१८ वैशाख, पोखरा । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन् । उनले बामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताएका छन् ।
सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीले नै सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रिय सभामा लैजान प्रस्ताव गरेपछि अधिकारीले बामदेवका लागि संविधान संशोधन आवश्यक नरहेको बताएका हुन् ।
देश र पार्टीका निम्ति बामदेवको आवश्यकता हो भने आफ्नो निर्वाचन क्षेत्र छोड्न तयार रहेको अधिकारीले अनलाइनखबरलाई बताए । ‘पार्टीले निर्णय गरेको खण्डमा र पार्टी तथा सरकारलाई चाहिएको खण्डमा जो कोहीले पनि छोड्न तयार हुनुपर्छ,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘बामदेवकै आवश्यकता हो भने मेरा मतदाताको उच्च सम्मान गर्दै म पनि छोड्न तयार छु । संविधान संशोधन गर्न जरुरी छैन ।’
संसदमा व्यक्तिको प्रवेश गराउन संविधान संशोधनबाहेक अरु उपाय पनि रहेको अधिकारीको भनाइ छ । आफूले जनताकै लागि त्यागको राजनीति गर्दै आएको र आवश्यक परे अब पनि त्याग गर्न तयार रहेको अधिकारीले बताए ।
‘देश र जनताका निम्ति काम गर्न अरु जिम्मेवारी पनि पाउन सकिन्छ । मतदाताले जिताएर पठाएका हुन् । जनताको सम्मान र सुखदुखमा सधैं सँगै छु,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘हामी सधैं चुनावका लागिमात्र पनि होइनौं । जनता, देश र पार्टीलाई आवश्यक पर्दा म सबथोक छाड्न तयार छु ।’
यो संविधान संशोधन गर्ने विषय हो कि होइन भनेर हेनुपर्ने उनको भनाइ छ । संविधान कार्यान्वयनका क्रममै संशोधन गर्नु उचित नहुने अधिकारीले बताए । ‘संविधान कार्यान्वयन गर्ने क्रममै छौं । संशोधन गर्ने बेला भएको छैन । पहिले कार्यान्वयन गरौं । दुईतिहाईको समर्थन भएपछि संशोधन नहुने भन्ने होइन,’ अधिकारीले भने, ‘व्यक्तिलाई संसदमा लैजान अरु बाटो पनि छन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको नेकपा सचिवालय बैठकमा सरकार फेर्नुपर्ने अवस्थामा बामदेवलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।
राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन सक्ने गरी संविधान संशोधन गरेर बामदेवलाई राष्ट्रिय सभामा ल्याउने वा प्रतिनिधि सभाको कुनै एक क्षेत्र खाली गराएर निर्वाचनमार्फत ल्याउने भन्नेमा नेकपाभित्र छलफल चलिरहेका बेला सांसद अधिकारीले उपचुनावको बाटो खोलिदिने बताएका हुन् ।
यसअघि पनि बामदेवलाई राष्ट्रिय सभामा लैजानका निम्ति प्रयास हुँदा विवाद र आलोचना भएको थियो । बामदेवकै ठाउँ खाली गर्न काठमाडौं-७ का एमाले सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएको भन्दै आलोचना भएको थियो । त्यसपछि कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमाबामदेवको नाम आएको थियो । रवीन्द्र अधिकारीको निधनपछि कास्कीमा भएको उपनिर्वाचनमा अन्तिमसम्म पनि बामदेवको चर्चा थियो । बामदेवले अस्वीकार गरेपछि रवीन्द्रपत्नी विद्या भट्टराईलाई टिकट दिइएको थियो ।
यस्तो छ कास्की क्षेत्र नम्बर १ को हिसाब
पूर्वएमाले र माओवादी एकीकरणपछि कास्की क्षेत्र नम्बर १ मा नेकपा बलियो छ । गत निर्वाचनमा अधिकारीले कांग्रेसका यज्ञ बहादुर थापालाई १४ हजार मतान्तरले हराएका थिए । अधिकारीले ३९ हजार २४२ मत पाए भने थापाले २५ हजार ८२६ मत ल्याएका थिए ।
