Comments Add Comment

व्यवसायी भन्छन् : कोरोनाविरुद्ध सचेतता अपनाउँदै लकडाउन खुकुलो पारौं

१४ वैशाख, काठमाडौं । सिराहाका सविन चापागाइँको न्यूरोडमा कम्प्यूटरसम्बन्धि पसल छ । कम्प्युटर मर्मत र यसका पाटपुर्जा खरिद-बिक्री गर्ने उनको पसलमा पाँचजना कर्मचारीले काम गर्थे । चैत्र ११ गतेदेखि घोषणा भएको लकडाउनले उनको पसल बन्द भयो ।

सबिन भन्छन्, ‘एक्कासी लकडाउन भएपछि भोलीदेखि कसरी काम गर्ने भनेर कर्मचारीसँग योजनासमेत बनाउन पाईनँ ।’

सरकारको आदेश मानेर सटर लगाएयता कर्मचारीको तलब, बैंकको ब्याज र सटरभाडाको मासिक दायित्व नै १० लाखभन्दा बढी पुगेको उनले दुखेसो गरे । लकडाउन जति बढ्दै ऋणको भारी थपिँदै जाने भन्दै उनले रचनात्मक र सुरक्षा उपाय अपनाएर व्यापारिक गतिविधि खुला गर्न सरकारसँग माग गरे ।

‘आर्थिक गतिविधि नरोकौँ, नत्र मध्यम खालका व्यापारी रोगबाहेकका कारणबाट पनि मर्ने अवस्था आउँन सक्छ,’ उनले भने ।

कोरेाना महामारीले  ट्रेडिङ, उत्पादन र सेवा क्षेत्रका व्यवसायीहरु उठ्नै नसक्ने गरी पछारिएको राष्ट्रिय व्यापार संघले जनाएको छ । ‘एक दुई जना मात्रै होईन देशैभरका साना-मझौला व्यवसायी एक महिना लामो लकडाउने उठिबासै लाग्ने अवस्था आयो,’ संघका महासचिव वैकुण्ठ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संघले व्यवसायीलाई धुलो टकटक्याउँदै उठ्न हौसला तथा प्रेरित गरिदिन सरकारलाई अनुरोध पनि गरेको छ । सिमित पारिवारिक पूँजी तथा नाता-कुटुम्बसँग उधारो सरसापटी लिएर चलाइएको व्यवसाय धरासायी हुँदा उधारो तथा सरसापटी चुक्ता गर्न नसक्ने अवस्था आएको संघले भनेको छ ।

कोरोना संक्रमणविरुद्धको सरकारी कदम जायज भए पनि बढ्दो व्यवसायिक असुरक्षा कम गर्न लकडाउनको ढाँचामा खुकुकलोपना कायम गरिनु पर्ने उद्योगी व्यवसायीको मत छ । प्रशस्त सुरक्षा र निश्चित सर्तहरु अबलम्बन गरेर व्यवसाय खुला गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । जोखिमका हिसाबले भौगोलिक क्षेत्र छुट्याएर पूँजी परिचालनको काम गर्न अब ढिलाई गर्न नहुने उनको भनाइ छ ।

‘अब त जनताले पनि सुरक्षाको आधारभूत कुरा सिकेका छन्, सबैजना सचेत रहँदै संक्रमण नदेखिएको क्षेत्र खोल्दै जाऔँ,’ अध्यक्ष श्रेष्ठले भने ।

कोरोना संक्रमणबाट बच्ने उपाय अबलम्बन गर्दै लकडाउनबारे सरकारले निर्णय गर्न ढिलाई गर्न नहुने नेपाल खुद्रा व्यवसायी संघ अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । बढ्दो लकडाउनसँगै मानिसका आवश्यकताहरु पनि फेरिदैं र बढ्दै गएको भन्दै उनले अर्थतन्त्र पनि नहार्ने र रोगसंग पनि नहार्ने गरी लकडाउनको मोडल फेर्नुपर्नेमा जोड दिए ।

भारतमा खुकुलो

नेपालमा लकडाउन सुरु भएको ३४ औँ दिन भयो । नेपालमा भन्दा एक दिनपछि लक डाउन सुरु गरेको भारतले भारतले गत शुक्रबारदेखि एक महिना लामो कडा लकडाउनको स्वरुप फेरेको छ ।

उद्योग व्यवसाय र आर्थिक गतिविधि सिथिल हुन नदिन भारतीय गृह मन्त्रालयले जारी गरेको सशर्त नयाँ लकडाउन नीतिमा साना र ठुला उद्योग तथा व्यवसायको सञ्चालनमा जोड दिइएको छ । आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने छ ।

पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न नपाइने, कामदारहरूले मास्कको अनिवार्य प्रयोग तथा सामाजिक दुरी कायम गर्नुपर्ने नियम बनाइएको छ । मदिरा पसलहरूलाई बन्द राखिने जनाएको छ भने अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्रको लकडाउनको कडाईलाई निरन्तरता दिइएको छ ।

भारतको उदाहरण हेरेर नेपालमा पनि लकडाउन खुकुलो पार्नतर्फ सोच्नुपर्ने व्यवसायीहरुको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment