+
+
Shares

कलाकारहरु भन्छन्ः सहयोग वाध्यात्मक होइन, स्वेच्छिक कुरा हो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १५:३०

कोरोनाबाट सुरक्षित रहनको लागि नेपाल पूर्ण रुपमा लकडाउन छ । विगत १ महिनादेखिको लकडाउनले गर्दा दैनिक काम गरेर गुजारा चलाउने मजदुरहरु समस्यामा परेका छन् । चलचित्रमा काम गरेर पेट पाल्नेहरुको पनि यही अवस्था छ ।

कतिपय चलचित्रकर्मीहरुले चलचित्र प्राविधिक तथा समस्यामा परेका मजदुरहरुलाई सहयोग पनि गरिरहेका छन् । कतिपय कलाकार भने यस मामिलामा मौन छन् । सहयोग नगर्ने कलाकारहरुलाई दर्शक तथा शुभचिन्तकहरुले प्रश्न उठाइरहेका छन् ।

अभिनेता दयाहाङ राई बलिउडका कालाकारले गरेको सहयोग हेरेर नेपाली कलाकारलाई प्रश्न गर्नु गलत भएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो अवस्था बलिउडका कलाकारको जस्तो होइन । हामी त्यो लेभलको बलियो पनि भएका छैनौँ । त्यसैले उताको हेरेर हामीलाई प्रश्न गर्नु गलत हो जस्तो लाग्छ ।’

अवस्था सामान्य हुन कति समय लाग्ने टुंगो नभएका भन्दै दयाहाङले अहिले नै अरुलाई सहयोग गरिहाल्न सक्ने आफ्नो अवस्था पनि नरहेको बताए ।

उनले भने, ‘हामी काम गरेर पेट पाल्नेमै पर्छौ । यो अवस्था कहिले अन्त्य हुन्छ भन्ने पत्तो छैन । त्यसैले सहयोग गर्न अगाडि सरिहाल्ने अवस्था छैन ।’

नायिका स्वस्तिमा खड्का सहयोग गरे पनि सबैलाई देखाउन जरुरी नभएको बताउँछिन् । उनले भनिन्, ‘मैले पनि केही हदसम्म सहयोग गरिरहेको नै छु । तर, प्रचार गरेको छैन । सहयोग गरेँ भनेर देखाउन जरुरी पनि छैन ।’

स्वस्तिमा पनि दवावमा परेर सहयोग गर्नु गलत भएको बताउँछिन् ।

‘अरुको देखासेखीमा काम गर्नु गलत हो’, स्वस्तिमाले थपिन्, ‘अझ कसैले यसले सहयोग किन गरेन भन्दै प्रश्न गर्नु झनै गलत हो जस्तो लाग्छ ।’

अभिनेत्री तथा होस्ट रिमा विश्वकर्मा पनि स्वस्तिमाको कुरामा सहमत जनाउँछिन् । उनले भनिन्, ‘हो, सहयोग भनेको मनबाट गर्ने हो । त्यो दवावमा गर्ने होइन । अनि मनबाट गरेको सहयोग अरुलाई देखाउन जरुरी पनि हुन्न ।’

नायिका केकी अधिकारी आफूले सक्ने सहयोग गरिरहेको बताउँछिन् । उनले भनिन्, ‘हाम्रो छिमेकमा पनि विदेशबाट आउनुभएको व्यक्तिहरु क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँहरुलाई हामीले एक हिसाबको सहयोग गरिरहेका छौँ ।’

केकी कसले कति सहयोग गर्यो भनेर मुल्याङ्कन गर्नु गलत भएको बताउँछिन् । उनले भनिन्, ‘यहाँ त सहयोग पनि प्रतिस्पर्धामा गरिन्छ । आपतको समयमा गरेको सहयोग सानो–ठुलो भन्ने हुदैँन ।’

अभिनेता नाजिर हुसेन आफ्नो अवस्था हेरेर मात्र सहयोग गर्न सकिने बताउँछन् । उनले भने, ‘सहयोग गर्नु भन्दा पहिला आफ्नो अवस्था हेर्नुपर्छ । आफूसँग भएको धनराशीले आफू कति समय बाँच्न सक्छु र त्यसबाट बचेको कति सहयोग गर्न सक्छु भन्ने बुझेर मात्र सहयोग गर्नु पर्छ । नत्र आफैँलाई समस्या हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?