नेकपा नेता अधिकारीले प्रतिनिधि सभामा निर्वाचन जित्दा यहाँका दुईवटै प्रदेश सभामा पनि नेकपाकै सांसद छन् । क्षेत्र नम्बर १ को ‘क’मा पूर्वमाओवादीबाट दीपक कोइराला र ‘ख’ मा पूर्वएमालेबाट मनबहादुर गुरुङ प्रदेश सांसद छन् ।
अहिले कास्की क्षेत्र नम्बर १ मा नेकपाबाट जो उठे पनि जित्ने र अधिकारीले बामदेवलाई ठाउँ छोडिदिएको खण्डमा जित कठिन नहुने एक नेताले बताए । ‘उहाँको निष्ठालाई जनताले बुझेका छन् । त्याग गर्नुभएको छ । जीवनमा लोभ र कुनै पनि आर्थिक कुरामा मुछिनुभएको छैन,’ रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘यो क्षेत्रको विकासमा उहाँले ठूलो योगदान पुर्याउनुभएको छ । स्थानीय तहले पनि काम गरिरहेकाले नेकपालाई यो क्षेत्र सुरक्षित मान्न सकिन्छ ।’
यो क्षेत्रमा पर्ने रुपा गाउँपालिका, मादी गाउँपालिका र पोखरा महानगरपालिकाका अधिकांश वडामा पनि नेकपाकै प्रतिनिधित्व छ । यहाँ २ लाख ५५ हजार मतदाता छन् । गत निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो ।
यो क्षेत्रमा २०४८ यताका निर्वाचनमा यो क्षेत्रबाट तीनपटक कांग्रेस, १ पटक पूर्वएमाले र १ पटक पूर्वमाओवादीले जितेको छ । योपटक पार्टी एकीकरणबाट भनेको नेकपाबाट खगराजले जित्दै संसदयात्रा तय गरेका थिए ।
क्षेत्र नम्बर १ कास्की धेरैजना मन्त्री पाउने भाग्यमानी क्षेत्र पनि हो । २०४८ सालको निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाट कानुन मन्त्री भए । ०५६ मा फेरि निर्वाचित भएका उनी सभामुखसमेत बने । पहिलो संविधानसभा निर्वाचनमा उक्त पार्टीका नेता देव गुरुङ कास्की-१ बाटै निर्वाचित भएका थिए ।
कास्की-१ बाट निर्वाचित नहुँदा पनि एमाले नेता खगराज अधिकारी ०७२ सालमा सुशील कोइराला नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री बने । उक्त क्षेत्रबाट दोस्रो संविधानसभामा निर्वाचित कांग्रेस नेता यज्ञबहादुर थापा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भने ।
पूर्वकानुनमन्त्री यज्ञबहादुर थापा ०७० सालको निर्वाचनमा हालको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीलाई दुई सय ७२ मतले पराजित गर्दै सांसद बनेका थिए । ०६४ सालको पहिलो संविधानसभामा भने उनी यहीँबाट पराजित भएका थिए । ०६४ मा माओवादी नेता देव गुरुङ यही क्षेत्रबाट चुनाव जितेर कानून मन्त्री बनेका थिए ।
सांसद अधिकारी ०४८ सालमा कांग्रेस नेता रानाभाटसँग १७ सय ३३ मतले पराजित भएका थिए । ०५१ सालको निर्वाचनमा कांग्रेस नेता रानाभाटलाई १२ सय ५२ मतले पराजित गर्दै संसदको यात्रा तय गरेका थिए । २०५६ को निर्वाचनमा फेरि रानाभाटले जितेका थिए ।
कोरोना माहामारीबीच पनि कास्की क्षेत्र नम्बर १ मा बामदेवको चर्चा हुँदा यसले निर्वाचनमा केही प्रभाव पार्ने भए पनि नेकपालाई कठिन नभएको क्षेत्र भएका एक कांग्रेस नेताले बताए । ‘कोरोना कहरमा यो बेमौसमी बाजा हो । सरकार र सरकार सञ्चालन गरिरहेको पार्टी यस्तै भइरहृयो भने ठूलो मत काटिन सक्छ । तर, स्थानीय स्तरमा स्थानीय तहहरुले पनि काम गरिरहेकाले बामदेवलाई यो क्षेत्रबाट कठिन हुने छैन’ उनले भने ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4