Comments Add Comment

मतदातालाई कसरी भुल्न सकिन्छ र !

११ वैशाख, काठमाडौं । झमक्कै साँझ परेको छ । चोकको लागेको मान्छेको भिडले दशैंको बेलाको बसपार्कको झल्को दिइरहेको छ । कसैले नानीबाबु च्यापेका छन्, कोही ज्येष्ठ नागरिकलाई साहारा दिँदै हिँडेका छन् । झोला, पोका, सा–साना सुटकेश नबोक्ने कोही छैनन् । सबै गाडीको पर्खाइमा छन् ।

बुधबार साँझ जडिबुटीमा क्षेत्रमा जम्मा भएकाहरु ‘गाडी आउँछ कि आउँदैन ? जान पाइन्छ कि पाइन्न ? भनेर चिन्तित छन् । केही भने ढुक्क थिए । एउटा समूहलाई एक युवक आश्वस्त पारिरहेका थिए, ‘हिँजो सातवटा गाडी हाम्रोतिर गयो । मैले गाडीवालासँग कुरा गर्दा आज पनि आउँछ भनेको छ ।’

तर चिन्तितको संख्या ठूलो छ । मनोहरा पुलमा झोला बोकेर उभिरहेका ती युवकको गन्तव्य तेह्रथुमको फिदिम रहेछ । इटहरीसम्म पुर्याउने गाडी पाए त्यहाँबाट उता जे पर्ला–पर्ला भन्ने आँट उनीहरुले गरेका रहेछन् ।

गाडी नपाए के गर्नुहुन्छ भन्ने प्रश्नमा उनीहरुमध्ये एक युवकले भने, ‘यहीँ सुत्ने हो, अरु उपाय छैन ।’

त्यतिकैमा ठूलो आवाज गुन्जियो, ‘माकादुम, माकादुम, माकादुम, ….ए माकादुम…।’

आवाज आएतिर हेर्दा प्लेकार्ड बोकेका एक व्यक्ति देखिए । प्लेकार्डमा पनि ‘माकादुम’ नै लेखिएको रहेछ । उनले छेवैको समूहलाई सोधे, ‘तपाईहरु कहाँ जाने हो ?’

‘दोलखा । गाडी पाइएला ?’

उनी जवाफ नदिई ‘माकादुम, माकादुम’ भन्दै, कराउँदै अघि बढे । उनले परिचयपत्र पनि भिरेका थिए । उनले फर्मल ड्रेस (कोट–प्यान्ट) माथि सरकारी कार्ड भिरेका थिए ।

उनको अनौठो शैली देखेपछि हामीले परिचय माग्यौं । उनी रामेछापको खाँडादेवी गाउँपालिका– ६ का वडाध्यक्ष पुष्कर कार्की रहेछन् । ‘माकादुम’ चाहिँ ठाउँको नाम रहेछ । ‘हामी माकादुमका मानिस लिन आएको हौं भिडमा हाम्रा मान्छे खोजिरहेका छौं’, उनले भने, ‘काठमाडौंमा अलपत्र परेका आफ्ना मतदातालाई निःशुल्क घर पुर्‍याउन तीनवटा गाडी लिएर आएका छौं ।’

काटेश्वर चोकदेखि लोकन्थलीसम्मै गाउँ फर्कनेहरुको भिड छ । र, कार्की त्यही भिडमा गाउँले खोज्दै थिए ।

०००

पहिलो पटक ११ चैतदेखि एक साताका लागि लकडाउन घोषणा हुँदा खास गरेर मजदुरहरु धमाधम हिँडेर गाउँ फर्किए । धेरै मानिस लकडाउन खुल्ने आशामा काठमाडौंमै अडिए । तर आज खुल्छ, भोलि खुल्छ भन्दाभन्दैै वैशाखभर लकडाउन लम्बिन्छ भन्ने सन्देश फिजियो । त्यसपछि मानिसहरु अत्तालिन थाले ।

उनीहरुले गाउँमा जनप्रतिनिधिलाई पनि आफूहरुको उद्दार गरिदिनुपर्‍यो भनेर हार गुहार गरे । सुरुमा केन्द्र सरकारले नै पठाउने तयारी पनि गरेको हो । तर निर्णय गर्ने–फिर्ता लिने, बस चढाएर पठाउने–रोक्ने जस्ता काम भइरहे ।

अलमल बढेपछि स्थानीय तहले क्षेत्रका जनतालाई आफैं उद्धार गर्न थालेका हुन् । कतिले त खानसमेत नपाएको समाचारहरु सुन्दा मन रोएको वडा अध्यक्ष कार्कीले बताए । ‘वडाका गन्यमान्य सबैलाई बोलाएर छलफल गर्दा उद्धार गर्नपर्छ भन्ने भयो र काठमाडौंमा केही साथीहरुलाई फोन गरेर माकादुमका को–को छन्, तथ्यांक संकलन गर्न अनुरोध गरेँ’, उनले अनलाइनखबरसँग भने, ‘मानिसको संख्या किटान भएपछि गाडी लिएर आफैं लिन आएँ ।’

तथ्यांक संकलन गर्दा एकदमै समस्यामा परेर घर जान चाहने, काठमाडौंमै बस्न चाहने, तर खानेकुराको अभाव भएको तथा सहयोग नचाहिने गरी तीन वर्ग छुट्याएको उनले बताए । ‘त्यसपछि आयो पासको समस्या’, कार्कीले भने, ‘त्यसका लागि सरकारी अधिकारीहरुसँग सम्पर्क गर्दा उद्धारको लागि हो भने हुन्छ भन्ने भयो ।’

सहयोग एकदमै आवश्यक परेका ११५ जनालाई लिन तीनवटा बस लिएर आएका उनले सुनाए । तर गाडी जडिबुटीभन्दा अगाडि आउन नपाउने भएका कारण फेरि समस्या आइलाग्यो । ‘बालाजुमा र ललितपुरमा हुनुभएकाहरुलाई आफैं मोटरसाइकलमा राखेर गाडी भएको ठाउँसम्म ओसारेँ,’ उनी भन्छन्, ‘बाँकीलाई यहाँ बोलाएको थिएँ, भिडमा भेट्न सकिरहेको छैन ।’

हामीसँग बोल्दाबोल्दै उनको मोबाइल बज्यो । उनले फोन उठाएर ‘सबै भेला भएर पुल पारी आउनुस्’ भने । उनले सबैलाई गाडीभित्र बसाएर मास्क, पन्जा, स्यानिटाइजर र पानी बाँड्दा साँझको आठ बज्यो । बाटामा होटलहरु नखुल्ने भएकाले उनले आफ्ना वडावासीलाई चाउचाउ र विस्कुट पनि बाँडे ।

र, वडाध्यक्ष कार्कीको समूह बिहान चार बजे रामेछापको माकादुम पुगेछन् । त्यहाँ वडाका कर्मचारी र स्वयंसेवकहरु तैनाथ थिए । ‘थर्मल गनबाट सबैको तापक्रम नाप्न लगाउँदा सबै सामान्य रहेको पाइयो’, कार्कीले टेलिफोनमा भने, ‘अनि होम क्वारेनटाइनमा बस्न कडा आग्रह गर्दै सबैलाई आ–आफ्नो घर पठाएँ ।’

काठमाडौंमा रहेका दोस्रो वर्गका वडावासीलाई अब के गर्नु हुन्छ त ? भन्ने प्रश्नमा कार्की भन्छन्, ‘अब उहाँहरुको पालो । आफ्ना मतदातालाई कसरी भुल्न सकिन्छ र !’

तस्वीरहरुः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment