Comments Add Comment

प्रदेश २ मा कोरोनाविरुद्ध लड्न सुस्त तयारी, नारायणी अस्पतालको मात्र भर

फाइल तस्वीर

१३ वैशाख, वीरगञ्ज । कोरोना भाइरसविरुद्ध लड्न प्रदेश २ को तयारी सुस्त छ । कोरोना संक्रमितको उपचार गर्ने भनिएका अस्पतालहरु जनशक्ति र स्वास्थ्य सामग्रीको अभावको सामना गरिरहेका छन् ।

जिल्ला अस्पतालहरुमा कतै भवन निर्माण जारी छ भने कोही स्वास्थ्य सामग्री र जनशक्तिको अभावसँग जुधिरहेका छन् । यस्तो अवस्थामा अन्य निजी अस्पतालालई कोरोनाको उपचारमा प्रयोग गर्ने योजना पनि छैन ।

हाल धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई र पर्साको वीरगञ्जस्थित नारायणी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल भनेर तोकिएको छ । जनकपुरमा काम अत्यन्त सुस्त छ । कोरोना परीक्षण ल्याबबाट शंकास्पद नतिजा आएको भन्दै पुनः परीक्षण गर्न काठमाडौंमै पठाउनुपर्ने बाध्यता छ ।

यी सबै अवस्थाहरु हेर्दा कोरोनाविरुद्धको लडाइँमा प्रदेश २ पर्याप्त तयारीमा छैन भन्ने देखाउँछ ।

प्रदेशका कोभिड अस्पताल घोषणा मात्रै

प्रदेश सरकारले बाराको कलैया अस्पताल र महोत्तरीको जलेश्वर अस्पताललाई कोभिड अस्पताल बनाउने घोषणा गरेको थियो । प्रदेश सरकारले ती अस्पतालमा कोभिड–१९ संक्रमितको उपचार हुने दावी गरेपनि वास्तविकता त्यस्तो छैन । प्रदेश सरकारको घोषणा घोषणामा नै सीमित छ ।

कलैयामा विद्यमान अस्पताल नै कोभिड बनाउने वा शैक्षिक तालिम केन्द्रमा भन्ने अझै टुंगो लागेको छैन । त्यसले अन्य तयारी नै शुरु हुन सकेको छैन । कोभिड संक्रमितको उपचारका लागि आवश्यक पर्ने आइसोलेसन वार्ड समेत बनेको छैन । प्रदेश सरकार र कलैया अस्पतालको सञ्चालक समितिबीच नै कुरा नमिलिरहेको अवस्था छ ।

यो पनि पढ्नुहोस कोभिड विशेष अस्पताल, जहाँ आइसोलेसन वार्डसमेत छैन

यस्तै जलेश्वर अस्पतालमा काम भइरहेको भनिए पनि पूर्णता पाइसकेको छैन । ऊ आफैं चिकित्सक, स्वास्थ्यकर्मी र औषधि उपकरणको अभावसँग जुधिरहेको छ । जलेश्वर अस्पतालमा ५ बेड आईसीयु र ५० बेडको आइसोलेसन वार्ड बनाउने तयारी भइरहेको छ । जसमध्ये आइसोलसनको ३० बेड तयार भइसकेको अस्पतालले जनाएको छ । कोभिड अस्पताल तयार पार्न जनशक्ति र समान नपाइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजीव झा बताउँछन् ।

‘प्रदेश सरकारले दिएको ४ करोड बजेट थियो, त्यसैबाट कोभिड अस्पताल बनाउन भनिएको छ । आवश्यक समानका लागि दुईपटक टेन्डर निकालिसकेका छौं, समान पाइरहेको छैन,’ डा झाले भने, ‘संक्रमित राख्न सक्ने अवस्थामा छैनौं, थप जनशक्तिका लागि प्रदेश सरकारसँग आग्रह गरेका छौं ।’

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल निर्माणकै चरणमा छ । पुराना संरचना भत्काइएको छ । अस्पतालमा ११ बेडको आइसोलेसन वार्डसहित कोभिड क्लिनिक सञ्चालनमा छ । तर, आईसीयु र भेन्टिलेटर छैन ।

यद्यपि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास संक्रमित भेटिए चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘पूरै भत्काएर बनाउँदै गरेकाले अस्पतालमा भौतिक पूर्वाधारको कमी छ । प्रदेश नं. २ का तीन ठूला अस्पतालमध्ये पहिलेदेखि नै राजविराजमा अत्यन्तै कम जनशक्ति छ,’ डा दासले भने, ‘तर पनि संक्रमित आइहालेमा उपचार गर्ने अवस्थामा छौं ।’

संक्रमितलाई वीरगञ्ज पठाउँदा असन्तुष्टि

प्रदेश २ लाई कोरोनाको जोखिम क्षेत्र मान्दै सरकारले स्वास्थ्यकर्मीसहितको टोली परिचालन गर्ने निर्णय गरेको छ । प्रदेश २ का आठवटै जिल्लाबाट सम्भावित संक्रमितका १५ सय बढी नमूना संकलन गरेर परीक्षण गर्ने सरकारले जनाएको छ ।

प्रदेश नं. २ मा भेटिएका पाँचौ कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई पनि उपचारका लागि वीरगञ्ज पठाइएपछि त्यसको विरोध सुरु भएको छ । कोरोना परीक्षणको समेत सुविधा भएको जनकपुरस्थित प्रादेशिक अस्पतालमा संक्रमितलाई नराखेर वीरगञ्ज पठाउनु गलत भएको सामाजिक अगुवाको ठहर छ । सामाजिक सञ्जालमा यसलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

अस्पताल प्रशासनले पनि उपचाररत चार जना संक्रमित निको भएर डिस्चार्ज हुने तरखरमा रहेको र आइसोलेसन वार्डको संरचना गतिलो नभएकाले नयाँ संक्रमित थप्न नहुने अडान राखेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको आग्रह नमानेपछि केन्द्रबाटै दबाव दिएर संक्रमित राख्न लगाइएको स्रोतले जनाएको छ ।

‘आइसोलेसनको संरचना ड्यामेज अवस्थामा छ, चारवटै केस डिस्चार्ज हुने तरखरमा छ । नयाँ संक्रमित थप्दा अप्ठेरो हुन सक्छ भनेर भनेका हौं, तर केन्द्रबाटै दबाव आएपछि संक्रमितको उपचार सुरु गरेका छौं,’ अस्पतालका एक चिकित्सकले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले समेत थप संक्रमित राख्न नहुने अडानमा थिए । तर यतै पठाइदिएकाले राख्न बाध्य भएको उनी बताउँछन् । ‘सर्लाहीका संक्रमितका लागि जनकपुर नजिक पर्छ, उतै पठाउँदा राम्रो हुन्छ भनेको हो । तर राति यता ल्याएछन्, आइसकेपछि फर्काउने कुरा भएन, राख्नुस् भनेँ,’ प्रजिअ कार्कीले भने ।

राति साढे १० बजे ल्याइएका संक्रमितलाई आकस्मिक कक्षमाथि बनाइएको आइसोलेसन वार्डमा नयाँ संक्रमितलाई राखिएको अस्पतालले जानकारी दिएको छ ।

‘अरु अस्पतालले तयारी गर्नुपर्दैन ?’

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय नारायणी अस्पतालले कति वडा जिल्लाका संक्रमितको उपचार गर्ने भन्ने प्रष्ट हुनुपर्ने बताउँछन् ।

‘पर्सा, बारा, रौतहटसम्म त ठीकै हो, सर्लाहीदेखिका संक्रमित वीरगञ्ज पठाइएको छ । अस्पतालले कतिवटा जिल्ला हेर्ने हो ? प्रष्ट हुनुपर्छ र त्यसअनुसारको जनशक्ति र पूर्वाधार तयार पारिदिनुपर्छ,’ मेसु उपाध्यायले भने, ‘अहिले त एउटा दुईवटा संक्रमित आइरहेका छन्, उदयपुरको जस्तो संक्रमित भेटियो भने के गर्ने ? अरु अस्पतालले तयारी गर्नुपर्दैन ?’

प्रदेश र केन्द्र दुवै ठाउँको दबावमा नै संक्रमित राख्न लगाइएको उनी बताउँछन् ।

वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगी पनि नारायणीमा संक्रमित थप्नु उचित नभएको बताउँछन् ।

‘नारायणीबाट प्रदान भएका सेवा निजी अस्पतालले दिन सक्दैनन्, वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताललाई प्रयोग गरेर नारायणीबाट जनरल सेवा दिनुपर्छ भनेका हौं,’ नगर प्रमुख सरावगीले भने, ‘यसमा प्रदेश र केन्द्र सरकारले ध्यान दिएका छैनन्, यहाँ सर्वसाधारण मर्कामा परिरहेका छन् ।’

प्रादेशिक अस्पतालको तयारी अपुरो

नारायणी अस्पतालले आफ्नै पहलमा ४ बेडको आइसोलेसन वार्ड र पीपीई व्यवस्था गरेको थियो । पछि स्थानीय दाताको सहयोगमा थप २० बेडको आइसोलेसन वार्ड थप्यो । वीरगञ्जस्थित नारायणी अस्पतालले अन्य सेवा बन्द गरेर कोभिड–१९ संक्रमितको उपचार शुरु गरेको छ ।

