Comments Add Comment

डा. भट्टराई भन्छन्– ओली प्रवृत्ति खतरनाक छ, सबै मिलेर बिदा गरौँ

१३ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । उनले यस्तो प्रवृत्तिलाई सदाका लागि बिदा गर्न आह्वान गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले ‘ओली प्रवृत्ति’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टिप्पणी गरेका हुन् । उनले भष्मासुर, हिटलर, स्टालिनलगायतको कार्यशैलीसँग ओली प्रवृत्तिलाई तुलना गरेका छन् ।

यद्यपि स्पष्ट नाम उल्लेख नगरी डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘अति भएपछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटोभन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोना भाइरसभन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति बिदा गरौँ ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !’

भष्मासुरसँग तुलना गर्दै डा. भट्टराईले लेखेका छन्, ‘ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरुपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेको छ ।’

स्टालिनसँग तुलना गर्दै भट्टराईले ओलीलाई झापा आन्दोलनमा चौध वर्ष जेल बसेको जस भजाएर सत्ता पाएपछि निरंकुश शैली अपनाएको टिप्पणी गरेका छन् । ‘पार्टीभित्र र बाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने, स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम बेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको बेला पार्टी फुटाउने खेलमा लागेर चरम गैरजिम्मेवारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ,’ भट्टराईले लेखेका छन् ।

भट्टराईले यति प्रकरण, ओम्नी प्रकरण, कार्यकर्ताहरुको लाभको पदमा नियुक्ति लगायतलाई रुमानियाका कम्युनिष्ट पार्टीका सुप्रिमो एव‌ं राष्ट्रपति निकोलाइ चाउचेस्कुको शैलीसँग पनि तुलना गरेका छन् ।

भट्टराईले लेखेका छन्, ‘पूर्वी युरोपेली ‘कम्युनिस्ट ’ देश रूमानियाका कम्युनिस्ट पार्टी सुप्रिमो तथा राष्ट्रपति निकोलाई चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारा वर्गको आवरणमा यति धेरै भ्रष्टाचार, विलासिता (उनको दरवार विश्वकै सबभन्दा ठूलो भवनमध्येमा गनिन्छ), फजुल खर्च, स्वेच्छाचारिता, आफन्त/आसेपासेवाद, मनपरीतन्त्र गर्थे । पार्टी नेता कार्यकर्ता तथा जनता यति निरीह, लाचार, पीडित थिए कि अन्ततः जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो ।’

भट्टराई थप लेख्छन्, ‘नेपालमा ओली प्रवृत्तिले हुर्काएको यति प्रकरण/ओम्नी प्रकरण लगायतका अनगिन्ती भ्रष्टाचार, राष्ट्रपति/प्रधानमन्त्रीको फजुल खर्च/विलासी शैली/ढाँटबाँट, आसेपासेको बाक्लो घेरा/उदण्ड शैली, मदन भण्डारी फाउन्डेसन लगायतका अनगिन्ती फाउन्डेसन/एनजीओ/आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता, आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लङ्ग छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment