+
+

लकडाउनपछि नेपाल एयरलाइन्सका पाइलटको तलब दोस्रो पटक कटौती

तलब कटौतीको निर्णय तीन महिनासम्मलाई

अच्युत पुरी अच्युत पुरी
२०७७ वैशाख १० गते १५:३१

१० वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सले दोस्रो पटक स्वदेशी तथा विदेशी पाइलटले पाउँदै आएको तलब कटौती गरेको छ । एयरलाइन्सले विदेशी पाइलटको ५० प्रतिशत र करारमा नियुक्त नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको हो ।

लकडाउन सुरु भएलगत्तै नेपाल एयरलाइन्सले करारमा नियुक्त विदेशी पाइलटलाई दुई साता र नेपाली पाइलटलाई १० दिन बेतलबी बिदा दिएको थियो । नेपाल एयरलाइन्सले करारमा कार्यरत एक सय ६६ जना एयर होस्टेजलाई समेत १० दिन बेतलबी बिदा दिएको थियो ।

तर, लकडाउन र अन्तराष्ट्रिय उडान-अवतरण तत्काल खुल्ने सम्भावना कम भएसँगै कम्पनीले तलब कटौतीको दोस्रो निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध अगाडि नै विदेशमा गएर उतै अड्किएका पाइलटको ६६ प्रतिशत तलब कटौती भएको छ

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार यस पटक आइतबार तलब कटौती सम्बन्धी नयाँ निर्णय भएको छ । जसअनुसार विदेशी पाइलटको हकमा ५० प्रतिशत तलब कटौती भएको छ । ‘लकडाउन तत्काल नखुल्ने भएपछि हामीले बढी तलब बुझ्ने कर्मचारीको तलबलाई तत्काल कतौती गर्ने निर्णय गरेका हौँ,’ उनले भनिन् ।

नेपाल एयरलाइन्समा कुल १५ जना विदेशी पाइलट छन् । जसमध्ये दुई जना एयरबस ३२० न्यारोबडी उडाउने पाइलट हुन् । १३ जनाले भने वाइडबडी ए ३३० जहाज उडाउँछन् ।

नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती

करारमा नियुक्त नेपाली पाइलटको भने तलब ३३ प्रतिशत कटौती हुने भएको छ । नेपाल एयरलाइन्सले आधारभूत तलबमा कटौती गर्नेछ । जसअनुसार आधारभूत तलब मासिक १० हजार डलरभन्दा माथि पुग्ने विदेशी पाइलटको तलब ५० प्रतिशत र १० हजार डलरभन्दा कम तलब बुझ्ने पाइलटको तलब ४० प्रतिशत घट्ने भएको छ ।

नेपाली पाइलटको भने सबैको समान ३३ प्रतिशत तलब कटौतीको निर्णय नेपाल एयरलाइन्सले गरेको हो । अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध अगाडि नै विदेशमा गएर उतै अड्किएका पाइलटको हकमा भने ६६ प्रतिशत तलब कटौती भएको छ । उनीहरूले एक तिहाइ मात्र तलब बुझ्ने छन् । एयर होस्टेसको हकमा समेत सोही नियम लागु हुने नेपाल एयरलाइन्स स्रोतले जानकारी दिएको छ ।

तलब कटौतीको निर्णय तीन महिनासम्मलाई

आइतबार निर्णय भएको तलब कटौतीको निर्णय तीन महिनाका लागि हो । त्यतिन्जेल अवस्था सामान्य हुने अपेक्षा छ । त्यसपछि अवस्था हेरेर अर्को निर्णय हुने बताइएको छ । तर, लकडाउन तथा उडान प्रतिबन्ध खुल्नासाथ एकै पटक ठूलो संख्यामा यात्रुको चाप बढ्ने भन्दै आफ्ना सबै क्याबिन क्रुलाई सेवामा तयार रहन समेत नेपाल एयरलाइन्सले आग्रह गरेको छ । किनकी अहिले लाखौं नेपाली खाडी क्षेत्रबाट घर आउने पर्खाइमा छन् ।

उडान प्रतिबन्ध कहिलेसम्म लम्बिन्छ वा कहिले खुल्छ भन्ने सुनिश्चित नभएका कारण नेपाल एयरलाइन्स तत्काल कर्मचारी कटौतीको पक्षमा भने छैन । ‘आज हामीले कसैलाई सेवाबाट निकाल्यौ र अर्को सातामै लकडाउन खुल्यो भने सेवा हाम्रै रोकिने हो,’ निगमका एक अधिकारीले भने, ‘त्यसकारण खर्च जोगाउने उपायस्वरुप तलब कटौती गरेका हौँ ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?