नारायणीसँगै सरकारले जनकपुरस्थित प्रादेशिक अस्पताललाई पनि लेभल २ कोभिड अस्पताल घोषणा गरेको छ । प्रादेशिक अस्पतालमा १४ बेडको आईसीयु र ४ वटा भेन्टिलेटर छन् । त्यसमध्ये एउटा बिग्रिएको छ । १२ बेडको आइसोलेसन वार्ड पनि बनाइएको छ ।

प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. कुलदीप पण्डित भने नर्सिङ कलेजलाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भन्नेबारे छलफल भइरहेको बताउँछन् । ‘सरकारले कोभिड अस्पताल सञ्चालन गर्न त भनेको हो तर त्यसो गर्दा अस्पतालबाट प्रदान गरिने अन्य सेवा रोक्नुपर्छ,’ डा पण्डितले भने, ‘नर्सिङ अस्पतालमै सेवा शुरु गर्ने कुरा छ, प्रदेश सरकारले अनुमति दिएको छ, केन्द्रको अनुमति आएपछि तयारीका लागि एक दुई हप्ता लाग्छ होला ।’

छुट्टै कोभिड अस्पतालका लागि आवश्यक जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिएको उनी बताउँछन् ।

संक्रमित राख्ने वा नराख्ने भन्दा पनि प्रादेशिक अस्पतालमा तयारी नै भइनसकेको अवस्था रहेको अस्पतालका मेसु डा. नागेन्द्र यादव बताउँछन् । ‘वीरगञ्जमा कोभिड सेवा मात्रै सञ्चालन छ, यहाँ आईसीयु, डेलिभरी, किड्नी, डायलायसिस, फिभर क्लिनिक, इमर्जेन्सी लगायत जनरल सेवा पनि चलिरहेको छ । पोजेटिभ केस राख्न अरुको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अस्पतालमा संक्रमित नराख्ने भन्ने होइन, तर तयारी नै नभई अलमलमा काम गरेर हुन्न नि ।’

तयारी भइरहेको छ : रामप्रसाद घिमिरे, सचिव, सामाजिक विकास मन्त्रालय

प्रदेश नं. २ मा लेभल २ स्तरको कोभिड अस्पताल नारायणी र जनकपुर प्रादेशिक अस्पताल हुन् । नारायणी अस्पतालमा अन्य जनरल अस्पताल ट्रान्सफर गरेर कोभिड सेवा शुरु भइसकेको छ भने जनकपुरमा पनि निर्णय भइसकेको छ । तीव्र गतिमा बनाउने काम भइरहेको छ । कोभिड विशेष डेडिकेटेड अस्पताल यी दुवै हुन् ।

जलेश्वर अस्पताललाई पनि ५० बेडको कोभिड विशेष बनाउन द्रुत गतिमा काम भइरहेको छ । क्रिटिकल केयरका समान आइसकेपछि सेवा शुरु हुन्छ ।

हिजो किन संक्रमित वीरगञ्ज पठाइयो, भन्दा प्रादेशिक वीरगञ्जमा भन्दा फरक जनकपुरमा नजिकमा नेशनल मेडिकल जस्तो ठूलो स्वास्थ्य संस्था रहेनछ । त्यो नभएपनि डायलायसिस सेवा लगायतलाई प्राइभेटमा सारेर कोभिड डेडिकेटेड बनाउने निर्णय गरिसकेको अवस्था छ । जनकपुरमा अलि सुस्त काम भएझै बुझिन्छ ।

कलैया अस्पताललाई पनि कोभिड अस्पताल बनाउने भनिएको हो, तर त्यहाँ समस्या देखिएको छ । अस्पताल सञ्चालक समितिले दुःख दिइरहेको अवस्था छ । फलोअप गर्दैछौं । पैसा दिएका छौं, नपुगेको माग भनेका छौं ।

भूगोल एउटै भएकाले कुनै पनि अस्पतालले यताको संक्रमित उता नराख्ने, उताको संक्रमित यता नराख्ने भन्ने कुरा गर्नु हुन्न ।

नारायणी अस्पताललाई ५० लाख दिने निर्णय भएर प्रक्रिया अघि बढीसकेको छ । आवश्यक अन्य सहयोग गर्न पनि तयार छौं ।

कोभिड–१९ को महामारी विरुद्ध लड्न केन्द्र, प्रदेश र स्थानीय सरकार सबै समन्वय गरेर काम गर्नुको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment