरी समुदायको रोकथाममा प्रश्न उब्जन गयो। एकातिर पुष्टि भएकी दोस्रो संक्रमित स्व-क्वारेन्टाइन एक सकारात्मक उदाहरणका रुपमा प्रसिद्ध नै भइन्। तर, सनसिटी र धुम्बाराहीका मामलाहरू नकारात्मक उदाहरण बन्न पुगे। सहरभित्र अनेकन यस्ता उदाहरण छन् – जो स्व-क्वारेन्टाइनमा नबसी जथाभावी डुलिरहेका छन्।

कताकता सहरी समुदाय ‘It’s not my business’ (यो मेरो खेतीपाती होइन) भन्दै निगरानी गर्नबाट पन्छिएजस्तो  देखिएको छ। अरु टाढा जानै पर्दैन, सनसिटीमा रहने एकै भवनमा बस्ने महानुभावहरूले निगरानीका लागि देशका अन्य समुदायमा भइरहेका अभ्यासलाई पनि अनुकरण गर्ने साहस गरेनन् । सहर जहिले पनि आत्म-केन्द्रित हुने गर्छ।

आइसोलेसनमा वर्गहरू

कोरोना-२ को महामारी विश्वका लागि अनपेक्षित थियो भने नेपालका लागि नहुने कुरा नै थिएन। तर, केही कुराहरू छन्, यसबारे यहाँ चर्चा गरिनुपर्छ। सरकारले कोभिड-१९ को प्रकोप केन्द्र सुदूरपश्चिमाञ्चल क्षेत्र हुनेछ भन्ने आकलन गरेको थियो। गजबको कुरा यसले अछाम, बझाङ कैलाली आदिमा हुने सोचेको कुरा केही स्वा.म.का विज्ञहरूले छ्यास्स कतै भनेका छन् (समाचार स्रोत भुलिएको छ)। त्यस्तो हुनुमा सिंहदरवार वरपरका कथित बौद्धिक तथा शासकहरूमा सुदूरपश्चिम र सुदूरपश्चिमीलाई हेर्ने तथा बुझ्ने दृष्टिभ्रम छ।

सिंहदरबारले सुदूरपश्चिमलाई कसरी हेर्छ भन्ने कुरा बुझ्न जुम्लाका माननीय गजेन्द्रबहादुर महतको रोदन नै काफी छ। यसपटक कोरोना-२ का वाहक त्यस क्षेत्रबाट नै छिर्छ भन्ने भ्रम थियो । तर, त्यस करिडोरमा हालसम्म २ संक्रमितहरूमात्र छिरेका छन्। वीरगञ्ज, साउदी र त्यसले गरेको स्थानीय संक्रमणका कारणले मात्र ५ पुग्न गएको हो।

यो पनि पढ्नुहोस भुल्केमा नयाँ ट्वीस्ट : विदेशबाट आएका युवकमा पनि भेटियो कोरोना संक्रमण

भारतको जोखिमपूर्ण तथा मुख्य केन्द्रबाट फर्कने श्रमिकहरूको भेल त्यहीँबाट छिर्ने भएकाले सतर्क हुनुपर्थ्यो। तर, भारत र नेपालको लकडाउन भएका बेलासम्ममा मेरो अध्ययनले भारतको सीमाबाट संक्रमितहरू भित्रँदैनन् भन्ने अकाट्य निष्कर्ष निकालेको थियो (३ अप्रिल २०२०, नेपाल रिडर्स)। यो निष्कर्ष त्यसबेलासम्मको लागि मात्र होइन, अहिलेका लागि पनि अकाट्य नै रहेको छ। सुदूरपश्चिमाञ्चलबाट छिरेका दुई संक्रमित र दिल्लीबाट छिरेका फिरन्ते मुस्लिम धर्मान्धहरूबाट आयातित र अनपेक्षित मामलाहरूका कारण मेरो निष्कर्ष खण्डित हुन सक्दैन।

सरकारले सुदूरपश्चिमलाई लक्षित गर्नुका कारण जमिनी-यथार्थभन्दा एचआइभी प्रकोपको उहिलेका कुरालाई सम्झियो होला। त्यसले एचआइभी प्रसारण र सार्स कोरोना भाइरस-२ को प्रसारण हुने सामाजिक वातावरणलाई हेक्का नै राखेन। यस्तो भ्रम सामाजिक वातावरणलाई नहेरी जीवाणु र मान्छेमात्र हेर्ने स्कुलिङका विज्ञहरूलाई हुनेगर्छ। तर, उदेक छ कि तिनीहरू भारतको सिको गर्दै राता, पहेँला क्षेत्रका कुराहरू गर्दैछ। नेपालमा मुम्बईमा जस्तो “रेड एरिया” छैन, त्यसकारण यहाँ अभ्यास नगरे हुन्छ।

जे जसरी होस्, यसले सुदूरपश्चिमाञ्चल क्षेत्र (प्रदेश होइन) लाई महामारीको मुख्य केन्द्रका रुपमा हेरेर बुझेर महत्व दियो र दिइरहेको छ। तर, तयारी त्यहाँ कुनै थिएन। यस कुरालाई सेती अस्पतालमा रहेका चौथा संक्रमितले  ‘म शवगृह नजिकैको कोठामा छु, अहिलेसम्म कसैले पानी पनि दिएको छैन’ भन्ने कुराले बुझाउँछ । आइसोलेसनको कुरामात्र होइन, सुदुरपश्चिममा कोभिड-१९ लाई अत्यावश्यक पर्ने भेन्टिलेटरसमेत व्यवस्था गरिएको थिएन। आइसीयूका ५ वेडहरू र अरू बिरामीका लागि जम्मा एउटा भेन्टिलेटरमात्र हुनुले राज्यले सुदूरपश्चिमलाई कसरी हेरेको रहेछ भन्ने बारेमा बढी व्याख्या गरिरहनु नपर्ला।

अब काठमाडौंमा हेरौँ ।

टेकु अस्पताल काठमाडौंका लागि हैजा अस्पताल नै हो। यस अस्पतालमा अन्य कोभिड-१९ का मामलाहरू रहेका र त्यसैमा समर्पित अस्पताललाई छाडेर सनसिटीका संक्रमितहरू लगिनु संयोगभन्दा पाटन अस्पतालको सुविधाका कारण हुन सक्छ। यदि यस्तो नभएमा पनि त्यस अस्पताललाई जोखिमयुक्त बनाउनु महाभूल हो।

यी केही उदाहरणहरूले आइसोलेसनमा वर्ग तथा क्षेत्रहरू कसरी विभेद हुन्छन् भनेर  सामाजिक विज्ञानका विद्यार्थीका लागि झल्याँस्स बनाउन सक्छ।

समुदायमा प्रकोपको असर 

कोभिड-१९ को प्रकोपको रोकथामका हरेक क्रियाकलापहरूले पिछडिएका र किनाराकृत वर्ग/ समूहमा बढी असर र भार तथा प्रभाव पर्नेबारे अन्य विद्वतहरूले अनगिन्ती चर्चाहरू गरिसक्नुभएको छ। यसर्थ, यहाँ छलफल गर्नु दिक्कलाग्दो हुन्छ।

अन्तमा, यस प्रकोपलाई महामारी हुन नदिन समुदायको भूमिका हालसम्म उदाहरणीय छ। त्यसमाथि समाजको पिँधमा रहेका वर्ग तथा समूह र केन्द्रको परिधिबाहिरका क्षेत्रहरूले गरेका प्रयत्नहरू स्तुतियोग्य छन् र भोगेका सकसहरू संवेदनशील छन्। अब ती सकसहरूबाट मुक्त गर्न सरकारले वैशाखपछि अन्तर्राष्ट्रिय सीमा व्यवस्थापन गरी देशव्यापी लकडाउन खुकुलो पार्ने अवस्था बनेको छ।

उदयपुर र जमाती स्थलहरूमा निगरानी त गर्न नै पर्छ। जनताले समुदायका सदस्यहरू रहेर प्रकोप रोकथाम गरे अब धेरै सकस बेहोर्न लगाइनुहुँदैन। हेरौँ समुदायको प्रकोप रोकथामको प्रयासलाई इतिहासले कसरी मूल्य तिर्नेछ। फूलमाला नायकले पहिरिनेछन् कि खलनायकहरूले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment