
१३ वैशाख, काठमाडौं । सांसद सुरेन्द्र यादवलाई तराईबाट जबरजस्ती उठाएर काठमाडौं ल्याउँदा उनी अपहरण परेको खबर मंगलबार नै मिडियाबाट सार्वजनिक भइसकेको थियो । तर, बाटामा प्रहरीले कहीँ पनि सर्वेन्द्र खनाल र महेश बस्नेतहरुको चढेको गाडी चेकिङ गरेन ।
प्रहरीकै ‘व्यवस्थापन’ मा यादवलाई काठमाडौं ल्याउन बस्नेत र खनालहरू सफल भए ।लकडाउनका बेलामा आफूलाई काठमाडौं ल्याइँदा बाटोमा एक ठाउँ पनि प्रहरीले चेकिङ नगरेको सांसद यादवले मिडियालाई बताएका छन् ।
‘जहाँजाँदा पनि पुलिस थिए । सिन्धुलीमा जहाँ गाडी रोकिएको थियो, त्यहाँ पुलिस चौकी नै थियो। जहाँ काभ्रेमा खाना खान रोकियो, एउटा एन्स्पेक्टर थियो । सबै पुलिसहरूले नै एरेञ्ज गरेको ।’ सांसद यादवले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘बाटोमा कहीँ पनि चेकिङ भएन, कहीँ पनि रोकिएन । जिल्लामा जब म गाडी चढेँ, एसपीको पूरा टिम थियो ।’
सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वआइजीपी हुन् । यही आधारलाई प्रयोग गर्दै सिङ्गो प्रहरी संगठनको दुरुपयोग गरेर सांसद यादवलाई काठमाडौं ल्याइएको सांसद यादवको भनाइबाट स्पष्ट हुन्छ ।
जिल्लाका विभिन्न तहमा खटिएका प्रहरीले पूर्वआइजीपीलाई देखेपछि नतमस्तक हुनु र उनलाई सलाम गर्नु स्वाभाविकै भएको संगठनका अधिकारीहरू बताउँछन् । यही शक्तिको दुरुपयोग गर्दै सर्वेन्द्र खनाल र सांसद महेश बस्नेतले यादवलाई सकुशल काठमाडौंसम्म ल्याएका हुन् ।
बाटोमा उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर यादवजी हामीसँगै हुनुहुन्छ भनेर रिपोटिङ गरेको सांसद यादवले बताएका छन् ।
नेकपा सांसद किसान श्रेष्ठले अब सर्वेन्द्र खनाल अख्तियारको आयुक्त बन्दै हुनुहुन्छ, यसबाट तपाईंलाई सजिलो हुन्छ भनेर ‘ड्यासिङ’ दिएको यादवको भनाइ छ ।
प्रतिक्रिया 4