Comments Add Comment

अध्यादेश टर्‍यो, त्रिशंकु हुँडलो टरेन

१५ वैशाख, काठमाडौं । कोरोना महामारीविरुद्धको अभियानलाई नै बिथोल्ने गरी ल्याइएका दुई अध्यादेश फिर्ता लिइसकेपछि पनि सत्तारुढ नेकपाभित्रको हुँडलो मथ्थर भएन । त्यसयता सरकारमाथिको संकट घट्नुको साटो झन् चुलिएको छ ।

अध्यादेशमा भएको गल्ती सच्याएपछि सरकारको ध्यान जनताका दैनिक समस्यातर्फ केन्दि्रत हुने धेरैको अनुमान थियो । तर, बैशाख १२, १३, १४ र १५ गते चार दिनको व्यस्त क्यालेन्डर हेर्दा नेकपा नेताहरुको ध्यान महामारी रोकथाम गर्ने र जनताको दैनिक जीवन सहज बनाउनेतिर जानै पाएको छैन ।

नयाँ आर्थिक वर्षको बजेट ल्याउने दिन अब एक महिना बाँकी छ । प्रि-बजेटका लागि छलफल थाल्नुपर्ने बेला भइसक्यो । कोरोनाले तहस-नहस बनाएको अर्थतन्त्रलाई टेवा दिन कस्तो आर्थिक नीति ल्याउने भन्नेबारे यतिबेला राष्ट्रिय बहस गरिनुपर्ने हो । तर, संसद बैठकको तयारीबारे कसैको ध्यान गएको छैन ।

कोरोनाको जोखिम दिनानुदिन बढ्दो छ । सरकार लकडाउनको म्याद १० दिन बढाएर ढुक्कसँग राजनीतिक जोडघटाउतिर केन्दि्रत भएको छ । राजधानी आवत-जावत गर्ने आम नागरिकले सडकमै सास्ती व्यहोर्नु परेको छ । सोमबार नागढुंगा र कलंकी सडकमा देखिएका दृश्यले सरकारको उदासीनता उजागर गरेको छ ।

गहिरिँदो संकट

ओली सरकारले दुईवटा विवादास्पद अध्यादेश बैशाख ८ मा ल्यायो, १२ मा फिर्ता लियो । अध्यादेश त टर्‍यो, तर त्यसले नेकपाभित्र सिर्जित संकट टरेन । यो संकट ओली, प्रचण्ड र माधव नेपालबीच त्रिपक्षीय (त्रिशंकु) प्रकृतिको छ ।

प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएर मात्र पुग्दैन, अब नैतिकताका आधारमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्नुपर्छ भन्नेसम्मको आवाज पार्टीभित्र उठ्न थालेको छ । ओली पक्षका नेताहरु यो आवाजलाई मथ्थर पार्नेतर्फ सम्पूर्णरुपमा केन्द्रित भएका छन् ।

स्थायी कमिटीका २० सदस्यले बैठकको माग गरेर अध्यक्षद्वयलाई हस्ताक्षर बुझाइसकेका छन् । सोमबार नेपाल र ओलीपक्षका नेताहरुको छलफलपछि मंगलबार सचिवालयको बैठक डाक्ने गृहकार्य अगाडि बढेको बताइन्छ ।

माधव नेपालनिवास कोटेश्वरमा आइतबार बसेको नेपाल पक्षधर स्थायी कमिटीका नेताहरुको अनौपचारिक बैठकले सरकार र पार्टी दुवै मोर्चामा केपी ओली असफल भएको निश्कर्ष निकालेपछि प्रधानमन्त्री झनै झस्किएका छन् ।

यो अवस्थामा प्रधानमन्त्री ओलीले पार्टीभित्रको संकट टार्न र सरकारमा अडिइरहनका लागि विभिन्न प्रयासहरु थालेका छन् । ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप नेपाललगायतको टोली माधव नेपाल पक्ष र प्रचण्डसँग पनि छलफल गरेर सरकारमाथिको संकट टार्न प्रयत्नरत देखिएको छ । यसका लागि मन्त्रिमण्डल पुनर्गठन, केही मुख्यमन्त्री हेरफेर वा पार्टी ‘एक व्यक्ति एक पद’ को नीतिमा जानुपर्ने भए त्यो पनि गर्न सकिने पक्षमा प्रधानमन्त्री ओली देखिएका छन् ।

नेकपाको १७४ सदस्यीय संसदीय दलमा ओलीको एकलौटी बहुमत पुर्‍याउनका लागि पनि ओली पक्षका केही नेताहरु सांसदहरुको जोडघटाउमा लागिसकेका छन् ।

पूर्वमाओवादी समूहका नेता प्रचण्डले यतिबेला केपी ओलीलाई साथ दिएको देखिँदैन । योबेला माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसमेत केपी ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएपछि प्रधानमन्त्री ओलीले संकटको महसुस गरेका छन् ।

सरकारमाथि देखापरेको यो आन्तरिक संकट कहाँसम्म जाला ? कतिपयले ‘पावर सेयरिङ’ मा पुगेर संकट टर्ने अनुमान गरेका छन् । केहीले चाहिँ सरकार परिवर्तन वा पार्टी विभाजनसम्मको दुर्घटनाको अनुमान गरेका छन् । के हुन्छ, अहिले नै बताइहाल्न सक्ने स्थिति छैन ।

तर, वैशाख १२ गतेदेखि १५ गतेसम्मका सघन भेटघाट र छलफलहरु हेर्दा अब सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटीको बैठक बोलाइने संकेत देखिएको छ । भागवण्डामा मिल्ने स्थितिमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरु पुगेको देखिँदैन । र, प्रधानमन्त्री ओली पनि अझैसम्म भिड्ने मनस्थितिमै देखिएका छन् ।

अब बस्ने सचिवालय र स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीले बहुमत सदस्यहरुबाट कडा विरोधको सामना गर्नुपर्ने प्रष्टै देखिएको छ । त्यसपछिको परिस्थिति भने अहिल्यै आँकलन गर्न सकिन्न ।

ओली – नेपाल वार्ता असफल

सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग एक्लाएक्लै भेटवार्ता गरे । लगत्तै दुबै समूहका दोस्रो तहका नेताहरुबीच लामो छलफल भयो । तर, कुनै सहमति हुन सकेन ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको कोटेश्वरस्थित निवासमा भएको वार्तामा ईश्वर पोखरेल, विष्णु पौडेल शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी भएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।

यो पनि पढ्नुहोस निष्कर्षमा पुग्न सकेन ओली-माधव समूहको छलफल

छलफलमा पावर शेयरिङबारे ओली पक्षबाट ठोस प्रस्ताव नै नआएको नेपाल पक्षका एक नेताले बताए । ‘उहाँहरुले मिलेर जानुपर्छ भन्ने निरपेक्ष कुराकानी मात्र गर्नुभयो’ वार्तामा नेपाल समूहबाट सहभागी एक नेताले अनलाइनखबरसँग भने । आफूहरुले ‘एक व्यक्ति एक पद’ भन्दै आए पनि ओली पक्षबाट ठोस प्रस्ताव नआएकाले यो विषयले वार्तामा प्राथमिकता नपाएको उनले सुनाए ।

वार्तामा नेपाल पक्षका नेताहरुले पार्टीमा अहिले जे जटिलता आएको छ, त्यसको जिम्मेवार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली भएको निश्कर्ष सुनाएका थिए । ‘पार्टी पनि विधि पद्दतिअनुसार चलाउन सक्नुभएन’ एक नेता भन्छन्, ‘सरकारले पनि प्रभावकारी ढंले काम गर्न सकेन । अहिले अध्यादेश र सांसद प्रकरणसम्म आउँदा पार्टीलाई नै अप्ठ्यारो पार्ने काम भएको छ ।’
यो सबै समस्याको जड ओली स्वयं भएकाले उनले नै निकास दिनुपर्ने नेपाल पक्षको मत छ । एक नेता भन्छन्, ‘यसका लागि सचिवालय बैठक बोलाउनुस्, त्यहाँबाट पनि निकास आएन भने स्थायी कमिटीको बैठक बोलाउनुस् भनेका छौं ।’

यथास्थितिमा नछाड्ने ओली इत्तर समूहको बटमलाइन :

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र उनीनिकट नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुवै पक्षसँग समानान्तर सम्वाद गरेका छन् ।

सचिवालयका ओली इत्तर समूहमा रहेका पाँच नेताहरुबीच पनि निरन्तर सम्वाद भइरहेको छ । सोमबार मात्र वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

एक नेता भन्छन्, ‘अहिलेसम्म केही नयाँ भएको छैन । प्रधानमन्त्री र उहाँ निकट साथीहरुले कहीँ मन्त्री फेरौंला, पर्‍यो भने केही मुख्यमन्त्री पनि परिवर्तन गरौंला । सरसल्लाह गरेर काम गरौंला भन्नुभएको छ । त्यसमा हामी सहमत छैनौं ।’

उसोभए ओली इत्तर समूहको विकल्प के हो त ? एक नेताका अनुसार अहिले यसै गर्ने भनेर कुनै सहमति भएको छैन । तर, विभिन्न विकल्पमा छलफल भइरहेको छ ।

सम्भावित दुई विकल्पमा ओलीलाई अध्यक्ष छाड्न लगाउने वा अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्न लगाउने छन् । ‘अध्यक्ष मात्र छड्न लगाउँदा घाइते बाघजस्तो हुने खतरा पनि छ । पार्टी एकतालाई पनि जोगाउनु पनि छ’ एक नेता भन्छन्, ‘जे होस्, बैठकमा छलफल गर्दै गएपछि एउटा निर्णयमा पुग्न सकिन्छ ।’

तर, यथास्थितिमा छाड्ने पक्षमा नरहेको ओली इत्तर समूहका एक नेताले अनलाइनखबरलाई बताए ।

ओलीको आफ्नै तयारी

प्रधानमन्त्री ओली र उनी निकट नेताहरुले पछिल्लो दिनमा माधवकुमार नेपालसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निरन्तर सम्वाद गर्दै आएका छन् ।

शनिबार पनि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष प्रचण्डलाई भेटेर छलफल गरेका थिए । ‘मिलेर जानुपर्छ भन्ने उहाँ (पोखरेल)को कुरा रहृयो’ प्रचण्डनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘आधाआधा प्रधानमन्त्री हुने सहमति भएपनि उहाँल. तपाई नै ५ वर्ष सरकार चलाउनुस् भनिसक्नु भयो । सबैलाई मिलाएर लैजाने भन्ने त प्रधानमन्त्रीको हातमा छ ।’

पार्टीको बैठक राखेर छलफल गरौं भन्दा पनि ओली तयार नभएको प्रचण्ड पक्षका नेताहरु बताउँछन् ।

सूत्रहरुमा अनुसार सोमबार बालुवाटारमा आफूनिकट सांसदहरुको जमघटमा प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थितिको पनि सामना गरेर जान आफू तयार रहेको बताएका छन् । यसको अर्थ पार्टीको संसदीय दलमा बहुमत कायम गर्ने र आफूलाई प्रधानमन्त्रीबाट हटाउन नसक्ने परिस्थिति बनाउने ओली समूहको तयारी रहेको निकटस्थहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment