Comments Add Comment

कोरियामा देशव्यापी लडकडाउनविनै हार्‍यो कोरोना

नेपालले पनि दक्षिण कोरियाबाट केही सिक्ने कि ?

११ वैशाख, दक्षिण कोरिया । चीनमा जस्तै कोरोना भाइरसको संक्रमण फैलन थालेपछि दक्षिण कोरियामा काम गर्ने नेपालीहरू आत्तिएका थिए । तर, कोरियाले जादुमय तरिकाले कोरोना युद्ध जितेको छ । यहाँ काम गरिरहेका नेपालीहरूको चिन्ता पनि विस्तारै हराएको छ ।

कोरिया विभाजनपछि द्रुत गतिमा आर्थिक र भौतिक विकास गर्न सफल दक्षिण कोरिया कोरोना नियन्त्रण गर्न पनि छिटै नै सफल भयो। हरेक काम गर्दा सधैँ ‘पाल्लि-पाल्लि’ अर्थात नेपालीमा ‘छिटो- छिटो’ काम गर्ने उक्तिलाई यो विषम परिस्थितिमा पनि दक्षिण कोरियाले प्रमाणित गरेको देखिन्छ।

विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस आफ्नो मुलुकमा फैलिन नदिन सरकारले अनेकन प्रयाश गर्यो र अन्तत: सफल पनि भयो।

दक्षिण कोरियामा जनवरी २० मा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) देखा पर्यो। शुरुको दुईसाता नगन्य संख्यामा देखिएको भाइरस केही समयपछि भने दोहोरो संख्यामा देखिन थाल्यो।

उता, चीनमा संक्रमितको संख्या बढ्दै गएपछि कोरिया सरकारले चीनको संक्रमित क्षेत्रमा रहेका ३६८ जना आफ्ना नागरिकलाई जनवरीको अन्तिम साता स्वदेश फिर्ता ल्याई विशेष निगरानीमा राख्यो।

कोरियामा भाइरस देखा परेको करिव एक महिनाभित्र तीन सयभन्दा बढीमा यसको संक्रमण देखियो। फेव्रुअरीको अन्तिम सातातिर एक जना थेगु शहर कि महिलामा कोरोना पोजेटिभ देखिएपछि भने संक्रमितको संख्या वृद्दि हुँदै गयो।

ती महिला थेगु शहरस्थित शिन्छेङ्गी चर्चमा प्राथर्नाका लागि ३ पटकसम्म पुगेकी थिइन्। ९ हजार ३३४ जना सदस्य रहेको चर्चमा उनी लगायत संक्रमित व्यक्तिहरुको पटक-पटकको संलग्नताले पछिल्लो समय भने कोरियामा कोरोना तिब्र गतिमा फैलियो र सिङ्गो देश जोखिममा पर्‍यो ।

फेव्रुअरी २९ मा एकै दिन सबैभन्दा बढी ९०९ जनामा नयाँ संक्रमण देखा पर्यो। यसरी धेरै संक्रमित हुनेहरुमा ८० प्रतिशत मानिस कोरोनाको केन्द्रविन्दु मानिएको थेगु शहरका बासिन्दाहरु थिए।

त्यहाँको चर्चले आफ्ना सदस्यहरुको सही तथ्यांक नदिँदा सम्भावित संक्रमित पत्ता लगाउन सरकारलाई चुनौती नै बनेको थियो। त्यसपछि, सरकारले प्रहरीको सहयोगमा सम्भावित संक्रमितहरुको खोजी-खोजी पहिचान गर्यो र निगरानीमा राख्यो।
थेगु शहरमा संक्रमितको संख्या बृद्दि भएपश्चात अस्पतालमा बेडको अभाव भयो । तर, बिरामीको घर- घरमा पुगेर

स्वास्थ्यकर्मीले उपचार गर्न थाले। यसवीचमा तीन दिनभित्र सेनाले नयाँ अस्पताल तयार गरेपछि भने उपचारमा केही सहज भयो।

सरकारले कोरियाको राजधानी सउलबाट केही अस्पताल बन्द नै गरेर स्वास्थ्यकर्मीहरू थेगुमा खटायो।

अन्तत: उच्चतम प्रविधि तथा स्वास्थ्यकर्मीको अथक प्रयासमा मृत्यु हुनेको संख्यामा कमी मात्र आएन, उपचारपछि स्वास्थ्यलाभ लिनेको संख्यामा पनि वृद्धि हुँदै गयो।

तत्कालीन समयमा धेरै संक्रमित हुने देशमा चीनपछि कोरिया दोश्रो स्थानमा पुगेको थियो। यो आँकडाले दक्षिण कोरियामा व्यापक माहामारी फैलिन सक्ने आशंका गरिएको थियो । तर, एक साताभित्रै नयाँ संक्रमितको दैनिक संख्या आधामा झर्यो र विस्तारै झनै घट्दै गयो।

त्यसपछि, सरकारले शिन्छेङ्गी चर्च र संक्रमित थेगु शहर केही समयका लागि लकडाउन गर्यो। भाइरस फैलिरहेको समयमा पनि विना मास्क चर्चमा भेला गराएको तथा संक्रमितहरुलाई पनि प्रभुले निको बनाइदिने भन्दै अन्धविश्वास फैलाएको आरोपमा उक्त चर्चका प्रमुख तथा पास्टरहरुलाई सरकारले कार्वाही पनि गर्‍यो ।

यता, बजारमा मास्कको अभाव देखिएकाले सरकारले मास्क कम्पनीहरुलाई उत्पादनमा वृद्धि गर्न आग्रह गर्यो। बजारमा मास्क अभाव हुन नदिन हप्ताको २ वटा मास्क (आफ्नो जन्म वर्षको अन्तिम अंक अनुसार) नजिकको औषधी पसल, हुलाक कार्यालय, र मार्ट लगायतका ठाउँहरुवाट प्रभावकारी ढंगले वितरण गर्ने नीति अख्तियार गर्‍यो ।

त्यस्तै, मुख्य कुरा विश्वभर कोरोना टेष्टिङ किटको अभाव भैरहँदा पनि कोरियामा भने त्यो अभाव देखिएन । बरु सरकारले किट उत्पादनमा वृद्दि गर्यो । प्रतिदिन १ लाख माथि किट उत्पादन गर्‍यो ।

आखिर, छोटो समयमै कोरोना भाइरस नियन्त्रण गर्न कोरिया कसरी सफल भयो त ? यस्ता छन्, मुख्य कारण –

पूर्व सावधानी र व्यापक परीक्षण –

डिसेम्बरको अन्त्यतिर चीनमा पहिलोपटक यो भाइरस देखा पर्दा नै दक्षिण कोरिया कोरोना टेष्ट गर्ने किटको अनुसन्धानमा लागिसकेको थियो । त्यसपछि, कोरियाले आफ्नो देशमा रहेका ४ वटा कम्पनीहरुसँग सम्झौता गरी उपकरणको विकास गर्ने प्रयास सुरु गर्‍यो ।

जब कोरियामा कोरोना देखा पर्यो, त्यसपछि कोरियाले संक्रमण पुष्टि भैसकेका व्यक्तिसँग सम्पर्कमा आएका सबैको व्यापक खोजी गर्दै उपचार प्रक्रिया सुरु गर्‍यो ।

त्यस्तै, भाइरस परीक्षणका लागि कोरियाले सडकमै क्लिनिक चलायो । १० मिनेटमै नमुना संकलन गरी २४ घण्टाभित्रै नतिजा दिने गरी व्यापक परीक्षण सुरु गर्‍यो ।

जतिबेला कोरियामा कोरोना देखियो, त्यतिबेला कोरिया दैनिक १० हजार जनामा परीक्षण गर्न सफल भइसकेको थियो । कोरियासँग हप्तामा १ लाख ४० हजारसम्मको परीक्षण गर्न सक्ने सामर्थ्य थियो।

विश्वस्तरीय उपचार पद्दति

कोरियामा जो कोहीलाई कोरोनाको लक्षण शंका भएमा १३३९ नम्वरमा फोन गरेर आफ्नो परिचय खुल्ने विवरण दिनुपर्ने हुन्छ। त्यसपछि, आफू रहेको जिल्लाको स्वास्थ्य केन्द्रबाट नजिकको अस्पतालमा जान निर्देशन आउँछ।

बिरामी सामान्य अवस्थामा भए कुनै पनि सार्वजनिक साधन प्रयोग नगरी अस्पताल आउन/जान आग्रह गरिन्छ भने जटिल अवस्थामा सोही अस्पतालले एम्वुलेन्सको व्यवस्था गरेको हुन्छ।

पर्सनल प्रोटेक्टिभ ड्रेसमा रहेका डाक्टर/नर्सहरु तथा स्वास्थ्यकर्मीहरुले बिरामीको २ हप्तादेखिको विवरणबारे थप अनुसन्धान गर्छन्। बिरामीलाई सम्पूर्ण सुविधासहित सानो आइसोलेसन कोठामा राखिन्छ र आवश्यक उपकरणहरु त्यही कोठामा लगि चेक-जाँच गरिन्छ (यसो गर्दा संक्रमण फैलिन पाएन) ।

यदि रिपोर्ट पोजेटिभ देखिएमा आफूसँग सम्वन्धित सबैलाई तुरुन्त खबर गरी जाँच गरिन्छ भने रिपोर्ट नेगेटिभ आएमा पनि औषधी सेवन गर्दै केही दिन सेल्फ आइसोलेसनमा बस्न सुझाव दिइन्छ। कोरियामा अहिले कोरोना लागे नलागेको किटमार्फत तीन घन्टामा नै थाहा हुन्छ।

विमानस्थलमा कडा चेकजाँच

कोरोना नियन्त्रणका लागि कोरियाले न यातायातमा प्रतिवन्ध लगायो न देश नै कठोर लकडाउन गर्यो । तर, विमानस्थलमा उत्रिने हरेक यात्रुको कडाइका साथ स्वास्थ्य परीक्षण गर्यो र शंका लागेमा तुरुन्त अस्पताल पठायो।

अन्य देशबाट आउने प्रत्येक यात्रुलाई अनिवार्य रुपमा १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलायो। सरकारको नियम उल्लंघन गर्ने जो कोही विदेशी यात्रुलाई विमानस्थलबाटै स्वदेश फिर्ता गर्ने तथा स्वदेशीलाई हदैसम्मको कार्वाही गरिने नियम पनि बनायो।

ट्रेसव्याक सिस्टम

सरकारले भाइरस फैलना साथ ब्यक्तिको लोकेसन र वास्तविक समय पत्ता लगाउने मोबाइल एप निर्माण गर्यो, जसवाट संक्रमित व्यक्त्ति कुन समयमा कता हिँड्डुल गर्यो र कसको सम्पर्कमा आयो भन्ने जानकारी सजिलै लिन सकियो। मानिसहरु बढी जमघट हुने सार्वजनिक स्थल, ट्रेन स्टेशन तथा लामोदुरीका बस स्टेशनहरुमा सरकारले थर्मल क्यामेरा जडान गर्‍यो ।

अझ, विमानस्थलमा उत्रिने हरेक यात्रुले अनिबार्य रुपमा कोरोना सम्वन्धी एप डाउनलोड गर्नै पर्नै नियम बनायो । व्यक्तिले आफू सेल्फ क्वारेन्टाइनमा बस्ने स्थानको विवरण विमानस्थलमै बुझाउनुपर्छ ।

विमानस्थलबाट बाहिरिए पश्चात उ कहाँ छ, के गर्दैछ हरेक गतिविधि मोबाइल एपमार्फत ट्रयाक हुँदै जान्छ । यदि उसले पालना गर्नुपर्ने १४ दिने क्वारेन्टाइनको नियम भन्दा फरक गतिविधि गरेको पाइएमा बढीमा १० देखि १५ मिनेट भित्रै उ पक्राउ पर्दछl उक्त १४ दिनको अवधिमा उसले तोकिएको नियम भन्दा अलिकति पनि फरक गतिबिधि गर्न पाउँदैन ।

यसरी, क्वारेन्टइनमा राखिएकाहरुको निगरानी देखि संक्रमित व्यक्ति नजिकै भए सूचना दिने एप्सको विकास गरी प्रयोग गर्नु दक्षिण कोरियाको अर्को सफलता हो।

नि:शुल्क चेक-जाँचको सुविधा

सरकारले कोरोना बिरामीका लागि नि:शुल्क चेक-जाँचको सुविधा मिलाएको छ। कोरोनाको शंका मात्र लागेर चेक गर्न जाँदा उपचारमा केही सहुलियत छ भने कोरोना लागेको पुष्टि भएमा उसको सम्पूर्ण खर्च सरकारले व्योहोर्छ।

यदि, बिरामी मध्यमखालको भए उसलाई केही दिन सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिन्छ र घरमै सेल्फ आइसोलेसनमा बस्दाको समय पनि स्वास्थ्यकर्मीहरूले बिरामीको स्वास्थ्यबारे जानकारी लिइरहेका हुन्छन्। सेल्फ आइसोलेसनमा बस्दा यदि बिरामी घरमा एक्लो अवस्थामा भए सरकारले नै घरमै खाना-खाजाको व्यवस्था गरिदिने गरेको छ।

नागरिकको समर्थन

संक्रमणताका सरकारद्वारा सामाजिक दुरी कायम गर्न भनियो । त्यो कसैले अवज्ञा गरेनन्। थेगु शहरमा केही समय गरिएको लकडाउन मानिसहरुले पूर्णरुपमा पालना गरे ।

कोरोनाको प्रभाव केही कृषि तथा निर्माण कम्पनीहरुमा पनि पर्यो। कम्पनीहरुमा काम गर्दा श्रमिकहरुले सावधानी अपनाए, अपनाउन भनियो। प्रतिदिन संक्रमितको संख्यामा वृद्दि हुँदै गइरहेको अवस्थामा भने संक्रमित क्षेत्रमा २ हप्ताका लागि सरकारी कार्यालय, स्कूल, विश्वविद्दयालय बन्द गरियो । तर, प्राइभेट कम्पनी तथा धेरैजसो संघ-संस्था भने सुचारु नै भए। अत्यावश्यक काम बाहेक मानिसहरु घरबाहिर निस्किएनन्। काममा जानै पर्नेहरु भने सुरक्षित भएर मात्र निस्किए।

सरकारले भाइरस नियन्त्रणमा कमी नल्याउन आफ्नो देशमा अवैधानिक बसोवास गरिरहेका विदेशी नागरिकलाई पनि संक्रमण अवधि भर कुनै धरकपड (पक्राउ) नगरिने र यदि कसैलाई संक्रमण देखिए अस्पतालमा पनि कुनै सोधपुछ नगर्न आदेश दिएको थियो।

दक्षिण कोरियामा, अहिलेसम्म १० हजार भन्दा बढीमा संक्रमण भेटिएको छ। त्यस्तै, यो आलेख तयार पार्दा सम्म २३९ जनाले ज्यान गुमाएका छन् भने ८२७७ जनाले स्वास्थ्य-लाभ लिएका छन्।

अझ भन्नु पर्दा, कोरियामा कोरोना देखिएको तीन महिनामै नयाँ संक्रमित एकल संख्यामा झरेको छ। गत हप्ता मात्र कोरियाले कोरोनाकै वीचमा पनि आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुलाई कोरियाको अर्को सफलता मान्न सकिन्छ।

यसरी पूर्णरुपमा देश लकडाउन नै नगरी छोटो समयमा भाइरस नियन्त्रण गर्न दक्षिण कोरिया सफल मात्र होइन, यतिबेला विश्वभर उदाहरणीय बनेको छ।

नेपालले पनि कोरियाबाट केही सिक्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment