Comments Add Comment

इस्लाम धर्मावलम्बी रमजानमा किन एक महिने व्रत बस्छन् ?

इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र मानिने रमजान शनिबारबाट सुरु भएको छ । अरबी पात्रोअनुसार रमजान नवौं महिनामा मनाइने पर्व हो । यसमहिनामा इस्लाम धर्ममा आस्था राख्ने विश्वभरका मुस्लिम समुदाय एकमहिने रोजा अर्थात् व्रत बस्छन् । मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । यसै महिनामा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरआन अवतरण भएको मान्यता छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत बस्ने गर्छन् । रमजान महिनामा एकमहिनासम्म प्रत्येक दिन १४ घण्टादेखि १५ घण्टासम्म पानी पनि नखाई व्रत बस्छन् । यहीँ यस पवित्र महिनाको नियम पनि हो । हरेक बालिग, सम्झदार महिला र पुरुषमाथि रमजान महिनाको रोजा अर्थात व्रत बस्नु अनिवार्य गरिएको छ । तर वृद्धवृद्ध, शारीरिक रूपमा अशक्त, सुत्केरी वा बच्चालाई दूध चुसाउने महिलाहरुमा व्रत बस्नु अनिवार्य हुँदैन ।

के दिनभर भोकै बस्नु मात्रै रोजा हो ?

रमजान महिनामा बस्ने व्रतलाई रोजा भन्ने गरिन्छ भने रोजा बस्ने व्यक्तिलाई रोजेदार । त्यसो भए के १४ देखि १५ घण्टा पानी पनि नखाई व्रत बस्नु मात्रै रोजा हो त? रोजाको वास्तविक उद्देश्य दिनभर खानपिन नगर्नु मात्रै होइन । कुनै विशेष वस्तुहरुबाट निश्चित शर्तहरुका साथ सूर्योदय हुनुभन्दा पूर्वदेखि सूर्यास्तसम्म विशेषत : खानपिन र संभोगबाट आफूलाई अलग राख्नु सहि अर्थमा रोजा हो । यसरी बस्ने रोजाले अल्लाहको भय उत्पन्न गराउदै आत्मशुद्धी, सन्तुष्टि प्राप्त हुने गर्दछ ।

यस पवित्र रमजान महिनामा जसरी कुविचार र कुकर्मबाट बच्ने गरिन्छ त्यसरी नै अन्य ११ महिनामा समेत बच्न पवित्र ग्रन्थ कुरआनले ईस्लाम धर्मावलम्बीलाई सन्देश दिएको छ । यसमहिनामा बस्ने रोजाले मुस्लिम समुदायमा ईशपरायणता जन्माउने र भलो र सदाचारी बन्न प्रेरित गर्दछ । रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो । यसमहिनामा गरिने प्रत्येक सुकर्म अन्य महिनाको तुलनामा ७० गुणाबढी पुण्य प्राप्ति हुने विश्वास गरिन्छ । रमजान महिनामा मुस्लिम समुदायले गरिने महत्त्वपूर्ण कुराहरु यस्ता छन् ।

सेहरी :

रोजा बस्ने नियतले सूर्योदय हुनुपूर्व गरिने खानपिनलाई सेहरी भनिन्छ । सेहरी खाने व्यक्ति रोजा बस्नु अनिवार्य मानिन्छ । कहिलेकाहीँ सेहरी खान नपाए पनि कतिपय व्यक्ति रोजा भने बस्ने गर्छन् ।

ईफ्तार :

सूर्यास्तपश्चात् रोजा तोड्न गरिने खानपिनलाई ईफ्तार भन्ने गरिन्छ । ईफ्तार निश्चित समयमै खुल्ने गरिन्छ यसमा ढिलो गर्नुहुन्न । समयमै रोजा तोड्दा रोजेदारको पुकार स्वीकार हुने विश्वास छ । विगतका वर्षहरुमा मस्जिदमा गएर मुस्लिम समुदायले सामूहिक ईफ्तार गर्थे तर यसवर्ष घरमै गर्ने तयारी गरेका छन् ।

तराविह :

रमजान महिनामा पढिने एक विशेष किसिमको नमाजलाई तराविह भनिन्छ । यो रातको समय पढिने नमाज हो । जसमा सम्पूर्ण कुरआनको पाठ गरिन्छ । तर यसपाली विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अवस्था फरक छ । यो वर्ष मुस्लिम समुदायले दिनमा पढिने पाँच पटकको नमाजका साथै तराविह घरमै पढ्ने छन् । अहिले कोरोना भाइरसका कारण समाजिक दूरी कायम गर्नुपर्ने भएकोले यसवर्ष मुस्लिम समुदायले सामूहिक रूपमा मस्जिदमा गएर नमाज र तराविह पढ्ने तथा इवादत गर्ने अवस्था छैन । अन्य वर्षहरुमा रमजान महिना सुरु हुनुअगाडि नै मस्जिदमा नमाज पढ्ने व्यक्तिले भरिभराउ हुने गरेपनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी राखेकोले रमजान सुरु भएपनि यसवर्ष मस्जिद सुनसान छन् ।

कुरआनको अवतरण :

रमजान ईस्लाम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरआन अवतरण भएको महिना हो भने रमजान महिनामा बस्ने रोजा र कुरआनबीच घनिष्ठ सम्बन्ध रहेको छ । यो महिनामा बढी भन्दाबढी कुरआनको पाठ गरिन्छ । मानवजातिको मार्गदर्शन गर्दै सत्य र असत्यबीच अन्तर स्पष्ट गर्नका लागि अल्लाहले कुरआन हजरत मोहम्मदमाथि १७ अगस्त, सन ६१० बाट अवतरण हुन सुरु गर्‍यो । परिस्थिति र जुन अन्तरवस्तुमा मार्गदर्शन र आदेशको आवश्यकता पर्‍यो त्यसैअनुरुप कुरआनको अवतरण प्रारम्भ भएको हो । यो सिलसिला मार्च,सन ६६२ सम्म रह्यो । कुरआनमा कुल ११४ सूरह (अध्याय ) र ६६६६ आयात (श्लोक) रहेका छन् ।

सदकाएफित्र :

सदकाएफित्र अर्थात धर्मदानद्वारा ईस्लाम धर्मावलम्बीले सामाजिक न्यायको व्यावहारिक आर्थिक उदाहरण प्रस्तुत गर्छ । ईदको नमाजभन्दा अघि नै सदकाएफित्र दिनुपर्ने हुन्छ । यसरी सदकाएफित्रबाट संकलित रकमले गरिब, मजदुर,एकलमहिला, शारीरिक अशक्त तथा बेसहारा जुनसुकै धर्मका व्यक्ति भएपनि त्यस्तालाई सहयोग गर्ने गरिन्छ । जोसँग प्रचलित साढे ७ टोलि सुन वा साढे ५२ तोला चाँदी मूल्य बराबरको चलअचल सम्पत्ति छ, त्यस्ता व्यक्तिहरुले आफू र आफ्नो परिवारका सदस्यहरुको फित्र दिनुपर्छ । यसरी दिइने फित्रको मात्रा पनि कुरआनमा निर्धारण गरिएको छ । पौने दुई सेर गहुँ वा साढे तीन सेर जौ वा सो मूल्य बराबरको अनाज प्रति व्यक्तिको दरले गरिबलाई दिने गरिन्छ । त्यस्ता व्यक्ति सद्काको हकदार हुन्छन् जसमाथि सद्का अनिवार्य छैन ।

जीवनमा सफल हुनका लागि कर्म जरुरी छ । रोजा यस्तो कर्म हो, जो मनुष्यलाई लोक र परलोक दुवैमा सफलता प्राप्तिको मार्ग पनि हो । रोजाले मनुष्यका सबै ज्ञानेन्द्रीयहरुलाई कुकर्म गर्नबाट बचाउदै सत्यतर्फ हिड्न प्रेरित गर्दछ । यसैगरी रोजा उपासना, जनसेवा तथा मानवकल्याणको लागि पनि विशेष छ ।

शान्तिप्रेमी नेपाली मुस्लिम समुदाय

विभिन्न जातजाति र समुदायको बीचमा अल्पसंख्यकका रूपमा नेपालमा मुस्लिम समुदाय बस्दै आएका छन् ।

मुस्लिम समुदायको ईद होस् कि हिन्दु समुदायको दशै वा अन्य धर्मको पर्व सबै समुदाय उत्तिकै उत्साहपूर्ण तरिकाले एक अर्काको पर्वलाई सम्मान गर्ने गरेको पाउन सकिन्छ ।

आजसम्म कुनै मतभेद पाइदैन । यो नै नेपाल र हामी नेपालीको पहिचान हो । नेपाली मुस्लिम विश्वभरीकै मुस्लिमको तुलनामा शान्तीप्रेमी छ । यहाँका मुस्लिम समुदायले मध्यकालीन इतिहासदेखि नै सामाजिक सद्भाव र सहिष्णुतालाई मन पराएका छन् । विविधताले भरिपूर्ण हाम्रो समाजमा सअस्तित्वको आधारमा सबै जात धर्म मिलिजुली बस्दै आएका छन् । तराई मधेसमा कहिलेकाहीँ छिटफुट घटनाबाहेक मुस्लिम समुदाय अन्य समुदायसँग सौन्दर्यपूर्ण वातावरणमा बस्दै आएका छन् । त्यसैगरी पहाडमा न्यून संख्या रहेका मुस्लिमहरु पहाडी समाजसँग ससम्मान घुलमिल भएर बसेका छन् । विभिन्न समयमा निरंकुशताविरुद्ध लड्दै नेपालमा प्रजातान्त्रिक व्यवस्था ल्याउन कैयौं मुस्लिम दाजुभाइहरुले सहादत प्राप्त गरेका छन् भने वर्तमान परिप्रेक्षमा देशलाई समृद्ध बनाउदै नेपाल र नेपाली जनताको हित हुने कार्य गर्दै विश्वसामू देशको गौरवान्वित पहिचानका लागि नेपाली मुस्लिम समुदाय कटिबद्ध भएर लागेका छन् । त्यसैले यहाँ नेपाली मुस्लिम समुदाय कति राष्ट्रियप्रेमी छन् भन्ने कुरा भन्नुपर्ने जरुरी छैन ।

यसरी मनाइन्छ ईद

रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ ।

यसै सव्वाल महिनाको पहिलो दिन ईद अर्थात ईदउल फित्रका रूपमा मनाउने गरिन्छ । यो दिन बिहानै चाडैं उठेर नुहाईधुवाइ नयाँ नयाँ लुगालगाइ मुस्लिम समुदायले एक विशेष नमाज पढ्नका लागि इदगाह, मस्जिद वा तोकिएको स्थानमा निर्धारित समयमा भेलाभई ईदको नमाज पढ्ने गर्छन् । नमाज पूरा हुनसाथ एकआपसमा अंगालो मारेर ईद मुबारक भनी खुसी आदानप्रदान गर्छन् । मिठामिठा परिकार बनाएर आफन्त, ईष्टमित्र, छरछिमेकी, गरिब,अनाथ,एकमहिला, अपांग, बेसहरा लगायतलाई बोलाएर खान दिने र आफूपनि खाने गर्छन् । यसरी यसदिन पुरानो कुनै रिसिइबी भए सबै बिर्सेर प्रेम र उत्साहका साथ ईदउल फित्र मनाइन्छ । विगतका वर्षहरुमा उल्लेखित क्रियाकलाप ईस्लाम धर्मावलम्बीले सामूहिक रुपमै गर्थे । तर, यसपटक कोरोना भाइरसका कारण अवस्था फरक छ । त्यसैले घरमै बसेर धेरै भन्दा धेरै इवादत गरौं ।

मानव कल्याण होस् भन्ने दुवा मागौं

अन्य वर्षहरुझैँ यसवर्षको रमजानले नेपाली समाजमा मानवता, आपसी सद्भाव, भाइचारा, अमनचयन,कायम राख्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संकटबाट मुक्ति मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु । कोरोना भाइरसका कारण विश्व समुदाय त्रसित रहेको अवस्थामा सम्पूर्ण मुस्लिम दाजुभाइहरुलाई आ आफ्नो घरमै यसवर्षको रमजान मनाउन आग्रह गर्दछु । अन्य महिनाको तुलनामा रमजान महिनामा मस्जिदमा गएर नमाज पढ्दा ७० गुणाबढी पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेपनि घरमै नमाज पढौं । घरमै कुरआन पढौ र इवादत गरौं । आफूबाट विगतमा भएका पापको अल्लाहसँग माफी माग्दै नेपाल र नेपालीको मात्रै नभई विश्व मानव जगतको कल्याण होस् भन्ने दुवा मागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment