Comments Add Comment

मध्यप्रदेशमा ६ वर्षीया बालिका बलात्कृत

१२ वैशाख, काठमाडौं । भारतको मध्यप्रदेशमा ६ वर्षीया बालिकालाई बलात्कार गरेर आँखासमेत फुटाइदिएको क्रूर घटना सार्वजनिक भएको छ । यो पासविक घटना मध्यप्रदेश राज्यको दमोह जिल्लाको बंशीपुर गाउँको हो ।

बालिकाले नचिनुन् भनेर बलात्कारीले आँखा फुटाइदिएको पीडित पक्षको भनाइ छ ।

साथीहरुसँग खेल्न बुधबार अपराह्न घर बाहिर निस्किएकी ती बालिका घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । बिहीबार बिहान घरभन्दा टाढा सुनसान स्थानमा ती बालिका फेला परेकी थिइन् । उनका दुवै हात बाँधिएका थिए र आँखामा गम्भीर चोट थियो ।

घाइते ती बालिकालाई सुरुमा दमोह जिल्ला अस्पतालमा उपचार गर्न लगिएको थियो । जिल्ला अस्पतालले थप उपचारका लागि उनलाई मेडिकल कलेज जबलपुरमा रेफर गरेको छ ।

दमोह जिल्ला प्रहरी प्रमुख हेमन्त चौहानले बीबीसीलाई दिएको जानकारीअनुसार बालिकाको धेरै स्थानमा चोट छ र घटना अनुसन्धानका लागि २१ वर्षीय सचिन सेनलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले सेनसँग सोधपुछ गरिरहेको उनले बताए ।

प्रहरीका अनुसार ती बालिकाको दृष्टि गुमेको वा नगुमेको भन्ने एकिन अझै भएको छैन । चौहानले भनेका छन्, ‘उनका दुवै आँखा सुन्निएका छन् । आँखामा कति क्षति पुगेको छ भन्ने एकिन हुन सकेको छैन । उनले देख्न सक्छिन् कि सक्दैनन् भन्ने पनि थाहा छैन ।’

मध्यप्रदेश बलात्कारका घटना धेरै हुने गरेको छ । बालिकामाथि भएको यस्तो दुश्कर्म पनि मध्यप्रदेशमै भएको छ । केन्द्रीय अपराध रेकर्ड व्यूरोको सन् २०१८ को तथ्यांकअनुसार मध्य प्रदेशमा बलात्कारका ६ हजार ४ सय ८० उजुरी परेका छन्, तीमध्ये ३ हजार ८ सय ८७ घटना बालिकालाई दुश्कर्म गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment